२४ भदौ  काठमाडौं ।

अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।

नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो । उनीहरुको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो । सो टोली एमसीसीबारे छलफल गर्न आएको हो । एमसीसीबारे नेपाली राजनीतिक वृत्तमा एकमत हुन सकेको छैन ।

 

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ । यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।

सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गर्दै स्पष्ट पार्ने अवसर दिएकोमा नेपाल सरकारको प्रशंसा गरेकी छन । उनले एमसीसी सम्झौता संसद्बाट अनुमोदनका लागि अघि बढाउन सकारात्मक पहल गरेकोमा धन्यवादसमेत दिएकी छन । उनले एमसीसी संसद्बाट सकारात्मक रूपमा अनुमोदन गर्नका लागि नेपाली जनतासँग खुला र पारदर्शी रूपमा संवाद गर्न तयार रहेको पनि बताएकी छन । अघिल्लो पटक आफू नेपाल आउँदा हरेक दलका नेताले सकारात्मक प्रतिक्रिया दिए पनि ‘दुर्भाग्यवश’ पछिल्लो समय भ्रामक भनाइ बाहिर आएकोमा चिन्ता व्यक्त गरेकी छन ।

सुमारले कुनै पनि एजेन्डा नलुकाइएको अर्थमन्त्री शर्मालाई दिएको जवाफ पत्रमा उल्लेख गरेकी छन । ‘यो पत्र र जवाफ नेपाली जनताले थाहा पाऊन् भन्ने अपेक्षा गर्दछु । यो अनुदान सम्झौताले २ करोड ३० लाख नेपाली जनतालाई बढी भरपर्दो विद्युत् तथा कम मूल्यमा यातायात र ऊर्जा फाइदा पुर्‍याउनेछ,’ उनले लेखेकी छन ।

विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतसम्भारसम्बन्धी करिब ५५ अर्ब रुपैयाँको अनुदान सम्झौता संसद्बाट अनुमोदन गर्न २०७६ असार ३० मा प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरिएको थियो । त्यसलगत्तै सम्झौतालाई लिएर पक्ष र विपक्षमा बहस चलिरहेको छ ।

एमसीसीले सम्झौताभन्दा नेपालको संविधान स्वत: माथि हुने र यो अनुदान कुनै पनि सैन्य रणनीतिसँग सम्बन्धित नहुने स्पष्ट पारेको छ । तर, भइसकेको सम्झौता अब संशोधन नहुने जानकारी पनि गराएको छ । नेपाल सरकार, अर्थ मन्त्रालयले सम्झौतासँग सम्बन्धित सरोकार सूचीकरण गरेर गत शुक्रबार वासिङ्टन डीसीस्थित एमसीसी मुख्यालयलाई पत्राचार गरेको थियो ।

यसैबीच एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आउँदा विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार त्रिभुवन विमानस्थल बाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ गरिएको हो । उनीहरुले एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौं आएलगत्तै विरोध जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर