दार्चुला प्रकरणमा चार कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दार्चुला प्रकरणमा चार कम्युनिस्ट पार्टीको प्रधानमन्त्रीलाई ज्ञापनपत्र

 

काठमाडौं । महाकाली तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा दार्चुलाका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटनाको चर्को बिरोध गर्दै आएका संसद बाहिरका चार कम्युनिष्ट पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिबार ज्ञापनपत्र बुझाएका छन् । घटना घटेको ९ दिन बितिसक्दा पनि सरकारको औपचारिक धारणा सार्वजनिक नभएकोेप्रति असन्तुष्टि जनाउँदै चार दलीय मोर्चाले घटनाको शीघ्र छानवीन गरी नेपाली जनतासामु वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्री देउवासँग माग गरेको छ । त्यस्तै, अपराधमा संलग्न एसएसबीमाथि हदैसम्मको कारवाहीको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारसँग प्रभावकारी पहल गर्न, पीडित पक्षलाई न्याय दिलाउन र बेपत्ता धामीको परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि चार कम्युनिस्ट पार्टीले माग गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरण, नेकपा (विप्लव)का महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल र वैज्ञानिक समाजवादी पार्टी, नेपालका संयोजक विश्वभक्त दुलाल आहुतिको संयुक्त हस्ताक्षरमा प्रेषित ज्ञापन पत्रमा दोषीलाई तत्काल कारबाहीको दायरामा नल्याए कडा प्रतिरोध संघर्षमा उत्रने चेतावनी दिइएको छ ।
नेपाली नागरिक तुइन तरिराखेको देख्दा देख्दै तुइनको लठ्ठा खोल्ने एसएसबीको रवैया मैमत्तापूर्ण, हस्तक्षेपकारी,अमानवीय र सार्वभौम नेपाली जनताको विरुद्ध रहेको भन्दै मोर्चाले प्रधानमन्त्री देउवाको गम्भिर ध्यानाकर्षण गराएको छ ।
‘यो जंगली, आततायी र मानवता विरोधी अक्षम्य अपराध हो । उक्त षड्यन्त्रमूलक घटनाप्रति हामी आक्रोश व्यक्त गर्दै निन्दा र भत्र्सना गर्दछौँ’, प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ ।
२१ वर्षदेखि तुइन संचालन गर्दै आएका कल्याणसिंह धामी र अन्य प्रत्यक्षदर्शीको भनाइले पनि एसएसबीले नियोजित रुपमा लठ्ठा खोलिदिएको प्रमाणित भैसकेको ज्ञापनपत्रमा स्मरण गराइएको छ । साथै घटनाको डेढ हप्ता बित्दा पनि धामीको अवस्था अज्ञात हुनु नेपालीका लागि सरोकारमूलक चिन्ताजनक र असैह्य विषय भएको बताइएको छ ।

