
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँका करिब सयाै ठाउँमा बाढी पसेको छ । भारी मात्रामा बर्षा परेपछि राति १ सय ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएकाे छ ।
महानगरीय प्रहरी प्रवक्ता (एसपी) सुशील सिंह राठौरका अनुसार मनोहरा खोला किनारमा रहेको मूलपानीको बस्ती, काँडाघारी र बल्खु क्षेत्रमा उद्धार कार्य जारी रहेको छ ।
अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको छ। डुबानबाट मानवीय र भौतिक क्षति भएको नभए पनि टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुल, शंखमुल, थापाथलीलगायतका क्षेत्र डुबानमा परेको छ ।
नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले १ सय ३८ जनाको सकुशल उद्धार गरेको छ । कुल ३८२ बढी घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
शंखमुलकाे शंखपार्क, खेल मैदान, साई पार्क पनि डुबानमा परेकाे छ ।





























