
श्रम गन्तव्यबाट दैनिक सरदर ४÷५ जना नेपाली युवाहरु लास बनेर स्वदेश फर्केको समाचारहरु हामीले सञ्चार माध्यमहरुमा पढ्दै आएका छौं। यस्तै खाले विभत्स समाचार फेरि आज (भाद्र १३ गते) सञ्चार माध्यममा सुने। त्यो समाचार एम्नेष्टी इन्टरनेशनल भन्ने अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले हालै सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदन हो। जसको अनुसार कतारमा मात्र विगत १० वर्षमा १८८४ नेपाली श्रमिमहरुले ज्यान गुमाएका छन्। उक्त प्रतिवेदनले मृत्यका केही कारणहरु पनि खुलाएको छ । कारणहरु क) कठिन शारीरिक श्रम, ख) अत्याधिक गर्मीमा श्रम गर्नु पर्ने, ग) दैनिक बढी समय श्रम गर्नु पर्ने, आदि।
यो कहाली लाग्दो खुलासा भारत बाहेक नेपाली युवाहरुको १० भन्दा बढी प्रमुख श्रम गन्तव्यहरु मध्येको एउटा देशको मात्र हो । एवम् प्रकारले सबै गन्तव्य मुलुकमा गएका नेपाली श्रमिकहरुको मृत्युको आँकडा कस्तो होला ? बेरोगारीको समस्या नेपाली युवाहरुको तात्कालिक जल्दोबल्दो समस्या हो । राज्यले उनीहरुलाई स्वदेशमै सुरक्षित रोजगारी दिन सकेको छैन । बदलामा उनीहरुलाई सस्तो पारिश्रमिकमा गाह्रो काम, जोखिमयुक्त काम र फोहोर काम गर्नु पर्ने असुरक्षित गन्तव्यमा जान बाध्य पारिरहेका छन् । नेपाल सरकारको वैदेशिक श्रम विभाग र म्यानपावर कम्पनीहरुले अदक्ष र अर्धदक्ष युवाहरुलाई गलत सुचना र गलत प्रलोभन समेत देखाई त्यस्ता असुरक्षित र जोखिमयुक्त कामहरुमा पठाईरहेका छन् । अन्य जे जे कारणले कतारमा त्यति धेरै नेपाली युवाहरुको ज्यान गएको भएता पनि नेपाल सरकारको र सम्बन्धित पक्षहरुको गलत नीति र स्वार्थ प्रमुख कारण हो ।
नेपाली युवाहरुको समस्याहरुको बारेमा हामी सचेत र राजनीतिमा लागेका युवाहरुले बृहंगम बहस र विमर्शहरु गर्दै आएका छौ । पार्टी र पार्टी निकट युवा संगठनहरुले जागरणको तह र संघर्षको माध्यमबाट युवाहरुको मुद्दाहरु उठाइरहेका छन् । उठाइरहेका छौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र सो पार्टी निकट क्रान्तिकारी युवा लिग, नेपालले नेपाली युवाहरुको तात्कालिक र दिर्घकालिन समस्या एवं समस्याहरुको समाधानका उपायहरुको बारेमा लामो र चरणबद्ध संघर्षहरु गर्दै आएको छ र संघर्षरत् छ । “युवाहरुलाई स्वदेशमै रोजगार देउ, होइन भने बेरोजगार भत्ता देउ“ भन्ने नारा मार्फत सो पार्टी र संगठनले नेपाली युवाहरुको रोजगारीको सन्दर्भमा उठाएको समाधानको उपायसहितको तात्कालिक मुद्दा हो । मुद्दा जायज तथा सान्दर्भिक छ । जुन मुद्दा इमान्दार एवं क्रान्तिकारी नेतृत्व र युवाहरुले जोडतोडका साथ उठाइरहेका छन् ।
तर जसका निम्ति मुद्दा उठाइएको छ, त्यो लक्षित समुहले त्यसलाई आत्मसात गरी नेपाल सरकारलाई लागू गराउन बाध्य पार्नको लागि संघर्षमा आउन चाहिरहेका छैनन् । उनीहरु बरु दलाल तथा प्रतिक्रियावादी सरकार र त्यसको छत्रछायाँमा मानव तस्कर गर्न खुलेको अखडाहरुमा अन्धाधुन्ध धाईरहेका छन् । सजिलो तवरबाट रोजगारी पाउने र धन कमाउने ध्याउन्नमा कष्ट र मृत्युको सुरुङ्गमा पुग्ने टिकट काट्दैछन् । उता जनविरोधी एवं दलाल राज्य सञ्चालकहरु हाईसुखले ती निमुखा युवाहरुको रगत पसिनामा होली खेल्नमै मस्त छन् । ती युवाहरुको जीवन रक्षा र सुरक्षित रोजगारीको सुनिश्चितताको बारेमा के को चासो र चिन्ता !
त्यसैले नौजवान नेपाली युवाहरुमा युगचेतनाको जाजरण ल्याउनु अत्यन्तै खाँचो छ । तिनै युवाहरुको नेतृत्व र सहभागितामा नेपालको प्रतिक्रियावादी सत्ता र दलाल नेताहरुलाई विस्थापित गरी युवाहरुको जनगणतान्त्रिक व्यवस्था स्थापना नहुँदासम्म श्रमगन्तव्यबाट नेपाली युवाहरुको लास हजारको सङ्ख्यामा होइन लाखको सङ्ख्यामा हवाई अड्मा उत्रिनै रहनेछ । सम्बन्धित सबैमा चेतना भया ।