आम कम्युनिस्ट क्रान्तिकारी र आमूल परिवर्तनका पक्षधर आम जनतामा संसदवादी र संशोधनवादीहरुले ठूलो भ्रम छरेका छन् । उनीहरुले अहिले प्रतिक्रियावादी वर्गको भूमिका निर्वाह गरिरहेका छन् । क्रान्ति सफल भइसक्यो । अब क्रान्तिको औचित्य छैन । र, क्रान्ति सम्भव पनि छैन । संसदीय व्यवस्थाको विकल्प नै छैन । आदि इत्यादि भ्रमहरु छरेर जनपंक्तिलाई दिग्रमित तुल्याइरहेका छन् । सच्चा कम्युनिस्टहरु तथा माक्र्सवादीहरुले संशोधनवादी तथा संसदवादीहरुले छरेका भ्रमहरुको निरन्तर प्रतिवाद गर्दै आएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) संसदवादी र संशोधनवादीहरुको भ्रमको प्रतिवाद गर्ने पार्टीको रुपमा सबैभन्दा खह«ो रुपमा प्रस्तुत हुँदै आएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले त नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासलाई माक्र्सवाद र संशोधनवादका बीचको भीषण दुई लाइन संघर्षको इतिहास भन्नुभएको छ । ‘संशोधनवाद र पश्चगमन’ नामक पुस्तकमा उहाँले लेख्नुभएको छ, “आज रुप तथा संख्यामा बलियो देखिने दक्षिणपन्थी संशोधनवाद मात्र संशोधनवाद नभएर वस्तुत: नवप्रतिक्रियावाद नै हो । यद्यपि त्यसले माक्र्सवादी पोशाक र आभुषणमा सजिएर दुनियाँभरलाई झिलिमिली देखाई दिग्भ्रमित पार्ने कोशिस गरिरहेको छ, परन्तु त्यो अस्थायी कुरा हो । संशोधनवादले जनताका नजरमा नवप्रतिक्रियावादका रुपमा छर्लङ्गै देखिनु वा नाङ्गिनु अनिवार्य छ । यसै क्रममा भीषण चुनौती र अनेकौं जटिलताहरुको सामना गर्दै माक्र्सवाद महान् सम्भावनाका बीचबाट देश र श्रमिक जनसमुदायको मुक्तिका लागि क्रान्तिको मैदानमा पुन: सशक्त रुपमा प्रस्तुत हुनु पनि अनिवार्य नै छ ।”
संसदवादी र संशोधनवादीहरुले आम सञ्चारका साधनमाथि एकाधिकार कायम गर्ने, सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका विरुद्ध मिथ्या प्रचार गर्ने र मिडियामार्फत् विभिन्न खाले भ्रम सिर्जना गर्ने काम गरिरहेका छन् । र, कम्युनिस्ट क्रान्तिकारीहरुका विचार र समाचारहरुलाई उनीहरुले अघोषित रुपमा प्रतिबन्ध लगाउँदै आएका छन् ।
क्रान्तिकारी माओवादीले राष्ट्रिय स्वाधीनता, जनताका अधिकार र जनजीविकाका सवाल तथा कोभिडबाट उत्पन्न परिस्थितिका विषयमा निरन्तर रुपमा आवाज उठाउँदै आएको छ र कहिले माइतीघर मण्डलामा त कहिले रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गर्दै आएको छ । कहिले एकल त कहिले संयुक्त कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्ने, नेता कार्यकर्ता गिरफ्तारमा पर्ने क्रम पनि निरन्तर चल्दै आएको छ । तर नेपालका मूलधारका भनिएका प्रमुख मिडियाहरुले यी घटनाक्रमहरुलाई कहिल्यै समाचार बनाएनन्, बनाउँदैनन् । सम्बन्धित मिडियाहरुका संवाददाताहरु कार्यक्रममा उपस्थित भएर समाचार लेखी पठाए पनि समाचारमा सेन्सर गरिन्छ । यो तथ्यबाट प्रष्ट हुन्छ कि ‘स्वतन्त्रता’ र ‘व्यवसायिकता’ को नाममा विग मिडिया हाउस तथा कर्पोरेट मिडियाहरुले सच्चा कम्युनिस्ट क्रान्तिकारीहरुका विरुद्ध मिसन पत्रकारिता सञ्चालन गरिरहेका छन् । र, योजनाबद्ध रुपमा कम्युनिस्ट क्रान्तिकारीहरुको अस्तित्वमाथि नै धावा बोलिरहेका छन् ।
यस्तो अवस्थामा सच्चा देशभक्त तथा कम्युनिस्ट क्रान्तिकारीहरुले एकातिर पृथक रुपमा कलात्मक ढंगले विरोध तथा संघर्षका कार्यक्रम सञ्चालन गर्न जरुरी छ भने अर्कोतिर जनपक्षीय मिडियाहरुलाई संगठित रुपमा सञ्चालन तथा परिचालन गर्न जरुरी छ । आम सञ्चारका नयाँ नयाँ माध्यम र प्रविधिहरुलाई योजनाबद्ध प्रयोग गरी फिँजाइएका भ्रमहरुलाई चिर्न जरुरी छ । जनपक्षीय विचार र राजनीतिक एजेण्डा र नेतृत्वहरुलाई जति धेरै स्थापित गर्‍यो, त्यति नै क्रान्तिको वातावरण निर्माण हुन्छ । यसतर्फ कम्युनिस्ट क्रान्तिकारी पार्टी, नेतृत्व र कार्यकर्ताहरुले पर्याप्त ध्यान दिन जरुरी छ । संसदवादी र संशोधनवादीहरुको भ्रम नतोडेसम्म जनतामा विश्वासको बिजारोपण गर्न सकिन्न । जनताको आशा र विश्वास, सहयोग र समर्थनकै बीचबाट क्रान्तिको प्रक्रिया अगाडि बढ्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर