विश्वासकाे मत पाएनन् ओलीले, नयाँ सरकार गठनकाे रस्साकस्सी सुरु

विश्वासकाे मत पाएनन् ओलीले, नयाँ सरकार गठनकाे रस्साकस्सी सुरु


काठमाडौं  । सरकारकाे लागि १३६ मत पाउनु पर्नेमा ओलीले ९३ मत मात्र पाए । अविश्वासकाे पक्षमा १२४ मत खसेपछि ओली स्वतः पदमुक्त हुन पुगेका छन् । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त बन्न पुगेका छन् ।
प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको छ ।
सोमबार प्रतिनिधिसभामा भएको मतदानमा २३२ सांसदहरु सहभागी थिए । तीमध्ये १५ सांसदहरु तटस्थ बसेका थिए । एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहे । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहे ।
प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारका लागि संसदको विशेष अधिवेशन बोलाएकी थिइन् ।
मतदान प्रक्रियामा पीसीआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाइएको थियो भने पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको थियो । 
सांसदहरुको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिएसँगै मतदान अर्थात मत विभाजन सुरु भएको थियो । मत विभाजनका क्रममा  हुन्छ, हुन्न र मत दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहेको थियो ।
संवैधानिक व्यवस्थाअनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम  छ । दल त्यागसम्बन्धी व्यवस्थाअनुसार नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि मन्त्री टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीको स्थान रिक्त छ ।

सांसद विजयकुमार गच्छदार, मोहम्मद अफताब आलम, रेशम चौधरी र हरिनारायण चौधरी निलम्बनमा छन्, उनीहरुलाई मत जाहेर गर्ने अधिकार छैन ।

विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।
ओली पदमुमक्त भएसँगै अब नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । जसका लागि काँग्रेसले बहुमत आफूसहितको गठबन्धनको पक्षमा रहेको दावी गर्दै राष्ट्रपतिसमक्ष मागदाबी प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

अर्कोतर्फ केपी ओलीले फेरि संसद विघटन गर्ने या ठूलो दलको हैसियतले आफैं सरकारको दाबी गर्ने आशंका पनि विपक्षी दलका नेताहरुले गरेका छन् ।

मतदानअघि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिए संसद विघटन नहुने बताएका थिए । यसले पनि विपक्षीहरुमा थप आशंका बढाएको छ ।