
काठमाडौं । संसदीय व्यवस्था, सत्ता र संविधानका विरुद्धमा नेकपा (क्रान्तिकारी माओवादी)ले निरन्तर रुपमा संघर्षको आव्हान गर्दै आएको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायत सामाजिक तथा राजनीतिक जीवनका सबै क्षेत्रमा संसदीय व्यवस्थाको कुरुप अनुहारको पर्दाफास गर्दै क्रान्तिकारी माओवादीले निरन्तर रुपमा संघर्षको आव्हान गर्दै आएको हो ।
क्रान्तिकारी माओवादी निकट विद्यार्थी, मजदुर, युवा, महिला, किसान, आदिवासी जनजाति लगायत विभिन्न जबस मोर्चाहरुले निरन्तर रुपमा व्यवस्था विरुद्धको संघर्षको आवश्यकता औल्याउँदै आएका छन् ।
कोरोनाको दोस्रो लहरसँगै जारी निषेधाज्ञाका बीच भर्चुअल माध्यमबाट बैठक, छलफल, अन्तक्र्रिया जारी राखेको क्रान्तिकारी माओवादीले अब सडक संघर्षका कार्यक्रम दिन थालेको छ । नेकपा (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशले २८ असार (आज) काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम राखेको छ । यसअघि क्रान्तिकारी माओवादी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ र विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले लगातार रुपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) र अनमेसंघ (क्रान्तिकारी)ले पनि संयुक्त रुपमा विभिन्न माध्यमबाट विरोधका कार्यक्रमहरु गरिरहेका छन् । कोभिड तथा मौसमको प्रतिकूलताका बाबजुद क्रान्तिकारी माओवादीले सरकारका जनघाती तथा राष्ट्रघाती क्रियाकलापहरुको निरन्तर रुपमा विरोध गर्दै आएको छ ।
क्रान्तिकारी माओवादीले १४ वटा र २२ वटा पार्टी तथा राजनीतिक संगठनका आन्दोलनका कार्यक्रममा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । कार्यगत एकतालाई संयुक्त मोर्चा र संयुक्त मोर्चालाई पार्टी एकताको लक्ष्य राखेर समाज विचार र राजनीति बोक्ने राजनीतिक पार्टी तथा संगठनहरुबीचमा सहकार्यलाई घनिभूत बनाएर लैजानुपर्नेमा क्रान्तिकारी माओवादीले जोड दिंदै आएको छ ।
वक्तव्य, विभिन्न लेख तथा अन्तर्वार्ता र विभिन्न औपचारिक कार्यक्रममार्फत् क्रान्तिकारी माओवादीका नेताहरुले संसदीय व्यवस्थाको भ्रमबाट मुक्त भई संसदीय व्यवस्था विरुद्धको संघर्षमा तयारी जुट््न सहकार्य तथा कार्यगत एकतामा रहेका विभिन्न संगठनहरुलाई आव्हान समेत गर्दै आएका छन् ।
क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्षले हालै प्रकाशित एक लेखमार्फत् आव्हान गर्नुभएको छ, “ओलीलाई विदा गर्ने कामलाई नै धेरै ठुलो बनाएर आत्मतुष्टी लिइनु हुँदैन । त्यसैलाई ठुलो उपलब्धिका रुपमा व्याख्या गरेर जनतालाई भ्रममा पार्नु हुँदैन । यो व्यवस्थाको सट्टा अग्रगामी विकल्प स्थापित गर्नेे बाटोमा अघि बढ्ने योजना अहिले नै तयार पारौं । संघर्षलाई जारी राखौं । अझ उच्च स्तरको संघर्षको तयारी गरौं ।”
प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसदको विघटन गरेपछि ओली नेतृत्वको सरकार चौतर्फी रुपमा बद्नाम र पूर्ण रुपमा असफल साबित बनेको छ । राष्ट्रपतिको भूमिका पनि प्रधानमन्त्रीको कारिन्दाको रुपमा स्थापित हुन पुगेको छ । संसद विघटनको मुद्दा अदालतमा अन्तिम निर्णयको प्रक्रियामा छ । अदालतबाट प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग दावीसहित परेको रिटमाथि अन्तिम फैसला २८ असारमै आउने हो कि भन्ने आँकल पनि छ । संसदवादीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण मुलुकमा राजनीतिक संकट उत्पन्न भएको हो भनिरहेका छन् । उनीहरुले केपी ओलीका ठाउँमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएपछि वा संसदको पुनस्र्थापना भएपछि सबै संकट तथा समस्याको हल हुन्छ भने झै जसरी जनतालाई भ्रमित तुल्याइरहेका छन् । शेरबहादुर वा अरु कुनै बहादुर ओलीको ठाउँमा पदास्थापन हुने वित्तिकै समस्या समाधान हुने होइन । अहिले मुलुकमा उत्पन्न समस्या भनेको कुनै पात्रका कारण होइन, स्वयम् राजनीतिक प्रणाली(संसदीय व्यवस्था)का कारण उत्पन्न भएको हो । यही व्यवस्थामा पटक पटक मन्त्रि र प्रधानमन्त्री बनिसकेकाहरुले मुलुकमा उत्पन्न संकटको समाधान गर्न सक्दैनन् । संकटको समाधानका लागि यो व्यवस्था नै बदल्न जरुरी छ ।
संसदीय व्यवस्थाभन्दा उन्नत र अग्रगामी राजनीतिक व्यवस्था नै यसको विकल्प हो । त्यो भनेको अहिले मुलुकमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संघीय जनगणतन्त्रतर्फ लैजानु हो । मुलुकमा किसान–मजदुर र उत्पीडित जाति जनजातिहरुको नेतृत्वमा संयुक्त सरकारको स्थापना गर्नु हो । श्रमजीवि शोषित उत्पीडित वर्ग र सुमदायलाई अधिकारसम्पन्न बनाउने स्वाधीन र आत्मनिर्भर नेपालमा आधारित जनसंविधानको निर्माण गर्नु हो । यही लक्ष्य र उद्देश्य बोकेर निरन्तर संघर्षको झण्डा उठाउँदै आएको क्रान्तिकारी माओवादीले अहिले सडकको प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको छ । चौतर्फी संकटग्रस्त बनेको यो जीर्ण संसदीय व्यवस्थालाई बलियो धक्का दिएर राजनीतिक व्यवस्थाको बागडोर आफ्नो हातमा लिन क्रान्तिकारी माओवादीले छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी र देशभक्तहरुलाई एकताबद्ध तुल्याएर अगाडि बढ्न जरुरी छ । क्रान्तिका लागि आवश्यक पर्ने तीन जादुगरी हतियारको निर्माण नै अहिलेको ज्वलन्त आवश्यकता हो । जुन वर्गसंघर्ष, जनसंघर्ष र प्रतिरोध संघर्षकै बीचबाट निर्माण हुँदै जान्छ । यसप्रति क्रान्तिकारी माओवादीले सचेत प्रयत्न गर्दै आएको छ ।
