विप्लव नेकपाले अहिले वैज्ञानिक समाजवादका निम्ति जनमत संग्रह गर्नुपर्ने आवाजलाई जोडतोडका साथ उठाइरहेको छ र कतिपय अर्थमा अस्वाभाविक लाग्ने गरी राजनीतिक दौडधूप पनि बढाएको छ । विप्लवले राजनीतिक रुपमा प्रतिध्रुवीय कित्तामा रहेका संसदवादी राजनीतिक पार्टीहरुसँग भेटघाट र छलफललाई तीव्र पारेको छ । मधेसवादी, राजावादी पार्टीहरुसँग पनि उसले भेटघाट र छलफललाई तीव्रता दिएको छ । विप्लव नेकपाले संसदीय व्यवस्था, सत्ता र संविधानका विरोधी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुसँग भन्दा पनि संसदवादी पार्टीहरुसँगको भेटघाट र छलफललाई बढी महत्व दिएका छन् । यसलाई कम्युनिस्ट क्रान्तिकारीहरुले शंकाको नजरले हेरिरहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेकपा, नेकपा (ऋषि कट्टेल) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीबीचमा रणनीतिक संयुक्त मोर्चा बनाएर एक चरणको कार्यक्रम समेत दिइसकिएको अवस्थामा अहिले विप्लव नेकपाकै कारण यो रणनीतिक संयुक्त मोर्चा ‘प्यारालाइज’ अवस्थामा रहेको छ । क्रान्तिकारी माओवादी लगायत संयुक्त मोर्चामा आवद्ध पार्टी नेताहरुले पटक पटक बैठक बस्न, छलफल गर्न र दोस्रो चरणको कार्यक्रम तय गर्न आग्रह गर्दा पनि विप्लव नेकपाले आवश्यक चासो र समय दिएको छैन । रणनीतिक संयुक्त मोर्चाको एक घटक वैज्ञानिक समाजवादी पार्टीका संयोजक आहुतीले त एक राष्ट्रिय दैनिक पत्रिकामा एउटा लेख नै लेखेर विप्लवको जनमत संग्रहवादी राजनीतिक नारा सैद्धान्तिक हिसाबले त्रुटीपूर्ण रहेको भन्दै विरोध गरेका छन् । वैज्ञानिक समाजवाद र दलाल पुँजीवादी संसदीय व्यवस्थाबीच जनमतसंग्रह गर्नुपर्ने त्यस पार्टीको मागले माक्र्सवादी सिद्धान्त, मान्यता र आदर्शसम्बन्धी धेरै विषयलाई प्रभावित गर्न पुगेको ठहर गर्दै आहुतिले गम्भीर विमर्श जरुरी भएको उल्लेख गरेका छन् ।
आहुतीले लेखेका छन्, “माक्र्सवादको ऐतिहासिक प्रस्तावना यही नै हो कि जब वर्गीय व्यवस्थाको कुरा हुन्छ, सत्तासीन वर्ग सहमतिमा अर्को वर्गका निम्ति सत्ता छाड्न कहिले पनि तयार हुँदैन । त्यसैले अन्तत: अनिवार्य रूपमा वर्गसंघर्षको विषय आउँछ, बल प्रयोगको आवश्यकता अगाडि आउँछ । दलाल पुँजीवादी संसदीय व्यवस्था र वैज्ञानिक समाजवादबीच जनमतसंग्रह गरौं भन्ने प्रस्तावले त वैज्ञानिक समाजवादी श्रमिक वर्गीय व्यवस्था शान्तिपूर्ण ढंगले स्थापना सम्भव छ भन्ने प्रस्तावना निर्माण हुन पुग्छ । त्यस्तो प्रस्तावना कति गलत हुन्छ भन्ने यथार्थ विगत दुई सय पचास वर्षको श्रमिक वर्गको आन्दोलनले छर्लंग देखाएकै विषय हो । यो प्रस्तावले आम जनतामा सैद्धान्तिक रूपमा वर्गीय व्यवस्था र राज्यसत्ताजस्ता विषयमा निकै ठूला विभ्रम रोप्ने काम गर्छ । त्यसले श्रमजीवी वर्गीय चेतनामा दूरगामी विकार जन्माउने खतरा उत्पन्न हुन्छ ।”
