आज आफ्नै कुरा

आज आफ्नै कुरा

पुगेँ यस मरुस्थलमा कसरी ?
मलाई पहिलेदेखिनै पद्य कविता असाध्यै मन पर्दथे । कविताप्रति प्रेम यस्तो थियो कि विद्यालयमा पढदा नयाँ कक्षामा चढेपछि पुस्तक किनेको पहिलो दिन नै नेपालीका सवै कविता पढेर सिध्याउथेँ । कविता संग्रह भेटेँभने त्यो नसकी अर्को केही कुरा पढ्दिनथेँ । नेपाली पद्य संग्रह नामको सायद त्यतिबेलाको कक्षा १० को पुस्तक होला त्यसमा भएका लयबद्ध कविता मैले ५ कक्षा पढ्दा नै कण्ठस्त गरेको थिएँ । भीमनिधि तिवारीको काम्यो लुगलुग त्यो गरिव विचरा भन्ने कविता, लेखनाथ पौडेलको काल महिमा, देवकोटाको प्रश्नोत्तर र यात्री, माधव घिमिरेको नवयुवक, अनि सिद्धिचरण श्रेष्ठको ओखलढुँगा कविता मैले जीवनमा सवैभन्दा धेरैपटक पढेका कविता हुन् । कतिपय कविता भाव नबुझेपनि लय मन परेर पढिए र कति कविता सरल भएर भाव बुझेर पढियो । बास्तवमा यी कविता मन पर्नुको कारण खासमा के थियो त्यो अहिलेपनि मलाई एकीन थाहा छैन । तर प्रमुख कारण तिनको लयबद्धता नै हुनुपर्छ । म अहिले पनि ओखलढुंगा कवितामा गाइएको गीत धेरै सुन्छु । कहिले नारायण गोपालको स्वरमा त कहिले रामेशको स्वरमा । मलाई एउटै गीत धेरै पल्ट बजायो भनेर छोराहरुले गाली गर्छन । तर म यो गीत बजाउन छोड्दिन बरु एयर फोन लगाएर सुन्छु ।
 
उक्त गीतका सवै पङ्तिहरु उत्तिकै कर्णप्रीय छन् र विशेष गरी यसको भाग्यको लहरमा लहरी लहरी पुगेँ यस मरुस्थलमा कसरी भन्ने पङ्तिले साच्चिकै मन छोएको थियो र अहिले पनि छोएको छोयै छ । उ बेला किशोर मस्तिष्कमा काठमाण्डौलाई कबिले किन मरुस्थल भनेहोलान् भन्ने कौतुहलता छाउँथ्यो भने अहिले त्यो कुरा आफूलाई पनि उत्तिकै लागू भएको देखेर झस्काउँछ । जोसुकैलाई आफ्नो जन्मस्थल र बाल्यकाल विताएको ठाउँ राम्रो र प्यारो लाग्छ । जीवन सहज र अपेक्षा गरे अनुरुप चलेसम्म मानिसले जन्मस्थल छोडदैन । कित बाध्यताले छोड्छ कित अझै थप सहज र सुखी जीवन प्राप्त गर्ने अभिलाशाले छोड्छ । जेएस् मिल र बेन्थमको सुखबादी सिद्धान्तका सवैकुरा स्वीकार गर्न नसकिएपनि मलाई मानिसका क्रियाकलाप सुखको खोजीमा नै केन्द्रित हुन्छन् भन्ने कुरामा असहमत हुनुपर्छ भन्ने लाग्दैन । सुख भन्नाले केवल शारीरिक मात्र हुँदैन । मानसिक र मनोवैज्ञानिक सुख पनि हुन्छ । त्यसैले मानिस सुख र सहजताको खोजीमा र कतिपय बाध्यताले आफ्नो जन्मस्थल छोड्छ । पहिला काठमाण्डौ पढ्न बसेको ३ बर्ष कटाउने हो भने मेरा जीवनका २९ बर्ष जन्मस्थान अर्थात कालिका हाल पोखरा २८ मा विते । त्यहाँ दुःख के हो अनि आनन्द के हो? दुवै अनुभूति गरेँ । बस्तुहरु चराउन जँगल जाँदाका साथीहरु, मेलापात गर्दाका साथीहरु, घाँस काट्न जाँदाका साथीहरु अनि दशैँमा पिँग खेल्न जाँदाका साथीहरु बोलेको अहिल्यै जस्तो लाग्छ ।
 
सुख र दुःखको कुरा गर्दा त्यतिबेला शरीरलाई आराम त थिएन तर मनलाई सुख थियो । मैले बुझ्न थालेको छु आराम र सुख भन्ने कुरा फरक फरक फरक हुन् । यो मैले अनुभवबाट आर्जन गरेको ज्ञान हो । कसैले कतै भनेको रहेछ भने त्यो भन्नेको र मेरो सोच मिल्यो होला । मैले यो कतै पढेको छैन । सुख भनेको आनन्द हो र आनन्द हुन शरीरले आराम पाउनु पर्छ भन्ने छैन । नवजात शिशुकी आमा शिशुलाई दुध चुसाउनु पर्दा रातभरी निदाउन पाउँदिनन्, उनको शरीरले आराम अवश्य पाउँदैन तर उनलाई दुःख लाग्दैन । आनन्दको अनुभूति हुन्छ । अझ यो भन्दा पर प्रसव बेदना कम कठिन हुन्छ तर सन्तानको जन्मपछि आमाको लागि त्यो भन्दा परमआनन्दको क्षण सायद कुनै होला । यो आनन्द मानसिक सुख हो । दिनभरी खेतमा काम गरेर आँफूसँग भएमध्येको मनपर्ने भोजन गरी मस्त निदाउन सकियो भने त्यो आनन्द हो र मानसिक सुख हो । तर दिनभरी बसेर चौराशी व्यञ्जन भोजन गरेरपनि चैनसँग निदाउन सकिँदैन भने त्यो दुःखै हो । गाउँमा शारीरिक परिश्रम गर्नु पर्दथ्यो भन्नुको अर्थ दुःख थियो भन्ने हुँदैन । अहिले शरीरलाई कष्ट छैन तर मनमा सुख छैन । खाना जति मिठो त्यतिबेला हुन्थ्यो त्यति अहिले जतिसुकै परिकार भएपनि हुँदैन । खाना परिकारले होइन भोकले गर्दा मिठो हुन्थ्यो । परिकार आवश्यक पर्दैनथ्यो । कपडा नयाँ भए उसै राम्रो हुन्थ्यो खासै रोजाई थिएन । मैले दशकक्षासम्म पढ्दा प्रा.वि.को शिक्षक भन्दा परको लक्ष बोकेकै थिइन ।बुबा आफू शिक्षक भएको कारण छोरो शिक्षक चै नबनोस भन्ने चाहनाले शिक्षा पढ्न दिनु भएन । कानुन पढ्न कर गर्नु भयो । तर मलाई लाग्छ म जति खुशी प्रा.वि.को शिक्षक हुँदा थिएँ त्यति खुशी एउटा संवैधानिक निकायको नीति निर्माण तहमा हुँदा हुन सकिन । (यसको अर्थ म सन्तुष्ट थिइन भन्ने होइन है मात्र तुलनाको कुरा गरेको)। त्यसैले होला म फेरी पनि अध्यापनमा रमाएको छु ।
 
अध्ययन कानुन विषयको गरेपनि मेरो पहिलो र उत्तरार्धको बृत्ति पनि अध्यापन नै रहन गयो । नढाँटी भन्दा चालक सहितको सरकारी गाडिमा सहसचिवको जागिर भन्दा सार्वजनिक बसमा चढेर क्याम्पस ओहोर दोहोर गर्दा म आनन्दित छु । यस अर्थमा म अहिले सुखानुभूति गरिरहेछु । तर जव म जन्मेको गाउँ संझिन्छु, घरमुनीको र डाँडाको समी अनि बर पिपलको चौतारो, भीरगौँडी, बाटोका रुखहरु, कोयलीको कुहूकुहू संझिन्छु फेरी युगकविको कविताको उही पङ्ति याद आउँछ । अहिले मलाई यहाँ बस्न कसैले बाध्य पारेको छैन, कुनै डोरीले बाँधेको छैन । तर एउटा अदृष्य डोरीले बाँधिएको छु म, हिजो भन्दा कैँयौ गुनाबढी सम्पन्नता छ, हात धुने नुहाउने तातोपानी छ, जाडो भए हिटर छ, खान जतिबेला जस्तो खोजे बनाइदिने श्रीमती अनि छोरा बुहारी छन् तर मन प्रत्येक पल उही डाँडा र पाखा तिरै बरालिन्छ । सपना देख्दा पनि कहिल्यै काठमाण्डौको देख्दिन उही डाँडा पाखाको, उही कच्ची घरको , उही उकालो र ओरालोको, उही चौताराको र उही विसौनिको देख्छु । त्यही सपना संझेर आनन्दित हुन्छु । अनि तिनै गीत भनौ वा कविताका पङ्तिहरु गुनगुनाउँछु पुगेँ यस मरुस्थलमा कसरी तर खेद छैन तिम्रो आकृति कुँदिएको छ यो हृदयभरी ।। हृदय भरिएको हो कि भारी भएको हो घरिघरि झुक्किन्छु । यो भ्रममा पर्नुपनि एउटा आनन्द हो ।