
दाङ । २३ औं साँस्कृतिक प्रतिरोध दिवस दाङको भालुवाङमा भव्य रुपमा मनाइएको छ । नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेशको आयोजनामा एक जनसभाको रुपमा साँस्कृतिक प्रतिरोध दिवस मनाइएको हो ।
पार्टीका लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न दिवस तथा जनसभा कार्यक्रमको अध्यक्षता प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले गर्नुभएको थियो भने सञ्चालन केस एवम् दाङ जिल्ला इन्चार्ज समीरले गर्नुभएको थियो ।
जनसभालाई प्रमुख अतिथि सुवेदी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका लुम्बिनी प्रदेश अध्यक्ष केवी गुरुङ लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
साँस्कृतिक प्रतिरोध सभा नाम दिइएको कार्यक्रम सुरु हुनु पूर्व प्रतिक्रियावादी संसदीय व्यवस्था, सत्ता र संविधान खारेज गरौ, संघीय जनगणतन्त्रको स्थापना गरौं, महान सहिदहरु अमर रहून, नेपाली नयाँ जनवादी क्रान्ति जिन्दावाद, भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवाद मूर्दावाद, अतिक्रमित भूमि फिर्ता गर, एमसीसी सम्झौता खारेज गर जस्ता नाराहरु घन्काउँदै प्रतिरोध ¥याली निकालिएको थियो ।
प्रतिरोध सभालाई सम्बोधन गर्दै नेताहरुले नेपालमा संघीय जनगणतन्त्र किन आवश्यक छ भन्ने विषयमा सविस्तार चर्चा गर्नुभएको थियो ।





























