आज १३२ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस, निषेधाज्ञासँगै ट्रेड युनियनहरुका कार्यक्रम प्रभावित, क्रान्तिकारी ट्रेड युनियन महासंघले अन्तर्क्रिया गर्दै

आज १३२ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस, निषेधाज्ञासँगै ट्रेड युनियनहरुका कार्यक्रम प्रभावित, क्रान्तिकारी ट्रेड युनियन महासंघले अन्तर्क्रिया गर्दै


काठमाडौं । काेराेना संक्रमणकाे दास्राे लहरसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि  १३२ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसकाे अवसर पारेर आयाेजना गरिएकाे ट्रेड युनियनहरुका आैपचारिक कार्यक्रमहरु प्रभावित बनेका छन् ।  काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष मजदुर दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले काठमाडौंकाे जाेरपाटीमा उपलब्ध संगठनका सदस्यहरुकाे उपस्थितिमा सामान्य अन्तरक्रियाकाे आयाेजना गरी मजदुर दिवस मनाउँदै छ ।
क्रान्तिकारी ट्रेड युनियन महासंघले यस बर्षकाे मजदुर दिवसलाई भव्य रुपमा मनाउन देशव्यापी रुपमा तीन महिना अघिदेखि मे अभियान सञ्चालन गरेकाे थियाे । संगठन विस्तारका साथै मजदुर दिवसलाई संघर्षकाे रुपमा मनाउने तयारी गरेकाे थियाे । हजाराै मजदुरहरुलाई सडकमा उतारेर देशका सातवटै प्रदेशमा कार्यक्रमकाे तयारी गरेकाे थियाे । काेभिडकै कारण पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरियाे ।
औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन् । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय मजदुर  दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।

अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागेर सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।

विश्वका मजदुरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।