“ दर्शन आफ्नो समयको बौद्धिक सारतत्व “ , संस्कृतिको जीवित आत्मा हो । “
– कार्ल माक्र्स , कार्ल माक्र्स र फ्रेडरिक एंगेल्स , संकलित रचना संग्रह , खण्ड १, पृष्ठ १०५ ।

दर्शनको मुख्य विशेषता समयसापेक्ष र वर्गपक्षधरता हो । त्यसो भएर नै सर्वहारावर्गका महान् नेता तथा माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले दर्शनशास्त्रलाई आफ्नो समयको “ बौद्धिक सारतत्व “ , संस्कृतिको जीवित आत्मा “ भन्नुभएको थियोे ।
साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन मूलत: संशोधनवादी दर्शन र त्यसका विविध धाराहरुको विकास भएको दर्शन हो । यो आलेख यसै विषयमा केन्द्रीकृत भएर लेख्ने प्रयत्न गरिनेछ । त्यस भन्दा पहिले दर्शन युगसापेक्ष भएकोले यहाँ थोरै दासयुगकालिन , सामन्तवादीकालिन र पुँजीवादीकालिन दर्शनका बारेमा चर्चा गर्ने प्रयत्न गरिनेछ ।
दर्शनको जन्म उत्पादनको निम्ति संघर्ष , वैज्ञानिक प्रयोग र वर्गसंघर्षका बीचबाट भएको हो, थियो । दासमालिक समाजको विकासप्रक्रियाका बीचबाट अर्थात् आदिम साम्यवादी युगको अन्त्य र दास युगको जन्म पश्चात् दर्शनको पनि जन्म भएको हो । किनकि दास युगिन समाज पहिलो वर्गीय समाज थियोे । यसरी मानव समाजमा वर्गको जन्मसंगै दर्शनको पनि जन्म भएको हो । प्राचीन युनान,भारत,नेपाल र चीनमा दर्शन विकसित हुँदै आएको पाइन्छ ।
मानव समाजको ऐतिहासिक विकासको क्रमअन्तर्गत दास मालिक समाज ( दास युगिन समाज ),सामन्तवादी युग,पुँजीवादी युग हुदै आज साम्राज्यवाद र सर्वहारा क्रान्तिकोसम्म विकास भइसकेको छ । दर्शन युगसापेक्ष हुनेभएकोले प्रत्येक विकासक्रमसंगै दर्शनको पनि विकास हुदै आएको छ ।
दासमालिक समाज (प्रारम्भिक कालमा दर्शन )
दसमालिक समाज ( दासयुगिन समाज ) को दर्शन सबैभन्दा पहिलेको दर्शन हो । यसै युगमा दर्शनको जन्म भएको हो। तत्कालीन समाज विकासको प्रक्रियामा दर्शन सबै देशहरूमा एक समान ढंगले अगाडि बढेको पाइदैन । खास गरि प्रारम्भिक युगको दर्शनलाई प्राचीन दर्शन भनिन्छ । प्राचीन दर्शन प्राचीन युनान तथा रोम , नेपाल तथा भारत र चीनमा विकसित भएको पाइन्छ ।
प्राचीन युनानी दर्शनमा मूलत: संवत : स्फूर्त भौतिकवाद र द्वन्द्ववादको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । त्यस समयका दार्शनिकहरुमा हेरेक्लाइटस र डेमोक्राइटस प्रमुख रहेका थिए । द्वन्द्ववादको विकासमा युनानी दार्शनिक अरस्तुको महत्वपूर्ण भूमिका रहेको थियोे ।
त्यस युगमा युनान तथा रोमन दर्शन , नेपाली दर्शन ,भारतीय दर्शन र चीनको दर्शन रहेका छन् । यो छोटो आलेखमा यी सबै दर्शनका विषयमा विस्तृत रुपमा व्याख्या गर्न सम्भव छैन । पछि अनेत्रै व्याख्या गरिनेछ ।
सामन्तवादी युगको दर्शन
सामन्तवादी युगको दर्शनलाई मध्ययुगको दर्शन भनिन्छ । त्यस दर्शनको प्रारम्भ पश्चिममा रोमन साम्राज्यको पतन र भारती उपमहाद्वीपमा गुप्त साम्राज्यको थालनी देखि भएको पाइन्छ । त्यस युगको दर्शनलाई धर्म दर्शन पनि भनिन्छ ।
त्यस युगको दर्शनलाई युरोपको दर्शन , अरबी दर्शन , भारतीय दर्शन नेपाली दर्शन र चीनमा बौद्ध – कन्फ्युसियस– ताओवादी दर्शन गरी विभक्त गरिएको थियो ।
पुँजीवादी युगमा दर्शन
पुँजीवादी युगमा मानव समाजको विकास हुनेक्रममा नयाँ उत्पादक शक्तिको सशक्त रुपमा विकास भएको थियो । सामन्तवादका विरुद्ध जनसमुदायको तीब्र ओक्रोस बढ्नु , ज्ञान – विज्ञानका क्षेत्रमा हुनु , कोपरनिकस ( सन १४७४ – १५४३ ) द्वारा सूर्यलाई पृथ्वीको केन्द्र मान्दै पृथ्वीलाई गोल कताउँदै त्यसले सूर्यलाई केन्द्र मानेर घुम्छ भन्ने परिकल्पना प्रस्तुत हुनु र त्यसलाई ग्यालिलियो ( १५६४ – १६४२ ) द्वारा पुष्टि गरिनु , बारुदको खोज ,छापाका मेसिनको ज्ञान तथा कम्पासको आविष्कार हुनु कोलम्बसद्वारा सन १४९२ मा अमेरिका तथा वास्को द गामाद्वारा १४९८ मा भारतीय मार्गको खोज गरिनु , सामन्तवादका विरुद्ध युरोपका विभिन्न देशहरूमा विविध प्रकारका साँस्कृतिक आन्दोलन सम्पन्न हुनु , यसै प्रक्रियामा कैयौं दार्शनिकहरुद्वारा धर्ममाथि प्रहार गर्ने र तार्किक चिन्तनमाथि जोड दिने काम सम्पन्न हुदै गए । यी सबै कुराबाट भौतिकवादी दर्शनको विकासका लागि आवश्यक पूर्वाधार तयार हुदै गएको थियोे ।
पुँजीवादी समाजमा विकास भएको भएको दर्शनला मूलत: दुई भागमा विकसित भएको पाइन्छ । जस्तो (१) पुँजीवादी दर्शन र (२) सर्वहारावादी दर्शन । सर्वहारावादी दर्शन भनेको माक्र्सवादी दर्शन हो । माक्र्सवादी दर्शन सर्वहारावर्गको विश्वदृष्टिकोण हो। र साथै माक्र्सवादी दर्शन विश्व सर्वहारावर्गको मुक्तिको सैध्दान्तिक अस्त्र र पथप्रदर्शन सिध्दान्त समेत हो ।

पुँजीवादी दर्शन
वास्तविक रुपमा पुँजीवादी युगको दर्शन आदर्शवाद र भौतिकवाद , अधिभूतवाद र द्वन्द्ववाद , अधिभूतवावादी भौतिकवाद र आदर्शवादी द्वन्द्ववादकाबीचको संघर्षकोबीचबाट विकसित हुदै आएको छ ।
पुँजीवादी युगको मुख्य दार्शनिक प्रवृत्ति यान्त्रिक भौतिकवाद हो । खासगरी सत्रौ र अठारौं शताब्दीमा प्रकृतिविज्ञानमा भएको प्रगतिले भौतिकवादको विकासमा मद्दत पुर्याएको थियो
सत्रौ शताब्दीमा इङ्गल्याण्डमा दार्शनिकहरु बेकन ती तीनै जना दार्शनिकहरुले भौतिक पदार्थलाई प्राथमिक र त्यसैबाट चेतनाको उत्पत्ति भएको कुरा मान्दथिए । ( १५६१ – १६२६) , हाब्स (१५८८ – १६७९) र लाक (१६३२ – १७०४) द्वारा भौतिकवादको राम्रो विकास भएको थियो
पुँजीवादी दर्शनको विकास प्रक्रिया अन्तर्गत उन्नाइसौं शताब्दीको जर्मन शास्त्रीय दर्शन अन्तर्गत मूख्यत: काण्ट ( सन १७२४ – १८०५ ) , फिक्टे ( १७६२ – १८१४) , शेलिङ्ग (१७७५ – १८५४), हेगेल (१७७० – १८३१) र फायरवाख (१८०४ – १८७२ ) समेतका दार्शनिकहरु आएका थिए ।

माक्र्सवादी दर्शन
कार्ल माक्र्स (१८१८ – २८८३ ) र फ्रेडरिक एंगेल्स (१८२० – १८९५ ) माक्र्सवादी दर्शनका संस्थापक हुनुहुन्छ । खासगरी तत्कालीन पुँजीवादी समाजमा पुँजीपतिवर्ग र सर्वहारावर्ग बीचको वर्गसंघर्षको अवस्था , प्रकृति विज्ञानका क्षेत्रमा भएका नयाँ नयाँ खोजहरु र जर्मन शास्त्रीय दर्शन , इङ्गल्याण्डको राजनीतिक अर्थशास्त्र र फ्रान्सको समाजवाद माक्र्सवादका जन्मका भौतिक तथा सैध्दान्तिक बन्न पुगेका थिए ।
जुन पुँजीवादी दर्शनमा काण्टदेखि लिएर हेगेल एवं फायरवाखसम्म आइपुग्दा दर्शनमा जुन समस्याहरु पैदा भएका थिए , माक्र्स र एंगेल्सले तिनको दार्शनिक तथा वैज्ञानिक ढंगले समाधान गर्नुभएको थियो । माक्र्सवादी दर्शनको नाम द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद यी तीन तत्व मिलेर माक्र्सवाद बनेको छ । माक्र्सवाद सर्वहारावर्गको समग्र विचारधारा हो । वर्गसंघर्ष , इतिहासमा बलप्रयोगको भूमिका , सर्वहारावर्गको अधिनायकत्व र वैज्ञानिक समाजवाद र साम्यवाद – यी तत्वहरु माक्र्सवादका ज्ञान – सिध्दान्तका मूल विषय हुन् ।
माक्र्सवादी दर्शनका निम्न मूलभूत विशेषताहरु रहेका छन् , जो यसप्रकार रहेका छन् :
जस्तो कि दर्शनलाई विज्ञानको एउटा विशिष्ट विज्ञानको अर्थमा विश्वदृष्टिकोणका रुपमा परिभाषित गर्नु , दर्शनशास्त्रको वैज्ञानिक अध्ययनका लागि मौलिक प्रश्नको समस्या सही ढंगले हल गर्नु , द्वन्द्ववाद र भौतिकवादलाई एकै ठाउँमा मिलाई द्वन्द्वात्मक भौतिकवादी दर्शनको स्थापना गर्नु , वैज्ञानिक समाजवादको विचारधारालाई केन्द्रविन्दुमा राखि भौतिकवादको सिध्दान्त र द्वन्द्ववादको पध्दति अवलम्बन गरि नयाँ दार्शनिक प्रणालीको निर्माण गर्नु माक्र्सवादी दर्शनका मूलभूत विशेषता हुन् । यसलाई माक्र्स र एंगेल्सले दार्शनिक तथा वैज्ञानिक ढंगले निरुपण गर्नुभएको थियो ।
माक्र्सवादको प्रतिपादन भए यता दर्शनमा निकै विकास हुँदै आएको छ । माक्र्सवादले आज माक्र्सवादको विकासको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवाद र माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो चरणमा माओवादको विकास भएको छ ।
आजको अबधि भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग अबधि हो । यस अबधिमा दर्शनका विकासका मूलत: तीन धारा रहेका छन् , ती हुन् – साम्राज्यवादी युगको पुँजीवादी दर्शन , संशोधनवादी दर्शन र माक्र्सवादी दर्शन र माक्र्सवादी – लेनिनवादी – लेनिनवादी दर्शन । र , यहाँ साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शनबारे अब संक्षिप्त रुपमा तल चर्चा गर्ने प्रयत्न गरिएको छ :

साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शन :
दार्शनिक फाँटमा साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको दर्शनको विशेषता भनेको संशोधनवादी दर्शनका विविध शाखाहरु सहितको विकास हो । साथै उत्तर आधुनिकतावाद र उत्तर माक्र्सवादको घोषणा गरिएको घोर माक्र्सवादी , विसर्जनवादी धाराको उल्लेख गरिएको अबधि पनि हो यो युग ।

पुँजीवादी दर्शनको विकास
जुन गतिमा माक्र्सवादको विकास हुदै आयो , त्यसै गरि पुँजीवादी दर्शनको पनि विविध धारामा विकास हुदै गएको छ । पुँजीवाद साम्राज्यवाद पतन हुन पुग्पो । पुँजीवादको साम्राज्यवादमा विकास भएसंगै पुँजीवादी दार्शनिक फाँटमा विविध प्रकारका धाराहरु विभिन्न रंगरोगन बोकेर आएको यश धाराले कुनै न कुनै रुपमा साम्राज्यवादको सेवा गर्दै आएका छन् । ती दार्शनिक धाराहरु यश प्रकार रहेका छन् :

( क) संकल्पवाद:
पुँजीवादी दार्शनिक फाँटमा संकल्पवादी दर्शनमा संकल्प अर्थात् कामनालाई प्रधानता दिइन्छ । यो दर्शनलाई जीवन दर्शन पनि भन्ने गरिन्छ । यसको चरम विकास गर्ने दार्शनिक फ्रेडरिक नित्से (१८४४ – १९००) हुन् ।
साम्राज्यवादको उदयको पृष्ठभूमि र प्रक्रियासंगै नित्सेको संकल्पवाद विकसित हुन पुगेको छ । तत्वदर्शनको क्षेत्रमा नित्सेले संकल्पलाई प्राथमिक स्थानमा राखेका छन् । उनको विचारमा सत्ताको कामना नै सबैभन्दा प्रधान चीज हो ।
