।
नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा हुने प्रत्यक्ष प्रणालीमा आधारित निर्वाचनमा क्रान्तिकारी पत्रकार महासंघका तीन नेता चुनावी मैदानमा उत्रिएका छन् । संगठनका कार्यवाहक अध्यक्ष नारायण पंगेनी खुल्ला केन्द्रीय सदस्यमा, संगठनका महासचिव आदिवासी जनजाति सचिवमा र संगठनका कोषाध्यक्ष रवि पाण्डेय लुम्बिनीबाट केन्द्रिय सदस्यको उम्मेदवारीका साथ चुनावी मैदानमा उत्रिएका हुन् ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा पूर्णकालीन भएर जनपक्षीय तथा व्यवसायिक पत्रकारिता गरिरहेका नेता त्रयले नेपाल पत्रकार महासंघलाई जातीय, क्षेत्रीय, वर्गीय, लिङ्गीय हिसाबले समावेशी बनाउनुका साथै वैचारिक हिसाबले पनि समावेशी बनाउनु पर्ने कुरामा जोड दिंदै आएका छन् ।
श्रमजीवी पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षाको ग्यारेण्टी, प्रेस विरोधी कानुनहरुको खारेजी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी, मिडियामा गरिएको स्वदेशी तथा विदेशी लगानीको पारदर्शिता हुनुपर्ने, महासंघलाई सत्ता, शक्ति, कर्पोरेट मिडिया तथा अन्तर्राष्ट्रिय आइएनजिओको दबाब र प्रभावबाट मुक्त बनाइ स्वायत्त रुपमा काम गर्ने हैसियतमा विकास गनुृपर्ने, सिंगो पत्रकारिता क्षेत्रका विकृति विसंगतीहरुको नियमन गर्ने र मिडिया र पत्रकारहरुको दलालीकरणको अन्त्य गरी निष्पक्ष, जनपक्षीय, जनउत्तरदायी र जिम्मेवार बनाउनुपर्ने, दर्ताको आधारमा साना तथा स्वरोजगारमुखी मिडियाहरुलाई विना धितो सहुलियत ऋण दिनुपर्ने तथा समानुपातिक विज्ञापन प्रणाली लागू गरिनुपर्ने लगायतका मुद्दाहरु अगाडि सारेका छन् ।