काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ । २८ साउनबाट सुरु भएको बैठक ३२ साउनसम्म चल्ने सो पार्टीले जनाएको छ । बिहीबार बिहानबाट सुरु भएको बैठकमा पार्टी महासचिव मोहन वैद्य किरणले एजेण्डासहित राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

प्राप्त समाचार अनुसार महासचिव किरणले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । शुक्रबार र शनिबारसम्ममा प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि उठेका विषयहरुमा महासचिव किरणले स्पष्टीकरण दिने र एजेण्डामाथि छलफलसँगै महत्वपूर्ण निर्णयहरु गरिने बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

इच्छुक साँस्कृतिक प्रतिष्ठानमा सुरु भएको बैठकमा प्रस्तुत प्रतिवेदनको मूल स्पिरिट क्रान्तिकारी संघर्ष उठानमा केन्द्रित रहेको र प्रतिवेदनमाथि धारणा राख्ने नेताहरुले पनि संघर्षमा जोड दिएका छन् ।

संसदीय व्यवस्था, संविधान र संशोधनवादीहरुको असफलता र अग्रगामी विकल्पको सर्वत्र चर्चा भइरहेको परिस्थितिमा नेपाली कम्युनिस्ट आन्दोलनभित्रको क्रान्तिकारी धारको नेतृत्व गर्दै आएको र अग्रगामी राजनीतिक एजेण्डा अगाडि सार्दै आएको क्रान्तिकारी माओवादीको यो केन्द्रीय समितिको बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

छरिएर रहेका क्रान्तिकारीहरुलाई एकताबद्ध तुल्याएर नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने उद्देश्यलाई केन्द्रमा राखेर नेतृत्वदायी भूमिका खेल्दै आएको क्रान्तिकारी माओवादीले जारी केन्द्रीय समितिको बैठकमा पनि सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुबीचको एकतालाई जोड दिएको र रणनीति अनुसार नयाँ कार्यनीतिक स्टेपहरु विकासमा जोड दिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर