
काठमाडौं । एमसीसीका उच्च पदाधिकारीहरुलाई बाेलाएर देउवा सरकारले संसदबाट राष्ट्रघाती एमसीसी पास गर्न खाेजेपछि नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपाल लगायत सच्चा देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरु सम्मिलित “एमसीसी खारेजी आन्दाेलन”काे आयाेजनामा बुधबार (भाेलि) विशाल प्रदर्शनकाे तयारी गरिएकाे छ ।
आकस्मिक रुपमा बुधबारका लागि सरकारले संसदकाे बैठक समेत बाेलाएकाे स्थितिमा एमसीसी संसदमा टेबल हुन नदिने र भए पनि पास नगर्न दबाब दिने उद्देश्यले विराेध प्रदर्शनकाे आयाेजना गरिएकाे देशभक्त जनगणतान्त्रिक माेर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले जानकारी दिनु भयाे ।
अध्यक्ष गजुरेलका अनुसार “एमसीसी खारेज गर” भन्ने एक सुत्रीय एजेण्डामा सहमत हुने सबै पक्षलाई समेटेर बृहत् रुपमा आन्दाेलन संगिठत गर्ने प्रयास गरिएकाेले बुधबारकाे प्रदर्शन साँच्चै विशाल हुनेछ ।
विराेध प्रदर्शनकाे कार्यक्रम अनुसार १ बजे माइतीघर मण्डलामा जम्मा भई नारा जुलुससहित बानेश्वर संसद भवन अगाडि पुग्ने र विराेधसभा कार्यक्रम गरिने छ । एमसीसी खारेजी आन्दाेलनले सम्पुर्ण देशभक्तहरुलाई आन्दाेलनमा उत्रन आव्हान समेत गरेकाे छ ।
यसैबीच, एमसीसी खारेजीकाे विषयलाई लिएर नेकपा (क्रान्तिकारी माओवादी) देशव्यापी आन्दाेलनमा उत्रिएकाे छ । एकल र संयुक्त रुपमा निरन्तर रुपमा कार्यक्रमहरु भइरहेका छन् ।






























