ब्यङ्ग्य कथा
सुन्दरप्रसादजी उपसचिवसम्म हुन सकेका नेपाल सरकारका निस्कलङ्क निजामती कर्मचारी भए पनि सानातिना मानवीय कमजोरीबाट मुक्त भने थिएनन् । उनी घुस कमिसन खाँदैनन्, भ्रष्टाचार गर्दैनन् भन्दा आम मानिसहरू पत्याउन गाह«ो मान्थे । यो कुरो उनले पनि थाहा पाएका थिए र एकदमै दुःखी पनि हुन्थे । समाजमा कर्मचारीको स्वच्छ छवि बन्न नसकेकामा पिरोलिन्थे भुट्भुटिन्थे । परिस्थिति यस्ता निर्माण हुन्थे कि बेला बेला उनका मनमा समेत शोर्षफोर्स लगाएर मालदार ठाउँमा सरुवा हुने इच्छा जागृत हुने गर्थे, तर उनी त्यस्ता इच्छालाई काबुमा राखेर दबाउँथे । यसो गर्नमा सादा जीवन उच्च बिचार राख्न रुचाउने उनकी मिजासिली श्रीमतीको पनि ठुलो हात थियो । उस्तै श्रीमती परेकी भए उनको शान शौकतै भिन्नै हुन्थ्यो । उनको पावर बढेर सरकार फेरबदल गर्न सक्नेसम्मको हैसियत राख्ने भैसक्थे होलान् । उनी साथीभाइसँग बसेर साँझपख चुश्कि लाउने अनि बिदाका दिन म्यारिज खेल्ने पनि गर्थे । हाकिमले महिला कर्मचारीहरूसँग ठट्यौली गरेको, काम बिकाम दशौँ पटक आफ्नो कार्यकक्षमा महिला कर्मचारीहरूलाई बोलाएको देखेर उनी पनि आफू हाकिम हुन पाए त्यसै गर्न पाइने कल्पनामा डुब्थे बेला बेला ।

एक दिनको कुरो हो – उनका एकजना साथीले छुट्टै एउटा म्यारिज खेल्ने ठाउँमा पु¥याएछन् । सधैं दुई रुपैयाँ÷पाँच रुपैयाँ र दशैँ तिहारमा यसो दश रुपैयाँ प्वाइन्टसम्म खेल्ने गरेका सुन्दरप्रसादजी त्यहाँ हजार रुपैयाँ प्वाइन्ट म्यारिज खेलेको देखेर साह«ै चकित परेका थिए । त्यस ठाउँमा कुन अड्डा, अदालतका कर्मचारी, कुन ठेकेदार÷बिचौलिया, कुन नेता एवम् तिनका अघौटे पछौटे, कुन प्रहरी प्रशासनका अधिकारी, कुन डन वा टोले गुण्डाहरू खेल्दै थिए होला भन्ने सबैलाई थाहा भइराखेकै कुरा भएर यहाँ उल्लेख गरीरहनु सान्दर्भिक नहोला ।

अँ फेरि लागौं हाम्रा सुन्दरप्रसादजी तिरै । उनी एक घण्टाभन्दा बढी त्यहाँ बस्न सकेनन् । उनलाई आफू पनि त्यसरी नै हजार रुपैयाँ प्वाइन्ट म्यारिज खेल्न पाए हुन्थ्यो जस्तो लागिरह्यो । उनी मनमनै कुरा खेलाउन थाले । त्यतिबेला उनले ठ्याक्कै आफ्ना फुपाजुलाई सम्झे । फुपाजुका सम्धी काङ्ग्रेसका ठुला नेता । काङ्ग्रेसकै नेतृत्वको सरकार ! उनको शोर्ष लाइमागेर मालदार ठाउँमा सरुवा हुन पाए त, भन्दै उनी घर पुगे । बेलुका श्रीमतीसँग यस बिषयमा सल्लाह पनि गरे । तर उनकी श्रीमतीले उनलाई नाना तरहले सम्झाइबुझाई गरिन् र उनले मालदार ठाउँमा सरुवा हुने बिचार त्यागिदिए । मालदार ठाउँहरू कुन कुन हुन् भन्ने पनि सबैले जाने बुझेकै कुरो भा’को भएर यहाँ दर्शाइरहनै परेन ।

सुन्दरप्रसादजी उनन्चालिस वर्ष पुगेका मात्रै के थिए, एक दिन उनलाई अचानक भन्भनी रिङटा लाग्यो । उनी भुइँमा ढले । उनकी श्रीमतीले हत्तपत्त उनलाई अस्पताल पु¥याइन् । ल्याब रिपोर्टबाट थाहा भयो– उनको सुगर पनि प्रेशर पनि निक्कै माथि पुगिसकेको रहेछ । उनकी समझदार श्रीमतीले उनको खानपिनमा नियन्त्रण गर्ने, ब्यायाम गराउने, नियमित औषधि सेवन गराउने गर्न थालिछिन् । उमेर हद नाघेपछि जागिरबाट पनि अवकाश पाए । तर उनको स्वास्थ्य अवस्था भने राम्रो नै रह्यो । नब्बे वर्षको छेउछाउ पुग्दा समेत उनलाई सुगर प्रेशर बाहेक अरू कुनै रोगले छोएनन् । यसमा उनको आफ्नोभन्दा उनकी श्रीमतीको ठुलो हात थियो । यो कुरा उनले पनि राम्ररी नै महसुस गरेका थिए र श्रीमतीलाई बारम्बार धन्यवाद दिइरहन्थे । त्यस्ती समझदार एवम् गुनीली श्रीमती पाएकामा आफूलाई भाग्यमानी ठान्थे र गर्वले पुलङ्कित पनि हुने गर्थे ।

दशा बाजा बजाएर आउँदैन भन्ने भनाइले सुन्दरप्रसादजीको जीवनमा पनि सार्थकता पायो । तिर्थ जाने क्रममा गाडी दुर्घटना हुँदा उनका श्रीमान श्रीमती एकै चिहान भए । छिन भरमै यमदूतहरूले उनीहरूलाई यमलोक पु¥याई हाले । उनीहरूको पालो आएपछि यमराजले चित्रगुप्तलाई उनको खातामा भएको रेकर्ड अनुसारको उनीहरूको विवरण सुनाउन लगाए । चित्रगुप्तको विवरण सुनिसकेपछि यमराजले सुन्दरप्रसादजीलाई नर्क र उनकी श्रीमतीलाई स्वर्ग पठाउनु भनेर आदेश दिएछन् । त्यसपछि चित्रगुप्तले बिन्ती गरेछन्, “महाराज ! यो सुन्दरप्रसादले तास त खेल्यो तर जुवाको रूपमा घर ब्यवहारै बिगार्ने गरी तास खेलेन । हजार रुपैयाँ प्वाइन्ट म्यारिज खेल्ने, मालदार ठाउँमा सरुवा भएर घुस÷कमिसन खाने, भ्रष्टाचार गर्ने बिचार मात्रै गर्यो ; काम गरेन । रक्सी पिए पनि अदबका साथ पियो । श्रीमतीको सल्लाह मानीरह्यो ; गलत बाटोमा लागेन । महिलाहरूमाथि दुर्ब्यवहार गर्ने बिचार तुरुन्तै त्यागो । अतः हाम्रो न्याय बिधान अनुसार यसलाई एक हप्ता नर्कमा राखेर स्वर्ग पठाउनु पर्छ ।“ चित्रगुप्तको कुरो सुनेपछि यमराजले भनेछन्, “यसले अरूहरूले जस्तो श्रीमतीका राम्रा र ब्यवहारोपयोगी सुझावहरूलाई अक्षरसः पालना गरेको रछ त्यसैले यसलाई एक हप्तासम्म नर्कमा राखुञ्जेल कुनै सजाय नदिनू । अनि यसकी श्रीमतीलाई हाम्रो अतिथि कक्षमा राख्नू ।“

सुन्दरप्रसादजीले सात दिन नर्क बस्दा नर्कमा जानु परेका अन्य मानिसहरू कोही निर्बस्त्र नाङ्गै भएर बस्नु परेको, कसैलाई आराले चिर्दै गरेको, कसैका मुखमा इँटा, ढुङ्गा, रोडा,बालुवा कोच्याउँदै गरेको, कसैलाई कसैलाई कुकुरको पिसाबमा चोबेर तीन बुक तास छिटो खाइसक्! भनेर हप्काएको, कसैलाई कौडा चपाउन लगाएको, कसैलाई मान्छेकै मलमुत्र खुवाउँदै गरेको, कसैलाई भकभक उम्लेको तेलमा चोब्दै निकाल्दै गरेको जस्ता सजायका बिभत्स घटना देखेछन् । उनको एक हप्ता नर्कबासको सजाय भुक्तान भएर उनलाई यमलोक ल्याइएछ । यमलोक आइपुग्ने बित्तिकै आफ्नी श्रीमतीका कारण आफू त्यस्तो बिभत्स एवम् क्रुर सजायबाट बञ्चित हुन पाएकोमा श्रीमतीलाई मुरी मुरी धन्यवाद दिदै श्रीमतीको खुट्टा समेत ढोगेछन् । त्यसपछि चित्रगुप्तले उनीहरूलाई स्वर्ग पठाई दिएछन् । स्वर्गमा इन्द्रादि देवताहरूले उनीहरूको भब्य स्वागत गरेछन् ।

एकछिनको आराम गराइ र भलाकुसारीपछि देवताहरूले उनीहरूलाई भोजन गृह लगेछन् । त्यहाँ स्वर्गका अनुपम स्वादका मिठाइहरू रहेछन् । श्रीमतीले कपाकप मिठाइ खान थालिछिन् तर सुन्दरप्रसाद हच्केछन् । त्यो देखेर इन्द्रले सोधेछन्, “सुन्दरप्रसाद ! तिमीले किन मिठाइ नखाको ?” उनले जवाफ दिएछन्, “इन्द्रदेव ! मलाई सुगर भा’को छ ।” इन्द्रले भनेछन्, “सुन्दरप्रसाद ! यो स्वर्ग हो । यहाँ सुगर लागेकाले जति मिठाइ खाए पनि हुन्छ । केही फरक पर्दैन । गुलिया मिठाई खान खुब रुचाउने सुन्दरप्रसादले अघाउँजी मिठाई खाएछन् । त्यसपछि इन्द्रले सुन्दरप्रासादलाई अर्को ठुलो बैठक कोठामा पु¥याएछन् । त्यहाँ देवताहरू म्यारिज खेलीरहेका रहेछन् । अनि इन्द्रले सुन्दरप्रसादलाई भनेछन्, “तिमी नेपालबाट आएका हौ त्यसैले आज हामी तिमीसँग नेपाली रुपैयाँमा म्यारिज खेल्छौँ । भन कति रुपैयाँ प्वाइन्ट खेल्ने ?” सुन्दरप्रसादले डराइ डराइ दस रुपैयाँ प्वाइन्ट भनेछन् । त्यो सुनेर इन्द्रले हाँस्दै भनेछन्, “धत लाटा ! तिमीलाई हजार रुपैयाँ प्वाइन्ट खेल्न मन लाग्या थियो होइन ? लु बस ! उ तिम्रो पैसा त्यहाँ छ ।” इन्द्रले आफ्नो पैसा हेरे । लाख लाखका बीस गड्डी रहेछन् । सुन्दरप्रसादले जमेर हजार रुपैयाँ प्वाइन्ट म्यारिज खेले र झण्डै तीन लाख जति जितेछन् पनि ।

साँझ पर्न थालेपछि स्वर्गमा मदिरा सेवन समय हुँदो रहेछ । सुन्दरप्रसाद मदिरा सेवन गर्न अलि हच्केको देखेर इन्द्रले भनेछन्, “यो स्वर्ग हो । पृथ्वीमा जस्तो यहाँ मदिरा सेवन गर्न धक मान्नु पर्दैन । स्वर्गमा धेरै मदिरा सेवन गर्दा कुनै लाज हुँदैन । पिऊ! खुब पिऊ !” सुन्दरप्रसादले पनि धक फुकाएर मदिरा सेवन गरेछन् । मदिरा सेवन गरिसकेपछि नृत्यशालामा जानु पर्दो रहेछ । एक से एक सुन्दरी अप्सराहरू तालमा ताल मिलाएर नाचिरहेका हुँदा रहेछन् । हाम्रा सुन्दरप्रसादजी पनि लठ्ठ परेर अप्सराहरूको नृत्य हेर्न थालेछन् । एकछिन पछि त दुइटी अप्सरा आएर उनका दुई हातमा समातेर तानेर लगेर उनलाई बिचमा पारेर नचाउन थालेछन् । नाच्दै गर्दा बेला बेला हुने अप्सराहरूसँगको स्पर्शले उनी लाजले भुतुक्कै हुँदा रहेछन् । त्यो देखेर इन्द्रले उनलाई सम्झाउँदै भनेछन्, “सुन्दरप्रसाद ! यो स्वर्ग हो । यहाँ त्यसरी लाज मान्नु पर्दैन । तिमीहरूको पृथ्वीमा जस्तो यहाँ कसैसँग बात पनि लाग्दैन । नाच ! मज्जाले नाच !” त्यसपछि त सुन्दरप्रसादजी झुमेर नाच्न थालेछन् । नृत्य सिद्धिनासाथ सुन्दरप्रसाद आफ्नी श्रीमती छेउ पुगेछन् र श्रीमतीका गालामा पटापट चार चड्कन लगाएछन् । त्यो देखेर इन्द्र कड्केछन्, “सुन्दरप्रसाद ! यो स्वर्ग हो । यहाँ पृथ्वीमा जस्तो बिना कारण श्रीमती कुट्न पूर्ण रूपले बर्जित छ । अब तिमीलाई कडा दण्ड दिइनेछ । यो सुनेर सुन्दरप्रसादले भनेछन्, “हे इन्द्रदेव ! मैले यसलाई अकारणै चड्कन हानेको होइन । मसँग पर्याप्त कारणहरू छन्, प्रभु ।”

इन्द्रले फेरि कड्किँदै भनेछन्, “तिम्रा कारणहरू पेश गर ।” त्यसपछि सुन्दरप्रसादले भनेछन्, “हे स्वर्गाधिपति ! मलाई उनन्चालिस वर्षको उमेरमै सुगर प्रेशर दुइटैले भेटीसकेको थियो । यो दुष्टाले मलाई पथ परहेजमा नराखेकी भए, ब्यायाम नगराएकी भए, गुलिया मिठाइ खान, धक फुकाएर मदिरा सेवन गर्न दिएकी भए म लगभग पैँतालिस वर्षकै उमेरमा स्वर्ग आइपुगीसक्ने रहेछु, इन्द्रदेव ! तर यस पापिनीले मलाई झण्डै अरू पैँतालिस वर्ष उतै पृथ्वीमै रोकेर राखी । धन्न धन्न गाडी दुर्घटना भैदियो र मात्रै नत्र त यस पिशाचिनीले मलाई अझै कति वर्ष उतै बँचाएर राख्ने थिई । म स्वर्गको यो बैभव एवम् आनन्द लुट्न पाउने थिइन, महाराज ! अतः यो मेरी परम शत्रु हो महाराज ! यसले कडाभन्दा कडा दण्ड सजाय पाओस्, इन्द्रदेव ! दण्ड मलाई होइन यस अपराधिनीलाई दिइयोस् !” यो सुनेर इन्द्रले भनेछन्, “तिम्रो तर्क एकदमै सही छ । ढुक्क होऊ ! तिम्री श्रीमतीले तिमीले चाहे अनुसारको दण्ड सजाय पाउनेछिन् ।”

प्रतिक्रिया

सम्बन्धित खवर