
२०६३ भदौमा कार्यक्षेत्र सरुवा भएर म चितवन आए । चितवन मेरो निम्ति नयाँ भूगोल थियो । जिल्लामा त्यतिबेला गणतान्त्रिक अभियान चलिरहेको थियोे , पश्चिम् चितवनको चनौलिबाट म पनि सहभागी भएँ । भूगोलसंगै साथी पनि नयाँ , भाषा शैली फरक र संरचना पनि नयाँ हुने भइ हाल्यो । पार्टी र जनमुक्ति सेनाको संयुक्त अभियान थियोे । दिन बित्दै जाँदा सहकार्यको आयतन बढ्यो र बढदै गयो परिचय र संगतको दायरा पनि । आखिर एउटै बिचारको धागोमा उनिएका मालाका फुल न थियौं हामी , छिट्टै घुलमिल भइ हालें । एकराज थापा दाइ ( रौतहट ) र म प्रवाशबाट चितवन सरुवा भएर आएका थियौं । म भारतमै जन्मे हुर्केको , उतै अध्ययन गर्दागर्दै संगठित भएको मान्छे , स्वदेशको अनुभव थिएन । अनुभुति कम र अनुमान बढी थियो । मिश्रित बसाई , तीब्र बसाइँसराइले घनिभुत बन्दै गरेको शहरीकरणका कारण चितवनलाई ७६औ् जिल्ला भनेर चिनिन्दो रहेछ । समर , शारदा , प्रतीक , बिकास लागायत थुप्रै सहिदहरु जनस्तरमा लोकप्रिय हुनुहुन्थ्यो । थुप्रै लोकप्रिय नेताहरु पनि हुनुहुन्थ्यो । खासगरी युवा कमरेडहरु र जनताका माझ अरुपनि थुप्रै नेताहरु लोकप्रिय हुनुहुन्थ्यो तर कमरेड श्यामको नाम अलिक धेरै आँउथ्यो। उहाँ सरल र सहज नेताको रुपमा जनताको माझ लोकप्रिय हुनुहुन्थ्यो । चितवनको युवाहरूको पंक्तिले जटिल समस्या पर्दा , अन्तरविरोध हल गर्ने बेला होस वा केही नयाँ अनुभव साटनु पर्दा कमरेड श्यामको नाम आइ हाल्थ्यो । उनिहरु खुसीमा पनि उत्तिकै फुरुङ्ग परेर श्याम दाइको नाम लिन्थे र अप्ठ्यारोमापनि उत्तिकै आत्मीयतासाथ श्याम दाइलाइ खोज्दथिए । उनिहरुको साथी र अभिभावक दुवैमा श्याम नामको पात्रको भुमिका उत्तिकै हुन्थ्यो । मेरो लागी कमरेड श्याम एक अपरिचित व्यक्तिको परिचित नाम थियो । उहाँसंग एउटै भूगोल र कार्यक्षेत्रमा संगै काम गर्ने अवसर जुरेको थिएन । मैले मनमनै कमरेड श्यामको एउटा चित्र कल्पनाको क्यानभासमा कोरेको थिएँ ।
२०६३ माघमा आयोजित चर्चित होलिल्याण्ड भेलामा मैले मनमनै बनाएको चित्रलाइ भताभुङ्ग पार्दै एउटा ख्याउटे ज्यान भएको आधा तालु खुइले बुढासंग अम्बिकाजिले भेट गराउनु भयो ‘ उहाँ श्याम दाइ ‘ । श्याम दाइ अर्थात श्रीनाथ अधिकारी । चुरोट सल्काउँदै फिस्स हाँस्नु भयो, हामीले दह्रो हात मिलायौं । उमेरले मेरो बुबाको पुस्ताका मान्छे हुनुहुँदो रहेछ । त्यस यताको भेटघाटले हाम्रो बिचमा एउटा सुखद सम्बन्ध स्थापित भयो । भावनात्मक सम्बन्ध यति प्रगाढ थियो कि छोरी बिरामी भएर उपचारका लागि हामी काठमाडौ जादा कैयौ आफन्तहरु कहाँ नगएर झण्डै एक हप्ता हामी श्याम दाइको डेरामा बसेका थियौं । शान्तिप्रक्रीया पछि पार्टी भित्र गम्भीर बहस र अन्तर्संघर्षमा हामी दृढता पुर्वक क्रान्तिकारी धारामा उभियौं । कैयौंपटक छलफल र बहसद्वारा हामी एकरुपतामा आँउथ्यौं , कहिले स्वाभाविक चेतनाले हामी एउटै डिलमा उभिएका हुन्थ्यौं । उहाँको दार्शनिक अध्ययन र सरल स्वाभावले मलाई अझै पनि प्रभावित गरि रहेकै छ ।
सबै मान्छेको जिवनका धेरै पाटा हुन्छन् । धेरैवटा जिन्दगी हामिले एकसाथ बाची रहेका हुन्छौं । राजनीतिमा श्याम दाइको संगत गर्नु भनेको राणा शासन , पञ्चायति व्यवस्था , संवैधानिक राजतन्त्र र हालको संसदीय लोकतान्त्रिक गणतन्त्रको अध्ययन गर्नु पनि हो । नेपाली कम्युनिस्ट आन्दोलनको बिकास , उभार र रक्षात्मक अवस्थाको साक्षिको जिवन्त कथा पनि हो श्याम दाइको जीवन । जनयुद्धको शुरुआत , विस्तार र अवसानको एक दस्तावेज पनि हो उहाँको जीवन। सानो तर क्रान्तिकारी पार्टीबाट जनयुद्धको बलमा विशाल बनेको पार्टी विजयको सन्निकट पुगेर झर्यामझुरुम फुटेको सिसाको एकटुक्रा अनुहार हो श्याम दाइ । २०३५ मा डिआर पोखरेलबाट नेकपा ( चौम )को सदस्यता लिएर २०३६ सालबाट जिवनपर्यन्त पुर्णकालिन राजनैतिक कार्यकर्ताको रूपमा सक्रिय जीवन बाच्नु भयो । नेकपाको इतिहासमा चौथो महाधिवेशनको मुलबाट निस्केर वर्गसंघर्ष र अन्तर्संघर्षको विभिन्न जंघार तर्दै जनयुद्धको महासागरमा हेलिदै संसदवादको तुफानलाइ दृढतापुर्वक सामना गरेको एक अनौठो कोलाज सृजना गरेको छ । पार्टीको आकार ठूलो र सानो भन्दापनी क्रान्तिकारी सारतत्व प्रती सधैं सचेत हुनुहुन्थ्यो ।
पाँचौ बिस्तारित बैठक ( बालाजु ) , खरिपाटी भेला , पालुङटारको छैटौं बिस्तारित बैठक शान्तिप्रकृया पछिका हाम्रो पार्टी जिवनका निकै पेचिला र महत्त्वपूर्ण अन्तर्संघर्ष थिए । यी अन्तर्संघर्ष बिचलनको दिशामा जानलागेको माओवादी आन्दोलन र यसको नेतृत्वलाई एकता – संघर्ष र रुपान्तरणको निम्ति क्रान्तिकारीहरुको जनवादको उच्च अभ्यास थियो । यी सबै अन्तरसंघर्षमा कमरेड श्याम आन्दोलनमा पैदा भएका संसोधनवादी र सुधारवादी प्रवृतिका विरुद्ध निर्मम संघर्षको आफ्नो स्थानबाट नेतृत्व गरिनै रहनु भयो । मार्क्सवादको शास्त्रीय अध्ययन धेरै राम्रो थियो । पार्टी भित्र हुने बहस छलफलमा शालिनता पुर्वक सहभागी बन्नुहुन्थ्यो र आफ्ना तर्कहरुलाइ तथ्यका आधारमा प्रस्तुत गर्नु हुन्थ्यो । पाँचौ बिस्तारित बैठकमा नेतृत्वको कार्यशैली माथी प्रश्न उठेको थियो । समस्याहरु सैद्धान्तिक र व्यावहारिक दुवै थिए । श्याम दाइसंगको बैचारिक छलफलले त्यही समयबाट निरंतरता पायो । पाँचौ बिस्तारित बैठकबाट बिस्तारित भएको हाम्रो छलफल खरिपाटी राष्ट्रिय भेला सम्म आइ पुग्दा नेतृत्वको कार्यशैली मात्रै समस्या हैन यो बैचारिक बिचलन हो र यसले देश र जनताको समस्या हल गर्दैन भन्ने तिर थियो । सांगठनिक कारणले भेलामा म सहभागी हुन पाइन् । पालुङटारको बिस्तारित बैठकको व्यवस्थापन टोलिमा हुनुहुन्थ्यो श्याम दाइ । चितवनबाट आवस्यक कामको लागि मैले सहयोग गरिएको थिएँ । राजनिती मात्रै हैन व्यवस्थापनमा पनि उत्तिकै सिपालु र इमान्दार हुनुहुँदो रहेछ । त्यो बिस्तारीत बैठक सम्म आइ पुग्दा पार्टीको कार्यशैली , बैचारिक बिचलनबाट मात्र हैन समस्या नेतृत्वमै छ र पार्टीको यो नेतृत्वले सहि कार्यदिशा ल्याउन सक्दैन । शान्ती र संविधान को नारा भित्र क्रान्तिलाई विसर्जन गर्ने षड्यन्त्र हुँदै छ भनेर हामि क. किरणको नेतृत्वमा छुट्टै दस्तावेजका साथ सहभागी भयौ । यी सबै बैचारिक अन्तरसंघर्षमा श्याम दाइले हामीलाई प्रत्यक्ष अप्रत्यक्ष नेतृत्व गरिरहनु भयो ।
नेकपा ( एकता केन्द्र ) संगको एकता र एकीकृत नेकपा (माओवादी ) को गठन, बौद्ध भेलाबाट एनेकपा ( माओवादी ) बाट सम्बन्ध बिच्छेद गर्दै नेकपा-माओवादी को गठन , ७औं महाधिवेशन क. विप्लव नेतृत्वमा पार्टीमा आएको फुट , नेकपा एकीकृत संगको एकता पश्चात् नेकपा (क्रान्तिकारी माओवादी ) को गठन र बादल समुहको पलायन यी सबै घटना प्रसंगले नेपाली कम्युनिस्ट आन्दोलन मात्रै हैन नेपाली राजनीतिलाई नै लामो समय सम्म प्रभावित पारी नै रहने छन । यी सबै एकता , ध्रुवीकरण र बिभाजनका सबै घटनाहरुमा कहिले पनि श्याम दाइले आत्मसुरक्षाको बाटो रोज्नु भएन । २०३५ सालमै पुलचोक क्याम्पसबाट सब- इन्जिनियरको अध्ययन सक्नु भएका उहाँको अगाडि राजनैतिक र पेशागत अन्य क्षेत्रमा पनि सुविधाका अवसरहरु नभएका हैनन , तर गर्दै गरेको नारायणी सिँचाइ आयोजनाको जागिर समेत छाडेर क्रान्तिको तयारीका लागि २०३६ सालबाटै आफुलाइ आन्दोलनमा होम्नु भयो । चौथो महाधिवेशनको सानो तर क्रान्तिकारी धारा समातेर शुरु भएको श्याम दाइको राजनैतिक यात्रामा धेरै उतारचढाव आए । जनयुद्ध पस्चात २०६४ सालको सबैभन्दा ठूलो पार्टी भन्दा पनि क्रान्तिकारी पार्टी निर्माणका निम्ति क. किरणको नेतृत्वमा प्रचण्ड नेतृत्वको पार्टीसंग सम्बन्ध बिच्छेद गरेर नेकपा – माओवादी निर्माणको क्रममा बैचारिक र सांगठनिक नेतृत्व गर्नु भएको थियो । जिवनको अन्तिम समयसम्म नेकपा ( क्रान्तिकारी माओवादी ) को पोलिट ब्युरो सदस्यको रुपमा क्रीयाशिल रहनुभयो । एकपटक क्रान्तिकारी हुनु , बिद्रोह गर्नु सजिलो हुन्छ तर आजिवन क्रान्तिकारीले भएर बाँच्नु गाह्रो हुन्छ । श्याम दाइले त्यही लोभलाग्दो जीवन बाच्नु भयो ।
संविधान सभाको पहिलो र दोश्रो निर्वाचन , स्थानीय तह र संसदिय निर्वाचन राष्ट्रिय जिवनका महत्त्वपूर्ण परिघटनाहरु थिए। निर्वाचनलाई क्रान्तिकारीहरुले कार्यनीतिका रूपमा मात्र लिन्छन् । यसलाई रणनीतिकै रूपमा बुझ्ने र व्यक्तिगत लाभ हानी वा अवसरका रुपमा लिने समस्या क्रान्तिकारी आन्दोलन भित्रै पनि जब्बर छ । जित्ने संभावना रहे सम्म आफू , आफ्नो परिवार वा नजिकको मान्छे उम्मेदवार बनाउने र हार्ने निस्चित छ भने पार्टीका अरु सदस्यलाई उम्मेदवार बनाएर आफू नेता पल्टिने पुरानै रोग हो । २०४८ को आम निर्वाचन , जतिखेर जित्ने सम्भावनै थिएन , पार्टीको एक वफादार सिपाहीका हिसाबले संयुक्त जनमोर्चा नेपालको तर्फबाट उम्मेदवार बन्नु भयो । नेपाली कांग्रेसका चिरञ्जीवी वाग्लेले चुनाव जिते । २०७४ को निर्वाचन पार्टीले उपयोगको नीति लियो , हारिने मात्रै हैन जमानत फिर्ता हुने स्थिती देशैभर थिएन । उम्मेदवार उठाउनै पनि धौधौ थियो , त्यस्तो स्थितीमा आफ्ना परिवारका सदस्यहरुलाइ उम्मेदवार उठ्न प्रेरित गर्नु भयो । उहाँकै परिवारबाट श्रीमती राधिका अधिकारी , छोरा नारायण अधिकारी र बुहारी सुशीला थापाले विभिन्न तहका लागि उम्मेदवारी दिनु भयो । २०६४ को संविधानसभा निर्वाचनको समानुपातिक तर्फ उम्मेदवारको बन्दसुचिमा श्याम दाइको नाम पनि थियो । चाहँदा सभासद बन्न गाह्रो थिएन , तर उहाँले संसदप्रती मोह राख्नु भएन । कम्युनिस्ट कार्यकर्ताको परिक्षाको एउटा मापदण्ड यो पनि हो जसमा श्याम दाइ सजिलै पास हुनु भयो ।
परिवारलाई राजनैतिक चेतनाले लैश गर्नु र उनिहरुलाइ पार्टीकरण गर्नु पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको निकै महत्त्वको विषय हो । आफ्नो राजनीतिक गतिविधिले परिवारमा आइपर्ने सत्ताको दमनले निम्ताउने मनो – सामाजिक प्रभाव संगै आइ पर्ने आर्थिक समस्या सबै परिवारले पचाउन सक्दैन । ४० मुरि धान भित्रिने घर श्यामदाइको राजनितिका कारण जग्गा बेच्दै अर्काको अधिया कमाउने स्थितिसम्म पुग्दा पनि कुनै गुनासो नगरी निस्वार्थ आफ्ना पाँच सन्तानको हेरचाह गर्ने भाउजू राधिकाको सहयोग बेगर श्याम दाइको राजनिती निष्कलंक हुनै सक्दैन थियो । आमाबुबा , श्रीमती , छोराछोरी लगायत सबैलाई आफू र आफ्नो राजनैतिक कार्यदिशा प्रती विस्वस्त बनाउन र क्रान्तिमा कुनै न कुनै भुमिकामा जोडेर हिडाउन सक्नु पनि श्याम दाइको कुशल पारिवारिक व्यास्थापन हो , हामिले सिक्न धेरै बाँकी नै छ जस्तो लाग्छ ।
हामी भेटमा गहन राजनैतिक विषय देखि जीवन भोगाइका ससाना रमाइला कुराहरू पनि बाँडथ्यौं । पहिलो चोटि बिजुली बत्ती निभाउन नजानेर सिरकले बत्ती छोप्न गरेको कोसिस र कमोडमा बसेर दिशा गर्न नजानेर पाएको सास्ती पनि हाँसीहाँसी सुनाउनु हुन्थ्यो । प्रविधिमा नयाँ पुस्ता धेरै अगाडि बढेको तर मार्क्सवादको शाष्त्रीय अध्ययनमा पछि पर्दै गएको गुनासो गर्नुहुन्थ्यो । माओवादी हुनु भनेको राजनैतिक मात्रै हैन यो आर्थिक र सांस्कृतिक क्रान्ति पनि हो , तर हाम्रो पार्टीले आर्थिक र सांस्कृतिक पाटोमा कम ध्यान दिएको छ अझ आर्थिक क्षेत्रमा त ध्याननै पुगेको छैन भनेर मैले जिरह गर्थें । मैले श्याम दाइलाइ बारम्बार भन्थें नेपाली समाजमा सामन्तवाद जिउँदै छ र कतिपय सन्दर्भमा क्रान्तिकारी भनिने हाम्रो पार्टीमा झन धेरै छ ।
क्यानसर शंका लागे पछि पोखराबाट चितवन आउनु भयो । चितवन आउँदा अम्बिकाजि र काठमाडौ जादा सुरेशजिसंग सहज महसुस गर्नु हुन्थ्यो । सायद राजनैतिक – सांगठनिक र भावनात्मक हिसाबले नजिक हुनुहुन्थ्यो उहाँहरु । उपचारको प्रारम्भिक चरणमा हाम्रै घरमा बस्नु भयो । म चितवन बाहिर रहेकाले आक्कलझुक्कल मात्रै पुग्दथें । भरतपुर क्यान्सर अस्पतालमा बिकास दाइ सहित चितवनको जिल्ला नेतृत्वले पनि राम्रै सहयोग गर्यो । अम्बिकाजि चैं श्याम दाइ र भाउजू दुवैको भरोसाको पात्र हुनुहुन्थ्यो । क्यान्सर अस्पतालमै काम गर्ने पार्टीका समर्थक गोपाल भट्टराई र युवा नेता अमृत चापागाईंको सहयोग पनि अबिस्मरणीय छ । चिकित्सकहरु भक्तमान श्रेष्ठ , कृष्णसागर शर्मा , बिनय ठाकुरको परामर्श पनि उल्लेखनीय थियो । डाक्टर खगेन्द्र देवकोटाले परामर्श देखि औषधी उपचार समेतमा धेरै सहयोग गर्नु भयो । सायद उहाँलाई श्याम दाइमा आफ्नो दाइ बाचस्पती देवकोटाको झल्को आँउदो हो । अप्ठ्यारो बेलाको सहकार्यले जोडेको भावनात्मक सम्बन्ध धेरै प्रगाढ हुने रहेछ । स्वास्थ्यकर्मी अनुपा थापाले आफुले सक्ने जति मेहनत गर्नु भयो । पुर्व सहकर्मी एवं नेकपा ( माओवादी केन्द्र ) का नेता हरिराज अधिकारीले बलबुताले भ्याएसम्म सहयोग गर्नु भयो । पार्टी महासचिव क .किरण देखि थुप्रै कमरेडहरु र पुर्वसहकर्मीहरुले धेरै सहयोग गर्नु भयो । तर गणतन्त्र प्राप्तिका लागि जेलनेल भोगेको , टाउकोको मुल्य समेत तोकिएर झण्डै चार दसक राजनैतिक आन्दोलनमा लगाएको एक योद्धालाई राज्यको तर्फबाट उपचारमा कुनै ध्यान पुगेन ।
चितवनमै उपचार गर्न पाउँदा सांगठनिक र पारिवारिक सबै सहयोग सजिलो हुन्थ्यो । तर थप उपचारकालागि ललितपुर हरिसिद्धी स्थित क्यान्सर अस्पतालमा भर्ना गरियो । २०७६ असारको २२ गते साँझ हरिसिद्धी क्यान्सर अस्पतालमा भेट्न गएँ । डा. बुद्धि नेपाली बिराट र म अस्पताल पुग्यौं । त्यहाँ पार्टीका नेताहरु पवनमान श्रेष्ठ , सुरेश श्रेष्ठ , अमिर महर्जन लगायत पनि पुगि सक्नु भएको थियो । अस्पतालको शैयामा श्याम दाइ शान्त पल्टी रहनु भएको थियो । अनुहार उज्यालो थियो । जिउने उत्कट इच्छा थियो , मनोबल धेरै नै उच्च थियो । चिकित्सकहरुले आफ्नो असमर्थता जनाइसकेका थिए। सिरानिको छेउमा भाउजू निरस एकोहोरो हेरिरहनु भएको थियो । शान्ता दिदी त्यही हुनुहुन्थ्यो , बोल्न सक्नु भएको थिएन तर मौनताले धेरै कुरा भनी रहेको थियो । हामि केही क्षण बस्यौं । सास हुञ्जेल आश हुँदोरहेछ । प्रिय मान्छे गुमाउने पिर कति धेरै हुँदोरहेछ भने भौतिकवादी हो भनिनेको मनपनि कुनै चमत्कारको कामना गरिरहेको थियो । झमझम पानी दर्की रहेकै थियो । साथी अमिर र म बनस्थली सम्म संगै आयौं । कोठामा पुगेर खाना खाएर सुत्न मात्र के लागेको थिएँ अमिरजिको फोन आयो ‘ श्याम दाइ बित्नु भयो , हामी अहिल्यै अस्पताल जाँदैछौं `। निन्द्रा लागेन । त्यसदिन पनि भाउजुले ‘ अम्बिका आउनु भएन ‘ भनेर सोध्नु भएको थियो , खबर गरें । भोलिपल्ट बिहानै कुपोन्डोल स्थित पार्टी कार्यालय पुगें । त्यहीँ श्रद्धाञ्जलीको कार्यक्रम आयोजना गरिएको थियो । बिभाजित माओवादी आन्दोलन का सबै शिर्ष नेताहरु उपस्थित हुनुहुन्थ्यो । जिवनभर कम्युनिस्ट भएर बाँच्नु भनेको स्वाभिमानी जिन्दगी बाँच्नु हो भनेर सिकाउने आदरणीय श्याम दाइलाइ पशुपति आर्यघाटमा
अन्तिम चोटि मुठी उठाएर श्रद्धाञ्जली दिएर भारी मनले फर्कियौं ।