कविता : श्रमजीवीसित 

प्रकाशित मिति : २०७८ बैशाख १८

- मित्रलाल पंज्ञानी


निर्धा तिमी छौ नजुटेर मात्रै
ज्वालामुखी भै नफुटेर मात्रै
जुट्यौ भने जब्बर एकतामा
यो लूटसाम्राज्य मिल्यो धुलामा !
जुटाउने सूत्र निकाल मात्रै
त्यो सूत्र लागू गरिहाल मात्रै
हल्लन्छ धर्ती खल डग्मगिन्छन्
सकिन्न भन्नै क-कता पुरिन्छन् 
सामर्थ्य आफ्नो नचिनेर मात्रै
आफ्नो र अर्को नबिनेर मात्रै


पापीहरूको चुलिँदो छ थैलो
मच्ची रहेको यति भाँडभैलो 
बिग्री रहेको छ यहाँ हिसाप
रोईरहेको छ यहाँ निसाप
चिन्यौ भने धूर्त मनुष्यलाई 
टिक्तैन धेरै तिनको रजाईँ 
निर्धा तिमी छौ नजुटेर मात्रै
ज्वालामुखी भै नफुटेर मात्रै
जुट्यौ भने जब्बर एकतामा
यो लूटसाम्राज्य मिल्यो धुलामा !