मान्छेको प्रश्न !

मान्छेको प्रश्न !

जाँतो पनि छ
हातो पनि छ
मानी पनि छ
मकै पनि छ
तर मान्छे भएन भने
मान्छे नभएपछि
जाँतो चुपचाप स्थिर बस्छ
न जाँतो घुम्छ
न त च्याख्ला बन्छ
न त पिठो बन्छ !
 
ठेकी पनि छ
मदानी पनि छ
नेती पनि छ
घुर्रो पनि छ
ठेकीभित्र दही पनि छ
यहाँ पनि मान्छे भएन भने
मान्छे नै नभएपछि
न मदानी घुम्छ
न दही मथिन्छ
न नौनी निस्कन्छ !
 
खेत पनि छ
हलो पनि छ
गोरु पनि छ
जुवा-जोतारा-सोइला
हरिस- अनौ र फाली सब ठीकठाक छन
तर अनौं समात्ने मान्छे भएन भने
मान्छे नै नभएपछि
न बाँझो जोतिन्छ
न डल्ला फोरिन्छ
न बाली रोपिन्छ !
 
अटोमोशन भ्यान पनि छ
अन्तरिक्षगामी यान पनि छ
अन्तरमहादेशीय क्षेप्यास्त्र,
राडारलाई छल्ने प्रविधी,
हजारौ प्रकाश वर्ष टाढा नियाल्ने टेलिस्कोप
लाखौं प्रश्नहरूको जवाफ दिने
र करोडौं मान्छेहरू चिन्ने
आर्टिफिसियल इन्टेलिजेन्स छ
यी सबै कुरालाई नियन्त्रण गर्ने
सफ्टवेयर छ
कम्प्युटर पनि छ
माउस पनि छ
रिमोट कन्ट्रोल पनि छ
तर यी सबै कुराबाट गायव भयो भने मान्छे
यि चिजहरूले केही काम गर्दैनन् !
जति सुकै उन्नत रोबोट पनि
त्यो भन्दा चलाख मानव दिमागको उपज हो
हजारौं वर्षको हण्डरको
हजारौं वर्षको अनुसन्धान र अनुभवको
हजारौं वर्षको परिक्षणको
मान निर्मित बस्तु हो
र निर्मित बस्तु
कहिलै निर्माताभन्दा माथि हुन सक्दैन !
२०७८ मंसिर २९
माइतीघर, काठमाण्डौ