काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौता शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदको आगामी अधिवेशनमा टेबल गर्ने तयारी गरेपछि राष्ट्रिय स्वाधीनताको रक्षाका लागि लामो समयदेखि आन्दोलित हुँदै आएको नेकपा (क्रान्तिकारी माओवादी) यतिखेर एमसीसी खारेजीको माग गर्दै देशव्यापी रुपमा आन्दोलनमा उत्रिएको छ ।

बुधबार मात्रै काठमाडौं, दाङ र रुपन्देहीमा एमसीसीका विरुद्ध विरोध ¥याली, विरोधसभा तथा अन्तक्र्रिया कार्यक्रम गरेको क्रान्तिकारी माओवादीले बिहीबार काठमाडौंमा नो एमसीसी लेखिएका व्यानर, प्लेकार्ड र ह्याटसहित विरोध प्रदर्शन गरेको छ । क्रान्तिकारी माओवादी सम्बद्ध जनवर्गीय तथा मोर्चा संगठनहरुको आयोजनामा गरिएको प्रदर्शनमा वक्ताहरुले एमसीसी पास भए देशव्यापी आन्दोलनको आँधीबेहरी सृष्टि गर्ने चेतावनी दिएका छन् ।

क्रान्तिकारी माओवादीकै अगुवाइ र पहलमा २४ गते (शुक्रबार) काठमाडौंमा २६ वटा राजनीतिक संगठनको नारा जुलुसहितको विरोध प्रदर्शन हुँदैछ । यो कार्यक्रमलाई ६ वटा कम्युनिस्ट पार्टी र दुईवटा मोर्चाले समेत सफल बनाउन भुमिका खेल्ने जनाइसकेका छन् ।

२५ गते शनिबार रत्नपार्क शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्ला समितिको आयोजनामा विरोध प्रदर्शन हुँदैछ । दिनको १२ बजे नाराजुलुसहित सशक्त विरोध प्रदर्शनको तयारी गरिएको पार्टीका जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्यालले जानकारी दिनुभयो ।

क्रान्तिकारी माओवादी लगायत ६ वटा पार्टी र दुईवटा मोचाले २६ र २७ गते एमसीसीको कार्यालयदेखि संसद भवन घेराउ सम्मका संघर्षका कार्यक्रम सार्वजनिक गरिसकेका छन् ।

जिल्ला जिल्लामा पनि एमसीसी खारेजीको माग गर्दै विरोध प्रदर्शनका कार्यक्रहरु दैनिक रुपमा भइरहेको सम्बद्ध स्रोतले जनाएको छ ।





























