
१८ श्रावण काठमाडौं । दार्चुलामा तुइन तर्ने क्रममा नेपाली युवक जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाको विरोधमा नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौं लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन सम्पन्न गरेको छ ।
उक्त विरोध प्रदर्शनलाई सम्वोधन गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका एसएसबीले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको भन्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले घटनाको छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न माग गरेका छन् । उनले भारतीय दूताबास नजिकै लैनचौरमा भएको विरोध प्रदर्शनलमा बोल्दै दार्चुला घटनामा भारतको ज्यादती देखिएको भन्दै त्यसलाई बन्द गर्न माग गरेका हुन् ।

यही साउन १५ गते दार्चुलामा तुइन तरेर सदरमुकाम खलंगातिर आउने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा ३५ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।