चार दलले सीमा क्षेत्रमा भारतीय पक्षले नेपाल र नेपाली जनताका विरुद्ध शृंखलावद्ध रुपमा घटाउँदै आएका आपराधिक घटनाहरु भविष्यमा कडाइपपूर्वक नियन्त्रण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग पनि गरेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा भारत सरकार र उसका सुरक्षाकर्मीले नेपाली जनतामाथि अपराधिक घटना घटाइरहेको भन्दै ज्ञापनपत्रमा प्रधानमन्त्री देउवामार्फत भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । अन्यथा भारतीय शासक वर्गको हस्तक्षेप, अतिक्रमण र आपराधिक क्रियाकलापका विरुद्ध प्रतिरोध संघर्षमा उत्रिन बाध्य हुने समेत चेतावनी दिइएको छ ।
दार्चुला घटना सीमा क्षेत्रमा सरकारले अपनाएको उपेक्षापूर्ण व्यवहारको परिणाम भएको चार पार्टीको ठहर छ । चार पार्टीले राज्यको सही नीतिले मात्र स्वाभिमान र सुरक्षाको प्रत्याभूति दिनसक्छ भन्ने तथ्य बुझ्न प्रधानमन्त्री देउवालाई आग्रह पनि गरेको छ ।
ज्ञापन पत्रमा भनिएको छ, ‘यस प्रकारका घटनाहरु सीमा क्षेत्रमा नेपाल सरकारले अपनाएको उपेक्षापूर्ण व्यवहारका कारण बारम्बार हुने गरेका छन् । ‘सीमा क्षेत्रमा सडकको उचित व्यवस्था, जनताका लागि आर्थिक उत्पादनका साधनहरुको उचित प्रवन्ध, बजार र सुरक्षाको प्रत्याभूति, स्वभिमान र सम्मानपूवर्क बाँच्न पाउने अवस्थाको सृजना हुने व्यवस्था गरियोस् भन्ने हाम्रो जोडदार माग रहेको छ ।’
क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलको नेतृत्वमा गएको चार दलीय प्रतिनिधि मण्डलले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको थियो । प्रतिनिधि मण्डलमा नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा (विप्लव)का सचिवालय सदस्य सन्तोष बुढा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
छानबिन समिति दार्चुलामा
महाकाली नदी तर्न लाग्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काएपछि ब्यास गाउँपालिका–२ का युवा जयसिंह धामी बेपत्ता भएको घटना छानविन गर्न गठित समिति अहिले दार्चुलामा छ ।
गृह मन्त्रालयका सह–सचिव जनार्दन गौतम नेतृत्वको समितिले शुक्रबार पीडित परिवारसँग भेटघाट गरेको थियो । सदरमुकाम खलंगामा रहेको छानविन समितिले घटनाका प्रत्यक्षदर्शी र राजनितिक दलका प्रतिनिधिहरूसँग पनि कुराकानी गरिरहेको छ ।
‘शुक्रवार पीडित परिवार कहाँ गएका थियौं, पीडित परिवार र गाउँलेका कुरा पनि सुन्यौं’ समितिका संयोजक सहसचिव जनार्दन गौतमले भने, ‘सदरमुकाममा प्रत्यक्षदर्शीसँग कुरा गरेका छौं ।’
सहसचिव गौतम नेतृत्वको छानविन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् । साउन १७ मा गठन गरिएको समितिलाई १० दिनभित्र छानविन प्रतिवेदन बुझाउन समय दिइएको छ ।
तुइनबाट भारत हुँदै आफ्नो घर जान लाग्दा खसेर बेपत्ता ब्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको अवस्था अझै अज्ञात छ । घटना छानविनमा संलग्न समितिले जयसिंह तुइनबाट खसेको घटनास्थल मालघाट नेपाल र भारततर्फबाट अवलोकन गरेका छन् ।
समितिले आफ्नो छानविन सोधपुछमै केन्द्रित गरेको छ । सरोकारवालासँग सोधपुछ जारी रहेको जानकारी दिँदै संयोजक गौतमले भने, ‘सूचना संकलन गर्दै छौं, विश्लेषण गरेर रिपोर्ट बुझाउँछौँ ।’
स्थानीयले मालघाटमा एसएसबीले तुइन फुस्काउँदा धामी बेपत्ता भएको बताएपनि भारत पक्षले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सो घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको पाइएको छ ।
विरोध प्रदर्शन जारी
दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता बनाइएको घटनाको विरोधमा नेकपा (क्रान्तिकारी माओवादी) निकट मजदुुर र विद्यार्थीहरु सडकमा उत्रिएका छन् । अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ भने अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले प्रहरी अवरोधका बाबजुद माइतीघर मण्डलामा विरोध प्रदर्शन सम्पन्न गरेको छ । सोमबार विद्यार्थी संगठनले भारतीय ज्यादती बढेको भन्दै त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको थियो ।

विद्यार्थी र मजदुर संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।