१३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा क्रान्तिकारी ट्रेड युनियन महासंघको अपिल

१३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको सन्दर्भमा क्रान्तिकारी ट्रेड युनियन महासंघको अपिल

अपिल
अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात मे १, सिकागो शहरका मजदुरहरुको कठोर संघर्ष र वलिदान मार्फत मजदुरहरुलाई आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको अधिकार दिन पुँजीपतिवर्ग बाध्य भएको ऐतिहासिक दिन हो । यो त्यस अघि अमेरिका र विश्वभर भएका सम्पुर्ण मजदुर विद्रोह वा क्रान्तिको विजयको दिन पनि हो । यसर्थ, यो विश्व सर्वहारा वर्गको निम्ति विजय र गौरवको दिन हो । सन १८८९ को दोस्रो अन्तर्राष्ट्रियको बैठकले यो दिनलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । हामी यस महान तथा ऐतिहासिक दिनको विशेष स्मरण एवं मार्गदर्शन बाट आलोकित हुँदै आजको मजदुर आन्दोलनको विकास, विजय र सर्वहारा वर्गको नेतृत्वमा नयाँ जनवादी राज्य–व्यवस्था स्थापनाका निम्ति संघर्षरत छौं । १३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउनुकोउद्देश्य उल्लेखित लक्ष्य सँग समर्पित छ ।
नेपाली श्रम बजारमा (औपचारिक र अनौपचारिक) झन्डै ६० लाख मजदुरहरु क्रियाशील रहेका छन । दलाल पुँजीपति वर्गले दैनिक उनीहरुको चर्को श्रम शोषण गर्दै आएको छ । दैनिक ८ देखि १८ घन्टा सम्म काम गर्ने मजदुरलाई हातमुख जोड्ने संकट छ । तोकिएको तलबको (प्रतिदिन रु.५१७, मासिक रु.१३४५०/) न्युनतम मापदण्ड पुरा गर्न समेत पुँजीपतिवर्ग तयार छैन । कोभिड–१९ को अवधिमा मात्रै औपचारिक श्रम बजारका १० लाख अधिक एवं अनौपचारिक बजारका लाखौं मजदुरहरु रोजगारीबाट निष्कासित भएका छन, लाखौंको रोजगारी संकटमा छ । श्रम बजारमा अस्थायी, करार, ज्यालादारी, हायर एन्ड फायर, नो वर्क; नो पे जस्ता श्रमिक विरोधी नीति लागु गरिएका छन । मजदुरहरुले पेशागत एवं राजनीतिक अधिकारको निम्ति संगठित हुन, संघर्ष गर्न पाउने अधिकार पनि दलाल पुँजीपति र ती समेतका मजदुर विरोधी संगठनको सहयोग मार्फत परिचालित अर्थवाद, ट्रेड युनियनवाद, वर्गीय तथा राष्ट्रिय आत्मसमर्पणवादका पक्षधर संसदवादी ट्रेड युनियनहरुको जालोले निल्दिएको छ । हाम्रो संगठन यो जालोलाई धुलोपिठो पार्दै मजदुरवर्गको पेशागत एवं राजनीतिक अधिकार सुनिश्चित भएको नयाँ जनवादी राज्य–व्यवस्था स्थापनाका निम्ति दृढ प्रतिबद्ध छ ।
आज नेपालको शासकले भारत, मलेसिया र मध्यपुर्वका देशहरुमा ५० औं लाख नेपाली मजदुरहरु निर्यात गरेको छ । कोभिड पुर्व दैनिक जसो औसत १३०० मजदुरहरु निर्यात हुँदै आएकोमा हाल यो संख्या दैनिक औसत ५०० को हाराहारीमा छ । पछिल्लो समय श्रम बजारमा मात्रै नभएर मध्य पुर्वका देशहरुमा यौनजन्य कामका निम्ति पनि कयौं नेपाली युवायुवती बेचिन थालेका छन । यसको निम्ति मानव तस्करहरुको अन्तर्राष्ट्रिय जालो सक्रिय छ । यसले मजदुर आन्दोलनको विकासमा अवरोध मात्रै न कि, हाम्रो राष्ट्रको वर्तमान एवं उज्ज्वल भविष्य निर्माणका निम्ति चुनौतीको पहाड खडा गरेको छ । हाम्रो संगठन चुनौतीको यस पहाडलाई ध्वस्त गर्दै नेपाली मजदुरहरुको श्रम, सीप र पौरख नेपाली धर्तिमा फक्रने र फुल्ने युगको निर्माण गर्न चाहन्छ ।
आज राष्ट्रको सम्पुर्ण पुँजी मुट्ठीभर सामन्त र दलालहरुको नियन्त्रणमा पुगेको छ । राष्ट्रका सारा बैंक र कतिपय विदेशी बैंकहरु समेत दलाल पुँजीपतिवर्गका कालोधनले भरिएका छन । संसदवादी राजनीतिक पार्टी, नेतृत्व र तिनका भातृ संगठनहरु भित्र दलाल पुँजीवादी र अर्थवादीहरुको बोलबाला छ । राज्यका सम्पुर्ण अङ्गहरु उनीहरुको नियन्त्रणमा छन । राज्यका आर्थिक, राजनीतिक र सामाजिक संकटहरु उत्कर्षमा छन । मजदुर, किसान र उत्पीडित जनसमुदायलाई विभिन्न भ्रमपुर्ण र सुधारवादी नाराको प्रचार गर्नु बाहेक विद्यमान राज्यसत्ता, व्यवस्था र सरकार पुर्णत: असफल भएको छ ।
यसर्थ, क्रान्ति आजको निर्विकल्प विकल्प हो । मजदुरवर्गको वास्तविक मुक्ति वा विजय भनेको सारत: सामन्त एवं दलाल पुँजीपति वर्गको सुरक्षा किल्ला बनेर खडा भएको विद्यमान राज्य–व्यवस्थाको अन्त्य एवं नयाँ जनवादी राज्य–व्यवस्थाको स्थापना हो । यसका निम्ति सम्पुर्ण मजदुरहरु बिचमा राजनीतिक वैचारिक स्पष्टता सहितको विराट सांगठनिक एकता अनिवार्य छ । हाम्रो संगठन यो ऐतिहासिक प्रक्रियामा गोलबद्व हुन राष्ट्रका सम्पुर्ण मजदुरलाई विशेष आव्हान गर्दछ । १३२ औं अन्तर्राष्ट्रिय मजदुर दिवसलाई मजदुरवर्गको नयाँ इतिहास निर्माण गर्ने सशक्त आन्दोलनमा बदल्न अपिल गर्दछ । धन्यवाद!
क्रान्तिकारी अभिवादन सहित !
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