
नेपालमा कम्युनिस्ट आन्दोलन सफल हुन नसक्नु र क्रान्ति फस्टाउन नसकिरहुनुको मूल जड हो सर्वहारावर्गका महान नेता माओत्सतुङगले भन्नु भए जस्तो – क्रान्ति हुन र गर्न क्रान्तिको तिन जादुगरि हतियार हुनु जरुरी छ, क्रान्तिकारी पार्टी, क्रान्तिकारी पार्टीको नेतृत्वमा क्रान्तिकारी जनसेना र क्रान्तिकारी संयुक्त मोर्चा । यी तिन मध्ये कुनै एकको अभावमा क्रान्ति सफल हुन सक्दैन । यस्तो स्थिति (क्रान्तिको तिन जादुगरि हतियार) निर्माण गर्न सच्चा कम्युनिष्ट पार्टी निर्माण हुनु जरुरी छ । नाम मात्रको क्रान्तिकारी कम्युनिष्ट पार्टी होइन । सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्न र हुन भित्रैदेखि मालेमावादमा समर्पित सच्चा मालेमावादी कम्युनिस्टहरुको लगनशीलताले मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न सक्छ र हुन्छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई सदावहार क्रान्तिकारी बनाई, क्रान्ति हाँक्न सक्षम बनाई राख्न ‘नेता होइन, नीति प्रधान’ को सोचलाई क्रान्तिकारी सचेतता अपनाई पार्टीभित्र घुसपैठ हुन सक्ने र हुने क्रान्ति विरोधि गलत सोच, गलत प्रवृत्ति, गलत चिन्तन, दक्षिणपन्थी अवसरवाद, दक्षिणपन्थी नवसंशोधनवाद तथा सबैखाले प्रतिक्रियावादीहरु विरुद्ध पार्टीलाई सुदृढ बनाई राख्न जरुरी छ । जसको निम्ति क्रान्तिकारी पार्टीका सबै जिम्मेवार नेता तथा कार्यकर्ताहरु, आवश्यकता अनुरुप संचालन हुनु र गर्नुको सँगै जनसमूदाय माझ घनिष्ट सम्बन्ध कायम गरि पार्टी सुदृढिकरण अभियानमा सदा सकृय भई, फलामलाई गाल्ने आगोको मुस्लो बनि निर्भीक्तासाथ अग्रसरभई अग्रपङ्तिमा उभिन सक्नुपर्दछ । सरकारको काम कहिले जाला घाम भने जस्तो गलत मनोवृति त्यागि माक्र्सवादी–लेनिनवादी–माओवादी अडान र दृष्टिकोणमा अडिग भई क्रान्तिको ज्वालामा निर्भिक्तासाथ दर्होगरी उभिन सक्नुपर्दछ ।
पार्टी सुदृढिकरणका अनेकन विधी मध्ये अत्यन्तै महत्वपूर्ण विधी आलोचना र आत्माआलोचना हो भन्ने कुरो सच्चा क्रान्तिकारी कम्युनिस्टहरुले बुझ्नु जरुरी छ । आफुबाट भए गरेको कमि कम्जोरी वा गलत क्रियाकलापलाई लिएर कसैले गरेको सोच्छ आलोचनाबाट तिरमिरेर क्रान्ति विरोधी गैर कम्युनिस्ट आचरण अपनाउनु सच्चा क्रान्तिकारी कम्युनिस्टको आचरण भित्र पर्दैन र होइन । फेरि त्यस्तो क्रान्ति विरोधि गैर कम्युनिस्ट क्रियाकलाप सामु मौन धारण गरी बस्नु एक प्रकारको मतियार बन्नु हो । मतियार बन्नपुग्नु भनेको कुनै पनि मानेमा सच्चा क्रान्तिकारी कम्युनिस्टको नियती होइन र हुन सक्दैन । यसरी मौन धारण गरी मतियार बन्न पुग्नु क्रान्तिकारी आचरण होइन र क्रान्तिकारी आचरण मान्न सकिन्न ।
हाम्रो सम्झनामा ताजा रहि आएको कुरा के हो भने – कुनै पनि व्यक्ति विशेषको खराब आचरण र गलत प्रवृतिलाई कुनै पनि अर्थमा क्षम्य मान्नु हुन्न र त्यस्तो आचरण र प्रवृतिलाई कतैबाट पनि त्यो सुध्रिन सक्छ भनेर बचाउ गर्नुको नतिजा चिनमा भए गरेको साँस्कृतिक क्रान्तिताका क्रान्तिकारी कर्मीहरुले देङ स्याओ पिङको पार्टी एवम् सैद्धान्तिक विरोधि क्रियाकलाप विरुद्ध उनलाई कार्वाई गर्न गइरहेको बेला ती सुध्रिन र सुधार्न सक्ने समय छ भन्दै, रोकथाम गर्नुको परिणाम महान नेता माओत्से तुङको निधन भए लगतै निजको नेतृत्वमा ‘चिनमा भएको प्रतिक्रान्ति’ आज हाम्रो सामू दिनको घाम जतिकै छर्लङ्ग रहिआएको छ । जुन घटना हामीले चाहेर पनि आजसम्म भुल्न सकिरहेका छैनौँ र भुल्न सक्ने कुरो पनि होइन ।
हामी क्रान्तिकारी पार्टीका सच्चा क्रान्तिकारी कम्युनिस्टहरु, त्यो महान जनयुद्धलाई समय नहुँदै सुरुगरिएको र जनता सहभागि नभएको दुस्साहसवादी ठान्ने जस्ता ढुलमुले क्रान्तिकारी होइनौं । हो त सच्चा क्रान्तिकारी कम्युनिस्टहरु माक्र्सवादी–लेनिनवादी–माओवादी अडान र दृष्टिकोण अनुरुप बिसुद्ध आचरण र चरित्रवान हुनुको सँगै हावामा सवार भई नदिको धार विपरित पौडेर हरहमेसा अगाडि बढिरहन सक्ने क्षमतावाण हौँ र हुनु जरुरी छ ।
अहिले नेपालमा विकास हुँदैगरेको प्रतिक्रियावादी संकट तथा अन्तरविरोधहरुको तिक्तताको सन्दर्भमा प्रतिक्रियावादी एवम् नव–संशोधनवादीहरुको यो वा त्यो गुटको अराजनैतिक गठबन्धनमा नलागि विसुद्ध क्रान्तिकारी नीतिअनुसार गएर पार्टीलाई क्रान्तिकारी दिशामा अघि बढाउने राम्रो अवसर पैदा भएको छ । प्रतिक्रियावादी र नव–संशोधनवादीहरुले फैलाउने दुषित हावा हुरिका अगाडि नझुकी इतिहासका नकारात्मक अनुभवहरुबाट शिक्षा लिएर दृढतापूर्वक पार्टीको क्रान्तिकारी कार्यदिशा लागू गर्न अगाडि बढेर मात्र प्रतिकूलतालाई अनुकूलतामा फेरिन सकिन्छ भन्ने कुरा बुझ्नु जरुरी छ ।
मालेमावादी कम्युनिष्टहरुले अत्यन्तै महत्वकासाथ बुझ्नुपर्ने कुरो भनेको देश, काल र परिस्थिति भित्र खुम्चेर आत्मागत शक्ति कमजोर छ भनेर नेतृत्व मात्र ओगति बिरालो बाँदेर श्राद्ध गर्ने प्रथामा अल्झेर, क्रान्तिको माला जपेर बस्दैमा क्रान्ति आफै हुने कुरो होइन । क्रान्ति हुन र गर्न माक्र्सवादी–लेनिनवादी–माओवादी पठप्रर्दशणलाई आत्मासात गरी मालेमावादी अडान र दृष्टिकोण अनुरुप क्रान्तिकारी पथमा अग्रसर हुने मानसिकता निर्माण गरी, महान नेता लेनिनको दिव्य उपदेश –‘माक्र्सवादी क्रान्तिकारीहरु कुनै पनि समय र परिस्थितिभित्र खुम्चेर बस्दैन, बरु समय र परिस्थितिलाई आफु अनुकूल बनाई हरहमेसा क्रान्तिकारी पथमा अगाडि बढिरहेको हुन्छ र अगाडि बढ्नु पर्दछ’ लाई हृदयङ्गम गरी सच्चा क्रान्तिकारी कम्युनिस्टहरु हिम्मतकासाथ क्रान्तिकारी पथमा निरन्तर अगाडि बढ्न सक्नुपर्दछ ।
क्रान्तिकारी कम्युनिस्टहरुले यो कदापि भुल्नु हुन्न कि महान नेता लेनिनले ‘हरहमेसा कम्युनिस्ट आदर्श अनुरुप व्यक्तिगत आचरणमा शुद्धता र संयमलाई अत्यन्त बढि जोड दिनु हुन्थ्यो । तर म यहाँ देखिरहेको छु, यहाँको वस्तुस्थिति विलकुल उल्टो, जस्तो कि यहाँका कतिपय कामरेडहरु आफु अवल दर्जाको सच्चा कम्युनिस्ट हुँ भनि सावित गर्न बडेबडेमानको सैद्धान्तिक लेख लेख्न र भाषण छाँत्न शिपालु तर व्यवहारमा भने सुन्ने, ती छद्मभेषी क्रान्तिकारीहरु दक्षिणपन्थी अवसरवाद तथा दक्षिणपन्थी नवसंशोधनवादको जवरजस्त प्रभावका कारण राजनैतिक एवम् संगठनात्मक प्रश्नसँगै व्यक्तिगत आचरण र नैतिकताको प्रश्नमा पनि पूँजीवादी अराजकता र छाडापनबाट मुक्त छैनन् । क्रान्तिकारी पार्टीको समस्याको मूलजड भन्नु नै यहि हो ।
क्रान्ति हुन र गर्न फेरिपनि क्रान्तिकारी कार्यदिशा र क्रान्तिकारी कार्यक्रम तर्जुमा गर्नु नै पर्याप्त होइन र हुन सक्दैन । अर्को कुरो क्रान्ति हुन र गर्न देशको वर्तमान वस्तुगतस्थिति क्रान्तिको लागि सकारात्मक भएर पनि के गर्ने, क्रान्तिकारीहरुको आत्मागत स्थिति कमजोर छ भनी हातमा हातबाँधी, पार्टीभित्र रहेको रहल–पहल विकृति र विसंगति, कमि कमजोरी, गलत प्रवृति, गलत सोच (चिन्तन्), दक्षिणपन्थी अवसरवाद, दक्षिणपन्थी नवसंशोधनवाद तथा नवप्रतिक्रियावाद जस्ताको प्रभावलाई निर्मूल गरी पठाउने तिर नलागि यतिकै गतिछाडा तालले छुट दिइराख्ने हो भने आत्मागत शक्ति कमजोर मात्र होइन पार्टीमा अरु कल्पनासम्म गर्न नसकिने दुर्घटना नहोला भन्न सकिन्न । तसर्थ क्रान्तिकारीहरुले अत्यन्तै महत्वकासाथ हेक्का राख्नु पर्ने कुरो आत्मागत शक्ति कमजोर हुनु भनेको त्यो आफैमा एक गम्भिर रोग हो । जस्को निदान गरी रोगको उपचार आवश्यकता अनुरुप गर्नु नितान्त जरुरी छ । रोगको उपचार बिना आत्मागत शक्ति आफै तन्दुरुस्ति भएर आउने कुरो होइन भन्ने कुरो क्रान्तिकारी कम्युनिस्टहरुले बुझ्नु जरुरी छ ।
क्रान्तिकारी पार्टीका सच्चा कम्युनिस्टहरुले आदम्वरी रवाफ र आडम्वरि जीवन शैलिबाट माथि उठी नेता हुनुको हुँकार छोडेर, व्यवहारत: शिष्ट बोली र सादाव्यवहारमा उत्रेर उत्पिडित जनसमूदायको मनजिती आत्मियता गाँस्न सक्नु पर्दछ । किन कि यो नै एक मात्र क्रान्तिको मूल आधार स्तम्भ हो र यसलाई सहि अर्थमा जागरुक बनाई, अधुरो रहिरहेको नयाँ जनवादी क्रान्तिलाई टुङ्गोमा पुर्याई यसै माध्यम वैज्ञानिक समाजवादमा फडको मार्ने यो एक भरपर्दो क्रान्तिकारी कार्य विधी हो । विना अपवाद यस विधीलाई प्रत्यक कामरेडहरुले आफ्नो जिम्मेवारी बोधका साथ व्यवहारत: कार्यक्षेत्रमा उत्रनु क्रान्तिकारी कम्युनिस्टहरुको नैतिक दाइत्व हो ।
क्रान्तिको सन्दर्भमा भन्नुपर्दा, नेपालको राजनैतिक इतिहासलाई हामीले गौरगरी हेर्यौभने के कुरा प्रमाणित हुन आउँछ भने नेपाली पूँजीपतिवर्गले केहि विशेष ऐतिहासिक परिस्थितिहरुमा साम्राज्यवाद सामन्तवादको विरुद्ध संघर्षमा भाग लिन सक्छ र लिएका पनि छन् । अन्य परिस्थितिहरुमा सो वर्ग, आफ्नो आर्थिक तथा राजनैतिक कमजोरिको कारणले गर्दा धोकेवाजभई गद्दारी गर्न पुग्छन् । त्यसैले इतिहासको पाना पल्टाएर हामीले के सिक्न र बुझ्नु पर्छ भने नेपालमा हामीले गर्न खोजिरहेको साम्राज्यवाद–विरोधी, सामन्तवाद–विरोधी तथा यो संसदिय नवप्रतिक्रियावादी व्यवस्था विरोधी पूँजीवादी–जनवादी (नयाँ जनवादी) क्रान्ति एउटा यस्तो अभिभारा हो जसलाई पूँजीपतिवर्गको नेतृत्वमा सम्पन्न गर्न सकिंदैन, बरु सर्वहारावर्गको नेतृत्वमा मात्र सम्पन्न गर्न सकिन्छ ।
हामीले हरहमेसा यादगार बनाई राख्नु पर्ने यो नाभि सवाल सर्वहारावर्ग पूँजीपतिवर्गको पछि लाग्ने होकी पूँजीपतिवर्ग सर्वहारावर्गको पछि लाग्ने हो ? नेपाली क्रान्तिमा नेतृत्वगर्ने उतरदायित्वको यो सवाल अत्यन्तै महत्वपूर्ण छ, किन भने जसमाथि क्रान्तिको सफलता वा असफलता निर्भर गर्दछ । हुनत हामीले यो नाभि सवालको दुवैपक्षको सकारात्मक र नकारात्मक अनुभवहरु दश वर्षिय महान जनयुद्धको क्रममा हासिल गरिसकेका कुराहरु हुन् । पूँजीपतिवर्गले सर्वहारावर्गको राजनैतिक नेतृत्वको अनुसरण गर्दाखेरि क्रान्ति कसरी अघिबढ्यो र पछि जनयुद्धका मूल नेतृत्व प्रचण्डको गल्ति (गद्दारी)ले गर्दा सर्वहारावर्ग पूँजीपतिवर्गको राजनैतिक पुच्छर बन्दाखेरि कसरी क्रान्ति पछिल्तिर धकेल्न पुग्यो । इतिहासको यस घटनालाई हामीले भुलेरै पनि दोहरिन दिनुहुन्न ।
मालेमावादी हामी वहुसंख्यक उत्पिडित जनसमूदायमाथि भरोसा राख्छौँ र सम्पूर्ण परिस्थिति प्रति जिम्मेवारीपूर्ण ढङ्गले ध्यान केन्द्रित गर्छौँ । क्रान्तिकारी पार्टी पंक्तिहरुमा पद प्रतिस्था र सुविधावादको एउटा प्रतिविम्व रहेको क्रान्तिकारी पठबाट भागेका भगुवाहरुको पुच्छरवादलाई पुनर्जिवित हुन दिनु हुँदैन । पार्टीको वर्ग अदानलाई कमजोर पारिएमा, त्यसका विशिष्ट लक्षणहरुलाई अस्पष्ट बनाइएमा, पद, प्रतिस्था र सुविधावादका खाँचोहरु पुरा गर्नका लागि मजदुर किसान तथा वहुसंख्यक उत्पिडित जनसमूदायका हितको वलिदान गरिएमा, क्रान्ति अवश्य पनि पराजित हुनेछ । हामी यस अर्थमा सचेत हुनैपर्छ किनभने दह्रो क्रान्तिकारी नीति कार्यान्वयन गरी पूँजीवादी जनवादी (नयाँ जनवादी) क्रान्तिमा पूर्ण विजयका लागि प्रयासरत छौँ । र उपर्युक्त अवाञ्छनिय प्रवृतिहरुलाई हटाउनका लागि, सम्पूर्ण पार्टीको माक्र्सवादी–लेनिनवादी–माओवादी सैद्धान्तिक स्तरलाई उठाउनु अत्यन्त जरुरी छ, किनभने माक्र्सवाद–लेनिनवाद–माओवाद मात्र त्यस्तो शिक्षा दिग्दर्शक यंत्र हो जसले नेपाली क्रान्तिलाई विजय तर्फ मार्गदर्शन गर्नसक्छ ।
२०७८/४/१
ताहाचल, काठमाडौँ





























