अमेरिकी साम्राज्यवाद र उसको कठ्पुतली पेरुको प्रतिक्रियावादी शासकहरुले अन्ततः पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष दर्शनशास्त्रका प्राध्यापक डा. अबिमेल गुज्म्यान रेनोसो (क.गोन्जालो)को जेलभित्रै योजनाबद्ध हत्या गरे । ८६ बर्ष पुग्नु भएका गोन्जालो २९ बर्षदेखि कालकोठरीमा हुनुहुन्थ्यो । उहाँको कसुर थियो– पेरुका श्रमजीवी शोषित उत्पीडित वर्गको मुक्तिका निम्ति पेरुमा जनयुद्ध सञ्चालन गर्नु । पछिल्लो समय उहाँ छालाको रोगबाट पीडित हुनुहुन्थ्यो । उचित उपचारसहित जीवन रक्षा र शिघ्र रिहाइका लागि विश्वभरिबाट आवाज उठेको थियो र विश्वभरका कम्युनिस्ट तथा माओवादी क्रान्तिकारीहरुले उहाँको जीवन रक्षा र शिघ्र रिहाइका लागि अभियान नै चलाएका थिए । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका कम्युनिस्ट पार्टीहरुले पनि उहाँको जीवन रक्षा र शिघ्र रिहाइका लागि जोडदार माग गर्दै अभियानप्रति ऐक्यबद्धता प्रकट गरेका थिए । हामीले पनि यसअघिको अंकमा सम्पादकीय नै लेखेर कमरेड गोन्जालोको जीवन रक्षा र शिघ्र रिहाइका लागि आवाज बुलन्द गरौ भन्ने अपिलका साथ सम्पादकीय लेखेका थियौं । विश्वभरिबाट उठेको आवाज र दबाबप्रति पेरुका प्रतिक्रियावादी शासकहरुले कुनै सुुनवाइ गरेनन् । मानवअधिकार र वैयक्तिक स्वतन्त्रताको फलाको हालेर नथाक्ने अमेरिकी साम्राज्यवाद र उसको कड्पुतली पेरुको प्रतिक्रियावादी सरकारले उपचार नै नगरी योजनाबद्ध रुपमा कमरेड गोन्जालोको हत्या गर्न पुग्यो । त्यहाँको सञ्चार माध्यम र सरकारी अधिकारीहरुले उपचारको क्रममा निधन भएको भनेर प्रचार गरेपनि विश्वभरिबाट आवाज उठिरहेको छ उहाँको निधन नभएर योजनाबद्ध हत्या हो । क. गोन्जालोको निधनले संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरु, माओवादीहरु र मुक्तिकामी सिंगो सर्वहारावर्ग स्तब्ध बन्न पुगेको छ । उहाँको त्याग, तपस्या र बलिदानको उच्च सम्मान गर्दै संसारभरको कम्युनिस्ट आन्दोलनले उहाँबाट एउटा उर्जा र उत्प्रेरणा लिने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
कमरेड गोन्जालोले मृत्यु रोज्नु भयो तर जीवनको भीख माग्नु भएन । श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायलाई धोका दिनु भएन । अविचलित रुपमा लाल झण्डा फहराइरहनु भयो । र, संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुलाई उर्जा र उत्प्रेरणा दिइरहनु भयो ।
कमरेड गोन्जालोको उत्पेरणाबाट नै नेपालमा पनि जनयुद्धको उद्घोष गरिएको थियो । क.गोन्जालोको निधनमा शोक सन्देश जारी गर्र्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव तथा तत्कालीन दशवर्षे जनयुद्धका प्रमुख पहलकर्ता मोहन वैद्य किरणले भन्नुभएको छ, पेरुको क्रान्तिले नेपालमा जनयुद्धको थालनीका लागि महत्वपूर्ण वैचारिक भूमिका खेलेको कुरा हामीले कहिल्यै बिर्सन सक्दैनौं ।
अर्धसामन्ती देश पेरुमा किसान विद्रोहहरूको लामो शृङ्खला थियो । संबिधान निर्माणमा पेरुका जनताको चित्त बुझेको थिएन । राष्ट्रपति चुनावको अघिल्लो रात मई १७, १९८० आयाकुचोको सानो गाउँ चुस्चीमा साइनिङपाथका कार्यकर्ताले मतपत्र र मतदान सामग्री कब्जा गरी जनताहरूको अगाडि सार्वजनिक स्थानमा मतदान सामग्री जलाइ दिए र त्यही दिन साइनिङपाथले पेरुमा जनयुद्ध सुरु भएको घोषणा ग¥यो । पेरुमा जनयुद्ध सन १९८० देखि १९९९ सम्म चलेको थियो । यो अवधिमा पेरुमा २,९०० सशस्त्र कार्यवाही भए । ४३,००० मानिसहरूको जनयुद्धमा ज्यान गयो भने २६,२५९ लाई बेपत्ता पारियो । सन १९८५–९० मा पेरुको ३२ प्रतिशत भूभाग र ४९ प्रतिशत जनता साइनिङपाथको नियन्त्रणमा थियो र यो समयलाई रणनीतिक सन्तुलन हुँदै प्रत्याक्रमणको चरण भनियो । सन १९८८ मा पेरु कम्युनिस्ट पार्टी साइनिङपाथको पहिलो महाधिवेशन भएको थियो जुन महाधिवेशनबाट गोन्जालो विचारको प्रादुर्भाव भयो । महाधिवेशनको लगत्तै पछि गोन्जालोले एल डायरियो पत्रिकामार्फत एउटा लामो अन्तर्वार्ता दिनुभएको थियो, त्यो विश्वभरि चर्चित बनेको थियो ।
सन १९९० जुन महिनाको एक बिहान पेरुको राजधानी लिमामा कम्युनिस्ट पार्टीको ७० वटा राता झन्डा समानान्तर फहराइएको खबर संसारभरी फैलियो । यसैलाई प्रेरणा मानी नेपालमा कमरेड रामवृक्ष यादव (मास्टर साहेब) ले एउटा चर्चित मैथिली गीत लेख्नु भएको थियोः पेरु में लाल झन्डा फहराइ रे कोइ माने न माने ।
पेरु जनयुद्धको प्रभाव विश्वभरि प¥यो नेपाल पनि अपवाद रहेन । नेपाल कम्युनिस्ट पार्टी मशाल र मसाल पेरु कम्युनिस्ट पार्टी साइनिङपाथसँगै रिम (रिभोल्युसनरी इन्टरन्यासनल मुभमेन्ट) मा विश्वका १५ भन्दा बढी कम्युनिस्ट पार्टीहरूसँग सहयात्री थिए । पेरु जनयुद्धको समर्थनमा नेपालमा धेरै कार्यक्रम भए । गोन्जालोको एल डायरियोको अन्तर्वार्ता नेपालीमा अनुवाद भयो, पेरुमा जनयुद्ध भन्ने पुस्तक नै प्रकाशित भयो, कैदी नम्बर १५०९ भनेर कथा, कविता र गीतहरू लेखिए । पेरुको जनयुद्ध नेपालको जनयुद्धको प्रेरणा बन्यो । क. गोन्जालोको भौतिक शरीरको अन्त्य भए पनि उहाँको विचारको प्रभाव संसारभर फैलिइरहेको छ र फैलिइरहने छ । संसारभरका कम्युनिस्ट क्रान्तिकारीहरुले उहाँको महान आदर्शलाई पछ्याइरहने छन् । क. गोन्जालो उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली

 

 

प्रतिक्रिया

सम्बन्धित खवर