काठमाडौं । भन्सार विभागका अनुसार चालु आवको चैत मसान्तसम्म नेपालको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो । आयातमा भएको उच्च वृद्धिले व्यापार घाटा चुलिएको हो । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा १२.४९ प्रतिशत बढी हो ।
आयातमा उच्च वृद्धि
विभागको तथ्यांक अनुसार नेपालमा वस्तु आयातमा उच्च वृद्धि भएको छ । चैतसम्म कुल ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ छ । यो गत आवको यसै अवधिको तुलनामा १३.१२ प्रतिशतले बढी हो ।
गत आवमा नेपालले ९ महिनामा ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । चैत महिनामा मात्र नेपालले १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो चालु आर्थिक वर्षको एकै महिनामा भएको उच्च आयात हो । फागुन मसान्तसम्म कुल ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
९ महिनाको अवधिमा नेपालले मात्र ९४ अर्ब ७६ करोड ८० अर्ब ७१ करोड रुपैयाँको निर्यात गर्न सकेको छ । यो निर्यातले नेपालको पेट्रोलियम पदार्थ आयात समेत धान्न सक्दैन । चालु आवमा वस्तु निर्यातमा गत आवको यसै अवधिको तुलनामा २०.२३ प्रतिशत बढी निर्यात भएको छ । गत आवको यसै अवधिमा वस्तु निर्यात ७८ अर्ब ८१ करोड रुपैयाँ बराबरको भएको थियो ।
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार भारतसँग रहेको छ । सोही कारण व्यापार घाटा समेत सोही मुलुकसँग बढी छ ।
तथ्यांक अनुसार ८ महिनाको अवधिमा नेपालले भारतबाट ७ खर्ब २४ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यसअवधिमा निर्यात भने भारतमा मात्र ६८ अर्ब ४३ करोड रुपैयाँ बराबरको भएको छ । यसले भारतसँग व्यापार घाटा ६ खर्ब ५६ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । यस अवधिमा चीनतर्फ मात्र ६८ करोडको सामान निर्यात हुँदा आयात भने १ खर्ब ६४ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको छ ।
चीनसँग १ खर्ब ६३ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिएको छ । अमेरिकाबाट १३ अर्ब ५२ करोडको सामान आयात हुँदा १० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अमेरिकासँग नेपालको कम व्यापार घाटा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर