गुल्मीमा सुकुम्बासीकाे मकै खेतीमा लगाइयो डोजर

प्रकाशित मिति : २०७८ श्रावण ७

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरमा लगाइएको मकै खेतीमा डोजर लगाएर नष्ट गरिएको छ।
मालिका-७ घमिरको सिलादीमा डेढ दसकभन्दा पहिलेदेखि बस्दै आएका सुकुम्बासी परिवारले लगाएको मकै खेतीमा डोजर लगाएर नष्ट पारिएकाे हाे ।

सिलादीमा दलित समुदायका १२ परिवार विगत १७ वर्षदेखि सुकुम्बासीको रूपमा बसोबास गर्दै आएका छन्। त्यहाँ बसोबास गरेका ९ परिवारले वन क्षेत्र भित्र पर्ने सिलादी चौरमा मकै लगाएको थिए।
वन क्षेत्रभित्र लगाएको मकै फल्ने समयमा डिभिजन वन कार्यालय गुल्मीले डोजर चलाएको हो।
स्थानीयले लगाएको मकै खेती हटाएर कार्यालयले वृक्षारोपणका लागि स्थान तयार गर्ने सहमति भएको बताइएकाे छ। डिभिजन वन कार्यालयले सो स्थानमा जिल्लाकै ठूलो नर्सरी बनाउने योजना अघि सारेको छ।
वन कार्यालयले वनक्षेत्रमा रहेको बस्तीलाई अन्यत्र स्थानान्तरण गरी उक्त स्थानमा हाइटेक नर्सरी बनाउने योजना बनाएको हो। मकै खेती हटाइएको क्षेत्रमा पनि फलफूल तथा विभिन्न वनस्पतीका ३५ हजार बिरुवाहरू उत्पादन गरिने सहायक वन चौधरीकाे भनाइ छ ।
पीडित सुकुम्बासीहरुले भने पाक्न लागेकाे मकै बारीमा डाेजर चलाएर स्थानीय जनप्रतिनिधिले ज्यादति गरेकाे बताएका छन् ।