श्रमिक वर्गीय आन्दोलनलाई नियन्त्रण गर्न नसक्ने हालतमा पुगेका बेला पनि आफ्नो वर्गविरोधी वैज्ञानिक समाजवादमा जान पुँजीपति वर्ग तयार हुनै सक्दैन, मृत्युपत्रमा कुनै वर्गले हस्ताक्षर गरेको इतिहास छ र ? भनी उनले लेखमा गम्भिर प्रश्न खडा गरेका छन् ।
उनले लेखेका छन्, “वैज्ञानिक समाजवाद कम्युनिस्टहरूको रणनीतिक लक्ष्यकृत व्यवस्था हो, त्यसलाई आजकै कार्यनीति बनाएपछि त समस्या उत्पन्न हुन्छ नै हुन्छ । आजै प्राप्त हुन नसक्ने विषयलाई अहिलेकै कार्यनीतिक नारा बनाउन पुगेपछि आधारभूत सिद्धान्तहरूमा धक्का पुग्ने निर्णयहरू गर्नुपर्ने स्थितिमा पुगिन्छ । माक्र्सवादी सिद्धान्तका आधारभूत प्रस्थापनाहरूमा उभिने हो भने कम्युनिस्टहरूका निम्ति आफ्नो रणनीतिक लक्ष्यलाई तत्कालको कार्यनीति बनाएर खेलबाड गर्ने छुट छैन, अझ रणनीतिलाई तत्कालीन राजनीतिक दाउपेचका रूपमा प्रयोग गर्न खोज्नु त हजार विकृतिहरूलाई निम्तो दिनु मात्र हुनेछ ।”
अर्धसामन्ती, अर्ध तथा नवऔपनिवेशिक नेपालमा पुँजीवादी नयाँ जनवादी क्रान्ति पनि सम्पन्न भएको छैन । जनयुद्ध, जनआन्दोलन लगायत अन्य विभिन्न आन्दोलनको समग्र तागतमा सामन्तवादको राजनीतिक प्रतिनिधि संस्था राजतन्त्र ढले पनि मुलुकमा साम्राज्यवाद विरोधी संघर्षको सिंगै कार्यभार बाँकी नै छ । अहिले पनि नेपाली अर्थतन्त्रमा सामन्ती उत्पादन सम्बन्ध नै हावी छ । दलाल पुँजीवादी वर्ग शासन व्यवस्थामा हावी र प्रभावी छ । संसदीय व्यवस्थाको समूल अन्त्य गरेर स्वाीधन र आत्मनिर्भर नेपालको स्थापना वैज्ञानिक समाजवादको अनिवार्य सर्त हो । नयाँ जनवादी राज्यव्यवस्था वैज्ञानिक समाजवादको पूर्वअवस्था हो । त्यो राजनीतिक व्यवस्था समेत स्थापित नभइसकेको अवस्थामा वैज्ञानिक समाजवाद त्यसमा पनि जनमत संग्रहको माध्यमबाट स्थापित गर्ने नारा मालेमावादी सिद्धान्तका दृष्टिले सरासर गतल र दिग्भ्रमित तुल्याउने खालको छ । र, यो क्रान्तिकारी नारा नभएर सुधारवादी तथा वर्गसमन्वयवादी (मिलेराँवादी) नारा बन्न पुग्दछ । नयाँ जनवाद नै अहिले रणनीतिक नारा रहेको अवस्थामा वैज्ञानिक समाजवादलाई कार्यनीतिक नाराको रुपमा अगाडि सारिएको विषयलाई कम्युनिस्ट क्रान्तिकारीहरुले बडो आश्चर्यपूर्वक हेरिरहेका छन् । यस विषयलाई विप्लव नेकपाले बेलैमा स्पष्ट पार्न जरुरी छ ।
