
म केही पनि होइन
म कोही पनि होइन
म त सामान्य बटुवा
सपनाको गन्तव्य पुग्न
हिडिरहेको छु निरन्तर
म त मामुली मान्छे
मेरा हर चिज मामुली !

म कुनै विलक्षण प्रतिभा सम्पन्न मान्छे हैन
बस केही अधुरा बाचाहरू छन्
तिनले रातमा पनि विथोलिरहन्छन्
तिनले दिनमा पनि चिमोटिरहन्छन्
तिनले एकान्तमा पनि लखेटिरहन्छन्
तिनै वाचाहरूले वाँधिएर
म त केवल दौडिरहेको छु
सपनाको गन्तव्यतिर !
भोकाहरूको भोकको भाषा
कनिकुथी कवितामा बोल्छु
थिचोमिचोमा पर्नेहरूको
कैले चित्कार/ कैले हुङ्कार
शब्दहरूमा उल्था गरिटोपल्छु
दु:खीहरू रुँदा –
म सँगसँगै रोइदिन्छु
दु:खिहरू मुस्कुराउँदा
म पनि फिस्स हाँसिदिन्छु
श्रमिकहरूले
समाजवाद भनेर नारा लगाउँदा
म जिन्दावाद भनिदिन्छु
श्रमिकहरूले
श्रमिकमारा पूँजीवाद भन्दा
म मूर्दावाद भनिदिन्छु
ब्यबस्था बदल्न भनेर
जव श्रमिकहरू सडकका ओर्लिन्छन्
म पनि लुसुक्क जुलुसमा मिसिन्छु
यस्ता मामुली काम गर्ने
म त मामुली मान्छे
म केही पनि होइन
म कोही पनि होइन !
ढुङ्गा खोपेरै लेख्नु पर्ने
या आत्मकथा नै कथ्नु पर्ने
जिन्दगीमा केही महान काम गरिएन
जति गरियो मामुली काम गरियो
मामुली मान्छेहरूको सङ्गत गरियो
मामुली मान्छेहरूकै भाषा बोलियो
मामुली मान्छेहरूकै
मामुली कविता लेखियो
त्यसैले पनि होला
मामुली मान्छेहरू बाहेक
मलाई कसैले चिन्दैन
यो ठूला बडाले नचिन्नु पनि
मलाई मामुली कुरा नै लाग्छ !
यस्तो दशक आयो
श्रमिकहरू कारखानाबाट निस्के
किसानहरू खेतबाटै हराए
घाँस काट्दा काट्दै
नाम्लो र बरियो चौतारामा छोडेर
घाँसेहरू पनि अलप भए
पढ्दा पढ्दैको कलम र कपी
पढाउँदा पढाउँदैको चक र डस्टर
ती सबै छोडेर
शिक्षक र विद्यार्थी पनि विपत्ता भए
आरनमा अर्जाप्न छोडेर
बिस्टका कोदालाहरू
खलाँती अलपत्रै छोडेर हराए कोही
सिउँन छोडेर विष्टका कपडा
हातेकल कुनामा थन्क्याएर
आधारातमै हराए कोही
र ती सबै सबै
एउटा मामुली कुरामा जम्मा भए
त्यो मामुली कुरा थियो– जनयुध्द !
राजतन्त्र ढाल्न
र क्रान्ति थाल्न भनेर हिडेका
तिनै मामुली मान्छेहरूसँगै
म पनि मामुली बाटो लागें
अनि म कसरी विलक्षण बन्थें ?
एउटा समय थियो
जनताले आफ्नै सेना बनाएथे
जनताले आफ्नै सरकार चलाएथे
सेनाका ब्यारेकहरूमा
ठूला ठूला लडाइँ लडेका थे
गोली थाप्दै छात्तीभरि
जनसेनाहरू
सैनिक किल्लाको बुर्जामा चढेका थे
हो त्यही बखत म पनि
उनीहरूसँगै हिडेको मात्र हुँ
उनीसँगै भिडेको मात्र हुँ
ती मामुली मान्छेहरूको सङ्गत
अलिअलि गरेको मात्र हुँ
यसरी मामुली कामहरू गरेर
आधाभन्दा बढी उमेर सक्ने
एउटा मामुली वुध्दिको
म त मामुली मान्छे
म खास केही पनि होइन
म खास कोही पनि होइन !
अहिले पनि
म मामुली काम गरेरै दिन गुजार्दै छु
मामुली /नितान्त मामुली
मामुली मान्छेले गर्ने कामहरू !
कृपय मसँग अरु कुरा नखोज्नुस
मसँग अरु कुरा नसोध्नुस
केवल मामुली कुरा मात्र सोध्नुस
किन कि
म त एउटा मामुली मान्छे !
पूर्व योध्दाहरूले
मामुली ठानेर फालेका झण्डा
बटुलेर मैदानबाट
म मामुली हातले उठाइरहेको छु
पूर्व सहयात्रीहरूले
मामुली ठानेर हिड्न छोडेको बाटो
म मामुली मान्छेहरूसँग हिड्दै छु
पूर्व गायक साथीहरूले
मामुली ठानेर गाउँन छोडेको गीत
म मामुलीहरूसँग मिलेर गाउँदै छु
यस्तै यस्तै मामुली कामहरू गर्ने
मामुली मामुली कविताहरू कथ्ने
म त यो समयको मामुली मान्छे !
२०७८/०४/०९
माइतीघर