वस्तुतः संशोधनवादी र माक्र्सवादीहरुका बीचमा वृहत एकताको कुरा गर्नु भनेको अन्नतः माक्र्सवादी धारलाई संशोधनवादमा विसर्जन गराउने बाटो खोलिदिनु हो । यस आधारमा क्रान्तिकारी कम्युनिस्टहरु संशोधनवादीहरुले भने जस्तो बृहत एकीकरणको पक्षमा लहसिने होइन संशोधनवादको खरानीमा मात्र माक्र्सवाद फस्टाउँछ भन्ने वैज्ञानिक तथ्यलाई गम्भीरतापूर्वक आत्मसात गरी मुख्यतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध वैचारिक तथा राजनीतिक सङ्घर्षमा खरो उत्रिन हिम्मत गर्नु पर्दछ ।

सत्ताधारी “कम्युनिस्ट” पार्टी नेकपा (नेकपा)को फुटपछि एकतापूर्वको अवस्थामा पुगेका दक्षिणपन्थी संशोधनवादी समूहहरु वैचारिक तथा राजनीतिक अधोगतिका कारण अहिले साङ्गठनिक अस्तित्व रक्षाको अवस्थामा छन् । उनीहरुले “कम्युनिस्ट” आन्दोलनको नेतृत्व गर्ने हैसियत गुमाएका मात्र छैनन्, उनीहरु आँफै एकलरुपमा साङ्गठनिक अस्तित्व बचाउन नसक्ने निष्कर्षमा पुगेको देखिन्छ । हालसालै पीके दाहाल र माधव नेपालहरुले वैद्य र विप्लवहरुसँग एकता गरेर कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने र ओलीलाई ठेगान लगाउने जुन कुरा गरेका छन्, त्यो आँफैमाथि विश्वास नरहेको कुराको अभिव्यक्ति हो । सत्ताधारी पार्टीमा फुट भएपछि नेपालको कम्युनिस्ट आन्दोलन मात्र होइन संसदीय व्यवस्था तथा प्रतिक्रियावादी सत्ता समेत गम्भीर सङ्कटमा फसेका छन् र क्रान्तिकारी आन्दोलनको भविष्य उज्ज्वल बन्दै गएको छ । यो छोटो लेख यी नै विषयको सेरोफेरोमा केन्द्रित रहने छ ।
कम्युनिस्ट पार्टी विपरीतहरुको एकत्व हो । यसमा माक्र्सवाद र संशोधनवादका बीचमा दुई–लाइन सङ्घर्ष चलिरहन्छ । सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत वैज्ञानिक समाजवादी चरणमा समेत किन नहोस् समाजमा वर्गहरु र वर्गीय चिन्तन रहुञ्जेल पार्टीमा माक्र्सवाद र संशोधनवादका बीचमा वैचारिक सङ्घर्ष कहिल्यै रोकिन्न । तर, त्यो सङ्घर्ष सधैँ एकनास भने रहँदैन, कहिले मैत्रीपूर्ण हुन्छ त कहिले दुश्मनीपूर्ण । कम्युनिस्ट पार्टीको नेतृत्व पङ्क्तिमा क्रान्तिकारीहरु हावी रहुञ्जेल क्रान्तिको विकास भइरहेको हुन्छ, तर जव संशोधनवादीहरु हावी हुन पुग्छन् क्रान्ति प्रतिक्रान्तिमा बदलिन थाल्छ । लेनिन, स्तालिन र माओ जस्ता नेताहरु पार्टीमा हावी रहँदा रुस र चीनमा क्रान्ति सफल रह्यो । जव नेतृत्वमा खु्रश्चोभ र तेङ् सियाओ पिङ जस्ता संशोधनवादी नेता अगाडि आए र तिनीहरुको दक्षिणपन्थी संशोधनवादी लाइन पार्टीमा हावी भयो ती देशमा प्रतिक्रान्ति भयो । माक्र्सवादको आवरणमा संशोधनवादको अभ्यास गर्नेहरु अन्ततः प्रतिक्रान्तिका बाहक हुन् भन्ने कुरा इतिहास सिद्ध तथ्य हो ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि यो तथ्य व्यवहारतः पुष्टि हुँदै आएको छ । कतिपय वैचारिक सीमा सहित तत्कालीन कोअर्डिनेशन केन्द्रको नेतृत्वमा सञ्चालित २०२८ सालको झापा विद्रोह त्यति बेलाको संशोधनवादी कार्यदिशाका विरुद्ध क्रान्तिकारी कार्यदिशाको एउटा सचेत उद्घोष थियो । त्यसै गरी २०५२साल फागुन १गते थालनी गरिएको महान् जनयुद्ध नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीमा समेत हावी रहेको संशोधनवादका विरुद्धको वैचारिक सङ्घर्ष र त्यसमाथि सच्चा माक्र्सवादीहरुको विजयको अभिव्यक्ति थियो । संशोधनवादी विचारमाथि माक्र्सवाद हावी भएकै कारण सुरु गरिएको झापा विद्रोह र १० वर्षे महान् जनयुद्ध नेपालको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण कोसे ढुङ्गा सावित भएका हुन् । तर विडम्बना, तिनै महान् क्रान्तिहरुको नेतृत्वगर्ने नेताहरुको पङ्क्तिमा संशोधनवाद हावी भएपछि नेपाली क्रान्ति अहिले प्रतिक्रान्तिमा बदलिएको छ । यो नेपाली कम्युनिस्ट आन्दोलनको एउटा दुःखद यथार्थ हो ।
नेपालको कम्युनिस्ट आन्दोलन यति बेला एउटा विचित्रको स्थितिबाट गुज्रिएको छ । हिजो प्रतिक्रियावादी सत्ता तथा व्यवस्थाका विरुद्ध नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्ने नायकहरुको एउटा हिस्साले गएको संसदीय निर्वाचनमा करिब दुई–तिहाइ मत प्राप्त गरी अहिले उही पुरानो प्रतिक्रियावादी राज्यसत्ताको कुर्ची सम्हालेर बसेको छ भने अर्को हिस्साले हिजोका आफ्नै नेताहरुका विरुद्ध सडकबाट क्रान्तिकारी आन्दोलन र वर्ग सङ्घर्षको नेतृत्व गरिरहेको छ । अर्को शव्दमा, सत्तामा पनि “कम्युनिस्ट” र सडकमा पनि कम्युनिस्ट, यो नेपाली कम्युनिस्ट आन्दोलनको यति बेलाको विशिष्ट स्थिति हो । यसले कम्युनिस्टलाई माया गर्ने नेपाली जनताका बीचमा एउटा ठूलो भ्रम पैदा गरेको छ ।
गत संसदीय निर्वाचन पछि “कम्युनिस्टहरु”को करिब दुई–तिहाइको सरकार बनेको बेला नेपाली श्रमजीवी जनता निकै उत्साहित र आशावादी देखिन्थे । त्यो अस्वाभाविक पनि थिएन । तर आज दुई–तिहाइको त्यही “कम्युनिस्ट” सरकारले हिजोका राष्ट्रघात तथा जनघातका सबै रेकर्डहरुलाई तोडेर भ्रष्टाचारको नयाँ कीर्तिमान स्थापित गरेको छ; सत्तास्वार्थ तथा सुविधाका लागि एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्ताधारी पार्टी नेकपा (नेकपा)को अन्तर–कलह फुटसम्म पुगेको छ । यो गुटबन्दी, टुट–फुट र विघटनको प्रक्रिया कहाँसम्म पुग्ने हो आजै केही भन्न सकिने अवस्था छैन । सत्तास्वार्थका लागि “कम्युनिस्ट” नेताहरु नै साम्राज्यवाद तथा विस्तारवादको चाकडीमा लिप्त रहिआएका छन् । त्यही चाकडीको श्रृङ्खलाका कारण बाह्य शक्तिहरुको क्रीडास्थल बन्न गएको हाम्रो देश नेपाल यतिबेला एउटा गम्भीर राजनीतिक सङ्कटमा फसेको छ । साम्राज्यवादी स्वार्थ रक्षाका लागि अरु कति पार्टीहरु फुटाइने हुन्, कति जुटाइने हुन् र के कस्ता राजनीतिक समीकरण बनाइने हुन् यो आउने दिनमा प्रस्ट हुँदै जाला । जे होस्, कम्युनिस्ट नामको सरकारबाट देश र जनताको मुक्तिको अपेक्षा गर्दैआएका क्रान्तिकारी नेपाली जनताहरु यतिबेला निकै निराश छन् ।
अहिले नेपालको राजनीतिमा जुन सङ्कट देखिएको छ, त्यसको कारण संसदीय व्यवस्थाका पक्षपाति सबै राजनीतिक पार्टीहरु र स्वयम् प्रतिक्रियावादी सत्ता तथा संसदीय व्यवस्थाको असफलताको स्वाभाविक परिणाम त हुँदै हो, तर त्यो मात्र होइन । यो सङ्कट माक्र्सवादको नाममा संशोधनवादको अभ्यास गर्ने नक्कली कम्युनिस्टहरुको प्रतिक्रियावादी सार र त्यही सारका कारण पैदा भएको सुविधाकेन्द्रित अन्तर–कलहको परिणाम पनि हो । नेपालमा राजनीतिक क्रान्ति पुरा भयो अव आर्थिक क्रान्ति बाँकी छ भनिएको सन्दर्भमा, वर्तमान चोतर्फी सङ्कटले आजभन्दा करिब ५० वर्ष पहिलेको झापा विद्रोह र २५ वर्ष पहिलेको जनयुद्धको राजनीतिक औचित्यको पुष्टि मात्र गरेको छैन, नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि अर्को जनविद्रोह अनिवार्य भएको तथ्यको समेत पुनर्पुष्टि गरेको छ ।
यतिबेला नेपालका संशोधनवादी पाटीहरुको वैचारिक तथा राजनीतिक अधोपतन गम्भीर साङ्गठनिक सङ्कटका रुपमा अभिव्यक्त भएको छ । कुनै वैचारिक तथा राजनीतिक अन्तर्विरोध विना नै हुन गएको नेकपा (नेकपा)को फुट, एमाले भित्रको विग्रह, ओलीको अराजक तथा फासीवादी हुँकार, माधव–झलनाथ गुटको दयनीय स्थिति र पीके दाहालको निरीहता संशोधनवादी दृष्टिकोणका कारण पैदाभएको प्रतिक्रियावादी सार र “कम्युनिस्ट” रुपका बीचको अन्तर्विरोधको अभिव्यक्ति हो । यो अन्तर्विरोध अब धेरै समयसम्म रहन सक्दैन । केपी ओलीले आफु वैचारिक कम्युनिस्ट नभएको कुरा बारम्बार बताइरहेका छन् । यसको औपचारिक निर्णयका लागि भने अझै केही समय पर्खिनु पर्ने होला ।
अहिले वैचारिक तथा राजनीतिक रुपले सबैभन्दा अप्ठ्यारोमा परेका र सङ्गठनको आधार भत्किएका समूहमा माधव नेपाल र पीके दाहालले नेतृत्व गरेका गुटहरु पर्दछन् । एकातिर उनीहरुले आँपूmलाई ओली जस्तै वैचारिक कम्युनिस्ट नभएको घोषणा गर्न पनि सकेका छैनन् भने अर्कोतिर विगतको गम्भीर सैद्धान्तिक पतनबाट पाठ सिकेर क्रान्तिको पक्षमा उभिने संभावना पनि छैन । अहिले पनि उनीहरुको राजनीतिक दाउ कम्युनिस्टको नाम जपेर नवउदारवादी संसदवादमा रमाउनु र साम्राज्यवादको सेवा गर्नु नै रहेको छ । त्यसका लागि उनीहरुले अझै कम्युनिस्टका नाममा जनतालाई भ्रमदिने कोशिस गरिराखेका छन् । वैद्य र विप्लवहरुसँग एकता गरेर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गछौँ र ओलीको पत्तासाफ गर्छौं भन्ने नेपाल र दाहालको रोदन यसैको अभिव्यक्ति हो ।
ठीक यति नै बेला पीके दाहाल र माधव नेपालहरुले वैद्य र विप्लवहरु सहित कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने कुरा किन गरेका होलान् ? यस भनाइमा उनीहरुका मुख्यतः तीनवटा उद्देश्य रहेका छन् । ती हुन् ः एक, नेपाली जनताका बीचमा आफुहरु अझै पनि क्रान्तिकारी नै रहेको भ्रम दिनु; दुई, एकताको नाममा क्रान्तिकारी पार्टीहरुभित्र अन्तर्विरोध सिर्जना गरी नेपालबाट क्रान्तिकारी आन्दोलनलाई विखण्डित गर्नु; र तीन माक्र्सवादको नाममा संशोधनवाद लागु गरेर साम्राज्यवाद तथा विस्तारवादको सेवा गर्नु । यसबारे क्रान्तिकारीहरुमा कुनै भ्रम रहनु हुँदैन ।