ज्ञान दर्शनको क्षेत्रमा उनी अतर्कबुध्दिवादी रहेका छन् । नित्सेको आचार दर्शन जीजविज्ञानमा आधारित रहेको छ । नित्सेको शून्यवाद आचार दर्शनको क्षेत्रमा मात्र सिमित रहेको छैन । उनको यो शून्यवाद राजनीति , र इतिहासको दर्शनको क्षेत्रमा समेत अभिव्यक्त भएको छ । उनी पुँजीवादी उदारतावाद र माक्र्सवाद दुबैका घोर विरोधी थिए ।
दार्शनिक रुपमा नित्सेको संकल्पवाद साम्राज्यवादी दर्शनको अनुदारवादी धारा हो । यसले एकातिर फासीवादलाई सघाएको छ भने अर्कोतिर उत्तर आधुनिकतावादका लागि एउटा बलियो सैध्दान्तिक आधार प्रदान गरेको छ
(ख) प्रत्येक्षवाद
प्रत्येक्षवाद ऊन्नाइसौ शताब्दीको अन्त्यमा जन्मिएको दर्शन हो । यसले साम्राज्यवादी युगको उदारवादी धारालाई प्रश्रय दिने काम गरेको छ । यश दर्शनका संस्थापक फ्रान्सकम दार्शनिक कोम्टे ( १७९८ – १८९५ ) हुन् ।
ल दर्शन र वैज्ञानिक समाजवादको क्षेत्रमा प्रत्येक्षवादले गंभीर प्रकारको वैचारिक प्रदूषण फैलाउने काम गरेको छ । दार्शनिकहरुमा कोम्टे , जे. एस. मिल , एच . स्पेन्सर , अ. माख र एवनारियस यश दर्शनशीत जोडिएका छन् ।
प्रत्येक्षवादले दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थ रहेको दावी गर्दछ । ज्ञान – सिध्दान्तकन्ह क्षेत्रमा प्रत्यक्षवाद अज्ञेयवादी रहेको छ ।
प्रत्येक्षवाद समाजशास्त्रसंग जोडिएको छ ।समाजशास्त्रमा प्रत्येक्षवाद वर्गसंघर्ष र ऐतिहासिक भौतिक रवादको पुरा विरोधी रहेको छ । प्रत्येक्षवादले समाजशास्त्रलाई प्रदूषित तुल्याउँदै आएको छ ।
नवप्रत्यक्षवादले दर्शनलाई भाषाशास्त्रमा गिराउने काम गर्दछ । यसले दर्शनशास्त्रको मौलिक प्रश्नका साथै तत्वमीमांसालाई खारेज गर्ने काम गर्दछ । यो दर्शन पनि अज्ञेयवादमा आधारित रहेको छ ।
प्रत्येक्षवादीहरु र संशोधनवादीहरुका बीच घनिष्ट साँठगाँठ चल्दै आएको छ । यी दुबै मिलेर सामान्यत: माक्र्सवाद र विशेषत: द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विरोध गर्दछन् । भौतिकवाद र आदर्शवादभन्दा माथि उठेको देखाउन चाहने यश प्रकारको दार्शनिक प्रवृत्तिलाई लेनिनले “ व्यक्तिनिष्ट आदर्शवाद “ को संज्ञा दिनु भएको छ ।
( ग) व्यवहारवाद
व्यवहारवाद उन्नाइसौं शताब्दीको अन्त्य र बीसौं शताब्दीको प्रारम्भमा अमेरिकामा जन्मिएको तथा विकसित भएको दार्शनिक धारा हो ।यश दर्शनका मुख्य प्रणेता विलियम जेम्स ( सन १८४२ – १९१०) र जान डिवे हुन् । विलियम जेम्सले व्यवहारवादलाई निकै विकसित तुल्याएका छन् । व्यवहारवादले दर्शनशास्त्रको मौलिक प्रश्नमा तटस्थतावादको पक्षपोषण गर्दछ । सारत: यो आत्मनिष्ठ आदर्शवादी दार्शनिक धारा हो । यसले व्यवहार व अनुभवलाई नै प्राथमिक स्थानमा राख्दछ । व्यवहारवाद आदर्शवादी अनुभववाद कै विकसित रुप हो ।
प्रत्येक्षवाद जस्तै व्यवहारवाद पनि अज्ञेयवादी नै रहेको छ । व्यवहारवादलाई अतर्कबुध्दिवादसंग पनि जोड्ने गरिन्छ । व्यवहारवादले व्यवहारलाई सबैथोक मान्दै सिध्दान्तको विरोध गर्दछ । दर्शन मात्र होइन साहित्य , कला र सौर्न्दर्य चिन्तनको फाँटमा पनि व्यवहारवादले धेरै प्रभाव पारेको छ ।
माखपन्थ र व्यवहारवाद पनि प्रत्यक्षवाद वा आदर्शवादी अनुभववाद वा व्यक्तिनिष्ठ आदर्शवादका भिन्न रुप नै हुन् ।
( घ) नवयथार्थवाद
नवयथार्थवाद सहज यथार्थवादको विकसित रुप हो । सहज यथार्थवाद भौतिकवादको नजिक रहेको छ । तर नवयथार्थवाद भने आदर्शवादमा आधारित बन्न गएको छ । नवयथार्थवादी धाराको विकास गर्नेमा जंग्रेज दार्शनिक जे. एडवर्ड मूर ( सन १८७३ – १९५८) र बर्टेन्ड रसेल लगायतका दार्शनिकहरु रहेका छन् ।

( ङ) अस्तित्ववाद
अस्तित्ववादी धारा बीसौं शताब्दीको एक महत्वपूर्ण दर्शन हो । यो दर्शनलाई ईश्वरवादी र निरीश्वरवादी दुई धारामा विभाजन गर् सकिन्छ । ईश्वरवादी धारामा फ्रान्सका मार्सेल ( १८८९ – १९७३) , जर्मनीका यास्पर्स (१८८३ – १९६९ ) र रुसका वेर्द्यायेव (२८७४ – १९८४) पर्दछन् भने निरीश्वरवादी धारामा जर्मनीका हाडेगर (१८८९ – १९५६ ) र फ्रान्सका सार्त्र ( १९०५ – १९८० ) रहेका छन् ।
अस्तित्ववादले अस्तित्वलाई पहिलो र सारतत्वलाई दोस्रो स्थानमा राख्दछ । यो दर्शन आत्मनिष्ठ आदर्शवादी दर्शन हो ।
अस्तित्ववादले व्यक्तिगत स्वतन्त्रतामा जोड दिन्छ र यसलाई चयनको स्वतन्त्रता पनि भनिन्छ । अस्तित्ववादलाई निरासावादलाई निरासावाद र पलायनवादको दर्शन पनि भनिन्छ । अस्तित्ववाद दर्शनमा मात्र होइन , यो साहित्य , कला र सौर्न्दर्य चिन्तनको क्षेत्रमा पनि व्याप्त रहेको छ ।
( च )नवथामसवाद
नवथामसवाद तेह्रौं शताब्दीका दार्शनिक थामस अक्विनासको सिध्दान्तको विकसित रुप हो । यश दर्शनका प्रमुख प्रवर्तक फ्रान्सका दार्शनिक ज्याक मारिटेन ( १८८८ – १९६३) हुन् । यो क्याथोलिक चर्चको दार्शनिक सिध्दान्त र पुरोहितवादी विश्वदृष्टिकोणमा आधारित रहेको छ । यो दर्शन आस्थावादी रहेको छ ।यसको सामाजिक आदर्श भनेको चर्च हो । यसले इतिहासको निर्माणमा अलौकिक शक्तिको भूमिकालाई मान्दछ । यसले विज्ञान र धर्ममा सामञ्जस्य कायम गर्ने प्रयास गरेको देखिन्छ ।

संशोधनवादी दर्शन
(१) पृष्ठभूमि माक्र्सवादको जन्मसंगै संशोधनवादको जन्म भएको पाइन्छ । अर्थात् पुँजीवादले साम्राज्यवादमा प्रवेश गरेपछि संशोधनवादको जन्म भएको हो । संशोधनवादमा केही हदसम्म अराजकतावाद र मुख्यत: अवसरवाद समिश्रित भएको पाइन्छ ।
माक्र्सवादका तीनवटै संघटक अंगहरु दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको तोडमोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो । संशोधनवाद त्यो धारा हो , जसअनुसार माक्र्सवादी – लेनिनवादी – माओवादी सिध्दान्तलाई समर्थन गरेको बाहना गर्दछ तर मालेमावादका आधारभूत मान्यताहरुलाई प्रत्येक्ष वा परोक्ष रुपले तोडमोड गर्ने , तिनको खण्डन गर्ने र विरोध गर्ने तथा माक्र्सवादको रचनात्मक प्रयोगको नाममा माक्र्सवादी – लेनिनवादी – माओवादी मूल्य र मान्यताहरुलाई अस्वीकार गर्ने काम गर्दछ । अर्थात् वर्गसंघर्ष , सशस्त्र संघर्ष तथा सर्वहारा अधिनायकत्वको परित्याग र माक्र्सवादका आधारभूत सैध्दान्तिक मान्यताहरुको तोडफोड तथा अपव्याख्या गर्नु संशोधनवाद हो । संशोधनवाद भनेको पुँजीवादी विचारधारा हो ।यसको श्रोत निम्न पुँजीवाद हो । संशोधनवाद दक्षिणपन्थी , मध्यपन्थी र उग्रवामपन्थी धारामा विभाजित भएको पाइन्छ ।
माक्र्स र एंगेल्सले आफ्नो जीवनकालमा कम्युनिस्ट आन्दोलनमा घुसेका तमाम पुँजीवादी र निम्न पुँजीवादी विचारधाराका विरुद्ध कडा संघर्ष चलाउनु भएको थियोे , जसमा प्रुंधो ( १८०९ – १८६५) , बाकुनिन (१८१४ – १८७६) , लासाल ( १८२५ – १८६४) तथा ड्युहरिंग(१८३३ – १९२१) सहित तिनका पक्षधरहरुका विचार प्रमुख रहेका छन् ।
सन १८९५ मा एंगेल्सको मृत्यु भयो । त्यस पश्चात् एडवर्ड बर्नस्टिन ( १८५० – १९३४ ) ले संशोधनवादको स्थापना गरे । बर्नस्टिनलाई शास्त्रीय संशोधनवादका पिता भनिन्छ । यश विषयमा लेनिनले आफ्नो प्रसिद्ध पुस्तक “ माक्र्सवाद र संशोधनवाद “ मा लेख्नुभएको छ , “ भूतपूर्व कट्टर माक्र्सवादी बर्नस्टिनले अधिकतम अभिव्यक्तिका साथै खुला रुपमा यो प्रवृत्तिलाई आफ्नो नाम प्रदान गरे ।“ संशोधनजादको वर्गीय जरा निम्न पुँजीवाद हो र यसले पुँजीवादको सेवा गर्दछ ।
निकिता ख्रुश्चोवले आधुनिक संशोधनवादको स्थापना गरे । यसका विरुद्ध कमरेड माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र महान् बहस सञ्चालन गर्नु भयो । र, चीनमा दस वर्षसम्म महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो । रुस र चीनमा प्रतिक्रान्ति भयो । यसको असर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठूलो असर पर्यो ।
संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हुनुका कारण नेपाल पनि प्रभावित हुदै आएको छ । नेपालमा बहुलवादी संशोधनवाद , जडसूत्रीय संशोधनवाद तथा नवसंशोधनवाद प्रकट हुदै मात्र आएको छैन , यसले नेपाली कम्युनिस्ट आन्दोलन भित्र बलियो रुपमा जरा गाड्दै आएको छ । दक्षिणपन्थी संशोधनवाद महान् नेपाली क्रान्तिका सामु प्रमुख बाधकका रुपमा खडा हुदै आएको छ ।
संशोधनधनवादको दार्शनिक सिध्दान्त :
दर्शनमा आदर्शवाद र भौतिकवाद बीचका विभिन्न धाराहरु भए झै संशोधनवादको दार्शनिक सिध्दान्तमा पनि पाइन्छ । संशोधनवादको दार्शनिक सिध्दान्त प्रत्येक्षवाद र अज्ञेयवादमा आधारित रहेको छ । यश विषयमा लेनिनले आफ्नो प्रसिद्ध पुस्तक “ भौतिकवाद र अनुभवसिध्द आलोचना “ स्पष्ट पार्नु भएको छसंशोधनवादको दार्शनिक सिध्दान्त मूलत: संशोधनवादी दर्शनसंग सम्बन्धित छ ।
ज्ञानसिध्दान्तका क्षेत्रमा संशोधनवाद मूलत: तीन रुपमा प्रकट भएको पाइन्छ , जस्तै : जडसूत्रवाद , अनुभववाद वा व्यवहारवाद र वितण्डावाद । द्वन्द्वात्मक भौतिकवाद यी तीनवटै गलत चिन्तनको विरोधी रहेको छ ।
संशोधनवादको दार्शनिक पध्दति :
संशोधनवादीहरुको विश्वदृष्टिकोण अधिभूतवादी विश्वदृष्टिकोण हो । संशोधनवादी दर्शनको दार्शनिक पध्दतिको आधारभूमी अधिभूतवाद हो । दार्शनिक पध्दतिको क्षेत्रमा दक्षिणपन्थी संशोधनवादले क्रान्तिकारी द्वन्द्ववादको विरोधमा भँडुवा विकासवाद र शान्तिपूर्ण विकासको पक्षपोषण गर्दछ ।
क्रान्ति वा रुपान्तरणको सन्दर्भमा दक्षिणपन्थी अवसरवादले क्रमिक विकास तथा शान्तिपूर्ण विकास वा मात्रात्मक परिवर्तनमा मात्र जोड दिन्छ भने वामपन्थी अवसरवादले गुणात्मक विकास वा छलाङ्गको पक्षपोषण गर्दछ।
दक्षिणपन्थी अवसरवादले क्रान्तिकारी परिस्थितिको निर्माण भइसक्दा पनि क्रान्ति सम्पन्न गर्न चाहदैन भने वामपन्थी अवसरवादले क्रान्तिकारी परिस्थितिको अभावमा पनि क्रान्तिकारी सम्पन्न गर्ने कुरा गर्दछ । क्रान्तिका लागि यी दुबै दृष्टिकोणका विरुद्ध संघर्ष गर्न आवश्यक हुन्छ ।
मध्यपन्थी अवसरवाद क्रान्तिकारी तथा अवसरवादी धाराका बीच डोलायमान हुने गर्दछ र अन्तत: त्यसले दक्षिणपन्थी अवसरवादकै बाटो पकड्दछ ।
दार्शनिक पध्दतिको क्षेत्रमा संशोधनवादका मूलत: तीन प्रकारका विशेषता हुने गर्दछन् , ती हुन् – एकमनावाद , बहुलवाद , र सारसंग्रहवाद । भौतिकवादी द्वन्द्ववाद यी तीनवटै गलत चिन्तनको विरोधी रहेको छ ।
ऐतिहासिक भौतिकवाद
माक्र्सवादले इतिहासको भौतिकवादी अध्ययनका आधारमा वैज्ञानिक समाजवाद र साम्यवादको स्थापना हुने निष्कर्ष निकाल्ने काम गर्दछ । तर संशोधनवादले यस प्रकारको माक्र्सवादी मान्यताको विरोधमा रहेको छ ।
माक्र्सवाद सर्वहारावर्गको अधिनायकत्वको पक्षमा छ । तर यसको विपरीत संशोधनवादले सर्वहारावर्गको अधिनायकत्वको विरोध र सबैका लागि लोकतन्त्रको कुरा गर्दछ ।
आधुनिक तथा नव– संशोधनवाद
माक्र्सवादको विकाससंगै संशोधनवादको पनि विकास हुदै आएको छ । संशोधनवादले विभिन्न रुप र रंगले आफ्नो कलेभर फेर्दै आएको छ । संशोधनवादले ख्रुश्चोवमा पुगेर एउटा उत्कर्ष प्राप्त गर्न पुगेको हो । ख्रुश्चोवले सर्वहारावर्गको कम्युनिस्ट पार्टीलाई सम्पूर्ण जनताको पार्टी , सर्वहारावर्गको अधिनायकत्वमा आधारित राज्यलाई सम्पूर्ण जनताको राज्य र सशस्त्र संघर्षको सिध्दान्तलाई शान्तिपूर्ण संक्रमणको सिध्दान्तमा गिराउने काम गरे । माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले ख्रुश्चोवकोनव – संशोधनवादको डटेर विरोध गरेको थियो ।
दार्शनिक फाँटमा एडवर्ड बर्नर्स्टिटनबाट शुरु भएको संशोधनवादले मिलेराँ, काउत्स्की , ख्रुश्चोव , लिउ साँ ची आदि हुदै युरो – कम्युनिज्ममा चरम रुप लिन पुग्यो ।
आधुनिक संशोधनवादले आफ्नो कलेवर फेर्दै गयो र त्यसले नवसंशोधनवादको रुप लिन पुग्यो । ठिक त्यसैबेला माओको नेतृत्वमा समाजजादी क्रान्तिमा संलग्न चीनमा संशोधनवादलाई नयाँ ढंगले परिभाषित गर्ने काम गरिएको थियोे ।

नेपालमा संशोधनवाद
संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हुनुको कारण त्यसको प्रभाव नेपालमा पर्नु स्वाभाविकै थियोे र पर्यो पनि । बि. सं. २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । २०१० देखि नै नेपालमा संशोधनवादको थालनी भएको पाइन्छ । पहिलो महाधिवेशनबाट निर्वाचित महामन्त्री मनमोहन अधिकारीद्वारा विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी भित्र संशोधनवादलाई घुसाएको पाइन्छ ।
नेपालमा अहिलेसम्म आइपुग्दा बहुदलिय संशोधनवाद,जडसूत्रीय संशोधनवाद,दक्षिणपन्थी संशोधनवाद र नवसंशोधनवादको विकास हुदै आएको छ । नेपालमा अहिले एमाले र माओवादी केन्द्र दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै नवसंशोधनवादमा पुगेर प्रतिक्रियावादमा पतन हुन पुगेका छन् भने नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) , विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीको रुपमा क्रियाशील छन् । र, महान् क्रान्तिको तयारीमा जुटिरहेका छन् ।
नेपालमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरूद्वारा सबैखाले संशोधनवादको विरोध र माक्र्सवादको पक्षमा क्रान्तिलाई अगाडि बढाउने काम हुँदै आएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको यो ७३ वर्षको लामो इतिहासमा खासग नेपालमा संशोधनवादको विस्तृत अध्ययन गर्न आवश्यक छ र परास्त गर्न भीषण वैचारिक संघर्ष सञ्चालन गर्न जरुरी छ ।
फ्रेंकफुर्ट स्कुलदेखि उत्तर आधुनिकवादसम्म
संशोधनवादले विविध कलेभर फेर्नेक्रममा फ्रेंकफुर्ट स्कुलदेखि उत्तर आधुनिकवादसम्मका विचारहरु निम्न पुँजीवाद , पुँजीवाद र माक्र्सवादी विचारधाराको घोलका रुपमा देखा पर्दै आएको छन् । यसप्रकारका विचारहरु मूलत: क्रान्तिकारी माक्र्सवाद सर्वहारावर्गको मुक्तिको विरोध र साम्राज्यवादका पक्षमा रहेका छन् । यी मध्ये कतिपय दार्शनिक धारालाई नववाम , नव माक्र्सवादी वा उत्तर माक्र्सवादी पनि भन्ने गरिन्छ । तर वास्तविक अर्थमा ती निम्न पुँजीवादी तथा पुँजीवादी विचारधाराका पक्षपोषक र साम्राज्यवादका सेवक बाहेक अरु केही पनि होइनन् ।
( क) फ्रेंकफुर्ट स्कुल
फ्रेंकफुर्ट स्कुल जर्मनीको फ्रेंकफुर्ट विश्वविद्यालयमा स्थापना गरिएको एक सामाजिक अनुसन्धानमूलक संस्था हो । सन १९२३ देखि १९३३ का बीच यो स्कुल विकसित भएको थियो ।
फ्रेंकफुर्ट स्कुलका प्रमुख चिन्तकहरुमा म्याक्स होर्खेइमर ( १८९५ – १९७३ ) , थियोेडोर अर्डोनो ( १९०३ – १९६९ ) , हर्बर्ट म्याकुर्ज ( १८९८ – १९७९) आदि रहेका छन् ।
यो स्कुलले माक्र्सवाद , समाजशास्त्र , दर्शन ,संस्कृति जस्ता विषयमा अध्ययन र अनुसन्धान गर्ने नाममा तिनलाई विकृत तुल्याउने काम गर्दै आएको हो ।
विशेषगरी फ्रेंकफुर्ट स्कुल माक्र्सवाद , शून्यवाद , फ्रायडवाद , हेगेलवाद र अस्तित्ववाद मिलेर बनेको सारसंग्रहवादी स्कुल हो । यश स्कुलका मुख्य मान्यताहरुमा – समाजको आलोचनात्मक सिध्दान्त , निषेधात्मक द्वन्द्ववाद , शून्यवाद , युटोपियाको अवधारणा र सारमा माक्र्सवाद तथा रुपमा पुँजीवादको पनि विरोधी रहेको छ । फ्रेंकफुर्ट स्कुल मूलत: निरासावादी रहेको छ ।
तत्वमीमांसा ( ज्ञानसिधदान्त ) का क्षेत्रमा फ्रंकफुर्ट स्कुल हेगेलको आदर्शवाद र नित्सेको शून्यवादबाट प्रभावित रहेको छ । यो स्कुलको आलोचनात्मक सिध्दान्तले न भौतिकवाद नत आदर्शवादलाई नै प्राथमिक मान्दछ । सारमा यो स्कुल आदर्शवादी रहेको छ ।
( ख) संरचनावादी माक्र्सवाद
यहाँ संरचनावादी माक्र्सवाद भनेको माक्र्सवादलाई भाषावादी वा जैविक संरचनावादका आधारमा अध्ययन गर्ने भन्ने रहेको छ । संरचनावादी माक्र्सवादका मुख्य प्रतिनिधि लुइस अल्थ्युसर र जैविक संरचनावादका मुख्य प्रतिनिधि लुसिँए गोल्डमानलाई लिइन्छ ।
अन्तत: अल्थ्युसरले माक्र्सवादलाई विकृत तुल्याउने काम गरेका छन् । गोल्डमानले माक्र्सवाद र संरचनावादलाई मिलाएर उत्पतिमूलक संरचनावादको निर्माण गरेका छन् । उनले सर्वहारावर्गको विश्वदृष्टिकोणका रुपमा माक्र्सवादको परित्याग गरि मानवतावादको पक्षपोषण गरेका छन् । उनले साहित्यको विश्लेषणका लागि माक्र्सवाद , फ्रायडवाद , संरचनावाद र समाजशास्त्रलाई मिलाउने कुरामा जोड दिएका छन् ।
( ग) साँस्कृतिक भौतिकवाद
सन १९८० तिर बेलायतमा साँस्कृतिक भौतिकवादको अवधारणा विशेष चर्चामा आएको पाइन्छ । यो अवधारणाका प्रमुख प्रवक्ता दार्शनिक रेमण्ड विलियम्स ( १९२ – १९८८) हुन् । उनको भनाइमा साँस्कृतिक भौतिकवाद भनेको सामाजिक र भौतिक उत्पादन प्रक्रिया , विशिष्ट व्यवहार कलाका रुपमा संस्कृतिको सिध्दान्त हो । उनले “ साँस्कृतिक भौतिकवाद “ लाई ऐतिहासिक भौतिकवाद अन्तर्गतको भौतिक , साँस्कृतिक र साहित्यिक उत्पादनका विशिष्टताहरुको सिध्दान्त “ बताएका छन् । उनको विचारमा त्यही नै माक्र्सवादी सिध्दान्त हो । माक्र्सवादी दर्शनमा साँस्कृतिक भौतिकवाद पदावलीको प्रयोग भएको छ , त्यो माक्र्सवादको विकृतिकरण नै हो । किनकि यसले माक्र्सवादलाई विकृतिकरणमा गिराउने काम गरेक
( घ) उत्तर माक्र्सवाद

उत्तर माक्र्सवादी चिन्तन माक्र्सवाद पुरानो भयो , माक्र्सवाद काम नलाग्ने भइसक्यो , अब माक्र्सवादको औचित्य समाप्त भइसक्यो भन्ने हो । उत्तरको अर्थ हो समाप्ति । यसरी हेर्दा उत्तरआधुनिकतावादको जगमा उत्तर माक्र्सवादको विकास भएको पाइन्छ । मूलत: उत्तर माक्र्सवादले माक्र्सवाद रुढीबादी , पुरानो र काम नलाग्ने भइसकेको भन्दै आमूलवादी तथा बहुलवादी प्रजातन्त्रको पक्षपोषण गर्दछ र यसले वर्गीय समाजमा वर्गको निषेध गरि पहिचाहनको राजनीतिलाई अंगालेको छ। उत्तर माक्र्सवादले सर्वहारा वर्गीय आन्दोलनलाई कम्जोर पार्ने र जातीय आन्दोलनलाई बलियो बनाउने काम गर्दछ ।
उत्तर माक्र्सवादका प्रमुख चिन्तकहरुमा फ्रेडरिक जेमसन र टेरी इगलटन हुन् । फ्रेडरिक जेमसन ( १९३४ ) अमेरिकी चिन्तक हुन् । उनले उत्तर आधुनिकवादको विरोध गर्ने सन्दर्भमा आफुलाई माक्र्सवादी देखाउने प्रयास गरेका छन् ।
टेरी इगलटन ( १९४३) बेलायतका एक प्रमुख वाम चिन्तक तथा समालोचक मानिन्छन् । उनी एकातिर फ्रेंकफुर्ट स्कुलदेखि विकसित हुदै आएको नववामपन्थ तथा उत्तर आधुनिकतावादद्वारा प्रभावित देखिन्छन् भने अर्कोतिर उनी उत्तर आधुनिकतावादका विरोधी पनि रहेका छन् ।
( ङ) उत्तर – आधुनिकतावमद
उत्तर – आधुनिकतावादी दर्शन समाजशास्त्र , साहित्य , कला , सौर्न्दर्यशास्त्र भाषाविज्ञान लगायतका क्षेत्रमा फैलिएको पाइन्छ । उत्तर आधुनिकतावाद साम्राज्यवादी विचारधाराको एउटा रुप हो ।
उत्तर – आधुनिकतावाद आधुनिकतावाद र विशेषगरी माक्र्सवादको विरोधी रहेको छ । उत्तर – आधुनिकतावादका प्रमुख विचारकहरुमा – मिशेल फुको ( १९१६ – १९८४) , ल्योत्यार्द ( १९२६ – १९९८), ज्याँ बोडिलार्ड (२९२९) र ज्याक् डोरिडा (१९३० – २००४) रहेका छन् । यी मध्ये केन्द्रीय स्थानमा डेरिडा रहेका छन् ।
ज्ञानसिध्दान्तका क्षेत्रमा उत्तर – आधुनिकतावादीहरु अतर्कबुधिदवादी तथा अज्ञेयवादी रहेका छन् र उत्तर आधुनिकताजाद ऐतिहासिक भौतिकवादको विरोधमा खडा हुदै आएको छ ।
उत्तर – आधुनिकतावादशीत नारीवादी आन्दोलन पनि जोडिएको छ । नारीवादी आन्दोलनको थालनी पश्चिममा फ्रान्स , बेलायत र अमेरिका लगायतका देशहरूमा भएको पाइन्छ । नारीवादी आन्दोलनका मुख्यत: तीन धारा रहेका छन् – उदारवादी , आमूलवादी र माक्र्सवादी । उत्तर – आधुनिकतावादसित उत्तर उपनिवेशवाद पनि जोडिएको छ । उत्तर – आौपनिवेशिक चिन्तन पध्दति अनुसार सर्वहारावर्गको भूमिका समाप्त भइसकेको छ र त्यो ठाउँ किनारमा पारिएका मानिस , आप्रवासी र जातीय बुध्दिजीविहरु र महिलाहरुले लिन पुगेका छन् । समग्रमा उत्तर – उपनिवेशवादीहरु आजको भूमण्डलीकृत
विश्व अवस्थामा उत्पीडित मुलुकहरुको पहिचान समाप्त भएको छ र उत्पीडित राष्ट्रहरु असहाय एवम् दुर्बल बन्न गएका छन् । अब उत्पीडित राष्ट्रहरुको मुक्ति संभव छैन भन्नेमा रहेका छन् ।
आज विज्ञान र प्रविधिको क्षेत्रमा अपूर्व प्रगति र क्रान्ति भएको छ । तर उत्तर – आधुनिकतावादीहरु यो प्रगति र क्रान्तिलाई उल्टो कोणबाट व्याख्या गर्दछन् । उनीहरूका दृष्टिमा अब मानिस प्रविधिको दास बन्न पुगेको छ र मानिसलाई प्रविधिले विस्थापित गरिसकेको छ । इतिहासको निर्माता मानिस होइनन् र प्रविधि नै सबैथोक हो । उनीहरूको यो विचार ऐतिहासिक भौतिकवाद विरोधी रहेको छ र यसलाई नियत्ववादका रुपमा लिन सकिन्छ । यसप्रतिको प्राविधिक नियत्ववाद उत्तर – आौद्योगिक समाज , विचारधाराको अन्त्य , मानिसको अन्त्य जस्ता उत्तर – आधुनिकतावादी चिन्तनमा आधारित रहेको छ । माक्र्सवाद यसप्रकारको प्राविधिक नियत्ववादको विरोधी रहेको छ र त्यसले मानिसका सामाजिक तथा उत्पादनमूलक गतिविधिहरुमा समाज विकासका नियम खोज्ने गर्दछ । माक्र्सवादले इतिहासको निर्माणमा प्रविधि होइन मानिसलाई मुख्य मान्दछ । समग्रमा भनणनुपर्दा उत्तर – आधुनिकतावाद यथार्थ विचारधारा , इतिहास र मानव जातिकै विरोधी रहेको छ ।
नेपालमा पनि उत्तर – आधुनिकतावादले बलियो जराहरु गाड्दै आएको छ र नेपाली समाजमा निकै मौलाएको छ । र नेपालमा यसप्रकारको उत्तर – आधुनिकतावादको सशक्त रुपमा विरोध र वैचारिक संघर्ष हुँदै आएको छ ।
माक्र्सवादको विकास र वैज्ञानिक समाजवादको भविष्य
(१) माक्र्सवादको विकास
–––––––––––––––––
कार्ल माक्र्स ( १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) द्वारा माक्र्सवादको प्रतिपादन भएको आज १७३ वर्ष पुरा भइसकेको छ । यस ऐतिहासिक अबधिमा माक्र्सवाद विज्ञान भएका कारण धेरै विकसित भइसकेको छ । तसर्थ आज सर्वहारावर्गले आफ्नो वर्गीय मुक्तिको सिध्दान्तको प्रतिपादन र यसको विकासका कामलाई तीन ऐतिहासिक चरणमा सम्पन्न गरिसकेको छ , ती चरण हुन – माक्र्सवादी चरण , लेनिनवादी चरण र माओवादी चरण । अत: सर्वहारावर्गको मुक्तिको सिध्दान्तको जन्म र विकासका दृष्टिले यी तीनवटै चरणको विशेष ऐतिहासिक महत्व रहेको छ ।
सन १८४८ मा माक्र्स र एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन भएको थियोे । अर्थात् माक्र्सवादको जन्म पुँजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो । माक्र्सले जर्मन शास्त्रीय दर्शन ,अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादलाई संश्लेषण गर्नुभयो र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो । माक्र्सवाद विश्व क्रान्तिको इतिहासमा एक युगान्तकारी तथा ऐतिहासिक परिघटना थियोे । यसका साथै लेनिनवादी तथा माओवादी चरणमा पनि यसप्रकारको सिध्दान्तका तीनवटै संघटक अंगको विकास गर्ने काम भएको छ ।
तत्कालीन विश्व परिस्थितिमा माक्र्स – एंगेल्सले सर्वहारावर्गको नेतृत्वमा समाजवादी क्रान्ति एउटा देशमा मात्रै नभएर इङ्गल्याण्ड , फ्रान्स , जर्मनी जस्ता आौद्योगिक विकास भएका देशहरूमा एकसाथ हुने कुरा बताउनुभएको थियो । तर लेनिनले साम्राज्यवादको उदयकको स्थितिमा ध्यान दिदै त्यसको अनिवार्य परिणाम युध्द हुने र साम्राज्यवाद समाजवादी क्रान्तिको पूर्वबेला बन्न सक्ने स्थितिको विश्लेषण गर्दै एउटा देशमा समाजवादको जीत हुन सक्तछ भन्ने मान्यता प्रस्तुत गर्नु भयो र आफ्नै नेतृत्वमा रुसमा सशस्त्र जनविद्रोह मार्फत सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) मा महा् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरिएको थियोे । र , लेनिनवाद साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद बन्न पुग्यो ।
यसै प्रक्रियामा समग्रमा भन्नुपर्दा लेनिनवाद माक्र्सवादको प्रयोग र विकास मात्र होइन सिध्दान्त र व्यवहारबीच द्वन्द्वात्मकता कायम गरि विश्व क्रान्तिको इतिहासमा नयाँ अध्याय थप्न पनि शानदार रुपमा सफल रहेको छ ।
त्यसैगरी माओ त्सेतुङको नेतृत्वमा अर्धसामन्ती र अर्धआौपनिवेशिक अवस्थामा रहेको चीनमा सन १९४९ अक्टोबर १ मा नयाँ जनवादी क्रान्ति सम्पन्न गरिएको थियोे र समाजवादी क्रान्तिको प्रक्रियालाई अगाडि बढाइएको थियो ।
अर्धसामन्ती तथा अर्धआौपनिवेशिक देशहरूमा सर्वहारावर्गको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवादी क्रान्तिलाई सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तरता दिदै महान् सर्वहारा साँस्कृतिक क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक प्रक्रियामा माओद्वारा प्रतिपादित माओवाद चीनमा मात्र होइन , विश्व क्रान्तिकै लागि समेत माओवादको विशिष्ट स्थान र योगदान रहेको छ ।
( २) दर्शनको फाँटमा माक्र्स – एंगेल्स , लेनिन र माओको योगदान
दार्शनिक फाँटमा माक्र्स – एंगेल्स , लेनिन र माओको अतुलनीय योगदान रहेको छ । माक्र्स – एंगेल्सले आदर्शवाद र अधिभूतवादका विरुद्ध भीषण संघर्ष गर्दै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जुन विकास गर्नु भयो त्यसको विश्व कम्युनिस्ट आन्दोलनमा युगान्तकारी महत्व रहेको छ ।
।माक्र्सवादले दर्शनलाई प्रकृति , समाज र चिन्तनका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञानका रुपमा गुणात्मक ढंगले विकसित तुल्याउने काम गरेको छ । यी कुराहरु लेखिरहदा दर्शनको ऐतिहासिक कार्यभारको कुरा आउँछ , त्यो भनेको दर्शनको ऐतिहासिक कार्यभार दुनियाँ बुझ्नु मात्र नभई मुख्यत: बदल्नु हो बन्न गएको छ ।
क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवादी दर्शनको अध्ययन गर्दा माक्र्स – एंगेल्सद्वारा रचित पवित्र परिवार , दर्शनको निर्धनता , फायरवाखको निबन्ध , कम्युनिस्ट घोषणापत्र , राजनीतिक अर्थशास्त्रको समीक्षाको एक प्रयास सम्बन्धि भूमिका , पुँजी प्रथम खण्डको भूमिका , फ्रान्समा वर्गयुब्द , लुई बोनापार्टको अठारौं ब्रुमेर , फ्रान्समा गृहयुद्ध , लुडविक फायरवाख , प्रकृतिको द्वन्द्ववाद , ड्युहरिङ्ग – मतखण्डन लगायतका पुस्तकहरुमाथि विशेष ध्यान दिएर पढ्न जरुरी छ । साथै माक्र्सवादी दर्शनलाई माक्र्सवादी राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको समग्रतामा जोडेर अध्ययन गर्न र बुझ्न आवश्यक हुन्छ ।
त्यस्तै लेनिनद्वारा रचित – के गर्ने ? , “ कार्ल माक्र्स , माक्र्सवाद र संशोधनवाद , जुझारु भौतिकवाद , भौतिकवाद र अनुभवसिध्द आलोचना र दार्शनिक नोटबुक ।
त्यस्तै कमरेड माओद्वारा रचित – व्यवहारवारे , अन्तर्विरोधबारे , जनताको बीचका अन्तर्विरोधहरुको सही सञ्चालन , सही विचार कहाँबाट आउँछ ? आदि रहेका छन् ।
(३) माक्र्सवादमाथि लगाइएका विभिन्न आरोपहरु
सन १८४८ मा माक्र्सवादको जन्म भयो । माक्र्सवादको जन्मसंगै तमाम प्रतिक्रियावादी तथा अवसरवादीहरुद्वारा माक्र्सवादमाथि अनेकौं अनर्गल तथा झुटा आरोपहरु लगाउने काम हुदै आएको छ ।विशेषगरी ती आरोपहरु यी हुन् – जडसूत्रवादी माक्र्सवाद , अधिभूतवाद , आर्थिक निर्धारणवाद ,एकदलीय अधिनायकवाद , सर्वसत्तावाद र रुढीबादी माक्र्सवाद आदि रहेका छन्
यी आरोपहरुको माक्र्स – एंगेल्स , लेनिन , स्टालिन , माओ, हो ची मिन्ह लगायतका विश्व कम्युनिस्ट आन्दोलन महान् नेताहरु र विश्वभरका क्रान्तिकारीहरुले विरोध गर्दै माक्र्सवादको रक्षा , प्रयोग र विकास गर्ने काम हुदै आएको छ ।

(४) आजको युग र वैज्ञानिक समाजवादको भविष्य
आजको युग भूम्डलीकृत साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । सोभियत संघ , चीन लगायत विश्वका कतिपय देशहरूमा सञ्चालन आएका समाजवादी देशहरूमा क्रान्ति पश्चात् विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । त्यो अवस्था अहिलेसम्म पनि यथावत छ ।
आज वैज्ञानिक तथा प्राविधिक क्रान्ति उत्पादन शक्तिको विकासले क्रान्तिकारी शक्तिको विकास भएको छ । एक ध्रुवीय अमेरिकी साम्राज्यवाद बहुध्रवीय हुन पुगेको छ । पुँजीवादी तथा साम्राज्यवादीह
रुबीच वित्तीय संकट पैदा भएको अवस्था छ र यसले उनीहरूका बीचमा संरक्षणवादको संकट समेत पैदा भएको अवस्था छ ।
साथै आज विश्व मानव समुदायमा साम्राज्यवाद विरोधी भावनाको विकास भएको छ ।
एकातिर यसप्रकारको अवस्था छ भने अर्कोतिर क्रान्ति र मुक्तिका सचेतन प्रयासहरु पनि भइरहेका छन् । आज उत्पीडित मुलुकहरुका जनताले दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवर्ग र साम्राज्यवाद तथा विस्तारवादका विरोधमा नयाँ जनवादी क्रान्तिलाई अगाडि बढाउदै आएका छन् । साथै उत्पीडित मुलुकहरुले साम्राज्यवादको विरोध र राष्ट्रिय मुक्तिको पक्षमा सशक्त रुपमा आवाज उठाउँदै आइरहेका छन् ।
यसरी आज विश्वका जनताका लागि वैज्ञानिक समाजवाद नै मुक्त र सुन्दर भविष्यको एक मात्र आशाको केन्द्र बन्न गएको छ ।
नेपाल , टर्की , फिलिपिन्स , पेरु , फ्रान्स , जर्मनी , नेदरल्यान्ड , भेनेजुयला, अफगानिस्तान आदि देशहरूका माओवादी क्रान्तिकारीहरुले नयाँ जनवादी क्रान्तिको तयारी गरिरहेका छन् भने भारतमा भाकपा ( माओवादी ) केही वर्ष पहिलेदेखि सशस्त्र जनयुद्ध सञ्चालन गरिरहेको छ ।
निचोड :
यी माथिका उपर्यक्त तथ्यहरुबाट के निष्कर्षमा पुग्न सकिन्छ भने वैज्ञानिक समाजवादको भविष्य समुज्ल छ । आजको एकाइसौ शताब्दीका विश्वका सचेत जनसमुदायको आशा तथा आदर्श र संकटग्रस्त साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवाद बाहेक अरु केही हुन सक्तैन ।

बुढानिलकण्ठ नगरपालिका – २ , काठमाडौं
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् )

प्रतिक्रिया

सम्बन्धित खवर