१४ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ९८४१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । दैनिक निको हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गइरहेको छ ।
आज निको भएका ९,८४१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । मन्त्रालयका अनुसार निको हुनेको यो दर ७८.१ प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६,९५१ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १९,३१३ पिसीआर र ७९७ ऐन्टिजेन गरी २०,११० नमुना परीक्षणमा ६९५१ जना संक्रमित थपिएका हुन् ।
आज काठमाडौंमा १७९६, ललितपुरमा ३१५ र भक्तपुरमा २१३ गरी उपत्यकामा २३२४ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । आज थपिएका ६९५१ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबारको तुलनामा आज मृत्यु हुनेको संख्यामा पनि कमी आएको छ । आज थपिएका ९६ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७०४७ पुगेको छ ।
त्यसैगरी हाल देशैभरी १ लाख १३ हजार ३९४ जना सक्रिय सक्रमित रहेका छन् । ती मध्ये देशैभरीका संस्थागत आइसोलेशनमा ७९५० जना र होम आइसोलेशनमा १ लाख ५ हजार ४४४ जना रहेका छन् ।
मन्त्रालयका अनुसार हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा १६२७ जना र भेन्टिलेटरमा ४५० जना उपचाररत छन् । बिहीवारको तुलनामा शुक्रबार भेन्टिलेटर र आइसीयुमा उपचार गराउनको संख्या केही घटेको छ । साथै क्वारेन्टिनमा रहनेको संख्या ८०९ रहेको छ ।
त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट ३० लाख १७ हजार ३७७ वटा नमुना परीक्षण गरिएको छ । नेपालमा हालसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या २१ लाख १३ हजार ८० रहेको छ भने दोस्रो मात्रा लगाउनेको संख्या ६ लाख ४८ हजार ६८ जनाले लगाएको मन्त्रालयको तथ्यांक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर