काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारसँग भएको तीन बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न माग गरेका छन्। पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विप्लवले विशेष कार्यदल गठन गरेर सहमति कार्यान्वयन गर्न माग गरेका हुन्।

तीन बुँदे कार्यान्वयनका लागि पटकपटक सरकारको ध्यानाकर्षण गर्दा पनि माग पूरा नभएपछि विप्लवले पुनः सरकारको ध्यानाकर्षण गराएका हुन्।

सहमति कार्यान्वयनको शुरुमै बन्दीको रिहाइ र मुद्दा खारेजी हुनुपर्ने उल्लेख भएपनि यहि विषयमा ढिलासुस्ती भएको विप्लवको गुनासो छ। सरकारसँग भएको यो सहमति राजनीतिक मुद्दा भएको बताउँदै ज्ञापनपत्रमा भनिएको छ, ‘विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गर्दछौं।’

ज्ञापनपत्रमा केपी ओली सरकारले आफ्नै पालामा गरेको सहमति पाँच महिनासम्म पनि कार्यान्वयन नगर्नु नेपाली राजनीतिक आन्दोलन र नेपाली जनताका निम्ति धोका भएको उल्लेख गरिएको छ। सहमति कार्यान्वयन नभए त्यसले जटिल परिस्थितीको सिर्जना गर्ने पनि ज्ञापनपत्रमा उल्लेख छ।

गत चैत्र २१ गते ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको थियो। विप्लवले सहमति कार्यान्वयनमा ढिला भएको भन्दै बारम्बार कार्यान्वयन गर्न सरकारसँग माग गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार