हरेक बर्सको चैत २४ गतेलाई विशेषतः क्रान्तिकारी धाराका कम्युनिस्टहरूले ‘जनआन्दोलन दिवस’का रूपमा मनाउँदै आएका छन् । भर्खरै मात्र ३२औँ जनआन्दोलन दिवस सम्पन्न भएको छ । २०४६ सालको चैत २४ गते तात्कालिन समयको नेपालको इतिहासमै सबैभन्दा ठूलो जनआन्दोन भएको थियो । उक्त दिन पहिलो पटक नेपाल बन्दको आह्वान गरिएको थियो । त्यो आन्दोलनको नेतृत्व ‘संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ नामको संयुक्त मोर्चाले गरेको थियो । उक्त मोर्चामा नेपालका क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टीहरू नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारावादी श्रमिक सङ्गठन र कम्युनिस्ट लिग सामेल थिए । उनीहरू सबैको लक्ष्य र उद्देश्य नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य गरि नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु थियो ।
चैत २४ गतेको नेपाल बन्द अभुतपूर्वरूपमा सफल भयो । अरू दिनको आन्दोलन भन्दा हजारौँ गुणा बढी जनता सडकमा ओर्लिएर ‘पञ्चायती व्यवस्था– मूर्दावाद, राजतन्त्र –मूर्दावजाद, गणतन्त्र–जिन्दावाद, नयाँ जनवादी क्रान्ति–गर्छौं गर्छौं, आदि गगनभेदी नाराले आकाश धर्ती गुञ्जायमान बनाउँदै जनता पुलिसका लाठी र गोलीको समेत् पर्वाह नगरेर सडकमा ओर्लिएका थिए । उता त्यसै समयमा पञ्चायती सरकारले देशका बिभिन्न सहरहरूमा पञ्च¥याली गर्दै क्रान्तिकारी जनताको आन्दोलनलाई मत्थर पार्ने र पञ्चायती व्यवस्थालाई टेकोपुरो लाउने कुचेष्टा गरिरहेको थियो । त्यसै गरि तात्कालिन नेकपा (माले), नेकपा (माक्र्सवादी), नेपाल मजदूर किसान पार्टी, नेकपा (चौम), लगायतका सात वटा संसोधनवादी कम्युनिस्ट पार्टीहरू सम्मिलित संयुक्त बाम मोर्चा र नेपाली काङ्ग्रेसहरूको संयुक्त नेतृत्वमा पनि जनआन्दोलन भइरहेको थियो । तर उनीहरू हिंसात्मक झडपमा जाने सोचमा थिएनन् । शान्तिपूर्ण रूपमा सत्याग्रह, जुलुस, सभा मात्रै गरिरहेका थिए । नेपाल बन्द गर्ने, सडकमा ओर्लिएर जाम गर्ने, पुलिसको दमनको निशस्त्र रूपमै पनि तोड्ने गरि आन्दोलनलाई तेज बनाउने दिशातिर काङ्ग्रेस र बाम मोर्चा तयार थिएनन् । ‘संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति’ भने सरकारी दमनको प्रतिरोध गरेर आन्दोलनलाई सशक्त बनाउने नीतिमा थियो । त्यसैले चैत २४ गते नेपाल बन्दको आह्वान गरेको थियो ।
पञ्चायतका विरुद्धमा संयुक्त आन्दोलन गर्नु पर्छ भन्ने बारेमा नेकपा (मशाल)ले २०४६ सालको सुरुआतदेखि नै विभिन्न कम्युनिस्ट पार्टीहरूका बिचमा छलफल सुरु गरेको थियो । यसै छलफलद्वारा नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारावादी श्रमिक सङ्गठन, कम्युनिस्ट लिग र नेकपा (चौम) सहमत भएका थिए । यी पार्टीहरूले पञ्चायतको अन्त्यसँगै राजतन्त्रको पनि अन्त्य गरि नयाँ जनवादी क्रान्ति गर्ने नीति लिएका थिए । उता काङ्ग्रेस, माले, माक्र्सवादी, नेमकिपाहरू भने पञ्चायतको अन्त्य र बहुदलको स्थापना मात्रै चाहन्थे । संराजआ घटकका कम्युनिस्टहरू तथा बाम मोर्चामा सामेल कम्युनिस्ट र काङ्ग्रेसका बिचमा राजनीतिक लक्ष्य र उद्देश्य मिलेको थिएन । अर्कातर्फ नेपाली काङ्ग्रेसले सबै कम्युनिस्टहरू मिलेर आउनु पर्छ भन्ने अडान लिएको थियो । छलफल अगाडि बढ्दै जाने क्रममा निर्मल लामा नेतृत्वको नेकपा (चौम)ले नयाँ जनवादी गणतन्त्रको एजेण्डा छोडेर बहुदल प्राप्तीको एजेण्डा अवलम्वन गर्न पुग्यो । निर्मल लामाले शान्तिपूर्ण आन्दोलन भन्दा अगाडि बढ्न नहुने जिकिर पनि गरे । जो काङ्ग्रेस र मालेहरूको लाइन थियो । त्यसपछि उनले ०४६को मङ्सिरमा ‘संराजआ’ घटकबाट अलग भएर माले, माक्र्सवादी, नेमकिपा आदिसँग सामेल भएर संयुक्त बाम मोर्चा गठन गरे । यसरी काङ्ग्रेस र बाम मोर्चाको नारा पञ्चायतको अन्त्य र बहुदलको स्थापनामा सीमित थियो भने ‘संराजआ’को नारा पञ्चायतसँगै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना थियो ।
जब चैत २४ गते नेपाल बन्दको आह्वान गरियो, तब बाम–काङ्ग्रेसमा हलचल पैदा भयो । त्यसदिन आन्दोलनले उत्कर्षता लिने पूर्व सङ्केत पाएर पञ्चायती सरकारले देशभर कफ्र्यु जारी ग¥यो । साथै त्यसैदिन बिहान राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीबाट मरिचमान श्रेष्ठलाई हटाएर लोकेन्द्रबहादुर चन्दलाई तोकेर नयाँ मन्त्रीपरिषद् गठन पनि गरे । जनता पञ्चायती सरकारको कफ्र्यु तोड्दै लाखौँको सङ्ख्यामा सडकमा ओर्लिए । दरबारमार्गमा रहेको महेन्द्रको शालिक तोड्दै गरेका छ जना होनहार युवाहरूलाई शाहीसेनाले गोली चलाएर हत्या ग¥यो । त्यो हत्याले देश झन् आन्दोलनमय भयो । देशैभरी जनाता सडकमा ओर्लिएर पञ्चायती व्यवस्थासँगै राजतन्त्र मूर्दावादको नारा लगाउँदै गणतन्त्र स्थापनाको माग गरे । २४ गतेको आन्दोलनको ज्वाला २५ र २६ गते पनि यथावत रह्यो । झन् बढी जनता सडकमा ओर्लिए । बाम–काङ्ग्रेसको बलबुता र योजना भन्दा बाहिर गयो आन्दोलनको आँधी । वास्तवमा जनता संराजआको नेतृत्वमा आन्दोलित भइरहेका थिए । किनकि संराजआको आन्दोलनको नारा अग्रगामी थियो भने बाम–काङको आन्दोलनको नारा यथास्थितिवाद भन्दा अगाडि थिएन । उनीहरू केवल पञ्चायतको मात्रै अन्त्य चाहन्थे भने संराजआले पञ्चायतसँगै राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना चाहन्थ्यो । जनताले गणतन्त्र प्राप्तिको आन्दोलनलाई साथ दिएका थिए । यो आन्दोलनबाट आत्तिएर काङ्ग्रेस र बाममोर्चाले दिल्ली दरबारको इसारामा राजासँग घुँडा टेके । राजा पनि पञ्चायतको अन्त्य र राजतन्त्रसहितको बहुदल घोषणा गर्न तयार भए । दलमाथि लागाएको प्रतिबन्ध फुकुवा गर्न सहमत भए । त्यसपछि चैत २६ गते राती दरबारमा बाम–काङ्ग्रेसका नेता गणेशमान सिंह र साहाना प्रधान तथा दिल्ली दरबारका प्रतिनीधि चन्द्रशेखर तथा राजाका बिचमा आन्दोलन अन्त्य गर्ने र पञ्चायत हटाएर दलमाथिको प्रतिबन्ध फुकुवा गर्दै बहुदलको घोषणा गर्ने सहमती भयो । यसरी चैत २४ले पैदा गरेको जनउभारलाई षड्यन्त्रपूर्वक तुहाउने काम गरियो ।
त्यतिखेर अग्रगामी धाराका क्रान्तिकारी कम्युनिस्टहरूले पञ्चायतका विरुद्धमा मिल्नसक्ने जति शक्तिहरूलाई मोर्चामा सँगै लैजानु पर्छ भन्ने धारणा राखेका थिए । त्यसैले पञ्चायतसँगै राजतन्त्रको अन्त्य गरेर ल्याउनु व्यवस्थालाई उनीहरूले ‘पूर्ण प्रजातन्त्र’ नाम दिएका थिए । किनकि नयाँ जनवादी क्रान्ति भन्दा अरू संसोधनवादी धाराका कम्युनिस्टहरू पनि नसमेटिने र काङ्ग्रेस पनि सहकार्य गर्न तयार नहुने हुँदा ‘पूर्ण प्रजातन्त्र’ भनिएको थियो । त्यसको अर्थ बुर्जुवा प्रजातन्त्रमा सीमित गरिनु थिएन । बरू क्रान्तिकारी धाराका कम्युनिस्टहरू भित्र त्यसलाई नयाँ जनवादी क्रान्तिकै रूपमा बुभ्mने र व्याख्या गर्ने तर बाहिर प्रस्तुत हुँदा पूर्ण प्रजातन्त्र भन्ने भनेर सहमती गरिएको थियो । त्यसो हुँदा प्रजातन्त्रका नाममा सबैलाई पञ्चायत र राजतन्त्रका विरुद्ध परिचालन गर्न सहज हुने निष्कर्ष निकालिएको थियो । त्यसमा काङ्ग्रेसले राजतन्त्रको अन्त्य गर्न नमान्ने भएपछि ऊ अलग्गै मोर्चा बनाउनेमा गयो । त्यसमा माले, माक्र्सवादी, नेमकिपाहरू काङ्ग्रेसको एजेण्डामा सहमत भए भने निर्मललामा बाम र काङ्गलाई छोडेर अलग्गै आन्दोलनमा जान सहमत भएनन् । उनले अहिले नै नयाँ जनवादी क्रान्ति हुन नसक्ने भन्दै बहुदललाई स्वीकार्न पुगे । वास्तविक तथ्य यही थियो ।
बहुदलको घोषणा भए पनि संराजआले ‘दरबारसँग भएको सम्झौता धोका हो’, ‘जनआन्दोलन जारि छ’ भन्दै २०४७ को असारसम्म बहुदलीय व्यवस्था र चैत २६को धोकापूर्ण सम्झौताको भण्डाफोर अभियान चलायो । उता काङ्ग्रेस र बाम मोर्चा भने विजय ¥याली गर्दै हिँडे । यसरी २०४६ सालको जनआन्दोलन दिवस दुई भागमा बाँडियो । क्रान्तिकारी धाराका कम्युनिस्टहरूले चैत २४लाई मनाउन थाले भने काङ्ग्रेस र बाम मार्चाले २६ गतेलाई मनाउन थाले । चैत २४को दिवस अग्रगामी आन्दोलनको धारा हो भने २६को दिवस पश्चगामी र यथास्थितिवादी धारा हुन पुगेको छ ।
यतिखेर जनआन्दोलनको सान्दर्भिकता झनै बढेर गएको छ । २०४६ सालको आन्दोलनको उद्देश्य पूरा भएको छैन । यद्यपि त्यस यता २०५२ फागुन १ देखि नेकपा (माओवादी)को नेतृत्वमा जनयुद्ध भयो । त्यही जनयुद्धले १९ दिने जनआन्दोलन पैदा ग¥यो । जनयुद्ध र जनआन्दोलनको बलमा राजतन्त्रको अन्त्य भएर देशमा नामकै भएपनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना पनि भएको छ । परन्तु यो उत्पीडित वर्ग, जाति, लिङ्ग र समुदायका निम्ति गणतन्त्र हुन सकेको छैन । व्यवस्थाको उपरिसंरचनामा फेरवदल त भयो तर आधार जस्ताको तस्तै रह्यो । फलस्वरूप शासन सत्ता उही पुरानो वर्गको हातमा नै रहन पुग्यो । गणतन्त्रका नाममा खुलेआम लुटतन्त्र र सामाजिक फासिवाद मौलाइरहेको छ । तसर्थ जनआन्दोलन मनाउनुको अर्थ हुन्छ त्यसका कार्यभार पूरा गर्न नयाँ क्रान्तिको तयारी गर्नु ।
२८ चैत २०७७





























