६ भदौ काठमान्डौ ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले काठमाडौं आइपुगेका छन् । चारदिने अनौपचारिक भ्रमणका क्रममा उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाएको उनीनिकट स्रोतले जानकारी दियो । देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका उनी सबैभन्दा उच्चस्तरीय नेता हुन् ।
देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाइवालेले पनि देउवालाई टेलिफोन गरेका थिए । केही महिनाअघि एमाले नेता विष्णु पौडेलको निमन्त्रणामा आएका चौथाइवाले देउवासँग भेटवार्ता गरेका थिए ।
चौथाइवालेले आइतबारै कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन् । भेटमा नेपाल–भारत सम्बन्ध र विशेष गरी नेपाली कांग्रेस र भारतीय जनता पार्टीबीच सम्बन्ध विस्तारबारे छलफल भएको छ ।
भारतीय नेता चौथाइवालेले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार