माक्र्सवादी दृष्टिमा परिचय, नारीवाद र पर्यावरण

प्रकाशित मिति : २०७८ बैशाख १३

- मोहन वैद्य किरण


१. विषय प्रस्तुति
केही दशक यता राजनीतिका साथै समालोचनाका क्षेत्रमा पनि वर्ग, परिचय र पर्यावरणबारे निकै बहस, विवाद र संघर्ष चल्दै आएका छन् । यस प्रकारका बहस, विवाद र संघर्ष इतिहास, अर्थशास्त्र, दर्शन, राजनीति, समाजशास्त्र, भाषाविज्ञान, मनोविज्ञान, नृवंशविज्ञान, सौन्दर्यशास्त्र लगायत ज्ञानका विविध अनुशासन सित जोडिएका छन् । यी साहित्यको विवेचना, मूल्यनिर्णय र प्रतिमान आदिसित पनि सम्बन्धित छन् । वर्ग, जाति र लिङ्गका स्वत्व र परिचय अर्थात् पहिचानका मूल आधार के हुन् ? वर्गीय, जातीय र लैङ्गिक आदि उत्पीडन र मुक्तिका समस्यालाई कसरी हेर्ने ? विज्ञान र प्रविधिको अपूर्व विकास हुँदै आएको वर्तमान युगमा मानव र प्रकृतिका बीचको असन्तुलन र पर्यावरणीय समस्याको कसरी समाधान गर्ने ? यी आज सिर्जना र समालोचना दुबै क्षेत्रमा निकै ज्वलन्त बन्दै आएका विषय ह्न् । यहाँ यिनै विषय, समस्या र प्रश्नबारे सङ्क्षिप्तमा अध्ययन गर्ने प्रयास गरिएको छ ।


२. वर्ग तथा परिचय
वर्ग र परिचय विशिष्ट प्रकारका प्रवर्ग हुन् । वर्ग आर्थिक हैसियतमा आधारित हुन्छ । परिचयलाई पहिचान पनि भन्ने गरिएको छ । राजनीतिमा वर्ग र परिचयका प्रश्न उत्पीडन, मुक्ति, संघर्ष र सत्ता लगायतका विषयमा आधारित छन् । यी साहित्यका विषयवस्तुका रूपमा पनि प्रस्तुत, अङ्कित र अभिव्यक्त बन्दै आएका छन् । यी समसामयिक लेखन र चिन्तनका विषय पनि हुन् ।
मानिस अथवा भनौं व्यक्तिका विविध प्रकारका पहिचान हुने गर्दछन् । ती पहिचान वर्गीय, लैङ्गिक, जातीय, जात सम्बन्धी, धार्मिक, राष्ट्रिय, संघसंस्थागत आदि विविध ढङ्गका हुने गर्दछन् र तिनलाई आर्थिक, सामाजिक, सांंस्कृतिक आदि विविध प्रतिमानद्वारा निर्धारित गर्ने काम हुन्छ । पहिचानको मूल स्वरूप र प्रतिमान निर्धारण गर्ने प्रश्नमा विभिन्न प्रकारका अभिमत, विचार र दृष्टिकोण देखापर्दै आएका छन् ।
माक्र्सवादी मान्यता अनुसार वर्गविभक्त समाजमा मानिसका पहिचान विभिन्न हुन्छन् र ती मध्ये वर्गीय पहिचान नै प्रमुख हो । त्यो सम्बन्धित सामाजिक–आर्थिक अवस्था र उत्पादन प्रणालीमा आधारित हुन्छ । माक्र्सवादले वर्गीय पहिचानका साथै लैङ्गिक, जातीय, धार्मिक, सांस्कृतिक आदि पहिचानलाई पनि स्वीकार गर्दछ । जस्तो कि कुनै एक जनजाति समुदायकी महिला मजदुरलाई उदाहरणका रूपमा लिऔं । त्यस महिलाका सामान्यतः तीन ओटा पहिचान छन्–जातीय, लैङ्गिक र वर्गीय । जातीय दृष्टिले जनजाति, लैङ्गिक दृष्टिले महिला र वर्गीय दृष्टिले मजदुर उसका पहिचान हुन् । ऊ एकैसाथ तीन प्रकारका उत्पीडनका मारमा परेकी छ । ऊ जातीय दृष्टिले उच्च जातीय अहङ्कारवाद, लैङ्गिक दृष्टिले पितृसत्तावाद र वर्गीय दृष्टिले दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवादद्वारा उत्पीडित छ र उसले आफ्नो मुक्तिका लागि उक्त तीनै प्रकारका उत्पीडनका विरूद्ध लड्नु पर्दछ । उक्त सबैखाले उत्पीडनको केन्द्रमा दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवाद नै रहेका छन् । परन्तु वर्गीय पहिचानका विरोधी र उत्तरवादीहरू भने यस प्रकारको माक्र्सवादी मान्यतालाई मान्न तयार छैनन् ।
माक्र्सका भनाइ अनुसार आर्थिक पक्ष आधार हो र त्यसद्वारा विचारधारा, संस्कृति जस्ता उपरिसंरचनाका रूपहरू निर्धारित हुन्छन् । आधार र उपरिसंरचनाका बीच द्वन्द्वात्मक सम्बन्ध रहेको हुन्छ । आधारको निर्णायक भूमिका रहन्छ , तर कैयौं प्रसङ्गमा उपरिसंरचनाले पनि प्रमुख भूमिका खेल्दछ र आधारलाई प्रभावित पार्दछ । नवमाक्र्सवादीहरू माक्र्सवादको यस प्रकारको मान्यताको विरोधमा छन् । अल्थ्युसरले आधार र उपरिसंरचनालाई समानान्तर बनाई पेस गरे । रेमन्ड विलियम्सले माक्र्सको आधार र उपरिसंरचनाको मान्यतालाई निर्धारणवाद भनेर विरोध गरे र आर्थिक आधारको समानान्तरमा संस्कृतिलाई उभ्याउने काम गरे । इ. पी. थाम्सनले वर्गको अवधारणालाई समानान्तर रूपमा आर्थिक र सांस्कृतिक दुबै बताए । यसरी नवमाक्र्सवाद हुँदै उत्तरसंरचनावादका एक प्रमुख हस्ती मिशेल फुकोसम्म आउँदा वर्ग र वर्गसंंघर्षको मान्यतालाई तत्ववादी मिथ (Essential Myth) का रूपमा प्रस्तुत गरियो । अनि उत्तरआधुनिकतावादका एक मूल प्रवर्तक डेरिडाले त पहिचानको आधारका रूपमा भाषालाई पेस गरे । यसै क्रममा उत्तरमाक्र्सवादी लाक्लाउ र मुफले वर्गका विरूद्ध पहिचानलाई उभ्याए र वर्गलाई विमर्शात्मक निर्मिति (Discusrive Construction) वताउन पुगे । अनि यसरी नै उत्तरउपनिवेशवादमा विकसित सइदको प्राच्यवाद र रन्जित गुहाको सबाल्टर्न अध्ययनमा मजदुर वर्गको वर्गीय पहिचानको विरोधमा सीमान्तीकृत समुदाय, नस्ल, नारी आदिको नस्लीय, लैङ्गिक पहिचानलाई प्रधानता दिइयो । सास्कृतिक अध्ययनमा मानिसका सबै खाले पहिचानहरूलाई संस्कृतिमा आधारित पहिचान भनेर पेस गरिन्छ । सांस्कृतिक अध्ययनले वर्ग र वर्गसंघर्षको अवधारणालाई पुरै खारेज गरिदिएको छ ।
प्रायशः उत्तरवादीहरूले पहिचान निर्धारणको मापदण्डका रूपमा तत्ववाद (Essentialism) तथा निर्मितिवाद (Constructionalism) लाई प्रस्तुत गर्दछन् र यिनमा तत्ववादको विरोध तथा निर्मितिवादलाई अँगाल्न पुग्दछन् । उनीहरुले जसलाई तत्ववाद भनेर विरोध गर्दछन् सारमा त्यो माक्र्सवाद नै हो । उनीहरूका दृष्टिमा तत्ववादले पहिचानलाई स्थिर, अपरिवर्तनीय र सार्वभौम ठान्दछ भने निर्मितिवादले पहिचानलाई गतिशील, परिवतनशील र विशिष्ट अर्थमा ग्रहण गर्दछ ।
माक्र्सवादले वर्ग तथा पहिचानको मापदण्डका रूपमा तत्ववाद र निर्मितिवाद होइन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई स्वीकार गर्दछ । यसले वर्गीय पहिचान तथा आर्थिक सामाजिक पक्षलाई प्रधानता दिदै, उत्पीडित जाति, जात, लिङ्ग आदिका विशिष्ट स्वत्व तथा पहिचानलाई अङ्गीकार गर्दै र तिनको मुक्तिका निम्ति सशक्त आवाज उठाउँदै आएको छ । वर्गलाई पुर्र निषेध गरी अन्य पहिचानलाई प्राथमिकता दिने र अन्य पहिचानलाई पुरै निषेध गरी वर्गीय पहिचानमा मात्र जोड दिने दुवै प्रवृत्ति गलत हुन् ।
साहित्य र कलाका क्षेत्रमा माक्र्सवादीहरूले वर्गीय, जातीय, लैङ्गिक लगायत सबैखाले उत्पीडनको विरोध र तिनको मुक्तिको पक्षपोषण गर्दै आएका छन् । लिङ्ग, वर्ण, जात र जातिका समस्या अन्ततः वर्गीय समस्या नै हुन् । माक्सवादी लेखक, कलाकार, सौन्दर्यचिन्तक र समालोचकहरुले मजदुर किसानका साथै महिला, दलित र जनजाति लगायत सबै उत्पीडित वर्ग तथा समुदायका भाव, अनुभुति तथा विचारलाई समेट्नु पर्दछ ।
नेपाली कम्युनिस्ट आन्दोलन र नयाँ जनवादी क्रान्तिको इतिहासमा माक्र्सवादीहरुले सर्वहारा तथा किसान वर्गका साथै महिला, दलित, जनजाति, मधेशी, मुस्लित लगायत उत्पीडित वर्ग र जनसमुदायका वर्गीय तथा अन्य पहिचानका समस्यालाई सशक्त रुपमा उठाउँदै आएका छन् । नेकपा (माओवादी) द्वारा सञ्चालित दश वर्षको जनयुद्ध यसको एउटा ठोस र सजीव उदाहरण हो । जस्तो कि जनयुद्धको प्रक्रियामा विकसित प्रगतिवादी साहित्यबारे घनश्याम ढकालले भनेका छन् ः “समकालीन प्रगतिवादी साहित्यमा उत्पीडित वर्गीय प्रेम र पक्षधरता, जातीय, लिंगीय र धार्मिक उत्पीडन अनि पुराना राजनीतिक, आर्थिक तथा वैचारिक सम्बन्धहरुका विरोधमा पनि नयाँ मूल्यहरुको निर्माण भएको छ ।” (माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, पृष्ठ १००२) ।
नवमाक्र्सवादीहरुका साथै विभिन्न उत्तरवादीहरुले क्रान्तिकारी माक्र्सवादका विरुद्ध विषवमन गरेका छन् । परन्तु, पहिचानका समस्याहरुको असली समाधान के हो त ? वस्तुतः उनीहरु भूमण्डलीकृत साम्राज्यवाद, नवउदारवाद र कालातीत भइसकेको संसदीय व्यवस्थाकै पक्षमा रहेका छन् । के पहिचानका समस्याको समाधान साम्राज्यवाद, नवउदारवाद र संसदवादद्वारा गर्न सकिन्छ ? कदापि सकिंदैन ।
वस्तुतः माक्र्सवादको प्रयोगको प्रक्रियामा पहिचानका समस्याको समाधान लेनिनले व्यावहारिक रुपमा प्रस्तुत गरेर देखाइदिनुभयो । यद्यपि रुसमा समाजवादको अस्थायी हार भयो, तर त्यो साँच्चै अस्थायी हार हो र लेनिनले प्रस्तुत गरेको समाधानको मोडेल जीवितै छ । लेनिन भन्नुहुन्छः “धर्मलाई या नारीहरुको अधिकारहीनता या गैररुसी जातिहरुको उत्पीडन र असमानतालाई नै लिनुहोस्, यी सबै बुर्जुवा जनवादी क्रान्तिका प्रश्न हुन् । ….दुनियाँका सबैभन्दा अग्रगामी देशहरुमध्ये कुनै एउटा पनि यस्तो छैन जहाँ यी प्रश्नहरुलाई बुर्जुवा जनवादी ढंगले अन्तिम रुपमा समाधान गरिएको होस् । हामीकहाँ तिनलाई अक्टोबर क्रान्तिको विधानद्वारा अन्तिम रुपले समाधान गरियो । हामीले धर्मका विरुद्ध वास्तविक रुपमा लड्दै गयौं र लडिरहेका छौं । हामीले समस्त गैर रुसी जातिहरुलाई तिनका आफ्ना जनतन्त्रका स्वायत्त प्रदेश दिएका छौं । हामी कहाँ नारीहरुको अधिकारहीनता, असमानता जस्तो नीचता, वदनामी र कुख्यातिको अस्तित्व रहेको छैन ।” (लेनिन सङ्कलित रचनाएँ, ४÷४, पृ. २०३–४, प्रगति प्रकाशन, मस्को, १९१८) । यहाँ लेनिनले धार्मिक, लैङ्गिक तथा जातीय क्षेत्रमा विद्यमान उत्पीडन तथा असमानताको अन्तगरी ती क्षेत्रमा स्वतन्त्रता अधिकारलाई स्थापित तुल्याइएको अवस्थामाथि प्रकाश पार्नु भएको छ ।


३. नारीवादबारे
पश्चिममा पँुजिवादी जनवादी क्रान्तिको विकाससितै नारीजागरणको प्रक्रिया विकसित हँुदै गयो । यसै क्रममा नारीलेखन पनि सुरm भयो । नारीसम्बन्धी लेखन, नारीमुक्ति आन्दोलन र नारीवाद परस्पर जोडिएका छन्, तर ती एउटै भने होइनन् । नारीवाद एउटा विशिष्ट आन्दोलन र साहित्यिक लेखन हो ।
नेपालमा राणाकालमै नारी जागरण सुरु भएको हो । त्यसलाई पुँजीवादी जनवादी र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले गति प्रदान गरे । नेपाली लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनमा नारीहरुको विशाल हिस्सा संलग्न रहिआएको छ । २००६ सालयता विकसित कम्युनिस्ट आन्दोलन ऐतिहासिक झापा विद्रोह र ऐतिहासिक जनयुद्धका बीचबाट क्रान्तिकारी माक्र्सवादी नारीहरुको राजनीतिक, सांस्कृतिक तथा साहित्यिक आन्दोलनमा उल्लेखनीय भूमिका रहिआएको छ । परन्तु, यहाँ पश्चिमा नारीवादको प्रभाव भने कमै परेको पाइन्छ ।
नारीवादी समालोचनाको पृष्ठभूमिका रूपमा भर्जिनिया वुल्फको ‘ए रूम अफ हर वन’, (१९२८) सिमोन डि. बुभायरको ‘सेकेन्ड सेक्स’ (१९४९), केट मिलेटको ‘सेक्सुअल पोलिटिक्स’ (१९७०) जस्ता कृतिको ठूलो भूमिका रह्यो । नारीवादी समालोचनाको नाम गाइनो क्रिटिसिज्म भनेर जुराउने काममा एलेन सोवाल्टरको उल्लेखनीय योगदान रहेको छ । नारीवादको इतिहास सन् १९६० भन्दा पहिलो, १९६० देखि १९८०को दशकसम्म दोस्रो र १९८० यता तेस्रो चरणका रूपमा विकसित भएको मानिन्छ ।
नारीवादी समालोचना विभिन्न धाराहरूमा विभाजित रहिआएको छ । यसलाई मूलतः चार धारामा विभाजित गर्न सकिन्छ, ती हुन्–उदारवादी, माक्र्सवादी , आमूलवादी र उत्तरवादी नारीवाद । उदारवादी धाराले व्यक्तिगत स्वतन्त्रता, पुराना सामाजिक बन्धनबाट मुुक्ति, पुुरूष सरह समान अधिकार प्राप्ति, नारीका पक्षमा सुधार जस्ता विषयमा जोडदिन्छ । यस धारामा बेट्टी फ्राइडन, एलिजाबेथ हल्ट आदि क्रियाशील रहे । माक्र्सवादी नारीवादले नारीमाथि हुने आर्थिक शोषणको ऐतिहासिक अध्ययनका लागि माक्र्सवादी वर्गविश्लेषणको मान्यता, नारी घरेलु श्रम, पितृसत्ता, वर्गचेतना आदिबारे चर्चा गरेको छ । यस धारामा मिचेल ब्यारेट आदिको भूमिका रहेको छ । आमूल नारीवादका अनुसार नारी उत्पीडनको प्रमुख कारण नारी र पुरूषका बीचको वैवाहिक सम्बन्ध हो र त्यसलाई निषेध गरी नारी–नारीका बीचमा वैवाहिक सम्बन्ध स्थापित गर्नु पर्दछ । यसलाई समलैङ्गिक नारीवाद (Lesbian Feminism) भनिन्छ । यस धाराकी मूल प्रवर्तक सुलामिथ फायरस्टोन हुन् । नारीवादको चौथो धारा उत्तरवाद हो । यसभित्र उत्तरसंरचनावाद, उत्तरआधुनिकतावाद, उत्तरमाक्र्सवाद, उत्तरउपनिवेशवाद आदि पर्दछन् । यिनै धारा अन्तर्गत मनोविश्लेषण, सांस्कृतिक अध्ययन आदि पनि आउँछन् । यो धारा भाषा, विमर्श, पाठ तथा संस्कृति केन्द्रित रहेको छ ।
सन् १९८० को दशक यता नारीवादको विरोधमा उत्तरनारीवाद जन्मिन पुगेको छ । यसले नारी उत्पीडित हुन्छन् भन्ने कुरा मान्दैन । यो विषम लिङ्गवादको पक्षमा छ । यो उत्तरवादी अवधारणासितै मिल्दछ । यसले नारी÷नरको द्विचरविरोधलाई भत्काउने कोशिस गर्दछ । नारीवादी आन्दोलनलाई जीवितै राख्नका लागि उत्तरनारीवादको विरोधमा तेस्रो धार पनि जन्मिएको छ ।
नारीवादी समालोचनाका विशेषताबारे विभिन्न समीक्षकहरुले चर्चा–परिचर्चा गर्दै आएका छन् । एलेन शोभाल्टरले नारीवादी समालोचनालाई विकसित र स्थापित तुल्याउने काम गरिन् । शोवाल्टरका अनुसार नारीवादी समालोचना (फेमिनिस्ट क्रिटिसिज्म) दुई प्रकारको छ । पहिलोले नारीलाई पाठक अर्थात् पुरुष रचित साहित्यको भोक्ता र दोस्रोले लेखक अर्थात् नारीद्वारा साहित्यको इतिहास विषयवस्तु, विधा तथा संरचनाको साथमा पाठका अर्थको उत्पादिकाका रुपमा प्रस्तुत गर्दछ । फेमिनिस्ट आलोचना माक्र्सवादी समाजशास्त्र र सौन्दर्यशास्त्रको सैद्धान्तिक सम्बन्ध सित जोडिएको छ र त्यो सारभूत रुपमा राजनीतिक र विवादित छ । गाइनो–समालोचना नारी अनुसन्धान अन्य प्रकारहरु सित सम्बद्ध हँुदै बढी आत्मतुष्ट र प्रयोगपरक रहेको छ । (Modern Literary Theory, p. 92) ।
कृष्ण गौतमको भनाइ अनुसार स्त्रीवादी आलोचनाको कुनै एउटै स्रोत छैन, संरचनावादका एउटा प्रमुख फर्डिनान्ड डि. ससुर हुन् भने समाजवादी यथार्थवादका स्रोत माक्र्स, मनोविश्लेषणका स्रोत फ्रायड, विसङ्घटनका स्रोत डेरिडा । त्यसरी एउटै स्रोत नहुनाले स्त्रीवादी आलोचनाका विचारहरु अनेक स्रोतबाट प्राप्त भएका हुन् । साहित्यका इतिहास र सिद्धान्तको आलोचनात्मक पठन, स्त्रीलिखित साहित्य र स्त्रीहरुको चित्रण भएको साहित्यको व्यापक अध्ययन, इतिहास, मनोविज्ञान तथा मानवशास्त्र आदिबाट प्राप्त नारीविषयक जानकारी आदिले स्त्रीवादी आलोचनाको भण्डार भरेका छन् । (आधुनिक आलोचनाः अनेक रुप अनेक पठन, पृ. ३४९) । यसरी कृष्ण गौतमका अनुसार नारीवादी समालोचनाका स्रोत र आधार एक नभई विविध रहेका छन् ।
यसैगरी सुधा त्रिपाठीकोे भनाइमा नारीवादी साहित्यको आफ्नै छुट्टै (मौलिक) समालोचना पद्धति छैन । समाजमा विद्यमान ‘पुरुषवाद’ का सापेक्षताको अध्ययन गरेर त्यसको विपरीत परिपाटीमा लेखिने साहित्य नै नारीवादी साहित्य हो । यस स्वरुपको एकातिर आलोचना, अर्कातिर अस्वीकार र अझ अर्कातिर नयाँ साहित्यिक परम्पराको प्रारम्भ नै नारीवादी साहित्य र समालोचनाको पहिचान हो । आफ्नो क्षेत्रलाई पूर्णता दिनका निम्ति नारीवादी समालोचनाले अन्तर अनुशासनात्मक विधि अँगालेको हुन्छ । (नारीवादी सौन्दर्य चिन्तन, पृ. ७२, भृकुटी एकेडेमिक पब्लिेकेसन्स, सन् २०१२) । यहाँ त्रिपाठीले पनि नारीवादी समालोचना अन्तर अनुशासनात्मक विधिमा आधारित रहेको बताएकी छन् ।
नारीवादी समालोचनाले पितृसत्तात्मक समाजका मूल्यमान्यता र दृष्टिकोणको विरोध तथा भण्डाफोर गर्दछ । यसले नारीद्वारा लेखिएका साहित्यको खोजी, प्रकाशन र मूल्यांकनमा विशेष जोड दिइने कुरा बताउँछ । यसमा साहित्यिक विमर्श र पाठको विवेचना गर्ने क्रममा जीव वैज्ञानिक, लैङ्गिक, सामाजिक, मनोवैज्ञानिक तथा सांस्कृतिक पक्षमा जोड दिने गरिन्छ । यसमा नारीको महत्ता र श्रेष्ठतालाई स्थापित तुल्याउने उद्देश्य राखिएको पाइन्छ । साथै, कतिपय नारीवादीहरुले नारी समस्यालाई वर्गसंघर्षको समस्याका रुपमा लिएका छन् भने कतिपयले प्रतीक तथा चिन्हका समस्याका रुपमा ग्रहण गरेका छन् ।
ऋषिराज बरालका दृष्टिमा नारीवादका कतिपय सकारात्मक पक्ष रहेपनि कैयौं विषयमा प्रशस्तै कमजोरीहरु रहेका छन् । उनको भनाइमा केट मिलेटको प्रसङ्ग नारीवादीहरुले बराबर उठाउने गरेका छन् परन्तु नारीको संघर्षशील इतिहासको निर्माण गर्दै आइरहेका जेनी माक्र्स, रोजा लक्जम्बर्ग, क्लारा जेट्किन, कैथे कोलबित्सको उनीहरुले कतै चर्चा गरेको पाइँदैन । नारीमुक्ति आन्दोलनलाई जनमुक्ति आन्दोलनसँगै गाँसेर अघि बढेका चिनियाँ नारीहरुका साथै फिलिपिनी र पेरुभियन नारीहरुको चर्चा उनीहरुको लेखनमा कतै पाइँदैन । त्यसैगरी, बरालले के पनि बताएका छन् भने नारीवादी लेखनका पक्षधरहरुले नारी लेखकका रचनाहरुको अन्वेषण गर्ने र नारीलाई लेखनमा कसरी प्रस्तुत गरिएको छ, त्यसको अन्वेषण गर्ने कुरा त उठाएका छन्, परन्तु मिन्ना काउत्सकी, मार्गरेट हार्कनेसजस्ता महिला उपन्यासकारहरुको चर्चा उनीहरुको लेखनमा पाइन्न । यसरी बरालले “नारीवाद स्त्रीलिङ्गवादी समालोचना” नै त होइन भनेर प्रश्न चिन्ह पनि उठाएका छन् । (माक्र्सवाद र उत्तरआधुनिकतावाद, पृ. १८५) । नारीवादबारे बरालद्वारा गरिएको यो आलोचना मूलतः सही नै छ ।
समग्रमा हेर्दा नारीवादी समालोचनाका विशेषतालाई यसरी प्रस्तुत गर्न सकिन्छ । पहिलो, नारीवादी समालोचना नारीकेन्द्रित र मूलतः पितृसत्तावाद विरोधी रहेको छ । दोस्रो, यसमा राजनीति र नारी उत्पीडनका विविध पक्षको विवेचना गरिएको हुन्छ, त्यसैले यो विषयवस्तु केन्द्रित रहन गएको छ । यो रुपवादविरोधी रहेको छ । तेस्रो, यो मूलतः बहुलवादी रहेको छ । तर, कतिपय समीक्षकहरु भने बहुलवादविरोधी पनि रहेका छन् । चौथो, यो कुनै एउटा स्रोत र मान्यतामा नभई बहुअनुशासनात्मक विधिमा आधारित रहेको छ ।
नारीवादी साहित्य लेखन पितृसत्तावादको विरोध तथा नारीमुक्तिको पक्षमा आवाज उठाउने काममा मूलतः सकारात्मक देखिन्छ । माक्र्सवादद्वारा प्रभावित नारीवादले महिला उत्पीडन र मुक्तिको प्रश्नलाई आर्थिक, सामाजिक उत्पीडन र त्यसबाट मुक्तिका रुपमा ग्रहण गर्ने प्रयास गरेको छ । यसलाई पनि सकारात्मक अर्थमा नै ग्रहण गर्नु पर्दछ । परन्तु त्यो मूलतः उदारवादी विचारधारामा फस्न र त्यसले माक्र्सवाद तथा क्रान्तिका विरुद्ध नकारात्मक भूमिका निर्वाह गर्न पुगेको छ । यसबाट महिला मुक्ति सम्भव छैन ।
नारीहरु कसरी उत्पीडनमा परे र तिनको कसरी मुक्ति हुन सक्तछ भन्नेबारे माक्र्सवादले वैज्ञानिक जबाफ दिएको छ । नारी उत्पीडनको ऐतिहासिक सन्दर्भबारे एङ्गेल्स भन्नुहुन्छ – “मातृसत्ताको विनाश नारी जातिको विश्व ऐतिहासिक महत्वको पराजय थियो । अब घरभित्र पनि पुरुषले नै आफ्नो आधिपत्य जमायो । नारी पदच्युत गरिदिइन् । उनी बन्धनमा परिन् । उनी पुरुषकी वासनाकी दासी, सन्तान उत्पन्न गर्ने यन्त्रमात्र बन्न पुगिन् ।” (मां ए. संकलित रचनाएँ, खण्ड–३, भाग–२, पृ. ६७, प्रगति प्रकाशन माक्को, १९७८) । यहाँ मातृसत्ताको विनाश र पितृसत्ताको उदयलाई नै नारी उत्पीडनको मूल कारण बताइएको छ । माक्र्सवादी मान्यताअनुसार उत्पीडनको यो मूल कारण व्यक्तिगत निजी सम्पत्ति तथा वर्गहरुको उदयसित सम्बन्धित छ । दास, सामन्ती तथा पुँजीवादी समाजहरुमा व्यक्तिगत सम्पत्ति, वर्गहरुको प्रभुत्व तथा पुरुषसत्ता कायमै रहन्छन् र सामाजिक क्रान्तिपश्चात् समाजवादको विकासको प्रक्रियामा व्यक्तिगत सम्पत्ति तथा वर्गहरुको अन्त्यको प्रक्रिया अगाडि बड्दछ । भावी साम्यवादमा पुगेर नै नारीहरुसहित सबै उत्पीडित वर्ग र जनसमुदायले वास्तविक मुक्ति प्राप्त गर्न सक्तछन् ।
समाजवादमा महिलाहरुको मुक्तिको प्रक्रिया कसरी अगाडि बढ्छ त ? रुसमा पुँजीवादी सत्तालाई पल्टाएर समाजवादी राज्यसत्ताको स्थापना भएपछिको स्थितिमाथि प्रकाश पार्दै लेनिन भन्नुहुन्छः “हामीले सामुदायिक भान्छा, सार्वजनिक भान्छाघर, लुगाधुने लन्ड्रीहरु र मर्मत पसलहरु, शिशुस्याहार केन्द्रहरु, बालगृहहरु र हरेक किसिमका शैक्षिक संस्थाहरु खोलेका छौं । व्यक्तिगत शिक्षा र गृह व्यवस्थापनलाई सामाजिकीकरण गराउन हाम्रो कार्यक्रम लागू गराउन हामी कटिबद्ध छौं । त्यसकारण महिलाहरुले पुरानो घरेलु दासता र श्रीमानहरुमाथिको परनिर्भरताबाट मुक्तिको सास फेरेका छन् ।” (कम्युनिस्ट नैतिकता, पृ. ६१) ।
महिलाहरुको वास्तविक मुक्तिका क्रान्तिकारी माक्र्सवादको पक्षपोषण र कम्युनिस्ट आन्दोलनका साथमा नारी आन्दोलनलाई ऐक्यबद्ध तुल्याउने काममा विशेष परिश्रम गर्न आवश्यक छ ।


४. पर्यावरणसम्बन्धी अध्ययन
मानिस प्रकृतिको अङ्ग हो र यिनका बीच घनिष्ठ सम्बन्ध छ । यो सम्बन्ध जैविक, आर्थिक र भावनात्मक पक्षमा आधारित रहिआएको छ । आफ्ना आवश्यकता पूरा गर्ने प्रक्रियामा मानिसले श्रममार्फत प्रकृतिको मानवीकरण गर्दै गयो । यसै क्रममा मानिसको प्रकृतिसित भावनात्मक सम्बन्ध विकसित हुन पुग्यो र सभ्यता, संस्कृति र कलाको पनि विकास भयो ।
पुँजीवादको विकासको प्रक्रियामा औद्योगिक क्रान्ति र साम्राज्यवादको उदयसितै प्रकृति दोहन तथा पर्यावरण विनाशको प्रक्रिया अघि बढ्दै गयो । धर्ती, हावा, पानीको अत्यधिक दोहन, वनजङ्गलको विनास, मौसम परिवर्तन, हरितगृह ग्यासको उत्सर्जन आदिका कारण पर्यावरणको संरक्षणको प्रश्न मानिसको कार्यसूचीको एक प्रमुख विषयका रुपमा प्रस्तुत भयो ।
सिङ्गो मानव जातिको भविष्य र पर्यावरण संरक्षणको विषयलाई लिएर राजनीतिक र साहित्यिक क्षेत्रमा विभिन्न प्रकारका पहल र आन्दोलन विकसित हुन थाले । यसैक्रममा पर्यावरण विनाशको वास्तविक अवस्था, त्यसका कारण र पर्यावरणको संरक्षणबारे वैचारिक तथा राजनीतिक वृत्तमा विभिन्न धाराहरु पनि विकसित हुँदै गए । यस सन्दर्भमा ध्यान दिनुपर्ने केही प्रमुख धाराहरु मूलतः यी हुन्– माक्र्सवाद, इको–माक्र्सवाद, गहन इकोलोजी, नारीवाद र तेस्रो विश्व पर्यावरणवाद ।


माक्र्सवाद
माक्र्सले पृथक रुपमा त होइन, परन्तु सिद्धान्तको समग्र विवेचनाको क्रममा पर्यावरणसम्बन्धी मान्यताहरुको पनि विवेचना गर्नुभएको थियो । माक्र्स र एङ्गेल्स जीवित रहँदासम्म पर्यावरणीय समस्या गम्भीर रुपमा उठेको थिएन र यस समस्याबारे माक्र्सवादले के भनेको छ भनेर अध्ययन गर्नेतिर पनि खासै ध्यान गएन । परन्तु, यो समस्या गम्भीर बन्दै जान थालेपछि र कतिपय पक्षबाट माक्र्सवादले यस समस्याबारे ध्यान दिएको छैन भनेर प्रश्न गर्न लागेपछि पर्यावरणीय दृष्टिले माक्र्सवादको अध्ययन गर्ने प्रक्रिया अघि बढ्यो । यसै क्रममा के स्पष्ट हुन गयो भने माक्र्सवादले पर्यावरणको बारेमा पनि आवश्यक ध्यान दिएको छ ।
माक्र्सका पर्यावरण सम्बन्धी मान्यता मानिस र प्रकृतिका बीचको एकत्व, परकीयकरण, मेटाबोलिक रिफ्ट, पुँजीको अतिसञ्चय जस्ता अवधारणाहरुमा आधारित रहेका छन् । माक्र्सले आफ्नो कृति “आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरु– १८४४” मा प्रकृति तथा मानवका बीचको एकरुपता र परकीयकरणबारे विशेष ध्यान दिनुभएको छ । यस सन्दर्भमा उहाँले मानवीकरण, विमानवीकरण र पुनःमानवीकरणको विस्तृत रुपमा विवेचना गर्नुभएको छ । मानिसले श्रम प्रक्रियाका बीचबाट प्रकृति तथा स्वयंको मानवीकरण ग¥यो । जब व्यक्तिगत सम्पत्ति तथा वर्गसमाजको उत्पत्ति भयो त्यो बेला आफैले उत्पादन गरेको वस्तु र प्रकृतिबाट मानिसको परकीयकरण अर्थात् विमानवीकरण हुन पुग्यो । परन्तु, जब वर्गसंघर्षको प्रक्रियामा मजदुर वर्गले पुँजीपति वर्गमाथि धावा बोल्दछ र पुँजीवादी राज्यसत्ताको ठाउँमा समाजवादी राज्यसत्ता स्थापना गर्दै साम्यवादतर्फ त्यो अगाडि बढ्दछ त्यसबेला परकीयकरणको अन्त्य भई मानिसको पुनःमानवीकरण हुन्छ । त्यसबेला फेरि प्रकृति र मानिसका बीच नयाँ आधारमा नयाँ एकता स्थापित हुन्छ । माक्र्स भन्नुहुन्छ– “पूर्ण विकसित प्रकृतिवादका रुपमा यो साम्यवाद मानवतावाद समान हो र पूर्ण विकसित यो मानवतावाद प्रकृतिवाद समान हो । यही नै मानिस तथा प्रकृति र मानिस–मानिसका बीच विद्यमान अन्तर्विरोधहरुको उपयुक्त समाधान हो ।” (पाण्डुलिपि, पृ. २९६) । माक्र्सद्वारा प्रस्तुत उक्त मान्यता वर्गसंघर्ष र पर्यावरण दुवै क्षेत्रसित सम्बन्धित समस्याको उपयुक्त तथा वैज्ञानिक समाधानमा आधारित छ । माक्र्सका उक्त मान्यता निकै संक्षिप्त र सूत्रबद्ध रुपमा प्रस्तुत प्रारम्भ कालीन चिन्तनमा आधारित छन् । पछिल्लो कालमा यिनलाई पुँजी लगायतका विभिन्न कृतिहरुमा परिमार्जित तथा विशद रुपमा विवेचना गरी प्रस्तुत गरिएको छ ।
माक्र्स भन्नुहुन्छ –“श्रम सबैभन्दा पहिले एउटा यस्तो प्रक्रिया हुन्छ जसमा मानिस र प्रकृति दुवै माग लिन्छन् र जसमा मानिसले आफ्ना इच्छा अनुसार प्रकृति र आफूबीच भौतिक अन्योन्यक्रिया आरम्भ गर्दछ, तिनलाई नियमन र नियन्त्रण गर्दछ ।” (पुँजी–१, पृ. १९७) । यो विषय श्रम प्रक्रियामा संलग्न मानिस र प्रकृतिका बीचको सम्बन्धमा आधारित छ । यहाँ प्रकृति र मानिसका बीच जुन भौतिक अन्योन्यक्रियाको उल्लेख गरिएको छ, त्यसलाई मेटाबोलिज्म पनि भन्ने गरिन्छ ।
पर्यावरणीय विनाशबारे माक्र्स भन्नुहुन्छ– “पुँजीवादी खेतीमा जुन प्रगति हुन्छ त्यो मजदुर मात्र होइन, धर्तीलाई पनि लुट्ने कलाको प्रगति हो, एक निश्चित समयका लागि धर्तीको उर्वरता बढाउन उठाइने हरेक कदम यस उर्वरताका स्थायी स्रोतहरुलाई नष्ट गर्ने, पनि हो ।” (पुँजी–१, पृृ. ५३७) । यसैगरी पर्यावरणीय विनाशबारे एङ्गेल्सले भन्नुभएको थियो– “प्रकृतिमाथि आप्mनो मानवीय विजयका कारण हामी आत्मप्रशंसामा विभोर हुनुहुँदैन किनभने त्यसले हरेक यस्तो विजयको हामीसित प्रतिशोध लिन्छ । के कुरा सही हो भने प्रत्येक विजयद्वारा प्रथमतः ती नै परिणाम प्राप्त हुन्छन् जसको हामीले अपेक्षा गरेका थियौं, परन्तु, द्वितीयतः र तृतीयतः त्यसका बिल्कुलै भिन्न र अप्रत्याशित परिणाम प्राप्त हुन्छन्, जसबाट प्रायशः पहिल्यै प्राप्त परिणामका प्रभाव समाप्त हुँदै जान्छन् । मेसोपोटामिया, युनान, एशिया माइनर तथा अन्य स्थानहरुमा जुन मानिसले कृषियोग्य भूमि प्राप्त गर्नका लागि वन जङ्गललाई बिल्कुलै नष्ट गरिदिए, तिनले कहिल्यै के कल्पना गरेका थिएनन् भने वन जङ्गलका साथमा आर्द्रता संग्रह केन्द्रहरु र आगारहरुको उन्मूलन गरेर तिनले ती देशको वर्तमान बर्बादीको जग हालिरहेका थिए । (का. माक्र्स फ्रे. एङ्गेल्स संकलित रचनाएँ, खण्ड–३, भाग–१, पृ. ८७÷८८, प्रगति प्रकाशन मास्को, १९७८) । एङ्गेल्सका यी भनाइ पर्यावरण विनाश र त्यसका परिणामसित सम्बन्धित छन् ।
माक्र्सले मेटाबोलिक रिफ्ट र पुँजीको अतिसञ्चय सम्बन्धी अवधारणाबारे राजनीतिक अर्थशास्त्रसम्बन्धी विभिन्न टिप्पणीहरु र मुख्यतः पुँजीमा विशेष रुपमा प्रकाश पार्नु भएको छ । ‘मेटाबोलिजम’ पद प्राचीन ग्रीसमा विकसित भएको थियो । त्यसको अर्थ जीवित प्राणीका सन्दर्भमा खाने, पिउने, सास फेर्ने र बोटविरुवाका सन्दर्भमा आत्मसातीकरण गर्ने प्रक्रिया हो । यसलाई भौतिक विनिमय, अन्तर्विनिमय वा चयापचय प्रक्रिया पनि भनिन्छ । माक्र्स मेटाबोलिक रिफ्टबारे भन्नुहुन्छ– “ठूलो भूसम्पत्तिले कृषिजीवी जनसंख्यालाई घटाएर निरन्तर ह्रासमान न्यूनतममा ल्याउँछ र त्यसको ठाउँमा ठूला सहरहरुमा एकैसाथ ल्याइएको निरन्तर बढ्दै गएको औद्योगिक जनसंख्यालाई उपस्थित गराउँछ । यसद्वारा त्यसले यस्ता अवस्था पैदा गर्दछ, जसले नैसर्गिक नियमहरुद्वारा हुने सामाजिक अन्तर्विनिमयमा हुने सामञ्जस्यमा अपरिहार्य दरार पारिदिन्छ ।” (पुँजी ३, पृ. ७१७) । पुँजी सञ्चयको प्रक्रिया भनेको अतिरिक्त मूल्य वृद्धिको प्रक्रियामा अतिशय पुँजीसञ्चिति अर्थात् मुनाफा वृद्धिको प्रक्रिया हो । यसले उत्पादनको सामाजिक पद्धति र वितरणको व्यक्तिगत पद्धतिका बीच भीषण अन्तर्विरोध पैदा गरिदिन्छ । यसरी अन्ततः माक्र्सका अनुसार वर्गसंघर्ष र पर्यावरणीय समस्याको समाधान समाजवाद र साम्यवादमा गएर नै हुन सक्तछ ।
माक्र्सको पर्यावरण सम्बन्धी मान्यताबारे जोन बेलामी फोस्टरले विभिन्न पुस्तक तथा लेखहरुमा विस्तृत रुपमा उल्लेख गरेका छन् । यसै सन्दर्भमा जोन बेलामी फोस्टर भन्दछन्, “प्रकृतिको सार्वभौम मेटाबोलिज्मको माक्र्सीय अवधारणा, सामाजिक मेटाबोलिज्म र मेटाबोलिक रिफ्टले अन्तःस्थापित सामाजिक उत्पादन प्रणालीहरु, विशेषतः पुँजीवाद र बृहत्तर पर्यावरणीय प्रणालीहरुका बीचको जटिल सम्बन्धलाई प्रतिरुपण (मोडेलिङ्ग) गर्नका लागि अमूल्य प्रमाण जुटाइदिन्छन् । प्रकृतिसितको मानवीय सामाजिक सम्बन्ध र माक्र्सको पुँजीवादी वर्गसमाजको आलोचनासित घनिष्ट रुपमा जोडिएको यस उपागम (ब्उउचयबअज) ले ऐतिहासिक भौतिकवादलाई वर्तमान पर्यावरणीय संकट र संक्रमणका चुनौतीबारे एउटा विलक्षण परिप्रेक्षय प्रदान गर्दछ ।” (Marxism and Ecology, Monthly Review, Vol-13, No. 9, December 2015) ।
माक्र्सको पर्यावरणीय अध्ययनका बारेमा जोन बेलामी फोस्टरको योगदान विशेष महत्वपूर्ण रहेको छ । परन्तु उनमा नवमाक्र्सवाद, इकोसमाजवाद वा इकोमाक्र्सवादमा आधारित कैयौं सीमा पनि रहेका छन् ।
पर्यावरण सम्बन्धी माक्र्सवादी दृष्टिकोणबारे स्टिफेन एङ्गेल लिखित “क्याटस्ट्रफी एलर्ट !” शीर्षक पुस्तकमा उल्लेख गरिएको छ । यसमा पर्यावरण सम्बन्धी माक्र्सवादी दृष्टिकोण, पर्यावरण सम्बन्धी समस्या र तिनको समाधानबारे विस्तृत रुपमा प्रकाश पारिएको छ ।
समग्रमा पर्यावरण विनाशबारे माक्र्सवादी धारणा यस प्रकार रहेको छ – पहिलो, मानव जीवनको उन्नति तथा प्रगतिका लागि पर्यावरण विनाशले गम्भीर असर पार्दछ । दोस्रो, पर्यावरण विनाशको मूलकारण पुँजीवादको विकास प्रक्रियामा प्रकृति र मानिसका बीचको नैसर्गिक भौतिक विनिमयमा असन्तुलन पैदा हुनु हो र यसो हुनुमा पुँजीवादी मुनाफाका लागि गरिने पुँजी सञ्चयको प्रक्रिया जिम्मेवार रहेको छ । तेस्रो, प्रकृति तथा श्रमिक वर्ग दुवैको शोषण, दोहन तथा उत्पीडन गर्ने पुँजीवादी राज्यसत्ताका विरुद्ध क्रान्ति गरी समाजवादी राज्यसत्ताको स्थापना गर्दै साम्यवादतर्फ अगाडि बढेर नै यी दुवै प्रकारका शोषण, दोहन तथा उत्पीडनको अन्त्य हुन्छ । यसरी नै प्रकृति र मानिसका बीच नयाँ एकता स्थापित हुन्छ ।

