साम्राज्यवाद, प्रविधि र माक्र्सवाद

साम्राज्यवाद, प्रविधि र माक्र्सवाद

 
नेपालको समकालीन कम्युनिस्ट आन्दोलनमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले नयाँ सिराबाट एउटा वैचारिक बहसको उठान गरेको छ । “विचारधारात्मक राजनीतिक कार्यदिशासम्बन्धी प्रस्ताव — २०७५” नाम दिइएको उक्त पार्टीको दस्तावेज र चैत्र २६, २०७५मा नयाँ पत्रिकामा प्रकाशित पार्टीका संयोजक क. आहुतिले “आजका कम्युनिस्टले दिनुपर्ने उत्तरहरू” शीर्षक रहेको लेखमा निकै जोडदिएर नयाँ प्रस्तावनाहरु अगाडि सारेका छन् । ती प्रस्तावनाले उठाएका केही महत्वपूर्ण सैद्धान्तिक प्रश्न र तिनले आन्दोलनमा पार्न सक्ने भ्रमबारे संक्षिप्तमा चर्चा गर्नु आवश्यक भएकोले यो छोटो लेख तयार गरिएको छ ।

उक्त दस्तावेज र लेखमा पार्टीले मुख्यतः चारवटा विषयमा निकै जोड दिएको छ । ती विषय हुन् ः एक, लेनिनले परिभाषित गरेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग समाप्त भएको छ; दुई, समकालीन भूमण्डलीकृत पुँजीवादी युगमा विज्ञान तथा प्रविधिनै मुख्य उत्पादक शक्ति हो; तीन, विद्यमान विश्व परिस्थितिमा माक्र्स, लेनिन र माओले विकास गरेका सर्वहारा क्रान्तिका रणनीतिक तथा कार्यनीतिक श्रृङ्खलाहरुको सेटमा आधारित भएर अव विश्वको कुनै पनि देशमा समाजवादी क्रान्ति संभव छैन र चार, आजका कम्युनिस्टहरुले पुँजीवादी व्यवस्थाभित्र विज्ञान तथा प्रविधिमा आधारित भई वैज्ञानिक समाजवादको समानान्तर ढङ्गले अभ्यास गरेर साम्यवाद तर्फको यात्रा तय गर्नुृ पर्दछ । यी विषय अत्यन्त गम्भीर र निकै अर्थपूर्ण रहेका छन् । सर्वहारा समाजवादी क्रान्तिका निम्ति यी विषयबारे क्रान्तिकारीहरुको स्पष्ट दृष्टिकोण बन्नु आवश्यक छ ।


उपरोक्त चार बुँदामा उल्लेखित विषयवस्तुले कम्युनिस्ट आन्दोलनको समग्र पक्षलाई समेट्छ । यसमा मालेमावादी विश्व दृष्टिकोण, त्यस दृष्टिकोणमा आधारित विश्व परिस्थिति तथा अन्तर्विरोधहरुको विश्लेषण, क्रान्तिको कार्यदिशाको विकास र समाजवाद हुँदै साम्यवाद तर्फको यात्रामा लागु हुने कार्यक्रमिक श्रृङ्खलाहरु समेत जोडिएका छन् । एउटा छोटो लेखमा यी सबै विषयहरुको समग्र विश्लेषण संभव छैन । यो लेख साम्राज्यवादबारे लेनिनको विश्लेषण के हो, यो आज पनि किन सही छ, विज्ञान तथा प्रविधिको विकास र सामाजिक क्रान्तिका बीचको अन्तर्सम्बन्धलाई एउटा सच्चा माक्र्सवादीले कसरी बुझ्नु सही हुन्छ र उक्त दृष्टिकोणका आधारमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कता जाँदै छ भन्ने विषयमा केन्द्रित रहने छ ।

