
गाईघाट, उदयपुर । काेराेना संक्रमणबाट एक सातामा उदयपुरमा एकै परिवारका तीनजनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे रौतामाइ गाउँपालिका –७ मसर्कुची की ७१ वर्षीया तिलमाया मगरको बिहीबार विहान मृत्यु भएको छ। उनका दुई जना छोराको यसअघि नै कोरोनाले ज्यान लगिसकेको थियो।
दुई छोरा वियोगको शोकमा रहेकै बेला बिहीबार बिहान तिलमायाको पनि मृत्यु भएको हाे । ि
दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन भण्डारी आँखा अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचारपछि होम आइसोलेसनमा लगिएको थियो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरमा उपचारको क्रममा उनका दुई छोराको मृत्यु भएको थियो। जेठ १५ गते साईलो छोरा ४५ वर्षीय तुलबहादुरको विराट मेडिकल कलेजमा र १८ गते जेठो छोरा ५० वर्षीय पुस्कलको नोवेल मेडिकल कलेजमा मृत्यु भएको थियो।
दुबैलाई आईसियुमा राखेर उपचार गर्दा गर्दै कोरोनाले मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए।
दाजुभाई र आमामा कोरोना पोजेटिभ देखिएपछि उनीहरु आँखा अस्पताल गाईघाटको आईसोलेसन वार्डमा भर्ना भएका थिए । एक छोरा भने कोरोनामुक्त भएका छन् । योसँगै उदयपुरमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३७ पुगेको सुवेदीले जानकारी दिए ।































