काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान दिवसको अवसरमा घोषणा गरिएका तक्माहरु शुक्रबार वितरण गरिएका छन् । वितरण गरिएका तक्मा तथा पदकहरुमा लिम्पियाधुरासहितको नक्सा प्रयोग नभएर नक्कली नक्सा प्रयोग भएको भन्दै अहिले त्यसको व्यापक रुपमा चौतर्फी विरोध भइरहेको छ । सामाजिक सञ्जालदेखि राजनीतिक पार्टीसम्मले तक्मामा प्रयोग भएको नक्कली नक्सा प्रयोगको विरोध गरेका छन् । सम्पूर्ण पदक तथा तक्माहरु फिर्ता गर्न समेत आव्हान गरिएको छ । कतिपय व्यक्तिहरुले नक्कली नक्सा भएको पदक समेत फिर्ताको घोषणा गरेका छन् ।
यसैबीच, नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले संविधान समेत संशोधन गरेर चुच्चे नक्सा (लिम्पियाधुरासहितको नक्सा) नेपालको आधिकारिक नक्सा बनाइसको अवस्थामा बुच्चे (लिम्पियाधुरा–लिपुलेक–कालापानी गायब पारिएको नक्कली) राष्ट्रपतिद्वारा वितरित तक्मा तथा पदकमा प्रयोग गरिएको भन्दै त्यसको विरोधमा आज विरोध प्रदर्शन गर्न लागेको छ । मोर्चाको काठमाडौं जिल्ला समितिले रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना गरेको छ ।
त्यस्तै बुच्चे नक्साको विरोधमा अन्य पार्टी सम्बद्ध युवा तथा विद्यार्थीहरुले समेत विरोध प्रदर्शनका कार्यक्रम राखेका छन् । बुच्चे नक्सा प्रयोगको यतिखेर सर्वत्र विरोध भइरहेको छ ।






























