कटारी, उदयपुर । सिद्धिचरण राजमार्गको स्तरोन्नतीको माग राख्दै उदयपुर कटारीका स्थानीय जनता आन्दोलित बनेका छन् । पटक पटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन नगरेपछि सरोकारावाला स्थानीय जनता आन्दोलित बनेका हुन् । उनीहरुले पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आज बिहानैदेखि सिद्धिचरण राजमार्गको यातायात ठप्प पारेका छन् । कटारी, बेतेनी भञ्ज्याङ, गहुँबारी, लेखानी, पटना भञ्ज्याङ र घुर्मीमा सडक अवरोध गरी यातायात ठप्प पारेका हुन् ।
आन्दोलनकारीहरुले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन राजमार्ग ठप्प पार्ने चेतावनी दिंदै आएका छन् । राजमार्ग ठप्प हुँदा अहिलेसम्म कुनै अप्रिय घटनाको खबर भने प्राप्त भएको छैन ।
आन्दोलनकारीहरुले कटारी नपाको ११ वडाका अध्यक्ष समेत रहेका दीपक बुढा क्षेत्रीको संयोजकत्वमा संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले तत्कालका लागि सडकका खाल्डाखुल्डी पुर्नुपर्ने र सडक कालोपत्रे गर्नुपर्ने माग राखेका छन् । अबरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट कुनै पहल भएको छैन ।
करिब दुई महिनाअघिदेखि स्थानीय युवाहरुले सामाजिक सञ्जालमा सडक स्तरोन्नतीको बारेमा व्यापक अभियान नै चलाएका थिए । उनीहरुले संघर्ष समिति बनाई सडक डिभिजन कार्यालय लहानमा अल्टिमेटमसहितको ज्ञापन पत्र समेत बुझाएका थिए । तर माग सम्बोधन नभएपछि उनीहरु क्रियात्मक आन्दोलनमा उत्रिएका हुन् । आर्थिक वर्ष २०७८÷०७९ को बजेटमा राजमार्गका लागि दुई लाईन सडकका लागि लागत ईष्टिमेट अनुसार बजेट सुनिष्चित हनुपर्ने ,बजेट सुनिष्चित नभएसम्म स्काभेटर, पानी ट्याङ्कर, ट्रिपर लगायतका तत्काल सडकका समस्या समाधान गर्दै आवतजावत गर्ने उपकरणको व्यवस्था गरेर मात्रै सडक संञ्चालन हुनुपर्ने जस्ता मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म जम्मा ४६ किलोमिटर सडक जीर्ण बनेको छ । जुन क्षेत्र कटारी नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ । त्यही सडकको स्तरउन्नतिको माग गर्दै यसअघि कटारी नगरपालिकाको बेतेनीमा बसेको एक भेलाले सिद्धिचरण राजमार्ग स्तरउन्नतिको लागि दवाब समूह गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार