आज विश्व कम्युनिस्ट आन्दोलनका एकजना महान् नेता माओवादका प्रणेता कमरेड माओत्से तुङको १२९औँ जन्मजयन्ती हो । यतिबेला माओलाई स्मरण गर्नुको अर्थ हुन्छ माओवादी विचारधाराको रक्षा र विकास गर्नु । माओवादी विचारको रक्षा र विकास गर्न पहिलो माओले माक्र्सवाद-लेनिनवादमा गर्नुभएको सार्वभौम विकासलाई अझ बढी दह्रोसँग समात्नु पर्दछ । दोस्रो, वर्गीय आन्दोलनको बाटो सोभ्mयाउनु र जनवादी क्रान्ति सम्पन्न गर्नु पर्दछ । तब मात्रै माओलाई स्मरण गर्नुको अर्थ र महत्व रहन्छ । दुःखको कुरा आज माओवादलाई संसदवादसँग ब्यापार गरेर जुवा हारेका जुवाडेहरूले समेत माओलाई सम्झेको ढोंग देखाएर जनतामा भ्रमको खेति गरिरहेका छन् ।
तेस्रो विश्वका मुलुकहरूमा गरिने क्रान्तिको रूपरेखा जसरी माओले तय गर्नु भयो आज त्यसको झन् बढी सान्दर्भिकता पुष्टी हुँदै गएको छ । एउटा जीवन्त क्रान्तिकारी पार्टीभित्र विचारको बहस सञ्चालन हुनु स्वाभाविक नै हो । विचारको बहसले नै पार्टीको गति सञ्चालन भएको हुन्छ । पार्टीमा बहस हुनु भनेको माओको भाषामा सयौँ पूmलहरू पूmल्न दिनु र विषालु झारपात गोडमेल गर्नु हो । पार्टीमा विचारको बहस भयो भनेर आत्तिने, अस्वाभाविक ठान्ने र त्यसलाई अस्वस्थ रूपमा बुझ्ने दृष्टिकोण पनि हामीले पाउने गर्छौं । पार्टीमा फरक दृष्टिकोण, बुझाई र बहस गर्ने वित्तिकै असहिष्णु बन्ने प्रवृत्तिले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन टुटफुट र विभाजनको सिकार भएको इतिहास छ । पार्टीभित्र अन्तरसङ्घर्ष नै हुँदैन वा गर्नु पनि हुँदैन भन्ने, सबै नेताहरू एउटै भएर जानु पर्छ भनेर पार्टीमा एकमनावादी आदर्श खोज्नु माक्र्सवादी दृष्टिकोण र बुझाई होइन । यो अधिभूतवादी आदर्शवाद हो । यसले निषेधात्मक द्वन्द्ववादलाई प्रश्रय दिन्छ । माक्र्सले भन्नुभएझैँ माक्र्सवाद भनेको झगडावाद पनि हो । त्यसैले त्यहाँ वाद, विवाद र सम्वाद अर्थात् रूपान्तरण हुन्छ । पार्टी भनेको विविध विचार र विपरितहरूको एकत्व हो भन्ने कुरालाई बुझियो भने पार्टीभित्र चल्ने अन्तरसङ्घर्षले कार्यकर्ताहरूमा विचलनता पैदा गर्र्दैन । बरू समृद्ध गर्छ । यहाँ स्पष्ट हुनैपर्ने कुरा के छ भने त्यस्तो विचारको बहस कुन उद्देश्य र लक्ष्यका निम्ति भएको छ ? के क्रान्ति सम्पन्न गर्ने र सर्वहारावर्गको मुक्तिका लागि भएको छ वा सुधारवादी चिन्तनका निम्ति भन्ने कुरा छुट्ट्याउनु पर्छ । माक्र्सकै पालामा विचारको बहस भएको थियो । सर्वहारावर्गको विजयका लागि क्रान्तिका आधारभुत शर्तहरू सर्वहारा अधिनायकत्व, सशस्त्र सङ्घर्ष र बल प्रयोगको सिद्धान्त जस्ता कुराहरूमा बहस हुँदा प्रथम अन्तर्राष्ट्रिय सङ्गठनमा विभाजन आएको थियो । त्यसवेला नै माक्र्सवादीहरू पनि क्रान्तिकारी र संशोधनवादी गरी दुई खेमामा विभाजन हुन्छन् भनेर माक्र्सले बताउनु भएको थियो । त्यसैगरी रूसमा अक्टोवर क्रान्तिपश्चात् पनि लेनिनको ट्रटस्की, बुखारीन, कामेनेभ, जिनोवियभहरूसँग एकखालको बहस भएको थियो भने जर्मन नेतृ रोजा लग्जेम्बर्गसँग अर्को खालको बहस भएको थियो । माओको पालामा देङ स्याओ फेङ, ल्यु साओ ची, छन् तस्यू र वाङमीन आदिसँग भएको बहस भिषण प्रकारको थियो भन्ने कुरा पनि हामीले बिर्सन हुँदैन । विश्व कम्युनिस्ट आन्दोलनमा भएका बहसहरू दुई धाराबाट भएका छन् । पहिलो, कम्युनिस्ट पार्टीलाई सुधारवादी र संशोधनवादी बनाउँदै लगेर वर्गसमन्वयवादी बनाउने धारा र वर्गसङ्घर्षद्वारा सर्वहारा अधिनायकत्व स्थापना गर्ने धाराबाट भएका छन् । दोस्रो, क्रान्तिकारी पार्टीभित्रै पनि क्रान्ति कसरी सम्पन्न गर्ने ? कार्यदिशा कस्तो बनाउँदा रणनीतिक लक्ष्य प्राप्त गर्न सकिन्छ भनेर चलेका बहसहरू छन् । लेनिन र ट्रटस्कीहरूका बिच भएको बहस पहिलो थियो भने लेनिन र रोजा बिच भएको बहस दोस्रो थियो । यसरी रूसमा १९०३ मा सम्पन्न दोस्रो महाधिवेशनमा निकै ठूलो बहस सञ्चालन भएको थियो । त्यो बहस पार्टीभित्रको विधि, विधान र पद्दतीमा रहने कि नरहने, क्रान्तिमा जाने या नजाने आदि विषयमा भएको थियो । सन् १९०५ मा भएको विद्रोह असफल भएपछि क्रान्तिको कार्यदिशा कस्तो हुने भन्ने विषयमा पुनः पार्टीभित्र निकै ठूलो बहस चलेको थियो । त्यो असफल विद्रोहले पार्टीलाई रक्षात्मक अवस्थामा पुर्याएको थियो । त्यसपछि लगातारको बाह्र वर्षसम्मको वैचारिक बहससँगै गरिएको सङ्गठनको विकासले सन् १९१७ को फेब्रुअरीमा पुनः विद्रोह गर्ने वातावरण निर्माण गर्यो र त्यो विद्रोह सफल भयो पनि । त्यो क्रान्तिले रुसमा सामन्तवादको अन्त्य भएर जनवादी गणतन्त्र स्थापना गर्यो । त्यसपछि समाजवादी क्रान्तिका लागि पुनः लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भयो । यो सबै सही विचारधारा अङ्गाल्नुको परिणाम थियो । यसरी केन्द्रीय सत्ता त कब्जा गर्यो तर स्थानीय सत्ता पूणर्रूपले वोल्सेभिकहरूको हातमा आइसकेको थिएन । फेरि पार्टीभित्र विवाद उत्पन्न भइहाल्यो । त्यो विवादमा मेन्सेभिकहरू प्रतिक्रान्तिकारी कित्तामा सामेल भए भने लेनिन, स्टालिन र किरोभहरूले पार्टीलाई वोल्सेभिक स्पृटमा विकसित गरेर लगे ।
यतिखेर नेपालमा दश वर्षीय जनयुद्धले सेटब्याक खाएको छ । सेटब्याक खानुमा क्रान्तिकारीहरूले मैदानमै हारेर सर्वनास भएर होइन कि सचेततापूर्वक मुख्य नेतृत्वले सिघ्रसत्ता प्राप्तिका लागि योजनावद्ध तरिकाले आफ्नै पङ्क्तिलाई हराउने काम भयो । जनयुद्धलाई संसदवादमा लगेर डुबाउने र घाँटी अँठ्याएर आफैँ हत्या गर्ने काम भयो । यस प्रकारको घटना विश्व कम्युनिस्ट आन्दोलनमा सम्भवतः पहिलो हो । संसारमा जेजति संसोधनवादी विचार हावी भएका छन् त्यो मुख्य नेतृत्वको मृत्यु भएको केही वर्षपछि दोस्रो तेस्रो तहका नेताहरूले क्रामशः वैचारिक विचलनको बाटो समाएर मात्रै प्रतिक्रान्ति भएको छ । तर यहाँ क्रान्ति सम्पन्न नहुँदै विजयको सन्निकट पुगेको आन्दोलनलाई मुख्य नेतृत्वले नै विसर्जन गराउने काम भयो । संसोधनवादको नयाँ रूप भएर नेपालमा देखा पर्यो । आज जनयुद्धमा नायकत्व प्रदान गरिएका र विचारको संश्लेषणसमेत गरिएका सर्वोच्च नेताको नेतृत्वमा माओवादी पार्टीको मुख्य हिस्सा संसोधनवादको आहालमा डुबेको छ । सुँगुरको खोर सफा गर्न गएकाहरू उल्टै सुँगुरको विष्टा खाइरहेका छन् । र, त्यो विष्टा नै पो मानिसको सर्वोत्तम खाना हो भनेर त्यसको महिमामण्डित गरिरहेका छन् ।
माओले ‘विचारधारा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ’ भन्नु भयो र पार्टीलाई सही र क्रान्तिकारी बनाउने विषयमा निकै ठूलो सङ्घर्ष गर्नु भयो । नेपालको माओवादी पार्टीमा पनि विचारधारा सही हुनाले नै जनयुद्धको भीषण मोर्चा सsञ्चालन गर्न सफल भएको थियो । उसले विचारधारात्मक सङ्घर्षलाई एकता-सङ्घर्ष-रूपान्तरणको विधि अनुरूप सञ्चाल गर्दै आएको थियो । त्यसैले नै नेपालको वर्गसङ्घर्ष रक्षा र सन्तुलन पार गर्दै प्रत्याक्रमणको चरणमा प्रवेश गरेको थियो । यहाँसम्म आउँदा विशेषतः २०४८ को एकता राष्ट्रिय महाधिवेशन, जनयुद्ध पूर्व २०५१ मा गोरखामा भएको तेस्रो विस्तारित बैठक, त्यसपछिको प्रथम राष्ट्रिय सम्मेलन, २०५५ मा भएको चौथो विस्तारित बैठक, २०५७ को दोस्रो राष्ट्रिय सम्मेलन, २०६१ को फुन्टिवाङ बैठक, लावाङ बैठक हुँदै २०६२ को चुनवाङ बैठकसम्म आउँदा पार्टीभित्र भीषण प्रकारका विचारधारत्मक सङ्घर्षहरू भए । परन्तु जब चुनवाङ बैठक अगाडि नै माक्र्सवादी विचारका एक प्राधिकार व्यक्तित्व कमरेड मोहन वैद्य (किरण) र अर्का वैचारिक नेता सिपि गजुरेलको भारतमा गिरफ्तारी भयो तब पार्टीमा संसोधनवादी विचार हावी भयो र सिङ्गो पार्टीलाई नै संसोधनवादको आहालमा डुवाउने काम सजिलैसँग सम्पन्न गरियो । त्यसैको परिणाम शान्ति प्रक्रियापछि भएको बालाजुको पाँचौ विस्तारित बैठक, खरिपाटी भेला हुँदै पालुङटार विस्तारित बैठकसम्म आउँदा संसोधनवाद निकै बलियो भएर देखा पर्यो ।
जहाँसम्म माओवादीभित्र चलेको वैचारिक बहसको कुरा छ, त्यसमा केही स्पष्ट हुन जरूरी छ । वास्तवमा माओवादीभित्र प्रथम राष्ट्रिय सम्मेलनदेखि शान्ति प्रक्रियापछिको कामीडाँडा बैठकसम्म आउँदा पार्टी हेडक्वार्टरबाट प्रस्तुत गरिएको प्रस्तावमाथि मात्र बहस गर्ने गरिन्थ्यो । त्यहाँ रहेका केही जोड र कोणहरूका विषयमा बहस हुने र अन्त्यमा पार्टी नेतृत्वबाट प्रस्तावित राजनीतिक र संगठनात्मक प्रस्तावलाई एकमतले पारित गर्ने गरिन्थ्यो । माओवादी पार्टीभित्र लिखित रूपमै फरक धाराबाट दुई अलग-अलग प्रस्ताव प्रस्तुत भएको अघिल्लो पटकको खरिपाटी भेलादेखि नै हो । त्यस अघि लावाङ बैठकमा फरक बँुदाको रूपमा बाबुराम भट्टराईद्वारा चारबँुदे र तेह्रबुँदे प्रस्ताव ल्याइएको थियो । यद्यपि ती प्रस्तावहरू मुख्य नेतृत्वका प्रस्तावमा आएका कार्यशैलीगत विषयमा फरक भनेर ल्याइएको थियो । तर खासमा ती संसोधनवादी विचार मात्रै नभएर बुर्जुवा लोकतान्त्रिक मूल्य स्थापित गर्ने कुराको विधिवत विजारोपण थियो । माक्र्सवादकै सही विचार र संसोधनवादी विचारका लिखित दस्तावेजका रूपमा प्रचण्ड र किरणका फरक-फरक दस्तावेज आएको नै माओवादी आन्दोलनका निम्ति नयाँ इतिहास बनेको थियो । त्यतिवेलाको वैचारिक बहसलार्ई स्वस्थ बनाउने भन्दा पनि पुर्वाग्रही ढङ्गले अस्वस्थ बनाउने काम भएको थियो । किनकि पार्टीको मुख्य नेतृत्व सहितको एउटा टोली सरकारमा पनि थियो । जसले गर्दा मुख्य नेतृत्वको कभर र योजनामा त्यस वरिपरि गोलचक्कर मारेर तर खान खोज्ने प्रवृतिले बहसलाई शक्ति प्रयोग गरेर अस्वस्थ बनाउने कसरत नगरेको पनि होइन । त्यसको प्रभाव पछिसम्म पनि कार्यकर्ताहरूमा परिरह्यो । विचारधारात्मक बहसलाई गुटगत बहसको रूपमा लिने काम भयो । त्यसले पार्टी नेता र कार्यकर्ता बिचमा अस्वस्थता र वैमन्यस्यता पैदा गर्नाले नेतृत्वप्रति नै विश्वासको संकट पैदा भयो । पार्टी नेतृत्वदेखि कार्यकर्तासम्म विचारधाराको बहसलाई स्वाभाविक र स्वस्थ बनाइयो भने यसले कार्यकर्ताहरूको विचारधारात्मक चेतनाको पनि विकास गर्छ । हरेक कार्यकर्ता विचारमा बहस गर्न र आफ्नो बुझाई अनुरूप पक्षधरता लिन स्वतन्त्र हुन्छन् । बरू उनीहरू निणर्य भएको नीति, कार्यक्रम र योजना लागू गर्न प्रतिवद्ध हुनु पर्दछ । पार्टीभित्र जनवाद र केन्द्रीयतालाई ठिक ढङ्गबाट सञ्चालन गरियो भने छलफलमा स्वतन्त्रता र कामकार्वाहीमा एकरूपताको वातावरण निर्माण हुन्छ । आफ्नो विचार मिलेन भने नेताहरूको बदनाम गर्ने, खुइल्याउँदै हिँड्ने, कम्युनिस्ट आचरण र शिष्टताको पालना नगरेर गाली गलौजमा उत्रने, तल्ला कमिटिहरूमा नेतृत्वको आलोचना गरेर निरास पार्ने, होटेल, बस र सार्वजनिक ठाउँहरूमा पार्टी विचार र नेतृत्वको आलोचना गर्ने पद्दतीका विरूद्ध कडाई गरिनु पर्छ । आपूmलाई लागेको कुरा पार्टी कमिटिहरूमा नराख्ने तर मिडियाहरूमा जथाभावी व्यक्त गर्ने प्रचलनको अन्त्य गर्नु पर्छ । फरक ढङ्गबाट कुरा राख्नेवित्तिकै असहिष्णु ढङ्गबाट निषेध गर्ने गर्दा पनि बाहिर खुल्ला रूपमा विषय राख्न बाध्य हुन्छ । यो जनवादको सही प्रयोग नहुनुको परिणाम हो । यो समस्या केवल माओवादी पार्टीभित्र मात्रै थिएन र छैन । नेपालका हरेक कम्युनिस्ट नामका पार्टीहरूको महारोग भनौ वा किमो गर्दा पनि सञ्चो नहुने गरी लागेको क्यान्सर रोग नै पार्टीभित्र चलाइने दुईलाइन सङ्घर्ष हो । नेपालको इतिहासमै दुईलाई सङ्घर्ष आयो कि पार्टीमा फुट नै भएको छ । यो रोग २०१७ सालको दोस्रो महाधिवेशनदेखि नै सुरु भएको हो ।
नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेको अर्को समस्या भनेको सिद्धान्तलाई सिद्धान्तमै सीमित गर्ने र बहसदेखि बहससम्म मात्रै विचारलाई कैद गर्ने हो । जबसम्म विचारलाई व्यबहारको कसिमा घोटिँदैन त्यो विचार सही र गलत भनेर छुट्टिँदैन । माओले त प्रष्ट रूपमा भन्नु भएको छ कि सही विचार कहाँबाट आउँछ भन्दा त्यो ब्यबहारबाट आउँछ । ब्यबहार भनेको वर्गसङ्घर्षको भट्टीमा जानु हो । आत्मगत परिस्थिति तयार भएको छैन भन्ने बहानामा सचेत पहलकदमी नलिने रोग पनि नेपालको कम्युनिस्ट आन्दोलनका अगुवा नेताहरूमा देखिन्छ । एकातिर विचारको शुद्धता खोज्ने क्रममा परिशुद्धतावादी हुँदा पार्टी टुक्रा टुक्रा भएर अस्तित्व नै मेटिने हुँदासम्म पनि जड् बनेर सिद्धिने तथा एकता गरेर ठूलो पार्टी बनाउने नाममा माक्र्सवादका विरोधी शक्तिमा रहेका कुडा कर्कट र प्रतिक्रियावादी तत्वहरूलाई समेत पार्टीमा हुलेर मास पार्टी बनाउँदै चुनावी मोर्चा जस्तो पार्टी बनाएर कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रवृत्ति पनि नेपालमा निकै जब्बर रूपमा चलेको छ । यी दुवै प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै वर्गसङ्घर्षमा जानु आज क्रान्तिकारी कम्युनिस्टहरूको गम्भीर चुनौती बनेको छ । यो चुनौतीको सामना गर्दै जनवादी क्रान्तिको खाका कोर्नुले नै आज माओलाई स्मरण गर्नुको औचित्य रहन्छ । २०७८/०९/११