इको–माक्र्सवाद
पर्यावरणका बारेमा माक्र्स र एङ्गेल्सद्वारा प्रस्तुत मान्यताको विशद अध्ययन जोन बेलामी फोस्टरद्वारा लिखित “माक्र्स’ज इकोलोजीः मेटेरेलिज्म एण्ड नेचर” र जोन बेलामी फोस्टर तथा पाउल बर्केटद्वारा लिखित “माक्र्स एण्ड दि अर्थ” शीर्षक रचनाहरुमा गरिएको छ । उनीहरुको भनाइ के छ भने माक्र्सले पर्यावरणसम्बन्धी प्रश्नमा आफ्ना धारणाहरु प्रस्तुत गरे पनि परंपरावादी माक्र्सवादीहरुले त्यसतर्फ ध्यान दिएनन् । पर्यावरणबारे माक्र्सवादी धारणा के हो भन्ने प्रश्नको जबाफमा उनीहरुले “माक्र्स एण्ड दि अर्थ”मा विस्तृत रुपमा उल्लेख गरेका छन् । इको माक्र्सवाद यसै विषयसित सम्बन्धित छ ।
इको–माक्र्सवादको पहिलो चरणलाई इको–समाजवाद पनि भन्ने गरिएको छ । इकोमाक्र्सवादको स्थापना र विकास गर्ने काममा फ्रैङ्कफर्ट स्कुल लगायतका नववामपन्थीहरु संलग्न रहिआएका छन् । उनीहरुका भनाइमा यो धारा तीन चरण हुँदै विकसित भएको छ । पहिलो चरणको थालनी १९८० बाट हुन्छ । यो चरण माक्र्स–एङ्गेल्सद्वारा हरित विश्वदृष्टिको निषेध गरियो र माक्र्सवाद पर्यावरणको क्षेत्रमा असफल रह्यो भनी आलोचना गरेर सुरु भयो । यस चरणका अध्येताहरुले हरितसिद्धान्त (न्चभभल त्जभयचथ) लाई अवलम्बन गरे र व्यापक इकोलोजिक योजना बनाउने कुरामा जोड दिए । यस चरणमा डेनियल बेनसइद, टेड बेन्टोन, जेम्स ओ. कोनर आदिको भूमिका रह्यो । यस चरणमा ‘पुँजीवाद, प्रकृति, समाजवाद’ नामक पत्रिका निकालियो । इको– माक्र्सवादको दोस्रो चरण १९९० बाट सुरु भयो । यस चरणमा पर्यावरण सम्बन्धी माक्र्सवादी मान्यताबारे पुनःअनुसन्धानको काम थालियो । यस चरणलाई इकोलोजिकल माक्र्सवादको चरण पनि भनियो । यस चरणमा पहिलो चरणका कमजोरीको विरोध गर्दै माक्र्सवाद र पर्यावरणका बीच सम्बन्ध रहेको कुरा औंल्याइयो । यस चरणमा एलमार, मार्टिन इम्प्सन, फ्रेड म्याग्डफ आदिको भूमिका रह्यो । यस पश्चात् इको–समाजवादको तेस्रो चरण सुरु भयो ।
तेस्रो चरणमा आउँदा इको–समाजवादले दोस्रो चरणमा विश्लेषण नगरिएका र समसामयिक समस्याहरुलाई समेटेर पर्यापरण सम्बन्धी अध्ययनलाई अगाडि बढाउने काम ग¥यो । पहिलो चरण वाद, दोस्रो विवाद र तेस्रो चरण संवाद अर्थात् संश्लेषणमा आधारित रहेका छन् भनेर फोस्टरहरुद्वारा बताइएको छ । तदनुसार तेस्रो चरणमा ध्यान दिनुपर्ने विषय– जलवायु परिवर्तन, स्पिसिज…, इको प्रणाली विध्वंसन, नाइट्रोजन चक्रको अस्थिरता, स्वच्छ पानीको विनाश, धान्नै नसकिने इनर्जी उपयोग, पर्यावरणीय क्षति, शहरी विनाश, पर्यावरणीय अन्याय, स्पिसिज् सम्बन्धी अन्याय– साँचो अर्थमा पुँजी सञ्चयको आधुनिक प्रणाली अन्तर्गत ‘प्रकृति परकीयकरण’ मा आधारित समग्र प्रश्न पर्दछन् । (माक्र्स एण्ड द अर्थ, पृ. ११) माक्र्सवादलाई अगाडि बढाउनेमा फ्रेड म्याग्डफ, फोस्टर र बर्केट आदिको महत्वपूर्ण भूमिका रह्यो ।
फोस्टर र बर्केटले आफ्नो उक्त पुस्तकको अन्तमा पर्यावरणीय समस्याबारे के निष्कर्ष निकालेका छन् भने पृथ्वीको संकट होइन, अपितु समाजको संकट हो । उनीहरुका दृष्टिमा यस संकटको समाधान समाजवाद÷साम्यवादको स्थापना गरेरै हुन्छ र यस प्रक्रियामा मानिस तथा प्रकृतिका बीचको असन्तुलनका समस्याको पनि मेटाबोलिक पुनस्र्थापनाद्वारा नै हुन्छ ।
फोस्टरका अनुसार–पर्यावरणीय आन्दोलनमा जलवायु परिवर्तन होइन, व्यवस्था परिवर्तनको नारा लगाउनुपर्दछ र विश्वपुँजीवादी प्रणालीको विरोधमा जानुपर्दछ । माक्र्सवादी पर्यावरणीय चिन्तकहरुले पर्यावरणीय र सामाजिक क्रान्तिका लागि दुई चरणको रणनीति विकसित गर्नुपर्दछ । पहिलो चरणलाई विश्वव्यापी पर्यावरणीय क्रान्तिको इको–जनवादी क्रान्तिको चरणका रुपमा बुझ्नुपर्दछ र दोस्रो चरणको पर्यावरणीय क्रान्तिले प्रणाली परिवर्तनको लामो अवधिको लक्ष्यलाई समेट्छ । (Monthly Review, Vol-13, N. 9, December 2019) ।
पर्यावरण विनाशका कारण र तिनको समाधानबारे गम्भीर अध्ययनको प्रक्रिया अगाडि बढाइयो । यसमा कैयौं सकारात्मक पक्ष सन्निहित छन् , तर पनि इको–माक्र्सवादको सम्बन्ध नवमाक्र्सवादसित छ । यसले वर्ग तथा वर्गसंघर्षभन्दा मुख्यतः पर्यावरणीय आन्दोलनमा जोड दिन्छ । यो वैज्ञानिक समाजवाद होइन, सुधारवादी समाजवादको पक्षमा छ ।

डीप इकोलोजी
सन् १९६० यता कतिपय व्यावसायिक दार्शनिकहरुले वातावरण विनाशबारे दार्शनिक अध्ययन गर्न थाले । यसैक्रममा नर्वेका आर्ने नायसले दर्शन तथा इकोलोजीबारे प्रवचन दिंदै हिँडे र १९७३ तिर डीप इकोलोजीलाई प्रयोगमा ल्याए । उनले आदर्शवादी र धार्मिक कोणबाट इकोलोजीलाई व्याख्या गर्दथे । उनलाई हरित आन्दोलनका अगुवा पनि भनिन्छ । डीप इकोलोजीका पक्षधरहरुले पृथ्वी पहिलो नामक संगठन बनाए । डीप इकोलोजीलाई नायसले आफ्नो “दि डीप इकोलोजिकल मुभमेन्टः सम फिलोसफिकल आस्पेक्ट” नामक लेखमा डीप इकोलोजी सम्बन्धी आठ बुँदे मान्यता प्रस्तुत गरेका छन् । त्यसको पहिलो बुँदामा भनिएको छः “यस धर्तीमा मानव र मानवेतर जीवन कल्याणकारी हुनु र फल्नुफुल्नु आफैमा मूल्यवान कुरा हो ।” डीप इकोलोजीको यस मान्यताले पर्यावरणसम्बन्धी मानवकेन्द्रको अवधारणालाई अस्वीकार गरी मानव मात्र होइन, वनजङ्गल,पहाड पर्वत, पशुपन्क्षी लगायत सबै मानवेतर जीवनलाई मूल्यवान् हुने कुरा अंगीकार गरेको छ । यो पर्यावरण केन्द्रवाद ( ) मा आधारित मान्यता हो ।
पी. के. नायरका अनुसार डीप इकोलोजीले जीवनका सबै रुप र विशेषताहरुका आधारभूत अन्तःसम्बन्धतामा विश्व राख्तछ । यसले कुन कुरामा विश्वास गर्दछ भने मानव केन्द्रित चिन्तनले मानवलाई तिनका प्राकृतिक पर्यावरणबाट अलग्याउँछ र उत्पीडन गर्दछ । डीप इकोलोजीको मूल मान्यता के हो भने आफ्नो दृष्टिकोण, चिन्तन, दायित्व र व्यवहार मानवकेन्द्रित छन्, परन्तु ग्रह (एबिलभत) को सुरक्षा सुनिश्चित गर्नका लागि पर्यावरण वा जैवकेन्द्रित बन्न जरुरी छ ।
डीप इकोलोजीलाई आर्दशवादी तथा पर्यावरण सम्बन्धी विभिन्न धार्मिक मतवादी उपधाराहरुको संगम स्थल (प्लेटफर्म) का रुपमा पनि लिइने गरिन्छ ।

इको–नारीवाद
इकोनारीवादका अनुसार पितृसत्तात्मक समाजका मूल्यहरु र विश्वासहरुको परिणाम नै नारी र प्रकृति दुवै उत्पीडनमा परेका हुन् । पितृसत्ताले नारीहरुका काम, ज्ञान र अवस्थितिलाई अवमूल्यन गर्दछ । यस धारामा म्यारी मेलर, एरियल सलेह, वन्दना शिवा आदि रहेका छन् । उनीहरु लिङ्ग र प्रकृतिका बीचको सम्बन्धबारे अध्ययन गर्दै आएका छन् । इको–नारीवादीहरु प्रकृति र संस्कृतिका बीच ठूलो अन्तर्विरोध रहिआएको कुरा बताउँछन् । उनीहरुले प्रकृतिलाई नारीपक्षीय तथा संस्कृतिलाई पुरुषपक्षीय रहेको र आफू प्रकृतिको बढी सन्निकट रहिआएको कुरा बताउँछन् । उनीहरुका विचारमा पुरुषले नारी तथा प्रकृति दुबैलाई आफ्नो अधीनमा पारेको र उत्पीडन गर्दै आएको छ । नारीवादीहरु के बताउँछन् भने बाइबिलमा ईश्वरले पुरुषलाई जल, जमिन आदिको स्वामित्वसम्बन्धी अधिकार प्रदान गरे, परन्तु नारीलाई भने त्यस प्रकारको अधिकारबाट वञ्चित तुल्याइदिए । पर्यावरणीय नारीवाद अन्तर्गत पनि विभिन्न उपधाराहरू पर्दछन् ।

तेस्रो विश्वपर्यावरणवाद
तेस्रो विश्व वातावरणवादका मूल प्रतिनिधि रामचन्द्र गुहा, जोन मार्टिनेज, एलिएट आदि रहेका छन् । उनीहरुको मान्यता के छ भने गरीबी र वातावरण विनाशका बीच बलियो सम्बन्ध रहिआएको छ । यसप्रकारको अवस्थाबाट एसिया र अफ्रिकाका अधिकांश देशहरु प्रभावित रहिआएका छन् । तेस्रो विश्व वातावरणवादीहरु समान रुपमा फन्डिङ्ग, सामाजिक न्याय र गरीबहरुलाई जमिन वितरण गर्ने पक्षमा आफूलाई उभ्याउने प्रयास गरिरहेका छन् । उनीहरुको एउटा मूल भनाइ के छ भने पश्चिमी देशहरु विशेषतः स्क्यान्डिनेवियन मुलुक, क्यानाडा, संयुक्त राज्य अमेरिका र अष्ट्रेलियामा क्रियाशील डीप इकोलोजीका पक्षहरु तेस्रो विश्वमा उनीहरुले गर्दै आएको उत्पीडनप्रति मौन रहिआएका छन् । उनीहरुको भनाइ अनुसार ती मुलुकहरुमा वनजंगल तथा जमिनको उपयोग कम तर तेस्रो विश्वका देशहरुका बढी हुँदै आएको छ । तेस्रो विश्व वातावरणवादलाई मुक्ति पर्यायवरणवाद (लिबरेशन इन्भायरोन्मेन्टलिज्म) पनि भन्ने गरिन्छ ।


साम्राज्यवाद, निम्नपुँजीवाद र माक्र्सवाद
माओ जीवित छँदै सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा स्टकहोममा सन् १९७२ मा आयोजित संयुक्त राष्ट्रसंघको मानव पर्यावरण सम्मेलनमा चिनियाँ प्रतिनिधिका तर्फबाट प्रस्तुत एउटा मन्तव्यमा भनिएको थियो– “उच्च मुनाफाका पछाडि दौडिरहेका साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवाद र उनीहरुका एकाधिकारी पुँजीवादी समूहहरुले जनताका जीवनमृत्युका कुरालाई वेवास्ता गर्दै अन्य देशका जनतालाई बेइमानीपूर्वक लुट्छन् र शोषण गर्दछन्, तिनका स्रोत साधनलाई ध्वस्त पार्दछन्, मनपरी ढङ्गले हानिकारक पदार्थहरु निकाल्दछन् र आफ्नै देश तथा अन्य देशको पर्यावरणलाई प्रदूषित पार्ने र सडाउने गर्दछन् । उनीहरुले हरेक वर्ष हतियारको दौडमा ठूलो धनराशि खर्च गर्न हिच्किचाउँदैनन्, परन्तु आफ्नै देशमा पर्यावरणको संरक्षण र सम्वद्र्धनका निम्ति न्यूनतम कोष पनि छुट्याउँदैनन् वा प्रदूषण र क्षतिबेहोर्नु परेका अन्य सार्वभौम राज्यहरुको नोक्सानीको क्षतिपूर्ति पनि गर्दैनन् । साम्राज्यवादी, उपनिवेशवादी तथा नवउपनिवेशवादी र तिनका एकाधिकारी पुँजीवादी समूहका यसप्रकारका अपराधहरुले विश्वभरिका जनताका बीचमा चर्को असन्तुष्टि र विरोध पैदा गरेका छन् । अतिमहाशक्तिहरुका लूट, आक्रमण र युद्धनीतिका विरुद्ध संसारभरका जनताले चलाएको प्रदूषणविरोधी न्यायपूर्ण संघर्षलाई हामी सक्रियतापूवर्क समर्थन गर्दछौं ।” (Peking Review, June 16, 1972) ।
पर्यावरणीय समस्या मुख्यतः राजनीतिक समस्या हो । पर्यावरणीय आन्दोलनसित तीन पक्ष सम्बद्ध रहिआएका छन् – साम्राज्यवाद तथा प्रतिक्रियावाद, निम्न पुँजीवाद र माक्र्सवाद । साम्राज्यवाद पर्यावरणीय समस्याको प्रमुख जिम्मेवार हो । यसले पर्यावरणको सुरक्षाको बहाना गरेर र पर्यावरण सुरक्षाका निम्ति बनेका विभिन्न संघसंस्थाहरुमा प्रभुत्व जमाएर र अतिशय मुनाफाका लागि प्रकृतिदोहन तथा मानवीय उत्पीडन जारी राख्ने काम गर्दै आएको छ । विश्वका प्रतिक्रियावादी राज्यसत्ताहरु यसै साम्राज्यवादको छहारीमा गोलबन्द भएका छन् । निम्न पुँजीवादले पनि अन्ततः साम्राज्यवादलाई नै साथ दिंदै आएको छ । यस सन्दर्भमा पर्यावरणीय चेतावनीबारे अभिव्यक्त स्टिफेन एन्जेलको निम्न भनाइ ध्यान दिन योग्य छ –“यस चेतावनीका विरुद्ध कुनै प्रभावकारी कदम चाल्नुको साटो समग्र साम्राज्यवादी प्रणालीमा आबद्ध सत्ताधारी र निम्नपुँजीवादी प्रणालीय पर्यावरणवादले सम्पूर्ण मानवतामाथि छलछामपूर्ण व्यवहार गर्दै आएका छन् । तुष्टीकरण, झूट र छलछामपूर्ण प्रस्तावहरु पेश गरेर तिनले जनसमुदायको सक्रिय प्रतिरोधलाई रोक्ने वा कम महत्व दिने काम गर्दछन् ।” (Stefan Engel: Catastrophe Alert!, Verlag Neuer Weg, 2014, p. 8) । पर्यावरणीय समस्याको समाधान कसरी हुन्छ त ? स्टेफन एन्जेल भन्दछन्– “वातावरणीय मुद्दाको समाधानले समाज रुपान्तरणकारी संघर्षको माग गर्दछ । केवल अन्तर्राष्ट्रिय समाजवादी क्रान्तिले नै सामाजिक र पर्यावरणीय प्रश्नको समाधान गर्न सक्तछ ।” (उक्त) ।
वस्तुतः पर्यावरणीय चेतावनीका विरुद्धको संघर्ष साम्राज्यवाद र प्रतिक्रियावादको विरुद्धको संघर्षसित जोडिएको छ । माक्र्सवादले क्रान्तिमार्फत वैज्ञानिक समाजवादको स्थापना गरेर नै पर्यावरणीय समस्याको असली समाधान हुने कुरा बताउँछ ।


समालोचना
मानिसका र प्रकृतिका बीचको सम्बन्धबारे हिमाली उपमहाद्वीपमा प्राचीन समयदेखि नै विशेष प्रकाश पार्ने काम हुँदै आएका थिए । वेदहरुमा सूर्य, चन्द्र, पृथ्वी, हावा, नदी आदि समस्त प्रकृतिलाई मानवीकरण गरी प्रस्तुत गरिएको थियो । संस्कृत साहित्यमा प्रकृति र मानिसका बीचमा तादात्म्य कायम गर्दै प्रशस्त रचना लेखिएका थिए । प्रकृतिको मानवीकरण गर्ने काममा संस्कृत साहित्यका महाकवि कालिदासको उल्लेख्य भूमिका रहेको थियो । युरोपमा अंग्रेजी साहित्यको स्वच्छन्दतावादी धाराका वर्डस्वर्थ, कलरिज, किट्स, शेली जस्ता कविहरुले प्रकृतिको मानवीकरण गर्ने काममा विशेष जोड दिएका थिए । यो परम्परा हिन्दी, बङ्गाली आदिका साथै नेपाली साहित्यमा पनि विकसित भयो र त्यसलाई नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाले एक उत्कर्ष प्रदान गरे ।
पर्यावरणीय समालोचना बीसौं शताब्दीको अन्त्यतिर जन्मिएको हो । सन् १९७८ मा विलियम रुयेकर्टले – पर्यावरणीय समालोचनाको थालनी गरे । उनले “लिटरेचर एण्ड इकोलोजीः एन एक्सपेरिमेन्ट इन इकोक्रिटिसिज्म” शीर्षक लेख लेखेका थिए । १९८९ मा फ्रेडरिक ओ. वागेद्वारा सम्पादित “इन्भायरन्मेन्टल लिटरेचरः मेटरियल्स मेथड्स रिसोर्सेज” मा विभिन्न लेखकहरुका रचनाहरुलाई समावेश गरी एउटा सङ्कलन प्रकाशित गरियो । यसैगरी १९९६ मा सेरिल ग्लोटफेल्टी र ह्यारल्ड फ्रोमको सम्पादकत्वमा “द इकोक्रिटिसिज्म रिडरः ल्याण्डमाक्र्स इन लिटेररी इकोलोजी” शीर्षकमा अर्को संकलन प्रकाशित भयो । यसरी पर्यावरणीय साहित्यको विकाससित समालोचना पनि विकसित हुँदै आएको छ । यसैक्रममा नेपालमा पनि पर्यावरणीय समालोचनाको थालनी भएको छ ।
पर्यावरणीय चिन्तनको क्षेत्रमा जुन धाराहरु विकसित हुँदै आएका छन्, तिनकोे प्रभाव पर्यावरणीय साहित्य र समालोचनामा पनि पर्दै आएको छ । त्यसैले पर्यावरणीय समालोचना पनि विचारधारात्मक संघर्षको एउटा क्षेत्र बन्न गएको छ । विलियम रुयेकर्टका दृष्टिमा इको–क्रिटिसिज्म भनेको प्रकृतिको आवेदन र साहित्यिक अध्ययनको पर्यावरणीय अवधारणा हो । पर्यावरणीय समालोचनामा मानिस र प्रकृतिका बीचको सम्बन्धमा जोड दिइन्छ । यो बहुअनुशासनात्मक, बहुसांस्कृतिक र अन्तराष्ट्रिय स्वरुपको हुन्छ ।
सेरिल ग्लोटफेल्टीले पर्यावरणीय समालोचनालाई यसरी परिभाषित गरेकी छन्ः “सामान्यतः इकोक्रिटिसिजम् भनेको साहित्य र भौतिक वातावरणबीचको सम्बन्धबारे गरिने अध्ययन हो । जसरी नारीवादी समालोचनाले लैङ्गिक चेतनाको परिप्रेक्ष्यबाट भाषा र साहित्यको अध्ययन गर्दछ र माक्र्सवादी समालोचनाले पाठको अध्ययन गर्दा उत्पादनका मोड र आर्थिक प्रवर्गको सचेतनालाई अगाडि सार्दछ, त्यसरी नै इकोक्रिटिसिजम्ले साहित्यिक अध्ययनको पृथ्वीकेन्द्रित उपागमलाई अवलम्बन गर्दछ ।” (इन्ट्रोडक्शनः दि इकोनमिक रिडर…..पृ. ।)
पर्यावरणीय साहित्य र समालोचनाका विशेषता तथा मापदण्डबारे विभिन्न चिन्तकहरुले प्रकाश पार्दै आएका छन् । पर्यावरणीय समालोचना एउटा छाता समालोचना हो । विभिन्न चिन्तनधारा र सिद्धान्तबाट प्रभावित रहिआउनुको कारण पर्यावरणीय समालोचनाको कुनै एउटा निश्चित मापदण्ड छैन र यो अन्तर–अनुशासनात्मक अध्ययनमा आधारित रहेको छ ।
ग्लोटफेल्टीका अनुसार १) पर्यावरणीय समालोचना (Ecocriticism) ले प्रकृति र संस्कृति, साहित्य र धर्ती, अनि मानवीय र मानवेतरका बीचको अन्तर्संम्बन्धमा जोड दिन्छ; २) पर्यावरणीय साहित्य सिद्धान्तले लेखकहरु, पाठहरु र विश्वका बीचको सम्बन्धलाई जाँच गर्दछ । यसका लागि “विश्व” समाज अर्थात् सामाजिक जगत्को पर्याय हो । ३) पर्यावरणीय समालोचनाले “विश्व” को अवधारणालाई समग्र पर्यावरणीय जगत (Entire Ecosphere) मा समावेश गर्दछ । (इन्ट्रोडक्शनः दि इकोनमिक रिडर…..पृ. ) ।
प्रमोद के. नायरका अनुसार लरेन्स बुएलले पर्यावरणीय समालोचनामा मूल्यांकनका लागि चार ओटा मापदण्ड प्रस्तुत गरेका छन्, त्यसप्रकारको मापदण्डका मूल आधार यी हुन्ः १) पाठमा गैरमानवीय आयामको वास्तविक उपस्थिति हुन्छ र मानव तथा गैरमानवको संसारलाई एकीकृत गरिन्छ; २) हरेक ठाउँमा मानवहितले विशेषाधिकार प्राप्त गर्दैन; ३) पाठले मानिसहरुलाई पर्यावरणप्रति जिम्मेवार बनाई प्रस्तुत गर्दछ र ४) पर्यावरण एक स्थिति हुनुको साटो एक प्रक्रिया हो । ( कन्टेम्पोरेरी लिटरेचर एण्ड कल्चरल थिअरीः फ्रम स्ट्रक्चरलिज्म टु इकोक्रिटिसिज्म, पृ. ) ।
पर्यावरण्ीय समालोचनाको क्षेत्रमा लरेन्स बुएल चार प्रकारका चुनौती उपस्थित भएको देख्दछन् । उनको भनाइमा “ती चार प्रकारका चुनौती हुन् – संगठनको चुनौती, व्यावसायिक बैधताको चुनौती, आलोचनात्मक जिज्ञासाहरुका भिन्न मोडेहरुलाई परिभाषित गर्ने चुनौती र एकेडेमी बाहिर आफ्नो महत्वलाई स्थपित गर्ने चुनौती । यी कसौटीहरुद्वारा साहित्यिक अध्ययनको क्षेत्रमा पर्यावरणीय समालोचनाले सबैलाई उत्साहित गरेको छ ।” ( …….)
पि. के. नायरले पर्यावरणीय समालोचनालाई परिभाषित गर्दै भनेका छन्ः “इको–क्रिटिसिज्म एउटा यस्तो आलोचनात्मक मोड हो जसले सांस्कृतिक पाठहरुमा प्रकृति र धर्तीको गरिमाबारे अवलोकन गर्दछ ।” (कन्टेम्पोरेरी लिटरेचर एण्ड कल्चरल थिअरीः फ्रम स्ट्रक्चरलिज्म टु इकोक्रिटिसिज्म, पृ. ३३०) ।
सञ्जीव उप्रेतीको भनाइमा बिसौं शताब्दीको ८० को दशकयता युरोप र अमेरिका लगायतका देशहरुमा पर्यावरणीय समालोचनाबारे प्रशस्तै लेख तथा पुस्तकहरु लेखिन थाले र विश्वविद्यालयका पाठ्यक्रमहरुमा पनि पर्यावरण सम्बन्धी विषयलाई पढाउन थालियो । यस सन्दर्भमा वर्ग, यौन, लिङ्ग र जातिबाहेक पर्यावरणलाई पनि पाँचौ मापदण्डका रुपमा राजनीतिक तथा ऐतिहासिक समालोचनाले स्वीकार गर्न जरुरी भएको कुरामा विशेष जोड दिइयो । (सिद्धान्तका कुरा, पृ. ३१३–१४, अक्षर क्रियसन्स, नेपाल, तेस्रो २०६८) । यहाँ उप्रेतीद्वारा पर्यावरणवादी मान्यताबारे उल्लेख गरिएको छ ।
रमेश भट्टराई भन्दछन् –“वर्गीय समाजमा प्रकृति र पर्यावरणको शोषण, दोहन गर्ने काम मूलतः सामन्तवाद र पुँजीवाद÷साम्राज्यवादले नै गरेको छ । यस आधारमा प्रकृति र प्रकृतिसँगको निकट सम्बन्ध गरिब जनता र सर्वहाराको हुने हुँदा पर्यावरणको रक्षा आम जनताको हितका लागि हो भन्ने धारणा माक्र्सवादीहरुको छ । यही आधारमा माक्र्सवादी समालोचनाले पर्यावरणलाई शुद्ध पर्यावरणीय सम्बन्धबाट मात्र नहेरी जनता, जीवन, श्रम र विचारधाराका सापेक्षतामा हेर्दछ र सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध पर्यावरणीय आन्दोलनलाई पनि केन्द्रित गर्नुपर्ने र विश्वका जनतालाई संगठिन गर्नुपर्ने धारणा प्रस्तुत गर्दछ ।” (कलम, वर्ष १८, पूर्णाङ्क ५२, अङ्क २, पृ. ८६, कार्तिक–पुस २०६६) । यहाँ पर्यावरणका सन्दर्भमा भट्टराईले माक्र्सवादी मान्यताबारे उल्लेख गरेका छन् ।
सौन्दर्यचिन्तन र समालोचनाको क्षेत्रमा माक्र्सवादीहरुले माक्र्सद्वारा रचित “आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरुः १८४४” लाई सर्वहारावर्ग र उत्पीडित जनसमुदायको स्वत्व तथा अस्मिताको उद्घाटन र मुक्तिको मार्गदर्शन गर्न समर्थ एक महत्वपूर्ण ऐतिहासिक कृतिका रुपमा ग्रहण गर्दै आएका छन् । माक्र्सवादी समालोचनाले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको आलोकमा आर्थिक आधार र उपरिसंरचनाबीचको सम्बन्ध, यथार्थको कलात्मक प्रतिबिम्बन तथा प्रारुपीकरण, सर्वहारावर्ग तथा उत्पीडित जनसमुदायप्रतिको प्रतिबद्धता, प्रवृत्तिमूलकता तथा सोद्देश्य लेखन, प्रकृतिको मानवीकरण, अन्तर्वस्तु र रुपको एकता जस्ता मान्यतालाई अङ्गीकार गर्दै आएको छ । माक्र्सवादी सौन्दर्य चिन्तन र समालोचनाका अनुसार अतिमुनाफाका लागि गरिएका शोषण, उत्पीडन र प्रकृति दोहनका कारण पर्यायवरणीय संकट गम्भीर बन्दै र त्यसबाट प्रकृति तथा मानव जीवनका बीचको संगति तथा सन्तुलन भत्कदै गएको छ । यस स्थितिमा मानिस र प्रकृति दुवैको शोषण, उत्पीडन र दोहन गर्ने साम्राज्यवादसहित सबै खाले प्रतिक्रियावादका विरुद्ध साहित्यिक तथा सांस्कृतिक आन्दोलन चलाउन, समालोचना तथा सौन्दर्यचिन्तनको क्षेत्रमा विचारधारात्मक संघर्षलाई सशक्त बनाउन,मानव जीवन तथा प्रकृतिका बीच नयाँ आधारमा नयाँ एकता स्थापित गर्दै अगाडि बढ्न र सौन्दर्यका नियम अनुसार संसारलाई बदल्न माक्र्सवादले विशेष जोड दिन्छ ।

५. निष्कर्ष
(१) वर्ग तथा पहिचान, नारीवाद र पर्यावरणबारे सङ्क्षिप्तमा टिप्पणीमूलक चर्चा गरियो । सामान्यतः यी सबै विषय र विशेषतः पर्यावरणबारे गम्भीर अध्ययन र संश्लेषणको आवश्यकता छ ।
(२) माक्र्सवादले वर्ग, जात, जाति, लिङ्ग सहित सवै उत्पीडित वर्ग तथा जनसमुदायका पहिचान, अस्मिता तथा स्वत्वको उद्घाटन गर्दै र तिनीहरुमाथि हुँदै आएका उत्पीडनको विरोध तथा मुक्तिको पक्षमा आवाज उठाउँदै विचारधारात्मक तथा राजनीतिक रुपमा संघर्षको दिशानिर्देश गरेको छ । यसैगरी पर्यावरणको क्षेत्रमा पनि मक्र्सवादले मानिस र प्रकृतिका बीचको एकताका निम्ति बाधक तथा पर्यावरण विनाशको मूल कारक बन्दै आएको मूनाफा केन्द्रित पुँजीवाद÷साम्राज्यवादको विरोध गर्दै आएको छ ।
(३) परन्तु अर्कोतिर सबैखाले उत्तरवादको छाताका रुपमा रहेको उत्तरआधुकितावादले माक्र्सवादद्वारा प्रस्तुत वर्गीय विश्व दृष्टिकोण तथा जनमुक्तिका महाख्यानको विरोध र विखण्डनवाद र टुक्रे पहिचानवादको पुर्पक्ष गरी उत्पीडित जनसमुदायको एकीकृत संघर्षको अभियानमा भाँजो हाल्ने र शोषण, उत्पीडन तथा दमनका प्रमुख कारक रहिआएका साम्राज्यवाद÷प्रतिक्रियावादको सेवा गर्ने काम गरेको छ । पर्यावरणको क्षेत्रमा पनि ठीक यही भइरहेको छ ।
(४) साम्राज्यवाद र सर्वहारा क्रान्तिको वर्तमान युगमा एकातिर साम्राज्यवाद÷प्रतिक्रियावाद र अर्कोतिर माक्र्सवाद÷सर्वहारावर्ग तथा उत्पीडित समुदायका बीच विचारधारात्मक तथा राजनीतिक क्षेत्रमा भीषण वर्ग संघर्ष चलिरहेको छ । प्रतिक्रान्ति र क्रान्तिका यी परस्पर विरोधी दुई ध्रुवका बीचको यस संघर्षमा सबैखाले संशोधनवाद र उत्तरवाद मिलेर साम्राज्यवादको सेवा गर्ने र माक्र्सवादमाथि धावा बोल्ने काम गरिरहेका छन् । यो विश्वका साथै नेपालका सन्दर्भमा पनि सत्य हो ।
(५) साम्राज्यवाद, दलाल एवम् नोकरशाही पुँजीवाद तथा सामन्तवादको विरोध र मजदुर, किसान, महिला, दलित, जनजाति, मधेशी, मुस्लिम सवै उत्पीडित वर्ग र जनसमुदायको मुक्तिको पक्षमा सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अघि बढ्नु आजको ऐतिहासिक आवश्यकता हो । हामीले यिनै क्रान्तिको मातहतमा रही पर्यावरणीय विनाशको विरोध र मानव तथा प्रकृतिका बीच नयाँ आधारमा नयाँ एकता कायम गर्ने ऐतिहासिक अभिभारा पुरा गर्न सक्दछौं ।
(६) यो बेला साहित्य, कला, संस्कृति, सौन्दर्य चिन्तन र समालोचनाको क्षेत्रमा क्रियाशील माक्र्सवादी लेखक कलाकारहरु अन्य प्रगतिशील मित्रहरुलाई पनि गोलवन्द गर्दै क्रान्तिकारी ध्रुवको पक्ष र प्रतिक्रान्तिकारी ध्रुवको विपक्षमा पहिले भन्दा अझै सशक्त रुपमा प्रस्तुत हुन जरुरी छ ।

पादटिप्पणी ः
१. ढकाल, घनश्याम : संपादक मण्डल संयोजक, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य पृ. १००२, प्रकाशक ः अखिल नेपाल लेखक संघ, २०६७ ।
२. व्ला. इ. लेनिन संकलित रचनाएँ, दश खण्डों मे खण्ड १०, पृ. २०६, प्रगति प्रकाशन, मास्को १९८६ ।
३.  Modern Literary Theory, page 92,
४. गौतम, कृष्ण : आधुनिक आलोचना ः अनेक रुप अनेक पठन, पृ. ३४९ साझा प्रकाशन, दोस्रो संस्करण २०५९ ।
५. त्रिपाठी, सुधा : नरीवादी सौन्दर्य चिन्तन, पृ. ७२, भृकुटी एकेडेमिक पव्लिकेशन्स सन् २०१२
६. बराल, ऋषिराज, माक्र्सवाद र उत्तरआधुनिकतावाद पृ. १८५ साझा प्रकाशन, दोस्रो संस्करण, २०६७ ।
७. का. माक्र्स, फ्रे. एङ्गेल्स संकलित रचनाएँ ः पृष्ठ ६७, खण्ड ३, भाग २, प्रगति प्रकाशन मास्को ।
८. तिम्ला, देवेन्द्र, अनुवाद तथा संपादन : कम्युनिस्ट नैतिकता, पृ. ६१ निरन्तर प्रकाशन २०६३ ।
९. का. माक्र्स, फ्रे. एङ्गेल्स संकलित रचनाएँ : पृष्ठ खण्ड ३ भाग १, प्रगति प्रकाशन मास्को १९७८ ।
१०. K Marx, F Engels, Collected Works, Vol. 3, 1843-1844, page 296, Progress Publishers Moscow 1975. 
११. माक्र्स, कार्ल, पुँजी १, पृष्ठ ५३७ संस्करण प्रगति प्रकाशन मास्को
१२. माक्र्स, एङ्गेल्स संकलित रचनाएँ, पृष्ठ खण्ड ३, भाग १ प्रगति प्रकाशन मास्को
१३. माक्र्स, कार्ल, पुँजी १, पृष्ठ ७१७, संस्करण प्रगति प्रकाशन मास्को
१४. Marx and the Earth
१५. Marx and Ecology, Monthly Review, Vol. 13

१६. Peking Review, June 16, 1972.

१७. Engel, Stefen: Catastrophe Alert! Page 8, Verlag Neuer, Weg, 2014  
१८. Introduction: The Economic Reader

१९. Nayar, Pramod K : Contemporary Literature and Cultural theory: From Structuralism to Ecocriticism, page 330
२०. उप्रेती संजीव, सिद्धान्तका कुरा पृ ३१३ – १४, अक्षर क्रिएसन्स नेपाल, तेस्रो संस्करण २०६८
२१. कलम, वर्ष १८, पूणाङ्क ५२, अंक २, पृ. ८६, कार्तिक – पुष, २०६६ ।

यो लेख मोहन वैद्य किरणद्वारा लिखित ‘माक्र्सवादी समालोचना’मा प्रकाशित लेखहरु मध्येको पहिलो लेख हो । यो लेखलाई उक्त पुस्तकबाट साभार गरी मूलबाटोमा प्रकाशित गरिएको हो ।