प्रकाशकीय
‘वर्गदृष्टि साप्ताहिक’को पहिलो अङ्क २०७३ आषाढ ६ गते प्रकाशित भएको थियो । त्यतिबेला यसको प्रकाशक रामसिंह बुढाथोकी हुनुहुन्थ्यो । पछि हामीले त्यसलाई संस्थागत गर्यौ । र वर्गदृष्टि मिडिया प्रा.लि.व्दारा यो साप्ताहिक पत्रिका प्रकाशन गरिरहेका छौ ।े यो साप्ताहिक पत्रिका प्रकाशन हुन थालेको आज आषाढ ७ गते ५ वर्ष पुरा गरेर ६ वर्षमा प्रवेश गरेको छ ।
पहिलो वर्षको पहिलो अङ्कको प्रकाशकीयमा भनेका थियौ “त्यो अवस्थामा राष्ट्रिय स्वाधिनता, जनअधिकार र जनजीवीकाको सुधारका लागि सङघर्षलाई अझै सशक्त बनाउनुको साथै मालेमावादी आन्दोलनलाई सही दिशामा अगाडि बढाउन जरुरी छ र विभिन्न क्षेत्रबाट त्यस्तो प्रयत्न पनि भइरहेको छ । त्यही महान काममा मिडियाको क्षेत्रबाट सहयोग पुर्याउने उद्येश्यले वैचारिक ‘वर्गदृष्टि साप्ताहिक’ पत्रिका प्रकाशन गर्न गइरहेका छौ । ” त्यही अङ्कको सम्पादकीयमा भनिएको छ “आवाज विहीनहरुको आवाजको रुपमा यसले थिचीएका, मिचिएका, पाखा लगाइएका क्षेत्र, वर्ग ,लिङग, जातजाति, भाषाभाषीको साथमा रहने छ । दर्शनमा सर्वहाराले भेटने “वौद्धिक हतियार” र सर्वहारा दर्शनले भेटने “भौतिक हतियार”को संगमस्थल निर्मार्णमा यो साप्ताहिकको भूमिका रहने छ ।”
प्रकाशकीय र सम्पादकीयमा हामीले जे उल्लेख गरेका छौ त्यो हाम्रो उद्येश्य हो । सिमित स्रोत साधनका वावजुद यी उद्येश्यहरु प्राप्त गर्नका लागि हामी यो ५ वर्ष निरन्तर पहल र प्रयत्न गरयौ । प्रारम्भ गर्नु भन्दा त्यसलाई निरन्तर टिकाइ राख्न र अझ विकास गर्न त निकै चुनौतीपूर्ण हुँदोरहेछ । गतशालदेखि सुरु भएको कोभिड–१९को महामारीले अझ बढी चुनौती थपेको छ । जस्तोसुकै चुनौती आएपनि कतिपनि विचलित नभई आफ्नो लक्ष्यमा हगाडि बढन हामी दृढ छौ । आफनो लक्ष्यमा कति इमान्दारी पूर्वक अगाडि बढन प्रयास गरेका छौ, त्यो पाठक वर्गले पनि मूल्याङकन गर्ने कुरो हो ।
हामीलाई यो अवस्थासम्म आइपुग्न निरन्तर सहयोग गर्नु हुने सम्पूर्ण ग्राहक, पाठक, लेखक, टिप्पणीकार,, विज्ञापनदातालगायत अन्य सहयोगीहरुलाई ह्दयदेखि धन्यवाद दिन चाहन्छौ । अगाडिका दिनमा झै आगामी दिनमा पनि सबै क्षेत्रबाट आलोचना, सल्लाहसुझाव, आर्थिक, भौतिक, नैतिकरुपले अझ बढी सहयोग र समर्थन हुने छ भन्ने कुरामा हामी अशावादी छौ । हाम्रो सङघर्ष जारी छ ।
२०७८ आषाढ ७ गते
सम्पादकीय
वर्गदृष्टि मिडिया प्रा.लि.द्वारा सञ्चालित तथा प्रकाशित वर्गदृष्टि साप्ताहिक र मूलबाटो डटकम ६ असार, २०७८ बाट छैठौं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रकाशन आरम्भदेखि हालसम्म विभिन्न समस्याहरुसँग जुझ्दै प्रकाशनलाई निरन्तरता प्रदान गर्न प्रत्यक्ष परोक्ष रुपमा महत्वपूर्ण भूमिका खेल्ने सबै पक्षप्रति हामी हार्र्दिक अभार तथा धन्यवाद ज्ञापन गर्दछौं र हाम्रा आदरणीय पाठक वर्गमा हार्दिक बधाईसहितको शुभकामना साटासाट गर्न चाहन्छौं ।
प्रकाशन तथा प्रशारण आफैमा जटिल, कठिन र संवेदनशील क्षेत्र हो । त्यसमा पनि नेपालजस्तो अर्धसामन्ती तथा अर्ध/नवऔपनिवेशिक अवस्थामा रहेको मुलुकमा अर्थात् दलाल पुँजीवादमा आधारित संसदीय व्यवस्थाको दबदबा रहेको मुलुकमा ‘जनपक्षीय’ र ‘मिसन पत्रकारिता’मा आधारित मिडियाहरुको प्रकाशन, प्रशारण र यसको निरन्तरताको विषय स्वभाविक रुपमा थप कठिन र जटिल छ र हुन्छ नै ।
प्रकाशनको जीवन विज्ञापन बजारसँग जोडिएको हुन्छ । दलाल पुँजीवादी व्यवस्थामा विज्ञापन बजार पनि मूलत: पुँजीवादी विचार र दृष्टिकोणसँग नै सम्बन्धित रहेको हुन्छ । नेपालको विज्ञापन बजारमा स्वभाविक रुपमा दलाल पुँजीवादी विचार र दृष्टिकोण राख्ने मिडियाहरुकै एकाधिकार रहेको छ । त्यो विज्ञापन बजारको आधार र निर्भरतामा ‘जनपक्षीय’ मिडिया अर्थात् ‘मिसन पत्रकारिता’ सञ्चालन हुन सक्ने सम्भावनै हुँदैन र छैन । अन्यथा कतै न कतै बजारसँग सम्झौता गर्नुपर्ने बाध्यता हुन्छ । त्यसरी सम्झौता गरेपछि प्रकाशनको जनपक्षीयता र मिसन पत्रकारिताको मौलिक धार भुत्ते हुँदै जाने, खिया लाग्ने र अन्तत: धार र चरित्र बदल्दै त्यही विज्ञापन बजारकै ‘दलाली’मा जीवन धान्नुपर्ने स्थिति पैदा हुन पुग्दछ । जनपक्षीय मिडियाहरुको यही हालत भएका धेरै दृष्टान्तहरु हाम्रा सामु पर्याप्त छन् । अहिले मिडिया र पत्रकारहरुको दलालीकरणको लहर नै चलेको छ ।
यस्तो भौतिक धरातलमा टेकेर हामीले घोषित रुपमै यो मुलुकमा ९०–९५ प्रतिशत गरिखाने श्रमजीवी, शोषित उत्पीडित वर्ग र समुदायको हित र अधिकारको पक्षमा आवाज उठाउँदै आएका छौं । र, मुठ्ठीभर दलाल पुँजीपति तथा सामन्त वर्गको यो लुटको स्वर्गको समूल अन्त्यको लागि आम मेहनतकश जनतालाई क्रान्तिकारी विचार र दृष्टिकोणको प्रवाह गर्दै आएका छौं । हामीले हाम्रो प्रकाशनको आरम्भदेखि नै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, क्षेत्रीय अखण्डताको रक्षा, शोषित उत्पीडित जनताको अधिकार र जनताका जनजीविकाका सवालहरुलाई प्रमुखताका साथ उठाउँदै आएका छौं । यो हाम्रो प्रकाशनको मूल मान्यता, विशेषता र ध्येय पनि हो । टेक्ने धरातल र हाम्रो मिसनबीचको प्रकाशन यात्रा कति कठिन, जटिल र अभावग्रस्त छ भन्ने कुरा स्वभाविक रुपमा जो कसैले अनुमान लगाउन सक्दछ । यस अवस्थामा जनपक्षीय मिडियाहरु सञ्चालनको मुख्य आधार भनेको आम श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको माया, सद्भाव र सहयोग नै हो ।
वर्ग विभाजित समाजमा प्रकाशनहरु पनि वर्ग निरपेक्ष रहन सक्दैनन् । प्रकाशन प्रशारण आफैमा आवाजविहीनहरुको आवाज बन्न सक्नुपर्दछ भन्ने यसको मूल मान्यता रहिआएको छ । सत्ता, व्यवस्था र शक्तिको प्रतिपक्षीय चरित्र नै मिडियाको मूल विशेषता हो । ‘आलोचनात्मक’ तथा समालोचनात्मक चेत पत्रकारहरुमा हुनुपर्ने मुख्य गुण हो । हामी मिडिया र पत्रकारको आम मान्यता, आचारसंहिताप्रति सचेत रहँदै आएका छौं र प्रकाशनको मिसनमा तिख्खर र निख्खरपन ल्याउने कोशिसमा लागिरहेका छौं ।
दलाल पुँजीवादी मिडिया सञ्जाल (सन्यन्त्र)ले फिजाएका भ्रम, उपभोक्तावादी सोच चिन्तन र जनपक्षीय आवाजविरुद्धका मिसनहरुको भण्डाफोर र प्रतिरोध आजका जनपक्षीय मिडियाका कार्यभार बनेका छन् । यो कार्यभार पुरा गर्न जनपक्षीय मिडियाहरु पनि एकताबद्ध रुपमा संगठित हुन र सुदृढ रुपमा कार्यसम्पादन गर्दै अगाडि बढ्न जरुरी छ ।
सक्रिय पाठकहरु नै हाम्रा उर्जा, निधि र जीवन हुन् । हाम्रो यात्राको यो अवधिमा हाम्रा सीमा र कमजोरी औल्याइदिन हामी हाम्रा विज्ञ पाठहरुसँग हार्दिक अनुरोध गर्दछौं ।

 

प्रतिक्रिया

सम्बन्धित खवर