जयसिंह धामीको खोजीकार्यमा भारतको अहसयोग, छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ढिलासुस्ती

जयसिंह धामीको खोजीकार्यमा भारतको अहसयोग, छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारको ढिलासुस्ती


काठमाडौं । तुइन तर्दातर्दै भारतीय सीमा सुरक्षा प्रहरी बल (एसएसबी)ले डोरी फुकालेपछि महाकालीमा खसेर बेपत्ता भएका नेपाली युवा जयसिंह धामीको खोजी कार्यमा भारतले असहयोग गरेको छ । नेपालले जयसिंहको खोजीका लागि महाकालीमा ड्रोन उडाउन सहमति मागेको पाँच दिन बितिसक्दा पनि भारतले जवाफ फर्काएको छैन ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत शनिबार भारतको पिथौरागढ जिल्ला अधिकारीलाई पत्र पठाउँदै जयसिंहको खोजीका लागि महाकालीमा ड्रोन क्यामेरा उडाउन सहमति मागेको थियो । तुइन चलाइएको व्याँस गाउँपालिका– २ मालघाटदेखि सदरमुकाम खलंगासम्मको नदी क्षेत्रमाथि ड्रोन उडाएर खोजी गर्ने योजना थियो । तर, मंगलबारसम्म पनि भारतीय प्रशासनबाट जवाफ नआएको दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट जोशीले जानकारी दिइन् ।

गत १५ साउनमा सदरमुकाम खलंगा आउन तुइन तर्दै गर्दा एसएसबीले डोरी फुकालिदिएपछि जयसिंह महाकालीमा बेपत्ता भएका थिए । तर, नौ दिनसम्म फेला नपरेपछि २३ साउनमा दार्चुला प्रशासनले ड्रोन क्यामेराबाट उनको खोजी गर्न सहमतिका लागि भारतीय प्रशासनलाई पत्राचार गरेको थियो । सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ ।

भारतीय प्रशासनले सहमतिका लागि जवाफ नदिएपछि ड्रोन उडाउने टोली मंगलबार नेपाली भूमि हुँदै घटनास्थल मालघाटतर्फ गएको छ । सरकारी छानबिन टोलीले काठमाडौंबाट बोलाएको ड्रोन उडाउने नेपाल प्रहरीका सइ प्रेम गन्धर्व नेतृत्वको दुई सदस्यीय टोली आइतबार खलंगा पुगेको थियो । दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टसहित घटनास्थलतर्फ गएको टोली मंगलबार सुनसेरामा वास बसेको छ ।

सरकारी अनुसन्धान टोलीले मृत शरीर नै भेटे पनि अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा गरेको छ । समितिले अहिले पनि नेपालतर्फबाट व्याँसको मालगाउँदेखि सदरमुकाम खलंगा क्षेत्रसम्मको भूभागमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर जयसिंहको खोजी गरिरहेको छ ।

छानविन समितिलाई अनावश्यक रुपमा थपियो सात दिनको सयम

छानबिन कार्यमा सरकारले पनि ढिलाइ गरिरहेको छ । घटनाको दुई दिनपछि १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको थियो । समितिलाई प्रतिवेदन बुझाउन १० दिनको समयावधि तोकिएको थियो । जसअनुसार बुधबार समितिले प्रतिवेदन बुझाउनुपर्ने थियो । तर, मंगलबार सरकारले समितिको समयावधि सात दिन थप गरेको छ ।
टिपोट गरिसकेको समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) सँगको समन्वयमा भारततर्फको घटनास्थलको पनि अवलोकन गरेको थियो ।

भौगोलिक कठिनाईका कारण टोलीले नेपालतर्फ भने सेनाको हेलिकोप्टरबाट घटनास्थलको निरीक्षण गरेको थियो । अनुसन्धानका क्रममा पीडित परिवारजनसंग भेटघाट गरेको टोलीले सदरमुकाम खलंगामा पत्रकार,अधिकारकर्मी, राजनीतिक दल र जनप्रतिनिधिहरूसंग छुट्टाछुट्टै भेटघाट तथा छलफल पनि गरेको थियो ।

घटनाका प्रत्यक्षदर्शीसंगको बयानलगायत अनुसन्धानका सबै प्रक्रिया सकेर टोलीले खलंगामा दुई दिन पूरा बितायो । घटनाका सबै सरोकारवालाहरूसंग (एसएसबी) संग समेत छलफल,भेटघाट, स्थलगत अवलोकन सबै सकेर समितिले दार्चुलामै प्रतिवेदन लेखनको काम सकेको एक समाचार स्रोतको दाबी छ ।
तर, साउन २५ गते दार्चुलाबाट फर्किएको टोलीलाई काठमाडौं नपुग्दै एक साताको म्याद थपिएपछि उतै अड्किनु परेको हो । सम्बद्ध स्रोतले बताएअनुसार दार्चुलामै प्रतिवेदन तयार भए पनि दुई देशको सम्बन्धमा खलल पर्ने विषय परेको आशंकामा गृहले उनीहरुलाई तत्काल काठमाडौँ नआउन भनेको हो ।

तत्काल काठमाडौं फर्कंदा सर्वसाधारणलाई समेत चासो हुने भएकाले उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी,प्रशासन र सरकार भिडिरहेको देखाउन पनि टोलीलाई केही दिन उतै बस्न निर्देशन दिइएको हुनसक्ने सम्बद्ध स्रोतले बताएको छ । स्रोतले भनेको छ,‘रिपोर्ट पेश गर्ने बित्तिक्कै के हो, कसो हो भन्ने चर्चा हुन्छ, त्यसैले केही दिन त्यहिँ भुल्न भनिएको होला । नत्र काम भने सकिइसकेको छ ।’

स्रोत अगाडि दाबी छ, ‘महाकालीको भेलमा हराइरहेका धामीलाई ड्रोन क्यामेराले पत्ता लगाउने र छानवीन समितिले घटनाको वास्तविकता बाहिर ल्याउने कुरा उस्तै हुन् । यी दुबै कुरा सरोकारवालाहरुलाई ढाँट्नेसिवाय अरू केही होइन ।’

दार्चुला घटनामा पीडितलाई न्याय दिलाउन सरकारले भारतसँग कूटनीतिक पहल पनि गरेको छैन । परराष्ट्र मन्त्रालय सरकारले गठन गरेको अनुसन्धान समितिको प्रतिवेदन कुरेर बसेको छ । प्रतिवेदनमा एसएसबीको संलग्नता किटान भएमा मात्रै भारतलाई ‘कूटनीतिक नोट’ पठाउने परराष्ट्रको योजना छ ।

विगतमा भने सिमानामा नेपालीहरूमाथि भएका दुव्र्यवहार तथा हत्याका घटनामा सरकारले तत्कालै भारतसँग राजनीतिक र कूटनीतिक तहमा ध्यानाकर्षण गराउने गरेको थियो । विगतमा दार्चुलाजस्ता घटनामा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर ध्यानाकर्षण गर्ने र दिल्लीस्थित नेपाली दूतावासबाट पनि भारतीय विदेश मन्त्रालयमा ध्यानाकर्षण गराउने कूटनीतिक चलन थियो । यसपटक घटनालगत्तै दार्चुला र भारतीय सीमावर्ती धार्चुलाका प्रमुख जिल्ला अधिकारीको तहमा मात्रै पत्राचार भएको छ ।

उच्च राजनीतिक तहमा पनि यसबारे छलफल भएको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग यसबारे कुराकानी गरेका छैनन् । परराष्ट्रमन्त्रीसमेत देउवा आफैँ भएका कारण कूटनीतिक सक्रियता देखाउनुपर्नेमा उनले पनि छानबिन समितिको प्रतिवेदन पर्खेका छन्  । गृहमन्त्री बालकृष्ण खाणले पनि भारतीय समकक्षी अमित साहसँग संवाद गरेका छैनन् ।