१५ असार काठमाडाैं । नेपालको जमिनमाथि भारतको कब्जाको निरन्तरता अहिले पनि रोकिएको छैन । अहिले महाकाली नदी पारीको चाँदनी–दोधारा नगरपालिकाको पुरै पश्चिमी सीमा क्षेत्रमा पर्ने हजारौं बिघा जमीन भारतले कब्जा गरेको छ र नेपाल–भारत सिमानामा गाडिएका ८४९ ओटा सीमास्तम्भहरु हराएको समाचार प्रकाशित गरिएका छन् ।
ओली सरकारले भारत सरकारसित कूटनीतिक पहल बढाएर उपरोक्त समस्याहरुको समाधान गर्न तत्परता देखाउनु पर्नेमा समस्याहरुप्रति अनदेखा गर्नु र उल्टै आफ्नो सरकार टिकाउनका लागि भारतीय शाषकवर्गको चाकडीमा लिप्त हुनु अत्यन्त दूर्भाग्यपूर्ण कुरा हो । नेकपा (क्रान्तिकारी माओवादी)ले सरकारको जनताप्रतिको अनुत्तरदायी र राष्ट्रिय आत्मसमर्पणवादी रवैयाको तीव्र विरोध तथा भत्र्सना गर्दै प्रेस वक्तव्यमार्फत हालै चाँदनी–दोधारामा कब्जा गरिएको सहित सम्पूर्ण अतिक्रमित जमीन फिर्ता गराउन, गायव भएका सीमास्तम्भहरु खोज्न, नेपालमा बाढी आउने गरी अनाधिकृत रुपमा निर्माण गरिएका संम्पूर्ण संरचनाहरु हटाउन नेपाल सरकारसँग जोडदार माग गरेको छ । प्रेस वक्तव्यको पूर्णपाठ निम्नअनुसार छ :
प्रेसवक्तव्य
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ६३ भन्दा बढी ठाउँमा सीमा मिचिएर नेपालको १० हजार वर्ग किलोमिटर भन्दा बढी जमीन भारततर्फ पर्न गएको कुरा सीमाविदहरुले बताउँदै आएका छन् । यसैको निरन्तरता स्वरुप अहिले महाकाली नदी पारीको चाँदनी–दोधारा नगरपालिकाको पुरै पश्चिमी सीमा क्षेत्रमा पर्ने हजारौं बिघा जमीन भारतले कब्जा गरेको छ । यो काम भारतीय सीमा सुरक्षा बलको संरक्षणमा भइरहेको छ । हालै नेपालको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासलाई सूचनाको स्रोत देखाएर एउटा नेपाली अनलाइन पत्रिकाले नेपाल–भारत सिमानामा गाडिएका ८४९ ओटा सीमास्तम्भहरु हराएको समाचार प्रकाशित गरेको छ । अन्तर्राष्ट्रिय कानुन विपरीत भारतले सीमा क्षेत्रमा अनाधिकृत ढङ्गले निर्माण गरेका बाँध, तटबन्ध तथा सडक लगायतका संरचनाहरुका कारण मनसुनी वर्षाको सुरुमै नेपालको तराई–मधेशका अधिकांश इलाका डुवानमा परिसकेका छन् । हाम्रो पार्टी भारत सरकारको यी र यस्ता मिचाहा प्रवृत्तिको घोर बिरोध गर्दछ ।
ओली सरकारले भारत सरकारसित कूटनीतिक पहल बढाएर उपरोक्त समस्याहरुको समाधान गर्न तत्परता देखाउनु पर्नेमा समस्याहरुप्रति अनदेखा गर्नु र उल्टै आफ्नो सरकार टिकाउनका लागि भारतीय शाषकवर्गको चाकडीमा लिप्त हुनु अत्यन्त दूर्भाग्यपूर्ण कुरा हो । हाम्रो पार्टी सरकारको जनताप्रतिको अनुत्तरदायी र राष्ट्रिय आत्मसमर्पणवादी रवैयाको तीव्र विरोध तथा भत्र्सना गर्दछ ।
यस्तो स्थितिमा हाम्रो पार्टी हालै चाँदनी–दोधारामा कब्जा गरिएको सहित सम्पूर्ण अतिक्रमित जमीन फिर्ता गराउन, गायव भएका सीमास्तम्भहरु खोज्न, नेपालमा बाढी आउने गरी अनाधिकृत रुपमा निर्माण गरिएका संम्पूर्ण संरचनाहरु हटाउन नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, स्थायी रुपमा सीमा अतिक्रमणको समस्या समाधान गर्नका निमित्त सीमामा तारबार लगाउन अनिवार्य हुने हुँदा त्यसका लागि जोडदार रुपमा आवाज उठाउन हामी सम्पूर्ण देशभक्तहरुमा हार्दिक आह्वान गर्दछौं ।
असार १५, २०७८ प्रतीक
प्रवक्ता
नेकपा (क्रान्तिकारी माओवादी)






























