बर्दघाट । नेकपा (क्रान्तिकारी माओवादी)  नवलपरासी जिल्लाकाे बर्दघाट नपा सदस्य तथा क्रान्तिकारी पत्रकार महासंघका काेषाध्यक्ष तथा लुम्बिनी प्रदेशका संयाेजक रवि पाण्डेकी ममतामयी आमा पार्वतीदेवी पाण्डेप्रति श्रद्धाञ्जली व्यक्त गरिएकाे छ ।  क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी गरि दिवंगत पार्वतीदेवीप्रति श्रद्धाञ्जली व्यक्त गरिएकाे छ ।  संगठनका कार्यवाहक अध्यक्ष नारायण पंगेनी र महासचिव रामकुमार श्रेष्ठले जारी गरेकाे वक्तव्यमा संगठनका काेषाध्यक्ष रवि पाण्डे, संगठनकी सदस्य लक्ष्मी घिमिरेलगायत शाेक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएकाे छ ।
यसैबीच, दिवंगत कमरेड पार्वतीदेवी पाण्डेको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली सहित अन्त्यष्टी गरिएकाे छ । पार्टीका जिल्ला सेक्रेटरी छविलाल खरेलले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएकाे थियाे । चुडामणि भण्डारीले जीवनीमाथि प्रकाश पार्नु भएकाे थियाे भने अन्तिम श्रद्धाञ्जलीमा पार्टीका प्रदेश सदस्य तथा जबस माेर्चाका नेता क्षेत्रबहादुर थापा, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
फाेक्साेमा निमाेनिया भएर काठमाडौंकाे सिनामंगलस्थित केएमसी अस्पतालमा सघन कक्षमा उपचारकाे क्रममा सुधार नआएपछि चिकित्सककाे सल्लाह बमाेजिम घर लैजाने क्रममा १९ गते बुधबार विहान बाटाेमा निधन भएकाे थियाे ।
दिवंगत पार्वतीदेवीका दुई छाेरा र चार छाेरी हुनुहुन्छ । पत्रकार पाण्डे जेठाे छाेरा हुनुहुन्छ भने कान्छाे छाेरा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका नवलपरासी संयाेजक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर