
सुर्खेत÷ दुई जना राउटे समुदायका युवतीलाई होटलमा लगि रक्सी खुवाएर यौनजन्य दुव्र्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले तीनजना स्थानीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुन रहेका छन् ।
उनीहरूले दुई राउटे युवतीलाई होटलमा लगेर रक्सी खुवाई भिडियो बनाएर सामाजिक सन्जालमा पोष्ट गरेका थिए । विगत केही समयदेखि सामाजिक सञ्जालमा भाइरल हुँदै आएका राउटे युवतीहरूलाई यस प्रकारको हर्कत गरिएको हो । होटल सन्चालक बिनोद पुनले राउटे युवतीमाथि यौनजन्य दुव्र्यवहार गरेको भिडियोमा देखिएको जनाइएकोछ । चौतर्फी दवाव बढेपछि प्रहरीले तीनजनालाई शनिबार पक्राउ गरेको हो ।

‘राउटे समुदायलाई अनावश्यक दुःख दिने र उनीहरूलाई दवावमा पारेर नराम्रो भिडियो रेकर्ड गर्नु गलत कुरा भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उनले ‘यसबारे थप अनुसन्धान भइरहेको र कानूनअनुसार कारवाही प्रक्रिया अघि बढाउने’ बताए ।
सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरूमाथि पछिल्लो पटक दुव्र्यवहार बढ्दै गएको छ । उनीहरूलाई जवर्जस्ती फोटो, भिडियो खिच्न लगाउने र अनावश्यक सनसनीपूर्ण हेडलाइन राखेर पैसा कमाउने ध्याउन्नमा युट्युबरहरू छन् । यसअघि लेकबेशी नगरपालिकाको कल्याणमा बस्दै आएका राउटे समुदाय केही दिनअघि मात्रै गुर्भाकोट नगरपालिका वडा नं.११ आँपसोती जनैघाटस्थित भेरी नदी किनारामा सरेका छन् ।
सरकारको ध्यान भने राउटे समुदायको सुरक्षामा भन्दा भत्तामा मात्र केन्द्रित भएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चार महिनाअघि कर्णालीका डीआईजी बसन्तकुमार पन्तलाई राउटे बस्तीमा बाहिरका नागरिकलाई प्रवेश गर्न नदिन र प्रहरी समेत परिचालन गर्न निर्देशन दिएका थिए । तर त्यसको कार्यान्वयन हुन नसकेकै परिणाम यो भिडियो प्रकरण हो । पछिल्लो समयमा टिकटक बनाउनेदेखि ‘रमाईलो’ गर्ने बहानामा अन्य समुदायका युवाहरू राउटे बस्तीमा प्रवेश गर्ने क्रम बढेको छ । राउटे समूदायका चेलीहरू विस्तारै अन्य समूदायका नागरिकसँग पनि घुलमिल हुन थालेको देखिन्छ । यही घुलमिलको फाइदा उठाएर अन्य समूदायका युवाहरूले राउटे समुदायका युवतीहरूलाई होटलमा लगेर मदिरासमेत सेवन गर्न लगाउने, अनावश्यक कुराकानी गरेर भिडियो बनाउने, फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरिरहेका छन् । यसले लोपोन्मुख जातिमा रहेको राउटे समुदायको संरक्षण नभई युटुवेहरू र सस्तो प्रकारका मिडिबाजहरूको पैसो कमाउने माध्यम मात्रै बन्ने गरेको छ । यसबारे सचेत समुदाय र सरकारको बेलैमा ध्यान जानु जरुरी छ ।
नेपालमा राउटेको जनसंख्या १ सय ३८ छ । उनीहरूलाई भत्तामा मात्रै केन्द्रित नगरेर उनीहरूको अधिकार, बाह्य व्यक्ति प्रवेश निषेध, राहत वितरण एकद्धार नीतिबाट गर्न र उचित संरक्षण प्रदान गर्न जस्ता कार्यमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ ।
यसैबिच आज आदिवासी जनजाति महासङ्घले एक वक्तव्य जारी गर्दै राउटे युवतीमाथि दुव्यवहार गर्नेहरूलाई कडा कारवाही गर्न माग गरेको छ ।