म्यानमारमा राज्यको फासिवादी दमनमा ४३ जना बालबालिकासहित मारिए ५३६ जना

प्रकाशित मिति : २०७७ चैत्र २०


एजेन्सी । जनताको मतद्वरा निर्वाचित सरकार अपदस्थ गर्दै ‘कू’ गरेको म्यानमारको सेनाले त्यसविरुद्ध सडकमा उत्रिएका आवाज दबाउन गरेको ज्यादतिमा परी हालसम्म मृत्यु हुनेको संख्या ५३६ पुगेको छ । जसमध्ये ६ बर्षको समेत गरी ४३ बालबालिकाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

एउटा स्थानीय पर्यवेक्षक समूहका अनुसार कू यता ५३६ जनाको सेनाले ज्यान लिएको छ । यीमध्ये अधिकांश अर्थात् ९० प्रतिशतको गोली लागेर ज्यान गएको छ । यसले सैनिक नेतृत्व प्रदर्शनकारीमाथि योजनाबद्ध रूपमा गोली हानेर नरसंहारतर्फ उद्यत रहेको देखाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, प्रदर्शनकारीलाई निस्तेज पार्न निशानेबाज समेत नै परिचालन गरिएको छ । सेभ द चिल्ड्रेनका अनुसार, सैन्य कूयता कम्तीमा ४३ जना बालबालिका सशस्त्र फौजबाट मारिएका छन्। जसमा ६ वर्षका समेत छन् ।
सैनिक ज्यादति बढ्दै जाँदा म्यानमारको अवस्था नियन्त्रणबाहिर जाने चिन्ता व्यक्त हुन थालेका छन् ।