
काठमाडौं । अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।
एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको बताए । उनका अनुसार मुख्यमन्त्री पोखरेल राजीनामा पत्र बुझाउन प्रदेश प्रमुख अमिक शेरचनलाई भेट्न गएका छन् ।
यसअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा गर्ने वा अविश्वास प्रस्तावको सामना गर्ने भन्ने निर्णय गर्ने जिम्मा मुख्यमन्त्री पोखरेललाई नै दिने निर्णय गरेको थियो ।
प्रदेशसभामा मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा छन् । तर, जसपाले पार्टीको निर्णय विपरीत सरकारमा सहभागी भएको भन्दै जसपा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय लम्साललाई कारबाही गर्दै पदमुक्त गरेपछि मुख्यमन्त्री पोखरेल अल्पमतमा परेका थिए ।
प्रदेशसभामा एमालेका ३८ सांसद छन् भने विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन् ।
प्रदेशसभामा हाल ८० सदस्यीय छ । नयाँ सरकार बनाउन ४१ सांसद आवश्यक पर्छ, जुन बहुमत कांग्रेससहितका विपक्षी गठबन्धनसँग छ ।
विपक्षी गठबन्धनले १९ साउनमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।





























