
चितवन । युवती सुजिता भण्डारीको हत्या प्रकरणको विषयलाई लिएर पूर्वी चितवन पिप्लेका स्थानीयले हत्यारा पत्ता लगाउन माग गर्दै निरन्तर रुपमा सडक प्रदर्शन बढाउन थालेपछि चितवन जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ साढे ७ बजेदेखि २४ घण्टासम्म कर्फ्यु आदेश जारी गरेको छ । सडकमा लामा दुरीका गाडीबाहेक केही चल्न नपाउने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा उल्लेख छ ।
पूर्वी चितवन पिप्लेका स्थानीयले सुजिता भण्डारी मृत्यु घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्न माग गर्दै मंगलबार टायर बालेर प्रदर्शन गरे ।
चितवन मकवानपुरको सिमाना राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती नगरपालिका–४ डडुवासम्मको पिप्ले राजमार्ग क्षेत्र र त्यसको दायाँबायाँ पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यु लागू हुने सूचनामा उल्लेख छ । कर्फ्यु आदेश उल्लंघन गरे सुरक्षाकर्मीले त्यसलाई तुरुन्त पक्राउ गर्ने र एक महिनासम्म कैद वा जरिवना गर्न सक्ने आदेशमा भनिएको छ ।
सुजिता भण्डारीको हत्या भएको दाबीसहित हत्यारालाई चाँडो कानुनी दायरामा ल्याउन माग गर्दै पूर्वी चितवन राप्ती नगरपालिका–३ पिप्लेका स्थानीयले मंगलबार पनि सडकमा विरोध प्रदर्शन गरे । मंगलबार दिउँसो स्थानीयले टायर बालेर गाडी अवरुद्ध गरे । असार ११ गते बिहान घरबाट निस्केकी २३ वर्षीय सुजिताको शव आइतबार साँझ घरदेखि उत्तरको जंगलमा भेटिएको थियो ।
शव भेटिएको ठाउँ नजिकै मंगलबार सुजिताको मोबाइल फोन सेट पनि भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले बताए । शवभन्दा केही तल मोबाइल फोन भेटिएको हो । मोबाइलको ब्याट्री सोमबार नै भेटिएको थियो । मोबाइलमा सीम भने नभएको तर मेमोरी कार्ड रहेको डिएसपी थापाले बताए ।
प्रहरीले शव नजिकै सोमबार नै एउटा फाइबरको पुरानो झोला र सेतो झोल पदार्थ रहेको प्लास्टिकको एउटा सानो हरियो बोत्तल पनि फेला पारेको थियो । सो झोला घरमा रहेको मृतककी दिदीले प्रहरीलाई बताएकी थिइन् भने बोत्तलमा रहेको सेतो झोल धानमा लाग्ने पतेरो मार्न प्रयोग हुने विषादी भएको बाबुले जानकारी दिएको चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीको भनाइ थियो ।

मोबाइल फोन साथ लिएरै बिहान घरबाट निस्केकी सुजितासँग सोही दिन मध्याह्न उनकी दिदी कविताको सम्पर्क भएको थियो । त्यो बेला बहिनीले आफूलाई अपहरणमा परेको जानकारी दिएको र तत्कालै प्रहरीलाई भने पनि प्रहरीले खोजी नगर्दा बहिनीलाई गुमाउने परेको दिदी कविताको भनाइ छ । सूचना पाएको लामो समय हुँदा पनि प्रहरीले घटनाको केही मेसो नपाएको र सत्यतथ्य चाँडै सार्वजनिक गर्न दबाब दिने उद्देश्यले सडकमा आएको प्रदर्शनमा सहभागी स्थानीयले बताएका छन् ।
सुजिताको पोष्टमार्टम काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा गरिएको छ । भिसेरा परीक्षणका नमुना संकलन भएको र त्यसको नतिजा केही दिनमा आउने बताइएको छ ।





























