काठमाडौं । भारतले अतिक्रमण गरेकाे नेपाली भुमि कालापानी क्षेत्रका नाबी र गुन्जीमा शनिबार भारतका उत्तराखण्डका गभर्नर गुर्मित सिंहले भ्रमण गरेका छन्। उनले ती क्षेत्रका भारतीय सुरक्षाकर्मी र स्थानीय बासिन्दासँग अन्तरक्रिया समेत गरे ।
सिंहले शनिबार साँझ ट्विटमा नाबी र गुन्जी लगायत सीमा क्षेत्रको भ्रमण गरेको तस्वीर सार्वजनिक गरेका थिए। सिंह भारतीय सेनाका पूर्व लेफ्टिनेन्ट जनरल समेत हुन्।
उनी गत सेप्टेम्बर १५ मा मात्रै उत्तराखण्डको गभर्नर नियुक्त भएका थिए।
नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवम् प्रमाण अनुसार काली (महाकाली) नदी र त्यसपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुन्जी, कालापानी र लिपुलेकलगायतका क्षेत्र नेपाली भूमि हुन्। तर यी क्षेत्र र गाउँ दशकौंदेखि भारतीय कब्जामा छन्।
राणाकालमा कुटी, नाबी, गुन्जी, छाङरु र तिङ्कर पाँचै गाउँको सिर्दो (मालपोत) उठाउने भनी नेपाल सरकारबाट त्यहाँका जिम्मावाललाई दिएको सनद पत्र सरकारले अध्ययनका क्रममा गतवर्ष जम्मा पारेको थियो। त्यहाँका जनतासँग भएका जग्गाका प्रमाण र तिरो तिरेका रसिदहरू नेपाल सरकारसँग सुरक्षित रहेको सरकारी अधिकारीहरु बताउँछन्।
तिनै नेपाली गाउँको भ्रमण गरेर नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डका गभर्नर सिंहले भारतीय सीमा सडक संगठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उच्च प्रशंशा पनि गरेका छन्।
‘गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीयवासीलाई भेट्न पाउँदा उत्साहित भएको छु’, उनले ट्विटमा भनेका छन।
उनले उत्तराखण्ड राज्य सरकारका तर्फबाट भारतीय सुरक्षाकर्मीलाई जाडोमा लगाउने ज्याकेट समेत वितरण गरेका छन्। भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको उनले प्रशंशा गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहँदा भारतीय राज्य उत्तराखण्डका गभर्नरले अतिक्रमित नेपाली भूमिको भ्रमण गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएकाे छ । देउवा पुस २५ गते भारतको चार दिने भ्रमणमा जाने तयारीमा छन्।
नेपालले कालापानी क्षेत्र समेटेर राजनीतिक नक्सा जारी गरेयता नेपालबाट भारतमा हुन लागेको यो नै पहिलो प्रधानमन्त्रीस्तरीय भ्रमण हो। तर भ्रमणमा कालापानीको सवालमा देउवाले कुराकानी गर्लान् या नगर्लान् प्रतिक्षाको बिषय बनेको छ।