वाष्प इन्जिनको आविष्कार पछि औद्योगिक क्रान्ति हुँदै वेलायत लगायत युरोपका कतिपय देशमा पुँजीवादी क्रान्ति सम्पन्न भयो । त्यो खुला प्र्रतिस्पर्धामा आधारित उदारवादी चरित्रको पुँजीवाद थियो । १९औ शताव्दीको पूर्वार्धतिर पुग्दा त्यसको विकास उत्कर्षमा पुग्यो । पुँजीको सङ्केन्द्रण र मालको उत्पादन यसरी हुन थाल्यो कि ती देशका शासकहरु देशमा केन्द्रित भएको पुँजी लगानी गर्ने ठाउँ, उत्पादित मालका निम्ति बजार र कच्चा पदार्थहरुको स्रोतको खोजीमा राष्ट्रिय राज्यको सीमा नाघेर बाहिर गए । परिणाम स्वरुप तिनले मुख्यतः एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका अविकसित देशहरुमाथि सैन्य–राजनीतिक हस्तक्षेप मार्फत् अतिक्रमण गरेर ती देशलाई आफ्नो प्रत्यक्ष उपनिवेश बनाए । यही प्रक्रियामा शास्त्रीय पुँजीवादले एकाधिकारी पुँजीवादमा फड्का मा¥यो । त्यही एकाधिकारी पुँजीवादलाई लेनिनले साम्राज्यवाद नामाकरण गर्नु भएको हो ।

“साम्राज्यवाद, पुँजीवादको सर्वोच्च चरण” भन्ने आफ्नो महत्वपूर्ण रचनामा लेनिनले एकाधिकारी पुँजीवादको गहन विश्लेषण गर्नु भएको छ । उक्त रचनामा साम्राज्यवादका विशेषताबारे लेनिन लेख्नु हुन्छ, “एक, उत्पादन र पुँजीको सङ्केन्द्रण यस्तो उच्च चरणमा पुगेको छ कि यसले आर्थिक जीवनमा निर्णायक भूमिका खेल्ने एकाधिकारको निर्माण गरेको छ; दुई, बैङ्क पुँजी र औद्योगिक पुँजी मिलेर “वित्तपँुजी” बनेको छ; तीन, मालको निर्यात होइन पुँजीको निर्यातले अत्यधिक महत्व पाएको छ; चार, विश्वको बाँडफाँड गर्ने अन्तर्राष्ट्रिय एकाधिकारी पँुजीवादी सङ्घको निर्माण भएको छ; पाँच, ठुला पुँजीवादी शक्तिहरुका बीचमा विश्वको क्षेत्रीय विभाजन भएको छ ।” यसका साथै उहाँले साम्राज्यवादका विशेषतालाई एकाधिकार पुँजीवाद, मरणासन्न पुँजीवाद तथा परजीवी पुँजीवाद बताउँदै एकाधिकार पुँजीवाद त्यसको सारतत्व हो भन्नु भएको छ ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले लेनिनले माथि विश्लेषण गरेको जस्तो हिजोको एकाधिकारी पुँजीवाद अब अस्तित्वमा नरहेको र पुँजीपतिहरुका बीच प्रतिस्पर्धा नरहेको हुनाले लेनिनको युग समाप्त भइसकेको निष्कर्ष निकालेको छ । विज्ञान तथा प्रविधिको विकासलाई यसका निम्ति प्रमुख जिम्मेवार ठानिएको छ । यस सम्बन्धमा उक्त पार्टीको दस्तावेज लेख्दछ, “हिजोको एकाधिकारी पुँजीवादी विश्वमा पुँजीपति वर्गका ठूला समूहहरूबीच आपसी युद्ध र विश्वयुद्धसम्म हुन्थ्यो, किनभने तिनीहरूले एक–अर्कोलाई निल्न चाहन्थे । तर आज विश्वभरिका पुँजीपतिहरू र पुँजीपति वर्गका समूहहरू एक–आपसमा बहुराष्ट्रिय र परराष्ट्रिय कम्पनीमार्फत् एकीकृत भएका छन् । पुँजीवादको यस्तो परिदृश्य वा चरण यसभन्दा पहिले देखिएको थिएन र सम्भव पनि थिएन । यस्तो सम्भव हुनुको मुख्य कारण विज्ञान–प्रविधिमा भएको असाधारण विकास नै हो ।” यसबारे उक्त पार्टीका संयोजक कमरेड आहुति थप्छन्, “विश्व पुँजीवाद विज्ञान प्रविधिलाई उपयोग गरेर विश्वव्यापी रूपमा परराष्ट्रिय र बहुराष्ट्रिय कम्पनीमार्फत् एकीकृत भएको छ । अन्तर साम्राज्यवादी तेस्रो विश्वयुद्ध विगत सात दशकदेखि नामो निसान छैन । लेनिनको युग हुँदा त थप विश्वयुद्ध दुईपटक देखापर्नुपर्ने हो ! करोडौँ श्रमिक उत्पादनको थलोमा नभई आज सेवा क्षेत्र र बेरोजगारीमा फालिएका छन् । लेनिनको युग बाँकी हुँदा त श्रमिक उत्पादन थलोमा केन्द्रित हुनुपर्ने होइन ?”

यसरी उक्त पार्टीे विज्ञान तथा प्रविधिको विकासका कारण हिजोका प्रतिस्पर्धी पुँजीपतिहरुका बीचको अन्तर्विरोध आज समाप्त भएको, बितेका सात दशकसम्म विश्वयुद्ध नभएको र उत्पादनको थलोमा श्रमिकहरु केन्द्रित नभएको हुनाले पुँजीवादको एकाधिकारी चरित्र र लेनिनको युग समाप्त भएको निष्कर्षमा पुगेको छ । यो नितान्त गलत निष्कर्ष हो । यसबारे केही उदाहरण सहित निम्नानुसार छलफल गर्ने प्रयास गरिएको छ ।


पहिलो, अहिले पनि मालको उत्पादन र वितरण प्रणालीमा सीमित बहुराष्ट्रिय कम्पनीहरुको एकाधिकार कायमै रहेको मात्र होइन, झन बढेर गएको छ । यो प्रक्रियामा एउटै बहुराष्ट्रिय कम्पनीका मातहतमा विश्वभरि माल र मूल्यका हजारौँ एकाधिकारी सन्जालहरु निर्माण हुने गरेका छन् र त्यहाँबाट खरबौं डलरको दोहन हुन्छ । २०२१ मई १ मा प्रकाशित मन्थ्ली रिभ्यूमा चेङ् एन्फु र लि बाओलिन लेख्छन्, “२०१९मा विश्वका सबैभन्दा ठुला ५०० वटा कम्पनीहरुले ३३३ खर्ब डलरको व्यापार गरे र त्यसबाट तिनले नाफा मात्र २१ खर्ब डलर कमाए ।” ती कम्पनीहरुले एक वर्षमा गर्ने नाफा अमेरिका, चीन, जापान, जर्मनी, वेलायत, भारत र फ्रान्सलाई छाडेर विश्वका अन्य कुनै पनि देशको कुल वार्षिक गार्हस्थ उत्पादन भन्दा धेरै हो । त्यसै गरी “२०१७ मा विश्वको सबैभन्दा ठुलो अमेरिकी कम्पनी वालमार्टले ५ खर्ब डलर कमायो, जुन बेल्जियमको वार्षिक कुल गार्हस्थ उत्पादन भन्दा पनि धेरै हो ।” यो प्रवृत्तिलाई नवउदारवादी साम्राज्यवादले थप प्रोत्साहित गर्दै आएको छ । यसबाट लेनिनले गरेको विश्लेषण अनुसार नै विश्व बजारमा पुँजीको केन्द्रीकरण र ठुला कम्पनीको एकाधिकार कसरी मजबुत र स्थापित हँुदै गएको छ भन्ने कुरा प्रष्ट हुन्छ ।

दोस्रो, वैश्विक अर्थतन्त्रमा वित्तीय पुँजीको प्रयोग र त्यसको एकाधिकार संसारभरि नै बढेर गएको छ । उक्त प्रकाशनमा लेखकद्वय लेख्छन्, “१९८७ पछिको जम्मा २० वर्षको छोटो अवधिभित्र अन्तर्राष्ट्रिय ऋण बजारमा कुल ऋणको परिमाण ११० खर्ब डलरबाट बढेर ४८० खर्व डलर पुगेको छ, यो वृद्धिदर सम्पूर्ण विश्वको आर्थिक वृद्धिदर भन्दा धेरैले बढी हो ।” जम्मा २० वर्षको छोटो अवधिमा वैश्विक वित्तीय ऋण ३३६.४ प्रतिशतले बढेको छ । यसले विश्व अर्थतन्त्रमा ज्यामितीय अनुपातमा बढेको वित्तीय पुँजीको वर्चस्वलाई प्रष्ट गर्दछ । यसका साथै मुद्रा विनिमय, सेयर बजार तथा घरजग्गा कारोवार जस्ता अनुत्पादक क्षेत्रबाट आम्दानी हुने सट्टा पुँजीले विश्व अर्थतन्त्रमा बलियो प्रभाव जमाएको छ ।

तेस्रो, वैदेशिक मुद्रा विनिमय प्रणालीमा अमेरिकी डलरको वर्चश्वमा केही गिरावट आए पनि त्यसको एकाधिकार अझै कायम छ । अन्तर्राष्ट्रिय मुद्राकोषको एउटा अनलाइन प्रकाशनमा लेखिएको छ, “१९९९ मा ७१ प्रतिशत वैश्विक मुद्रा विनिमय अमेरिकी डलरमा हुन्थ्यो भने २०२० मा आइपुग्दा यो ५९ प्रतिशतमा झरेको छ ।” यो गिरावट हुनुको मुख्य कारण १९९९ देखि युरोलाई वैश्विक विनिमय प्रणालीमा समावेश गर्नु हो । यसले मुद्रा बजारमा अमेरिकी साम्राज्यवादको एकाधिकारको स्तरलाई प्रस्ट गर्दछ । वैश्विक मुद्रा विनिमय प्रणालीमा तीनथरि मुद्रा अमेरिकी डलर, युरो र ब्रिटिस पाउण्डले प्रायः एकलौटी नियन्त्रण गरेका छन् ।

चौथो, विश्व अर्थतन्त्रमा एकाधिकारलाई कायम गरिराख्नका लागि एउटा प्रमुख शक्तिकेन्द्रका वरिपरि अन्य मझौला शक्तिहरुको ध्रुवीकरण र त्यस्ता ध्रुवहरुका बीचको चर्किंदो अन्तर्विरोध वर्तमान विश्वको विशेषता बनेको छ । अमेरिकी ध्रुव र रुसी–चीनी ध्रुवका बीचको अन्तर्विरोध शीतयुद्धको स्तरमा पुगिसकेको र यसले विश्वयुद्धको खतरा निम्त्याएको कुरा यत्रतत्र सुनिन थालेका छन् । अमेरिका र चीनका बीचको व्यापार युद्ध सबैका सामु प्रस्ट छ । अङ्कीय प्रविधिको विकासले स्वार्थ मिल्ने विभिन्न आर्थिक समूहहरुलाई एकीकृत हुन सजिलो बनाएको छ, केही एकीकृत पनि भएका छन्, तर त्यो एकीकरण वैश्विक बजारमा झन् बलियो एकाधिकार कायम गर्नका लागि हो भन्ने कुरा एउटा क्रान्तिकारीले कहिल्यै बिर्सनु हुँदैन ।

पाचौँ, दोस्रो विश्वयुद्ध भएको करिव ७ दशकपछि पनि तेस्रो विश्वयुद्ध नभएको कुरा सत्य हो । तर यो बीचमा थुप्रै क्षेत्रीय युद्धहरु भएका छन् र ती युद्धमा साम्राज्यवादी शक्तिहरुको प्रत्यक्ष वा परोक्ष संलग्नता रहेको छ । शीत युद्धको अन्त्यपछि १९९१ मा सुरुभएको खाडी युद्ध, १९९९ को कोसोभो युद्ध, २००१ को अफगानिस्तान युद्ध, २००३ को इराक युद्ध, २००१ को लिविया युद्ध र २०११ को सिरिया युद्धमा संयुक्त राज्य अमेरिका सहित नेटोका कतिपय राष्ट्रहरु प्रत्यक्ष रुपमा संलग्न छन् । त्यसमाथि लेखकद्वय लेख्छन् “वितेका तीस वर्षको अन्तरालमा १४ वटा युद्धहरु लड्ने क्रममा अमेरिकाले मात्र १४२ खर्ब डलर खर्च गरेको छ ।” यी सबै तथ्यहरु साम्राज्यवाद भनेको युद्ध हो भन्ने लेनिनको संश्लेषणलाई पुष्टि गर्ने आधार होइनन् र ?

अब, धेरै प्रमाणहरु खोज्नेतिर नलागौं । माथि उल्लेखित तथ्यहरुले एकाधिकारी पुँजीवादी युगको अन्त्य भएको होइन, बरु पुँजीवाद अरु बढी एकाधिकारी बन्दै गएको छ भन्ने कुराको पुष्टि गर्छन् । विश्वयुद्धलाई तीन दशकको अन्तरालमा दोहोरिइरहनु पर्ने नियमित घटनाका रुपमा व्याख्या गर्दै करिब ७ दशक बित्दा समेत एउटा मात्र पनि विश्वयुद्ध नभएको हुनाले कमरेड आहुति लेनिनको युग समाप्त भएको अत्यन्त सरलीकृत र गलत निष्कर्षमा पुगेका छन् । यो उनले साम्राज्यवादका सम्बन्धमा लेनिनको विश्लेषण नबुझेर निकालेको निष्कर्ष होइन । यसरी उनले लेनिनवादका विरुद्ध जानीबुझी अभियान सञ्चालन गरेका छन् ।

बाँकी रह्यो लेनिनले १०० वर्ष अगाडि नै मरणासन्न भनेको पुँजीवाद झन बलियो भएर आएको हुनाले लेनिनको युग सकियो भन्ने कुरा । पुँजीवाद बाँच्यो कि म¥यो भन्नेबाट निष्कर्ष निकाल्ने होइन । पुँजीवाद सङ्कटपछि सङ्कटमा फस्दै गएको छ कि यसले जनताका समस्याहरु हल गर्दै र सङ्कटबाट मुक्त हुँदै आएको छ भन्नेबाट निष्कर्षमा पुग्नु उपयुक्त हुन्छ । पुँजीवादी अर्थशास्त्रीहरुले समेत स्वीकारेको कुरा के हो भने पुँजीवाद एकपछि अर्को गरी सङ्कटमा फस्दै गएको छ, जनताका समस्याहरु विकराल बन्दै गएका छन् र धनी तथा गरिबका बीचको आर्थिक खाडल झन–झन फराकिलो हुँदै गएको छ । पुँजीवाद तङ्ग्रिएर हट्टाकट्टा भएको होइन, बरु रुग्ण हुँदै गएको पुँजीवाद येनकेन चलेको मात्र हो ।

अब आयो विज्ञान तथा प्रविधिको कुरा । प्रकृति विज्ञान र माक्र्सवादी दर्शनका बीचमा घनिष्ठ सम्बन्ध छ । माक्र्सवाद विज्ञान सम्मत छ र यसलाई प्रकृति विज्ञानको विकाससँग मेलखाने गरी समृद्ध गर्दै जानु पर्दछ । प्रविधि विज्ञानको प्रयोग हो, आँफैमा विज्ञान होइन र प्रविधिको माक्र्सवादसँग कुनै पक्षधरता छैन । यसकारण प्रविधि वर्गनिरपेक्ष छ । पुँजीपति तथा सर्वहारा वर्ग दुवैले आ–आफ्नो वर्गस्वार्थ अनुसार प्रविधिको प्रयोग गर्छन् । यसरी वर्गीय पक्षधरताका हिसाबले विज्ञान र प्रविधि दुवै एउटै चीज होइनन् । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले दस्तावेजमा विज्ञान र प्रविधिका बीचको यो अन्तरलाई नदेखाई प्रविधि नै विज्ञान र विज्ञान नै प्रविधि हो भने जस्तो गरी प्रस्तुत गरेको छ । यो नितान्त गलत छ ।

उत्पादक शक्तिको विकास नै समाज विकासको आधार हो । प्रविधिको विकास सँगै उत्पादक शक्तिको पनि विकास हुँदै आएको छ । आदिम साम्यवादी युगको सुरुमा मानिसका श्रमका साधन आफ्नै हात–पाखुरा मात्र थिए । पछि, भौतिक आवश्यकता पुरा गर्नका लागि त्यसले नपुगेर मानिसले झटारो र गुलेली हान्न सिक्यो । उत्पादनका निम्ति निरन्तर सङ्घर्षको प्रक्रियामा मानिसको चेतना र प्रविधिको विकास आज आउँदा स्वचालित मेसिन तथा रोबोटको निर्माण एवम् प्रयोगसम्म पुगेको छ । मानिसको चेतना र औजारका बीचको सम्बन्धबारे माक्र्सले उतिबेलै सटीक संश्लेषण गर्नु भएको थियो । ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान’ नामक रचनामा माक्र्स लेख्नु हुन्छ, “उत्पादन प्रक्रियामा समावेश भएपछि, श्रमका औजारहरु विभिन्न रुपमा बदलिँदै जान्छन्, जसको उत्कर्ष मेशिन हो, अझ भनौं मेसिनहरुको स्वचालन प्रणाली हो, … … थुप्रै यान्त्रिक तथा बौद्धिक संरचनामा मिलेर रहने यो स्वचालन प्रक्रियामा श्रमिकहरु सचेत सम्बन्धमा मात्र जोडिन्छन् ।” प्रविधिको जति धेरै विकास भए पनि त्यो अन्ततः र अनिवार्यतः मानिसको चेतनाद्वारा निर्देशित हुन्छ भन्ने माक्र्सको यो भनाइको सार हो ।

भौतिक सम्पत्ति उत्पादनको प्रक्रियामा तीनवटा पक्षहरु जोडिएका हुन्छन् । ती हुन् ः एक, मानव श्रम, दुई, श्रमका वस्तु र तीन, श्रमका साधन । यी तीन पक्षको समग्रता नै उत्पादक शक्ति हो । यी तीनवटा मध्ये मानव श्रम मुख्य हो र अरुलाई आवश्यकता अनुसार मानिसले प्रयोग गर्दछ । यसबारे चिनियाँ कम्युनिस्ट पार्टीको प्रकाशन साङ्घाइ टेक्स्ट बुकमा लेखिएको छ, “प्रकृतिमाथि विजय प्राप्त गर्न र त्यसलाई बदल्नका लागि प्रयोग हुने मानिसको तागत नै उत्पादक शक्ति हो । उत्पादक शक्तिमा उत्पादनका औजारहरु निकै महत्वपूर्ण हुन्छन् । तर, हामीले उत्पादनका औजारलाई उत्पादक शक्तिको निर्णायक पक्ष मान्न सक्दैनौ । निर्णायक पक्ष मानिस हो, वस्तुहरु होइनन् । संसारका सबै वस्तुहरु मध्ये मानिस नै मूल्यवान छ । औजारहरु मानिसले बनाएका हुन्, मानिसले नै सुधारेका हुन् र मानिसले नै प्रयोग गर्ने हुन्, मानिस विना कुनै औजारहरु र व्यावहारिक ज्ञान केही पनि हुँदैनन् । मानिस विना श्रेष्ठतम “स्वचालित” औजारहरु पनि कहिल्यै पनि साँच्चिकै “स्वचालित” हुँदैनन् ।” मानिस र औजारहरुका बीचको अन्तर्सम्बन्धबारे माक्र्सवादी दृष्टिकोण यही हो ।

एउटा आश्चर्यको विषय के छ भने उक्त पार्टीको दस्तावेज र आहुतिको लेखमा कहीँ पनि उत्पादक शक्तिमा मानिसको भूमिका प्रधान हुन्छ भनेर लेखिएको छैन । त्यतिमात्र होइन उक्त दस्तावेजमा भनिएको छ, “साम्यवादी युगभरि मुख्य उत्पादक शक्ति प्रकृति थियो”, “मुख्य उत्पादक शक्तिको रूपमा जमिन आयो”, पुँजीवादी युगमा “पुँजी मुख्य उत्पादक शक्ति बन्न गयो” आदि । मानिसको भूमिकालाई एकाध ठाउँमा उल्लेख गरे पनि औजारलाई पहिलो र मानिसलाई दोस्रो स्थानमा राखिएको छ । प्रकृति, जमिन, पुँजी, औजार उत्पादक शक्ति अन्तर्गत त पर्छन् तर मानिसको श्रम नजोडिई तिनले मात्र माल उत्पादन गर्न सक्दैनन् । यसरी माल उत्पादनको प्रक्रियामा मानव श्रम निर्णायक हुन्छ । यसै सन्दर्भमा रुसी कम्युनिस्ट पार्टीले तयार पारेको राजनीतिक अर्थशास्त्रको शुरुआती कोर्स नामक पुस्तकमा ए. लियोन्तेभ भन्छन्, “उत्पादन गर्नका लागि जमिन, कारखाना घर, मेसिन र कच्चा माल आवश्यक हुन्छन् । यी सबैलाई उत्पादनका साधन भनिन्छ । तर उत्पादनका साधनहरु मानव श्रम विना, जीवन्त श्रमशक्ति विना मृत मानिन्छन् । उत्पादनका साधनमाथि श्रमशक्ति लगाएपछि मात्र उत्पादनको प्रक्रिया सुरुहुन्छ ।” राजनीतिक अर्थशास्त्रको क्षेत्रमा यो माक्र्सवादको आधारभूत प्रश्न हो ।

तर, उक्त पार्टीले उत्पादनको प्रक्रियामा मानव श्रमको भूमिकालाई गौण स्थानमा राखेर प्रविधिलाई प्रधान स्थानमा राख्न पुगेको छ । यसबारे उक्त दस्तावेज लेख्छ, “मानव श्रम मुख्य उत्पादक शक्ति भएको युग गुणात्मक रूपमा फेरिएर विज्ञान–प्रविधि नै मुख्य उत्पादक शक्ति हुने आजको युग बन्न पुग्यो ।” यहाँ गहिरिएर बुझ्नु पर्ने कुरा के हो भने, माल उत्पादनमा मेसिन तथा रोबोटहरुले काम गर्छन् तर त्यो श्रमको स्रोत ती मेशिन वा रोबोटहरुमा वस्तुकृत भएको मानवीय चेतना र श्रम हो, मेशिन आफै होइन । यो पक्षलाई पुरै नजर अन्दाज गरेर उक्त पार्टीले दस्तावेज मार्फत अघोषित रुपमा मूल्यको श्रमसिद्धान्तमा आधारित माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्तमाथि प्रश्न उठाउनका लागि वातावरण बनाउँदै आएको आभास दिएको छ ।

उपरोक्त तर्कहरु सहित उक्त पार्टी सर्वहारा क्रान्ति विना साम्यवादसम्म पुग्न सकिने बाटो खुलेको निष्कर्षमा पुगेको छ । उक्त दस्तावेज लेख्छ, “जसरी आदिम साम्यवादी समाजमा प्रकृति नै मुख्य उत्पादक शक्ति हुँदा स्वामित्वको स्वरूप समान थियो, त्यसरी नै आज नयाँ प्रकृति अर्थात् विज्ञान–प्रविधि मुख्य उत्पादक शक्ति भएपछि निर्णायक स्वामित्वको स्वरूप पनि समान हुने क्रम तीव्र भएको छ ।” यसको अर्थ हो क्रान्ति विना नै साम्यवादको प्रक्रिया सुरु भइसकेको छ । दस्तावेजमा अरु लेखिएको छ, “आजको विज्ञान–प्रविधि सबैले प्रयोग गर्न सक्छन्, तर प्रयोग गर्ने कि नगर्ने, कति गर्ने, प्रयोग गर्ने क्षमता विकास गर्ने कि नगर्ने भन्ने कुरा चाहिँ मानिसको प्रयत्न र चाहनामा भर पर्दछ ।” यसलाई पुष्टि गर्न दस्तावेजले अरु थपेको छ, “यही कारणले पुँजीपति घरानाबाट नआएका माइक्रोसफ्ट र फेसबुक सञ्चालक घरानियाँ पुँजीपतिभन्दा बढी सम्पत्तिवान हुनपुगे, किनभने मुख्य उत्पादक शक्ति भइसकेको विज्ञान–प्रविधिलाई घरानियाँ पुँजीपतिभन्दा उनीहरूले बढी सफलतापूर्वक प्रयोग गरे ।” आदि ।

अब यस्ता उटपट्याङ तर्कको खण्डनतिर नलागौं । यस सन्दर्भमा मेरो एउटा प्रश्न छ, प्रविधिको समेत प्रयोग नगरी फुटबल खेलेकै भरमा अर्जेन्टिनाका लियोनेल मेसीले २०२१ मा मात्र १६ करोड ७० लाख डलर आम्दानी गर्दैछन् भन्ने कुरा अनलाइन पेपरहरुले लेखेका छन् । अन्य सेलिब्रिटीको आर्थिक हैसियत पनि हामीलाई धेरथोर थाहा छ । त्यसो भए, विश्वका युवाहरु कोही मेसी जस्तै फुटवल खेलाडी, कोही विराट कोहली जस्तै क्रिकेट खेलाडी, कोही मार्क जुकरवर्ग जस्तै फेसवुक व्यवसायी, कोही अभिताभ बच्चन जस्तै सदावहार सिनेस्टार, कोही गौरिका सिंह जस्तै पौडीवाज बन्ने हो भने त क्रान्तिको झन्झट नै सकियो ? कुरो यस्तै हो त ? अवश्य होइन ।

के कुरा सही हो भने हिजोको साम्राज्यवाद आज उस्तै छैन, त्यसको रुपमा केही फेरबदल आएको छ । लेनिनको जमानाको उपनिवेशवाद आज नवउपनिवेशवादमा बदलिएको छ, राष्ट्रिय पुँजीको प्राधान्य वित्तीय र सट्टा पुँजीको प्राधान्यमा बदलिएको छ । उत्पादन क्षेत्रमा प्रविधिको अत्यधिक प्रयोगका कारण समाजमा उत्पादन सम्बन्धहरु केही फेरिएका छन् । हिजो सङ्गठित क्षेत्रमा सामूहिक ढङ्गले काम गर्ने बहुसङ्ख्यक मजदुरहरु आज बेरोजगार बनेर सेवा क्षेत्रमा काम गर्ने सडकछाप मजदुर बनेका छन् । युद्धमा समेत प्रविधिको प्रयोग बढ्दै गएको छ । आजका कम्युनिस्टहरुले यी सबै कुरालाई गम्भीरतापूर्वक ध्यान दिएर आफ्नो वैचारिक, राजनीतिक, सामरिक कार्यदिशा र तदनुरुप कार्यनीति तथा रणनीतिको विकास गर्नु जरुरी छ । केवल लेनिन र माओलाई जडसूत्रीय तरिकाले ग्रहण गरेर र त्यसलाई यान्त्रिक ढङ्गले लागु गर्न खोजेर आजको विश्व परिस्थितिमा सर्वहारा समाजवादी क्रान्ति संभव छैन ।

तर, विज्ञान तथा प्रविधिको विकासका कारण विश्व परिस्थितिमा गुणात्मक फेरबदल आएको छ भन्ने तर्क अगाडि सारेर जसरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले लेनिनको साम्राज्यवादी युग समाप्त भएको छ, प्रविधि नै मुख्य उत्पादक शक्ति बनेको छ, माक्र्स, लेनिन र माओले विकास गरेका रणनीतिक तथा कार्यनीतिक सेटमा अब समाजवादी क्रान्ति संभव छैन र आजका कम्युनिस्टहरुले पुँजीवादी व्यवस्थाभित्र विज्ञान तथा प्रविधिमा आधारित भई वैज्ञानिक समाजवादको समानान्तर ढङ्गले अभ्यास गरेर साम्यवाद तर्फको यात्रा तय गर्नुृ पर्दछ भन्ने तर्क अगाडि सारेको छ, यो माक्र्सवाद–लेनिनवाद–माओवाद सम्मत छैन । यसलाई उक्त पार्टीले समयमै नसच्याउने हो भने त्यसको वैचारिक गन्तव्य उत्तर–माक्र्सवाद एवम् प्रविधिवाद हुने कुरा निश्चित छ ।
श्रावण १६, २०७८
(लेखक ः नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य हुुनुहुन्छ ।)