अहिले नेपालमा जुन गम्भीर राजनीतिक सङ्कट पैदा भएको छ, यो नेपालमा नवउदारवादी विश्व व्यवस्था असफल हुनुको अभिव्यक्ति हो । यो अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक तथा नव–औपनिवेशिक अवस्था र नवउदारवादको संरक्षक संसदीय व्यवस्था तथा सबै खाले संसदवादी पार्टीहरुको असफलताको अनिवार्य परिणाम हो । यो सङ्कटको समाधान व्यवस्थामा गरिने सुधार वा वारम्बार हुने संसदीय निर्वाचनबाट सम्भव छैन । साम्राज्यवाद र दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवादको स्वार्थको रक्षागर्ने प्रतिक्रियावादी सत्ता तथा व्यवस्थाको अन्त्य र कम्युनिस्ट पार्टीको नेतृत्व तथा जनताको जनवादी अधिनायकत्वमा व्यक्त हुने नयाँ जनवादी जनगणतन्त्रको स्थापना यो सङ्कट समाधान गर्ने एकमात्र उपाय हो । यसका लागि कम्युनिस्ट पार्टी र आन्दोलनमा जवर्जस्त जरागाडेर बसेका माक्र्सवाद विरोधी सबै धाराहरु र मुख्यतः दक्षिणपन्थी संशोधनवादी धारालाई नाङ्गेझार पार्नु अनिवार्य छ ।
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा १० वर्षको महान जनयुद्ध, ऐतिहासिक झापा विद्रोह र अरु थुप्रै क्रान्तिकारी आन्दोलनहरुको ब्याज खाएर मोटाएका संशोधनवादी गद्दारहरुको वैचारिक तथा राजनीतिक पतन यति बेला गम्भीर साङ्गठनिक विखण्डन भएर गुज्रिएको छ । केपी ओली, पीके दाहाल र माधव नेपालहरु आँपूmलाई सही र अरुलाई गलत सावित गर्न न्वारानदेखिको बल लगाएर भिडिरहेका छन् । तर सत्य कुरा के हो भने यी तीन धार मध्ये नेपालको राजनीतिमा जुन धारको वर्चस्व स्थापित भए पनि कम्युनिस्ट आन्दोलनको विकास र वर्तमान राजनीतिक सङ्कटको समाधान सम्भव छैन । बरु यसको उल्टो नेपालको राजनीतिक समस्या अरु विकराल बन्दै जाने कुरा निश्चित छ ।
नेपालका संशोधनवादीहरु संसदीय निर्वाचनको परिणामका आधारमा सबैभन्दा बलिया देखिए पनि यतिबेला वैचारिक तथा राजनीतिक रुपमा बदनाम भएका छन्, उनीहरुका बीचको साङ्गठनिक एकता सधैँभन्दा कमजोर भएको छ र उनीहरु माथिको जनताको विश्वास पनि टुट्दै जान थालेको छ । फलामलाई चाहिएको आकारमा ढाल्न तातेको बेला ठोक्नु पर्छ भने झैँ, माक्र्सवादलाई उत्पीडित जनताका बीचमा स्थापित गर्न, सङ्गठनको विस्तार गर्न र क्रान्तिकारी आन्दोलनको विकास गर्नका लागि संशोधनवादमाथि दरिलो प्रहार गर्ने यो अत्यन्त उपयुक्त समय हो । यसलाई हरेक क्रान्तिकारीले गहिरो गरी आत्मसात गर्नुृ पर्दछ ।
माक्र्सवाद र संशोधनवाद विपरीतहरुको एकत्व हो । कम्युनिस्ट आन्दोलनमा यिनीहरुका बीच एउटामाथि अर्को हावी हुने सङ्घर्ष निरपेक्ष रुपमा चलिरहन्छ । वस्तुतः संशोधनवादी र माक्र्सवादीहरुका बीचमा वृहत एकताको कुरा गर्नु भनेको अन्नतः माक्र्सवादी धारलाई संशोधनवादमा विसर्जन गराउने बाटो खोलिदिनु हो । यस आधारमा क्रान्तिकारी कम्युनिस्टहरु संशोधनवादीहरुले भने जस्तो बृहत एकीकरणको पक्षमा लहसिने होइन संशोधनवादको खरानीमा मात्र माक्र्सवाद फस्टाउँछ भन्ने वैज्ञानिक तथ्यलाई गम्भीरतापूर्वक आत्मसात गरी मुख्यतः दक्षिणपन्थी संशोधनवादका विरुद्ध वैचारिक तथा राजनीतिक सङ्घर्षमा खरो उत्रिन हिम्मत गर्नु पर्दछ । यो मात्र संशोधनवादलाई नाङ्गेझार पार्ने र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विकास गर्ने सही बाटो हो । क्रान्ति अपरिहार्य छ र यसको भविष्य उज्ज्वल छ ।
चैत्र २५, २०७७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार