
आज हाम्रो सहयात्राले सैँतीस बर्स पार गरेर अठ्तीसौँ बर्सको खुट्किलो चढेको छ । हामी दुईबाट आज हामी आठ भएका छौँ । दुई छोरी, दुई ज्वाइँ र दुईजना नाति–नातिना थपिएका छन् । नेपाली उखान छ ‘साँवाको भन्दा ब्याजको माया’ । यो साँच्चिकै रहेछ । अचेल नाति–नातिनाको यति विघ्न मायाँ लाग्छ कि अफिमको नसाजस्तो लठ्याउने गरी । उनीहरूलाई एकछिन पनि छोड्नै मन नलाग्ने । मोहिनी माया । साँच्चिकै प्रेम त नाति–नातिनासँग पो हुँदो रहेछ । सन्तानको मायाँ अत्यन्तै गाढा र गहिरो हुने रहेछ । सायद यो सबै बाजे–बजैलाई हुँदो हो । जे होस् यतिवेला हाम्रो सहयात्राले सार्थक जीवन विताएको महसुस भएको छ ।
अब म हाम्रो सम्बन्धको अतिततर्फ फर्कन गर्न चाहन्छु । हामी घरको आर्थिक विपन्नताले पेटभर भात खान र एकसरो लुगोफाटो सन्तोषसँग लगाउन भन्दै बर्दिया बसाइँ सरेका थियौँ । घरमा परिवारका अरू कसैको पनि बर्दिया बसाइँ सर्ने मनसाय पटक्कै थिएन । देवी त झन् माइतीघरमा हुँदा बर्दियाको उखरमाउलो गर्मीबाट सताइएर आएको हुनाले पनि फेरि बर्दिया जाने कुरामा सहमत हुने कुरै थिएन । ससुराली परिवार बर्दियाको कष्टकर जीवन विताउन नसकेर दाङ फर्किनु भएको थियो भने हामी अभाव छल्न बर्दिया हानिएका थियौँ । त्यतिवेला मेरो एउटा छोरी जन्मिएकी थिइन् भने अर्को बच्चा देवीको गर्भमा थियो । हाम्रो परिवार पौने नौ जनाको थियो । बर्दिया बसाइँ सरेकै बर्स २०४७ असारमा सानी छोरी जन्मिएपछि नौ जनाको परिवार भयो । घरका सबै परिवार बर्दिया जान अस्वीकार गर्दागर्दै मैले बालाई मात्रै सहमत गराएर बसाइँ गएका थियौँ । तर परिस्थिति यस्तो आयो कि म भने एक महिना पनि बर्दिया बस्ने अवसर नै मिलेन । २०४७ सालको पुस महिनादेखि क्याम्पसको पढाई बिचमै तुहाएर म शिक्षण पेसामा संलग्न भएँ मावि भ्यँडहर सुनपुर दाङमा । जहाँ मैले हाइस्कूल पास गरेको थिएँ र त्यहीँ मेरो ससुराली र मावली घर पनि थियो ।

यो बिचमा भाइले पनि बिबाह ग¥यो । भाइको बिबाहपछि घरमा खटपट सुरु भयो । यो नेपाली समाजको आम प्रवृत्ति नै थियो । मेरो घर अपवादमा परेन । बाले बर्दियाको घरजग्गा बेचेर दाङ फर्कने निर्णय गर्नु भयो । चार बर्से बर्दिया बसाइपछि हामी पुनः दाङ फर्कियौँ । म भने बर्दिया नगएरै चार बर्स विते शिक्षण पेसामै । म बर्दिया नजानु पनि हाम्रो बसाइँ फिर्ता हुनुको एउटा कारण थियो । यसरी गरिबीले हामीलाई यताबाट उता, उताबाट उता हुत्याइरहेको थियो ।
यो बिचमा देवीले अत्यन्तै कष्टकर जीवन विताउनु प¥यो । सुत्केरी महिलाले खेतिपातीको काम र भैँसी राँगाको गोठालो गर्ने काममा अठारदेखि बीस घण्टा खट्नु भनेको नेपाली समाजमा विरलै घटनामा पर्छ होला । दुई बिगाहा जमीनको धान पराल नानीलाई पिठ्युँमा बोकेर राती तीन बजे उठेर राँगा नारेर एक्लै दाइँ लगाउने काम कम्ती गाह«ो कुरा थिएन । त्यतिबेलाको उनको शारीरिक अवस्था देख्दा अहिले सम्झिँदा पनि कहाली लागेर आउँछ । सुकेर सिट्ठाजस्ती भएकी थिइन् । आफैँप्रति धिक्कार्न मन लाग्छ । पश्चातापले पानी पानी हुन्छु म अचेल । तर त्यो हाम्रो गरिबीको वाध्यता थियो । एक डेढ बर्सपछि हाम्रो भेट भएकोबेला मैले उनलाई ढाडस दिन ‘तिमी त अहिले राम्रै ठिकठाक रहिछ्यौ’ भन्दा उनका आँखाबाट बलिन्द्र धारा आँशु बगेका थिए । त्यो त वास्तवमा उनलाई मैले गिज्याएजस्तो पो भएछ । त्यस्ता पनि हाम्रा दिन थिए ।
यो अठ्तीस बर्से हाम्रो सहयात्रामा देवीबाट मैले जति सहयोग पाएँ त्यसको दशांशको एकांश पनि मैले उनलाई सहयोग गर्न सकेको छैन । न त परिवारसँग प्रयाप्त मात्रामा समय दिन नै सकेको छु । हाम्रो जुन आर्थिक अवस्था, सामाजिक परिवेस, पारिवारिक वातावरण थियो त्यसले मलाई राजनीतितिर डो¥याउने कुनै अवस्था र गुन्जायस थिएन । यदि मेरो देवीसँग विवाह नभएर अरू कसैसँग भएको हुन्थ्यो भने म राजनीतिमा आउने कल्पना पनि गर्न सक्तिन । म जन्मे हुर्केको समाज अत्यन्तै पीछडिएको र राजनीतिबाट निकै टाढा थियो । जे थियो पञ्चायतको विँडो थाम्ने समाज थियो । मलाई कम्युनिस्ट राजनीतिले प्रभावित गर्नुमा म सानो छँदा हाम्रो घरमा आउने केही कम्युनिस्ट विचारका नेताहरू र उनीहरूले बासँग गरेको कुराकानी थियो । त्यतिवेला नेत्रलाल अभागी सल्यान, रुकुम रोल्पातिर जाँदा आउँदा पस्ने गर्थे, उनले बासँग निकै लामा लामा कुरा गर्थे । किनकि हाम्रो सानो चिया र किराना पसल थियो । आउने जाने मानिसले खानाको अर्डर दिएभने खाना पनि पकाउथ्यौँ । मैले प्रावि कक्षा पढेको स्कूलमा पढाउने शिक्षक त्यतिवेला कम्युनिस्ट विचारका रहेछन् उनले बासँग गरेको कुराकानीले पनि मलाई कम्युनिस्ट शब्दको जानकारी भएको थियो । पछि त मैले हाइस्कूल पढ्दा अखिलको विद्यार्थीमा सङ्गठित भएको थिएँ ।
जीवनसाथी देवीले पारिवारिक रूपमा धेरै अपमान र तिरस्कार सहेर पनि घरधन्दा चलाइदिएको हुनाले मैले निस्फिक्रीसँग पढ्ने अवसर पाएँ । नत्र मेरो हाइस्कुलको पढाई पनि पूरा नहुँदै बन्द हुने अवस्था थियो । पढ्ने अवसर मिलेकोले नै म राजनीतिमा सङ्लग्न हुने मौका मिलेको हो । राजनीतिमा लाग्दा अधिकांसको विद्यार्थी जीवनबाटै सुरु हुन्छ । मेरो पनि २०३९ सालदेखि विद्यार्थी जीवनबाट राजनीति सुरु भयो । जव २०४४ सालमा नेकपा (मशाल)को पार्टी सदस्यता लिइयो तबदेखि निरन्तर अहिलेसम्म त्यही समुहको पार्टीमा आवद्ध भएर सकेको सेवाको राजनीति गरिएको छ ।
यतिखेर नेपाली समाजमा राजनीतिलाई पेशा बनाइएको छ । कुनै औपचारिक बायोडाटाको फर्म भर्नु प¥यो भने पनि पेसा भनेर लेखिएको स्थानमा राजनीति लेख्ने नेपाली परम्परा छ । वास्तवमा राजनीति पेसा होइन र हुन पनि सक्तैन । जब राजनीतिलाई पेसा बनाइन्छ तब त्यो नाफा–घाटामा तुलना हुन थाल्छ । अहिले संसदवादी दलहरूमा नेताहरूले छिनछिनमा दलवदल गर्ने गरेका छन् । त्यो त्यही नाफा–घाट हेरेर गरिएको हो । जुन पार्टीमा लाग्दा छिटो सत्ताका लाभकारी अवसर प्राप्त गर्न र प्राप्त भएका अवसरलाई निरन्तरता