भ्याँभ्याँ
सयौं वर्षदेखि
पुस्ता दरपुस्तादेखि
देखिंदै आएकोे छ
अजबगजबको जन्तु
एउटाबाट
हजारमा फेरिंदै
भ्याँभ्याँ गर्दै छ
पछि पछि दगुर्दै छ
सत्ता संसद सांसद
यस्तैमा छ
उसको स्वत्व पहिचान
न राष्ट्र न भूगोल
न प्रेम न अस्तित्व
बेचिनु काटिनु
पछि पछि दौडिनु
भेंडामा ब्युँझिएर
भ्याँभ्याँ गरिरहेछ
यस्तै रह्यो
नमरेकोलाई
मरेको घोषणा गर्नु भएन
स्पदन नभएकोलाई
जीवन भन्नु पनि भएन
त्यतिका बम-विस्फोटबाट
पनि कुनै छेदन-भेदन भएन
त्यो जस्ताको तस्तै रह्यो
जस्तो पहिले थियोे
त्यस्तै त्यस्तै बान्कीको रह्यो
उही पुरानो मस्तिष्क
उही पुरानै हाउभाउ
उनै पुराना दुई आँखा
उनै पुराना दुई खुट्टा
न नयाँ जमाना
न नयाँ दुनियाँ
न बदलिएकोलाई
बदलिएको भन्न सकिएन
के गर्नु मित्र
मानिस बन्न खोजियो
यस्तै यस्तै रह्यो यसपालि
परिवर्तन भयो भन्न सकिएन
लेनिन
उस्तै अँध्यारो छ
उस्तै चकमन्न छ
जतिबेला
तिम्रो देशमा थियोे
दुनियाँभरि
त्यस्तै नस्लका
त्यस्तै अनुहारका
शासक छन्
जस्तो कि
मानिसको श्रम
मानिसको रगत
मानिसको मांसल
तनतनी पिएर
टन्न खाएर
आनन्दमा रमाउने
शोषकहरू छन्
म दुनियाँको
जुनसुकै ठाउँमा रहूँ
तिमी अर्थात् मेरो प्रेम
मसँगसँगै
तिमीलाई बचाइ रहन्छु
तिमी सँगसँगै
म सँगसँगै
अघिपछि
धोखेबाज बेइमान
लुकिलुकी हिंडिरहे छ
फेरि पनि
मसँग तिमी छौ
संसारको
जुनसुकै कुनामा
उभिऊँ रहूँ
समयको तुफानी
थप्पड हानोस्
त्यसको बदलामा
सधैंभरि चट्टान भई
उभिएर प्रतिकार गरिरहन्छु
ओ ! मेरो लेनिन
यो शोषणको दलदलबाट
ब्वाँसाहरूको शासनबाट
दुनियाँ र मानिस
मुक्त नहुँदासम्म
अक्टोबर क्रान्तिको गीत
गाइरहन्छु
थरिथरिका दुस्मनसँग
भिडिरहन्छु
भन्दै छु
तिमी र तिम्रो व्यवस्था
संसारका सबैभन्दा
फोहर घिनलाग्दा
चिज हुन् भन्दै छु
हो, यतिबेला
चाहिएको छ
साँच्चिकै तप्त उषा
जस्तो
छोइने र पोल्ने उज्यालो
गुफा
सत्तागुफालाई
मानिसको उज्यालो
मन नपर्न सक्छ
मानिसका सपना
मानिसका स्वाद
सुन्दर वनस्पति
बग्दै गरेका नदि
उदाउँदै गरेकोे
सरेन्डर नगरेको
बिहानको घाम
अनि रातभरि
स्वाधीनताको गीत
गाउँदै जाग्राम बसेको
मेरो प्रिय जुन
स्नेहालु ताराहरू
केही पनि मन पर्दैन
हाँसो खुसी
प्रेम प्रणय
शीतोष्ण धरती
पहाडी गुनगुनाहट
तराईको हावा
हिमगन्धी हिमपुष्प
शताब्दीयौं देखिका
मानिसका राग
रिस प्रेम र आवेग
सत्तागुफाका निम्ति
खतरनाक छन्
आत्मसमर्पण गरेको
विचारले
सत्तागुफा मात्र
जन्माउँछ
प्वाँखसहितको
उज्यालो जन्माउँदैन






























