१२९ औं माओदिवस मूलतः नेपालका तीनवटा कम्युनिस्ट पार्टीले मनाए । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यका लगायत देशैभर विभिन्न कार्यक्रम गरी माओदिवस मनाए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले माओदिवसकै अवसर पारेर पार्टीको आठौं महाधिवेशनको उद्घाटन ग¥यो । माओवादी केन्द्रको उद्घाटनमा माओ र माओका विचारको विषयमा कम चर्चा भयो, बढी समसामयिक विषयमा कुरा चले । क्रान्तिकारी माओवादी र नेकपाका कार्यक्रमहरुमा भने विश्व सर्वहारावर्गीय क्रान्तिमा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको क्षेत्रमा माओले गरेका सार्वभौम योगदानको विषयमा विशेष चर्चा भयो ।

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले आजको दुनियाँमा ‘माओवाद’ नमान्नेहरु कम्युनिस्ट हुन नसक्ने र माक्र्सवाद–लेनिनवाद–माओवाद मात्र भनेर नुहने त्यस अनुसारको राजनीतिक कार्यदिशा पनि तय गर्नुपर्ने कुरामा विशेष जोड दिनुभयो । उहाँको तर्क थियो– वर्गचरित्रका हिसाबले नेपालको वर्तमान संविधान र लोकतान्त्रिक गणतन्त्र प्रतिक्रियावादी भइसके । यही व्यवस्था र संविधानको रक्षा गर्नुपर्छ भन्नेहरु कम्युनिस्ट पनि हुन सक्दैनन् र क्रान्तिकारी पनि हुन सक्दैनन् । त्यसमाथि सच्चा माक्र्सवाद–लेनिनवादी–माओवादी त हुने कुरै भएन ।
वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व, निरन्तर क्रान्ति, महान सर्वहारा सांस्कृतिक क्रान्तिलाई पार्टीको गाइडलाइन नबाउने पार्टीहरु कम्युनिस्ट पार्टी हुन सक्दैनन् भन्ने उहाँको स्पष्ट भनाइ थियो । उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पुरानै संसदीय व्यवस्थाको मतियार भएकोले प्रतिक्रियावादीहरुको दलाल अर्थात् नवप्रतिक्रियावादी भएको टिप्पणी गर्नुभयो । एमाले र माओवादी केन्द्र दुवै पार्टीले वर्गसंघर्ष, सर्वहरावर्गको अधिनायत्व, निरन्तर क्रान्ति तथा सर्वहारा सांस्कृतिक क्रान्तिको मान्यतालाई पहिले नै छाडिसेका छन् । उनीहरुले शान्तिपूर्ण संक्रमणको कुरा गरिरहेका छन् । माओवादी केन्द्रले हेटौडा महाधिवेशनबाट नै शान्तिपूर्ण संक्रमणको नीति लिएको हो भने एमालेले त धेरै पहिलेदेखि नै संशोधनवादी बाटो समातेको हो । त्यसैले क्रान्तिकारी माओवादीले एमालेलाई संशोधनवादी र माओवादी केन्द्रलाई नवसंशोधनवादी पार्टीको संज्ञा दिदै आएको छ ।
मोहन वैद्य किरणले माओदिवसकै दिन नेकपा (मसाल) र त्यसका नेता मोहनविक्रम सिंहलाई ‘महाअवसरवादी’को संज्ञा दिनुभएको छ । दस्तावेजमा नयाँ जनवाद र दीर्घकालीन जनयुद्धको लाइन बनाउने र व्यवहारमा प्रतिक्रियावादी र नवप्रतिक्रियावादीहरुको सत्ता गठबन्धनमा छिर्ने मोहनविक्रम सिंहको लाइन घोर अवसरवादी भएको उहाँको टिप्पणी थियो ।
त्यसैगरी आफूलाई अब्बल क्रान्तिकारी भएको दावी गर्दै आएको नेक्रविक्रम चन्द विप्लवप्रति पनि महासचिव किरणको टिप्पणी थियो– ओली र प्रचण्डकै लाइनतिर पार्टीको लाइन सोझ्याइसके । शान्तिपूर्ण रुपले पार्टीका सबै गतिविधि गर्ने भनेको अन्ततः संशोधनवादी लाइन नै हुने उहाँको विश्लेषण थियो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने ‘नयाँ विचार’ र ‘क्रान्तिकारी पार्टी निर्माण’को नाममा भ्रामक प्रचारबाजी गरिरहेका छन् । घोर दक्षिणपन्थी संशोधनवादी÷अवसरवादी लाइन बोकेर माक्र्सवाद–लेनिनवाद–माओवादको फलाको हाल्न छाडेका छैनन् । अझ नयाँ विचार र क्रान्तिकारी पार्टीको कुरा गरेर आमूल परिवर्तनका पक्षधर जनता र कम्युनिस्ट नेता कार्यकर्तालाई भ्रमित तुल्याउने काम गरिरहेका छन् । नेपाल अर्धसामन्ती, अर्ध तथा नवऔपनिवेशिक अवस्थामा नरहेको, नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको र समाजवादमा शान्तिपूर्ण संक्रमणको रुपमा अगाडि बढ्ने भन्ने माओवादी केन्द्रको राजनीतिक कार्यदिशा संशोधनवादी, अवसरवादी कार्यदिशा हो । प्रचण्डको यो भ्रमका विरुद्ध क्रान्तिकारीहरुले जेहाद छेड्न जरुरी छ ।
प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादी कित्ताबाट क्रान्ति र क्रान्तिकारी पार्टीका विरुद्ध छरिएका भ्रमबाट जनता र इमान्दार कम्युनिस्ट क्रान्तिकारीहरुलाई मुक्त नपारेसम्म क्रान्तिलाई संगठित रुपमा अगाडि बढाउन मुस्किल पर्ने हुँदा सबै सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुको यतिबेलाको प्रमुख कार्यभार भनेको संशोधनवादी, अवसरवादी र प्रतिक्रियावादीहरुले फिजाएको भ्रमलाई राम्रोसँग चिरफार गर्नु हो । र, क्रान्तिकारीहरुबीचको एकता र ध्रुवीकरणमा जोड दिनु हो ।





