दिन सकिन्छ त्यतै लाग्ने कुरा हुन्छ । अहिलेको संविधानलाई स्वीकार गर्ने र संसदीय व्यवस्थालाई नै अन्तिम सत्य बनाएका दलहरू नामले जेसुकै भएपनि वैचारिक र राजनीतिक चरित्रमा एउटै हुन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, समाजवाद आदि पदावलीमा संसदवादी राजनीतिक वर्गको स्वार्थ अनुकूलका परिभाषा हुने गरेका छन् । जनता त उनीहरूका सत्तामा पुग्ने भ¥याङ बनिरहेका छन् ।
साँवा अक्षर मात्र मुस्किलले पढ्न सक्थिन् देवीले हाम्रो विहे हुँदा । विहेपछि नै म घरमा भएको बेला केही पढ्न सक्ने गरी मैले अनौपचारिक शिक्षा दिएँ उनलाई । निकै कट्टर परम्परागत ब्राह्मण समाज र परिवारमा हुर्केकी उनलाई मैले क्रमशः राजनीतितर्फ पनि आकर्षित गर्दै लगेँ । जातीय भेदभाव, छुवाछुत, महिनावारी बार्ने, ‘पतिब्रत’ भएर गरिने धार्मिक कर्मकाण्डी परम्पराबाट मुक्त गराएँ । २०५० सालबाट त उनी पनि म सम्मिलित पार्टीको सदस्य बनिन् । अहिले जस्तो सस्तो सदस्यता थिएन त्यतिबेला । २०४६ सालदेखि अनेमसङ्घमा सङ्गठित भएर बर्दियामा थुप्रै आन्दोलनमा सहभागी भइसकेकी थिइन् । पार्टी सदस्यता पाउँदा पनि महिला सङ्गठनको एरिया कमिटीको जिम्मेवार पदमा थिइन् उनी । २०५५ सालदेखि त महिला सङ्गठनको जिल्ला कमिटीमा रहेर महत्वपूर्ण भूमिका खेलेकी थिइन् । २०५० साल पछि त हामीले कहिल्यै पनि घरपरिवारले मात्रै खाना खानु परेन । पार्टी कार्यालय जस्तै थियो हाम्रो घर । पार्टी सङ्गठनमा उनी अत्यन्तै प्रिय पात्र बनेकी थिइन् । जनयुद्धको क्रममा सेनाको हिरासतमा बस्ने र कठोर मानसिक यातना समेत खेपिन् । पछि २०५८ फागुनदेखि पार्टीमा पूर्णकालिन भएर २०६७ सम्म काम गरिन् । यद्यपि अहिले पनि हाम्रो परिवार कुनै न कुनै भूमिकामा हामी सबै पार्टी आन्दोलनमा जोडिएकै छौँ । कहिलेकाहीँ हाम्रो घरमा हामीले लिएको राजनीतिक यात्राका बारेमा समीक्षा हुने गर्छ । हामी जुन निश्वार्थभावले देश बदल्ने अभियानमा लाग्यौँ तर हाम्रा नेताहरूले धोका दिँदा हाम्रो लगानी खेर गएजस्तो भयो भनेर परिवारका सदस्यहरूले भन्दा म अवाकजस्तै बन्न पुग्छु । मसँग सैद्धान्तिक तर्क गर्नुको विकल्प हुँदैन । नेपालका कम्युनिस्ट नेताहरूमा सिद्धान्त र व्यवहार विपरित ध्रुवजस्ता भए ।
यसरी परम्परागत कर्मकाण्डी जीवनबाट सुरुआत भएको हाम्रो दाम्पत्य जीवनले आज अठ्तीसौँ बर्समा पाइला टेक्दासम्म हामी त भौतिकवादी बन्ने सक्दो प्रयत्न गरि नै रहेका छौँ । सकेको कम्युनिस्ट आचरण देखाउने प्रयत्न गरि नै रहेका छौँ । राजनीतिलाई पेसा नबनाएर सेवाका रूपमा लिएका छौँ । तर हाम्रो आन्दोलन हामीले सोँचेजस्तो हुन सकेन, सकिरहेको छैन । नेताहरूमा भौतिकवादी आदर्श कायम हुन सकेन । आज देश रसातलमा भासिँदा पनि जनता विद्रोहमा उत्रन नसक्नुको कारण नेताहरूले दिएको धोखा र गद्दारी बन्न गएको छ । सबै नेता र पार्टी एकै हुन् भन्ने अधिभूतवादी चिन्तनले जनतालाई बन्दी बनाएको छ ।
२७ वैशाख २०७८